नेपाली मेला १५ को एम्बासडर कप मगर संघ युकेको पोल्टामा (सहित फोटो समचार)

Read Time:13 Minute, 4 Second

बम थापा सूर्यवंशीमगर

लण्डन,५ सेप्टेम्बर – नेपाली मेला २०१५ को एम्बासडर कप बिजेता मगर संघ युके भएको छ ।

यो एम्बासडर कप बेलायतस्थित नेपाली राजदूतावासले प्रदान गरेको हो । यो एम्बासडर कप प्रदान गर्नुको मुख्य कारण बेलायतमा रहेका नेपालीको पहिँचान र अस्तित्वलाई संरक्षण गर्दै आपसी सद्भाव र सहकार्यका माध्यमबाट नेपालीहरुको कला संस्कृति र भाषाको जगेर्ना गर्नुको साथै बेयायतबासी सम्पूर्ण नेपालीहरुलाई एकताको सूत्रमा बाँध्नु पनि हो ।

  हरेक ठाउँमा अन्य जातजातिसँग सुमधुर सम्बन्ध गाँसेर बस्न सक्नु मगर जातिको अति नै बहुमूल्य विशेषता भएको हुनाले बेलायतमा तमुधीं युकेले आइतवार ३० अगस्तको दिनमा आयोजना गरेको नेपाली मेला २०१५ मा मगर संघ युकेको भव्य सहभागिता रहेको थियो ।

मगरले डोकोमा लगेको अतिथिहरूलाइ सगुन खुवाउँदै

बेलायतमा रहेका मगरहरुलाई एकीकृत तथा सङ्गठित गर्दै अघि बढिरहेको संस्था मगर संघ युके सेन्ट्रल कमिटीका अध्यक्ष दुत पुनमगरका साथमा सेन्ट्रल कमिटीकै पदाधिकारीहरु, शाखाका अध्यक्षहरु, सल्लाहकारहरु र अन्य दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो मेलामा बेलायतका मगरहरुको उत्कृष्ट झाँकीको प्रदर्शन र सांस्कृतिक नाँचको प्रस्तुतिले नेपाली मेला २०१५ मा मगर संघ युके प्रथम स्थानमा आएर एम्बासडर कप जित्न सफल भएको हो ।

नेपालभरि र नेपाल बाहिरसमेत छरिएर बस्दै आएका र बसाइँको भौगोलिक कारणले मगरहरु बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पक्षबाट अत्यन्त धनी मानिन्छन् । यस नेपाली मेलामा मगरहरु आ-आफ्ना मौलिक र रङ्गीन भेषभूषामा सजिएर भेला भएका थिए । मगरका पुर्खाहरुले १२ र १८ राज्यमा शासन गरेको इतिहास साक्षी छ । यो मेलाको अवसरमा १२ र १८ मगरात सबै मिलेर एकताको हातेमालो गर्दै लगभग ३०० भन्दा धेरै मगरहरु आफ्नै भेषभूषामा पुर्खाले चलाउने धनुषवाण, दैनिक जिविकोपार्जनमा उपयोगका सामग्रीहरु कुटो, कोदालो, हलो, जुवाँ, खुकुरी, बन्चरो, डोको, स्याँखु -सेँगु(झरीमा ओढ्ने) मगर संघ युकेको लोगोसहितको ब्यानरहरु, मगरको झण्डा, नेपालको झण्डा, बुद्धको झण्डा र ग्रेट ब्रिटेनको झण्डा (Union Jack) बोकेर झाँकीमा सहभागी भएका थिए ।

मगर संघ यूकेका महासचिब बोम,छबि पून,यामुना थापा लगायत सहभागीहरू

सायद बेलायतको इतिहासमा अन्य संघसंस्थासँग हातेमालो गर्दै धेरै संख्यामा मगरहरुको सहभागिता रहेको यो पहिलोपल्ट नै होला । नेपाली मेला २०१५ मा मगर संघ युकेकी सांस्कृतिक विभाग सचिव अनिता रानामगर र उपाध्यक्ष नेम थापामगरको संयोजकत्वमा नेपालको पश्चिम र मध्यपक्षिमाञ्चलका जिल्लाहरुमा नाचिने कौडा नाचको प्रस्तुति रहेको थियो । सामाजिक आयाम, आधुनिकता र समयको परिवर्तनसँगसँगै कतिपय संस्कृति तथा संस्कार विलिन भएर जान थालेका छन् भने कतिपय संस्कृतिले आधुनिकताको मोड लिएका छन् । मगर जातिको कौडा नाँच भने अझ आफ्नो मौलिक परिचयका साथ मौलाउँदै छ । यो नाँच मगरमा मात्र सिमित नरहेर सबै नेपाली समुदायमा अति नै लोकप्रिय हुँदै आएको छ ।

डोकोमा यामुना थापा र साथी सेल्फिमा

मेलामा प्रस्तुत गरिएको ७ जना नानीहरु र चार जना छोरा मान्छेहरुको कौडा नाँचमा सिङ्गो नेपाली मेला नै झुमिरहेको थियो । यसमा मगर संघ युके रेडिङ शाखाका अध्यक्ष पहलसिंह थापामगर, मोहन थापामगर, सल्लहाकार कुमार रानामगर र सल्लाहकार क्याप्टेन वीरबहादुर थापामगरको विशेष पहल रहेको थियो । मगर संघ युके केन्ट शाखाका सल्लाहकार एवम् भूँमे नाचका खोजकर्ता हिकमतसिंह रोकामगरको संयोजकत्वमा नेपालको मध्य र सुदूरपश्चिममा नाचिने भूमे नाचको प्रस्तुति पनि रहेको थियो ।

एम्बासडर कपका साथमा कलाकारहरू 

प्रकृति पूजामा विश्वास गर्ने १८ मगरातका मगरहरुले आँधीवेहरी तथा बाढीपहिरोजस्ता दैवी प्रकोपबाट बँच्न अनि अन्नबाली राम्रो होस् भनेर असार संक्रान्तिमा भूमिको पूजा गरी धुमधामका साथ भूमे पर्व मनाउने गर्छन् । करिब १ हप्तासम्म मनाइने यस भूमे पर्वमा गाउँभरिका मानिसहरु जम्मा भएर भूमे नाँच नाँच्ने गर्छन् । जसमा १२ वटा तालमा १२ वटै नाच हुन्छन् । यस मेलामा मगर संघ युकेले प्रस्तुत गरेको झाँकीमा १८ मगरातका दाजुभाइ तथा दिदीबहिनीहरुले भूमे नाचका केही झलक प्रस्तुत गरेका थिए ।

मगर पहिरनमा सानो मगर्नी नानी पोज दिदै

मगर संघ युके रेडिङ शाखाका सल्लाहकार एवम् मगर बौद्ध समाज युकेका सचिव टीकाराम दर्लामी थापामगरको पहलमा बुद्धिस्ट धर्मालवम्बीहरुको पनि नेपाली मेलामा सहभागिता रहेको थियो । दयालु परोपकारी विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्ध जन्मेको अति पावन भूमि नेपालका हामी मगर जातिको धर्म बौद्ध नै हो भनी नेपाल मगर संघले घोषणा गरिसकेको अवस्था छ । बुद्धको झन्डा निलो, पहेँलो, रातो, सेतो र कलेजी रङ नेपाली मेलाभरि फर्फराइरहेको थियो ।

६६ बशन्त एलबमका नायक/गायक,७६ बशन्त एलबम निकाल्न तैयार रहेका चर्चित क्या.बिरबहादुर (गाहा) थापा मगर अनिता राना सँग हसिलो मुद्रामा ।

मेलामा मगर संघ युकेका सल्लाहकार केशुराम आलेमगरको पनि उपस्थिति रहेको थियो । मगर संघ युके यु एच् एस् बी शाखा महिला समितिका अध्यक्ष पद्मा थापा मगर, स्वीन्दन शाखा महिला समितिका अध्यक्ष इन्दिरा गलामीमगर, महिला सल्लाहकार शान्ति थापा कुँवरमगर, मगर संघ युकेका सह-एडमिन सचिव हेमालक्ष्मी थापामगर, सांस्कृतिक सह-सचिव छविमाया पुनमगर र जमुना पुनमगरको पहलमा २ वर्षदेखि १२ वर्षका पन्चकन्या नानीहरुद्वारा नेपाली मेलामा सबैलाई स्वागत गरियो । मगरहरुको विवाह, पूजाआजा गर्दा होस् अथवा माइत जाँदाआउँदा डोकोमा रक्सी, दही, बारा र सेलरोटीको कोसेली बोक्ने चलन छ । मगर संघ युकेले नेपाली मेलाका पाहुँनाहरुलाई स्वागत गर्नका लागि डोकोमा सगुन लिएर गएको थियो ।

मगर संघ यूकेका सास्कृतिक बिभाग सचिब अनिता राना मगर एम्बासडर कपकोसाथमा ।

विशुद्ध लोक भाकामा रहेको सालैजो भाका धौलागिरिवरिपरिका पुन मगरहरुले मेलापात जाँदा अथवा थकाई मेट्नका लागि रोदी घरमा (जसलाई ओखरा भनिन्छ) गएर गाउँदै आएका छन् जुन सालैजो भाकामा गीत गायर नेपाली मेलानै गुन्जायमान भएको थियो । एभरेस्ट आर्चरी क्लवका अध्यक्ष एवम् मगर संघ युकेका सल्लाहकार बेलबहादुर बुढाथोकीमगरको संयोजकत्वमा नेपाली मेला २०१५ मा धनुषवाण टिमको पनि झाँकीमा उपस्थिति रह्यो ।

धनुषबाणको विकासबारे छोटकरीमा भन्नुपर्दा मानवजातिले आफ्नो विकास हुने क्रममा ढुङ्गे युगदेखि बाँच्नका लागि सिकार खेलेर जीवनयापन गर्न सुरु गरेका थिए । यही क्रममा विकास हुँदै धातुको हतियार बनाउन थाले । मगरका पुर्खाहरुले पनि जीवन यापनका लागि धनुषबाणद्वारा सिकार खेल्न सुरु गरे । सिकारी युगमा अति आवश्यक धनुषवाणलाई अहिले आएर आधुनिक जीवनमा हामीले खेलको रुपमा प्रयोग गर्दै हाम्रा पितापुर्खाको कला संस्कृतिलाई जगेर्ना गर्ने कार्य गरेका छौँ । बेलायतजस्तो ठाउँमा पनि मगरहरुले एभरेस्ट आर्चरी क्लवद्वारा प्रत्येक वर्ष धनुषवाण प्रतियोगिताको आयोजना गर्दै आएका छन् ।

मगर संघ यूकेको कोडा समूह

नेपाली मेलाको अवसरमा मगर संघ युकेका उपाध्यक्ष दलमान पुनमगर, सह-कोषाधक्ष्य नेत्र आलेमगर, केन्द्रीय सदस्य होम रोकामगर, केन्ट शाखाका अध्यक्ष उत्तरबहादुर मगर, स्वीन्दन शाखाका अध्यक्ष मोहनबहादुर थापा मगर, वेस्ट लण्डन शाखा सल्लाहकार लिलबहादुर पुनमगर, केन्ट शाखा सचिव लालबहादुर पुनमगर र साथीहरुले धनुषवाण बोकेर हाम्रा पितापूर्खाको कलासंस्कृतिलाई प्रदर्शन गरेका थिए ।

एम्बासडर कपका साथमा अध्यक्ष दुत पुन मगर र समितिका सदश्यहरू

नेपाली मेला २०१५ मा झाँकीका लागि नभई नहुने सामानहरु हलो, जुँवा, स्याँखु, डोको, कोदालो इत्यादि वेस्ट लण्डन शाखाका सुन पुनमगर र मगर संघ युकेका सल्लाहकार विल पूर्जामगरबाट सहयोग स्वरुप प्राप्त भएका थियो ।

मगर संघ युकेका सह-कोषाधक्ष्य नेत्र आलेमगरले उक्त नेपाली मेलाको लागि आर्थिक संकलन गरेका थिए । उनको भनाइअनुसार नेपाली मेला २०१५ मा सहभागिताका लागि लगभग १०० जना समर्थकहरुबाट २ हजार पौण्डभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको थियो ।

मगरको मौलिक घरेलु बस्तु डोको(ढाँकर) नाम्लोमा नेपाल मगर महिला संघ ललितपूरकी भूभू अध्यक्ष कुन्ता थापा मगर ।

मगर संघ युकेका अध्यक्ष दुत पुनमगरको मार्गनिर्देशनमा संस्थाका महासचिव बम थापा सूर्यवाशीमगरको प्रमुख संयोजकको जिम्मिवारी रहेको यस कार्यक्रममा उक्त एम्बासडर कप जित्न सफल भएको थियो । नेपाली मेला २०१५ मा सहभागिता हुनु भएको मगर समुदाय र मगर हुनुमा गर्व गर्दै प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण मगर परिवारमा हार्दिक धन्यवाद सहित मगर संघ युके हार्दिक आभार प्रकट गर्दछ ।

फोटो:यामुना थापा र अनिता राना मगरको फेशबुक बाट

(लेखक:मगर संघ यूकेका महासचिव हुन)

थप फोटो हेर्न यो लिङक थिच्नुहोस:
Anita Rana Magar
 added 48 new photos to the album:AMBASSADOR CUP 2015 TAMUDHE UK.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %