हुम सुनारी मगर
खबरदार, पाल्पा टुक्र्याउन षडयन्त्र गर्नेहरूलाई । पाल्पा ऎतिहासिक भूमि हो । कुनै व्यक्ति अथवा पार्टीको भूमि होइन, पाल्पा । सोझा सिधासादा बहुसंख्यक मगरहरूको ऎतिहासिक भूमि पाल्पामा बसेर त्यहाँका रैथाने मगरहरूको भावना र आकांक्षा विपरित पाल्पालाई टुक्र्याएर व्यक्तिगत र पार्टीगत स्वार्थसिद्ध राजनीति गर्न खोज्नेहरूलाई म सात समुन्द्रपारीबाट कडा विरोधका साथ पाल्पा टुक्र्याउन चुनौती दिन्छु ।
पाल्पाको कूल जनसंख्याको ६२ प्रतिशत भन्दा बढी मगरहरू बसोबास भएको जिल्ला हो । जहाँ एक लाख ४५ हजार त मगरहरूको मात्रै बसोबास रहेको छ । पञ्चायती व्यवस्था देखिनै मगरहरूले यो क्षेत्रमा राजनीतिक अग्राधिकार र नेतृत्व गर्दै आइरहेको भूमि पनि हो ।
यो क्षेत्रको रामपुर, गेझा (मगर भाषाको “ग्याझा” अथवा रातोमाटोलाई अपभ्रंस गरिएको) को उत्तर भूभाग र हुगी बाहेकका २० गाबिसका सबै मानिसहरू मगर भाषा बिना कुनै पनि कारोबार हुन सक्दैनन् । त्यस क्षेत्रमा कृयाशील राजनीतिज्ञ, ब्यापारी लगायत कुनै पनि पेशाकर्मी/ब्यबसायीहरू मगर भाषा बोल्न जानेका हुँदैनन् भने त्यहाँ टिक्न सक्ने अवस्था हुँदैन ।
सङ्घीयता भनेको विशेष गरि सदियौंदेखि उत्पीडनमा पारिएका जाति, वर्ग र समूदायहरूको भावनासँग जोडिएको बिषय हो । बिशेष गरि निश्चित भूभागमा बसोबास गर्ने जाति, वर्ग र समूदायहरूका भाषा, धर्म र संस्कृतिलाई संबोधन र संरक्षण गर्न गराउन र सदियौंदेखि विभेदमा पारिएका जात जाति, समूदाय र वर्गहरूलाई पनि राज्यसत्तामा पहुँच र समान रुपले साझेदारिताको व्यवस्था होस् भन्ने प्रमुख उद्देश्यका लागि नेपालमा सङ्घीय व्यवस्था हुनुपर्ने आवश्यकताको महसुश गरिएको हो ।
अर्को अर्थमा भाषिक, सांस्कृतिक र भौगोलिक निरन्तरताको प्रत्याभूत र त्यस भूभागमा कैयौं शताब्दीदेखि बसोबास गर्दै आइरहेका जाति र समूदायहरूको थातथलोलाई पहिचान गर्ने गराउने व्यवस्था नै सङ्घीयता हो । सङ्घीय व्यवस्था भनेको हिजोको जस्तो एकात्मक प्रणाली, एउटा मात्रै भाषा, एउटा मात्रै धर्म र संस्कृतिलाई निरन्तरता दिने पद्धति होइन । सबैभन्दा बिपन्न वर्ग, समूह र जातिलाई सबैभन्दा सम्पन्न जाति, वर्ग र समूदाय कै हैसियतमा पुर्याएर समानुपातिक समावेशीपूर्ण व्यवस्था स्थापित गर्नु नै सङ्घीयताको मूल बिशेषता हो । त्यसैले, सङ्घीय व्यवस्थालाई हिजोकै पाच विकास क्षेत्र जस्तो नेपालको एकात्मकवादी प्रारुपको परिकल्पना कसैले गर्छ भने कि त त्यो सङ्घीयता संबन्धि पूर्णरुपले अनविज्ञ हुनु पर्छ । कि त त्यो निरङ्कुश मानसिकताले ग्रस्त छ ।
तथाकथित ठुला प्रमुख ४ राजनीतिक दलहरूले ६ प्रदेश सहितको सङ्घीयताको जुन खाका ल्याएको छन्, त्यसमा बिशेष गरि मगर र थारुहरूलाई नियोजित रुपमा विभाजन गरि ति जातिहरूलाई अल्पमतमा पारेर पुन: एकात्मकवाद लाद्ने षडयन्त्र गरिरहेको स्पष्ट देखिन्छ । हिजो मात्रै पाल्पा क्षेत्र नम्बर १ का २-४ जना ब्राम्हण नेताहरूले काठमाडौँमा एक भेलाको आयोजना गरि पाल्पाको पूर्बी भूभाग अथवा क्षेत्र नम्बर १ लाई टुक्र्याएर प्रदेश नम्बर ४ मा राख्न लबिङ् गरिने भन्ने बुझिएको छ।
सवै गाविसका राजनितिक तथा सामाजिक अगुवाहरूको हस्ताक्षर संकलन गरेर नेताहरुलाई बुझाउने र दवाव अभियान निरन्तर चलाईरहने निर्णय पनि गरेको छ भन्ने समाचार बाहिर आएको छ । स्मरण रहोस्, पाल्पा क्षेत्र नम्बर १ अथवा सिङ्गो पाल्पाका मगरहरू अब तपाईहरूले जे जे गर्न मन लाग्छ त्यसलाई सहर्ष स्वीकार्ने र टुलुटुलु हेरिबस्ने मगरहरू होइनन् ।
भौगोलिक रुपमा पाल्पा ऎतिहासिक बार्ह-अठार मगरात अन्तर्गतको “मगरात” भूमि हो । व्यक्तिगत र पार्टीगत स्वार्थका लागि पाल्पालाई टुक्र्याएर अथवा मगरात भूमिबाट पनि सिङ्गो पाल्पालाई मात्र अलग्याएर कसैले राजनीतिक स्वार्थ लिने दुस्प्रयास गर्छ भने त्यो एउटा दिवासप्ना मात्रै हुनेछ । ऎतिहासिक बार्ह-अठार मगरात कहिल्यै पनि टुक्रिएर यताउति हुन सक्दैन । मगरात भूमि मगरात मै रहन्छ। यसको आफ्नै ऎतिहासिक पृष्ठभूमि रहेको छ। यहाँ रहेका सबै प्राकृतिक सम्पदा, ति भूभागमा बस्नेहरूका आफ्नै मौलिक भाषा, धर्म र संस्कृति मगरात भूमिको वास्तविक पहिचान हो । यसलाई मेटाउन कसैले दुस्शाहस गर्छ भने त्यसको नतिजा भयानक हुनसक्ने चेतावनी दिन चाहन्छु ।
इमेल: humbsmgr@gmail.com