झरीलो साँझमा उन्मुक्त नाच

Read Time:4 Minute, 18 Second

मनोज घर्तीमगर 

तस्वीर : जक्सटन डटकम

साँझ छिप्पिँदै गएपछि लेकसाईडको व्यन्जन रेस्टुरेन्टमा युवायुवतीहरुको भीड बाक्लियो ।

व्यन्जनले गरेको ‘रेन्टरटेनमेन्ट’को लागि पानीमा भिजेर नाच्नलाई उनीहरु तम्तयार थिए । डिजे शेशन शुरु भयो । कृत्रिम झरीमा निथ्रुक्क भिज्दै युवायुवतीले उन्मुक्त नाच्न थाले । सिमसिम पानीमा युवतीहरुको ‘हट’ पहिरनले धेरैको ध्या खिच्यो ।   राती अबेरसम्म चल्यो डिजे शेशन । हङकङबाट आएका डिजे चिजोन, काठमाण्डौबाट आएका डिजे फुच्चे र पोखराका डिजे नटिजले युवायुवतीलाई नचाउन कुनै कन्जुस्याँई गरेनन् । केहि समय यता लेकसाईड सुनसान जस्तै छ । विदेशी पर्यटकहरु कमै मात्र देखिन्छन् । नेपाली पर्यटक पनि उति सा-होआएका छैनन् । भूकम्प पछि सुस्ताएको लेकसाईडलाई शनिबारको ‘रेन्टरटेनमेन्ट’ले केहि मात्रामा भए पनि जगायो । झरीमा भिज्दै नाच्न शनिबार राती व्यन्जनमा सात सय भन्दा बढि युवायुवतीहरु जम्मा भए ।   ‘ओम ईभेन्ट्स’ले व्यवस्थापन गरेको रेन्टरटेनमेन्टको झरीमा रुझेर नाच्न हङकङ, भारत, काठमाण्डौ, चितवन, धरान लगाएत देशका ठुला शहरबाट युवायुवतीहरु व्यन्जनमा आईपुगेका थिए । ‘३० प्रतिशतभन्दा बढि रेन्टरटेनमेन्टमा सहभागिता जनाउने पोखरा बाहिरका हुन्’ व्यन्जन रेस्टुरेन्टका संचालक वैभव पौडेल भन्छन्, ‘सुस्ताएको लेकसाइडमा झरीमा नाच्न आउने युवायुवतीको भीड देखेर निकै खुशि लागेको छ ।’ व्यन्जनले गर्दै आएको झरीमा गरिने डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’को यो दोस्रो सँस्करण हो ।   झरीमा नाच्दै झुम्ने यस्तो खालको डान्स पार्टी पोखरामै पहिलोपटक व्यन्जनले गरेको व्यवस्थापनको दाबी छ । ‘यो फरक र रमाईलो शैलीको डान्स पार्टीलाई युवायुवतीहरुले निकै रुचाए’ व्यन्जनका म्यानेजर मनोज भट्ट भन्छन्,‘यसले पोखराको पहिचानलाई बचाउने काम पनि गरेको छ ।’ नेपालकै सबैभन्दा बढि झरी पर्ने शहरको रुपमा चिनिने पोखराको विशेषता अनुसारको डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’ हरेक वर्ष हुने उनले सुनाए ।   झरी डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’मा अभिनेता सौगात मल्ल, फेशन कोरियोग्राफर प्रशान्त ताम्राकार, अभिनेता सन्दिप क्षेत्री, फोटोग्राफर राजीव श्रेष्ठ र फेशन डिजाईनर राजेश धख्वा लगाएतका सेलेब्रिटीहरुको समेत सहभागिता थियो । सेलिब्रिटीहरुसँग पानीमा भिज्दै नाच्न पाउँदा पोखरेली युवायुवतीहरु अझै बढि खुशि देखिन्थे । ईभेन्टको क्रममा व्यन्जनले पाँच लाख रुपैयाँ भन्दा बढि कारोबार भएको जनाएको छ । उसले कारोबारबाट भएको नाफा मध्ये १० प्रतिशत रकम कास्कीको भदौरे र लुम्लेका पहिरो पिडितहरुलाई प्रदान गर्ने जनाएको छ ।

चार वर्ष अगाडी स्थापना भएको व्यन्जन रेस्टुरेन्टले वार्षिकोत्सवको क्रममा ‘व्यन्जन उत्सव’ समेत गर्दै आएको छ । सात करोड रुपैयाँ लगानी रहेको व्यन्जनमा साधारण दिनमा पनि २ सय भन्दा बढि ग्राहकहरुले एकैसाथ खानपिन गराउन सक्ने क्षमता रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %