ईश्वरी जी.एम.
रोल्पा, ९ भदौ – राजनैतिक हिसाबले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समेत चर्चित बनेको रोल्पाको थबाङमा आजभोली होम स्टेको चर्चा सुरु भएको छ ।
१० वर्षे सशस्त्र जनयुद्ध पश्चात शान्ति प्रक्रियापछि पनि आम मानिसले थबाङलाई हेर्ने दृष्टिकोण द्वन्द्वसँग मात्रै केन्द्रित हुन थालेपछि सामुहिक छलफलबाटै होम स्टेको अबधारणा ल्याईएको होम स्टे सञ्चालकहरु बताउछन् । अधिकांश मगर जातीहरुको बसोबास रहेको थबाङमा हाल चर्चामा रहेको होम स्टेको नाम समेत मगर खाम भाषाबाटै ‘गे थबाङी मगर राय होमस्टे’ अर्थात हामी थबाङी मगरहरुको सामुदायिक होम स्टे राखिएको छ ।
२०६९/०७० सालबाटै होम स्टे सञ्चालन बारे बहस सुरु भएपनि २०७० साल फागुन २१ गते बसेको आम भेलाले ७ जनाको कार्यसमिति बनाएर थबाङ ठुलो गाउँको ७ वटा घरदेखि पहिलो चरणमा होम स्टे सञ्चालन गर्ने निर्णय गरेको होम स्टे सञ्चालन समितिका सचिब आशा रोकाले बताए । रोकाका अनुसार ७ जनाको घरबाट होम स्टे सेवा सञ्चालन गर्ने भनिएपनि विविध समस्याले गर्दा हाल मुलज्योती रोका, ढपलाल पुन र आशा रोकाको घरबाट मात्र होम स्टे सेवा दिन सुरु गरिएको छ भने अन्य घरहरु तयारीमा छन् ।

अनौपचारिक ढंगबाट चलिरहेको सो होम स्टेलाई विभिन्न निकायहरुमा दर्ता गरि औपचारिक हिसाबले चलाउने विषयमा प्रक्रिया अघि बढिरहेको समितिमा आबद्ध सदस्यहरुले बताएका छन् ।
होम स्टे सञ्चालन गर्दा अपनाउनु पर्ने विभिन्न मापदण्डबारे आफुहरुलाई जानकारी नहुँदा पनि होम स्टे सञ्चालनमा केहि कठिनाई देखिएकाले त्यसबारे सम्बन्धित निकायबाट सल्लाह सुझाबको खाचो समेत देखिएको सञ्चालक आशा रोकाले बताईन् । स्थानीय मगर समाजका खानाका परिकारहरु, मगर कला/संस्कृति झल्किने खालका विभिन्न सांस्कृतिक कार्यक्रमहरु, गाउघर र वरपर सरसफाइ लगायतका कुराहरुले पनि अहिले होम स्टेले चर्चा बटुल्दै गएको स्थानीयहरुले दाबी गरेका छन् ।
थबाङको मगर होम स्टेबारे जिविस रोल्पाका पर्यटन फोकल पर्सन दिपक डि.सी.ले दर्ता भएर आए सम्पुर्ण सहयोग गर्न आफुहरु तयार रहेको बताए । थबाङमा होम स्टेको खाचो रहेको साथै व्यवस्थित गर्न सके जिल्लाको मात्र नभएर मध्यपश्चिम पहाडि जिल्लाको नमुनाकै रुपमा सदाबहार चल्ने समेत सम्भावना बोकेकाले होम स्टेको सम्पुर्ण मापदण्ड भित्र रहेर थबाङमा पनि अभ्यास थालिए त्यसले गति लिने डिसीको दाबी छ ।
