मनोज घर्तीमगर
हप्तैभरि साहित्य र सङ्गीत सम्बन्धी कार्यक्रमले भ्याइनभ्याइ हुने पोखराबाट ‘सुगम सङ्गीत यात्रा’ नामक अर्को कार्यक्रम सुरु भएको छ ।
साउन २ गतेदेखि सुरु भएको कार्यक्रम हरेक महिनाको पहिलो शनिबार हुनेछ । सङ्गीत क्षेत्रमा क्रियाशील पोखराका तिन संस्था अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जेई. म्युजिक एकेडेमीको संयुक्त आयोजना संगीत यात्रा सुरु भएको हो । पहिलो कार्यक्रम पोखराकै बाराही मन्दिरमा भयो ।
जेई. म्युजिकका प्रबन्ध निर्देशक गायक तथा सङ्गीतकार रामभक्त जोजिजुका अनुसार पुराना र नयाँ स्रष्टाका बिचमा सम्बन्ध स्थापित गर्दै नेपाली सङ्गीतको संरक्षण, सम्बद्र्धन र विकास गर्ने, पुराना स्रष्टालाई सम्मान गर्दै नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने, फरकफरक ठाउँमा नेपाली सुगम सङ्गीतमा देखिने मौलिकता र तिनका विशेषता अनुसन्धान गर्ने, विभिन्न ठाउँमा क्रियाशील व्यक्ति र संस्थाका बिच परिचय र सहकार्य अघि बढाउने, मानव जीवन र जगत्लाई सङ्गीतले पार्ने प्रभावका बारेमा समाजलाई सुसूचित गराउने गरी पाँच वटा उद्देश्य यात्राले राखेको छ ।