ईश्वरी जी.एम.
रोल्पा, साउन २४ – रोल्पाको सदरमुकाम लिबाङमा स्थापना भएको मगर संग्रहालय तथा सांस्कृतिक केन्द्रमा मगर जातीले परम्परादेखि ढिडो पकाउने खौनादेखि अन्न भण्डार गरि राखिने हुन्ना लगायत लोप हुन लागेका अन्य सामग्रीहरुलाई सजाएर राखिएको छ ।
आदिबासी जनजातीहरु त्यसमा पनि मगर जातीको बाहुल्यता भएको रोल्पा जिल्लामा परम्परागतदेखि मगर जातीले प्रयोगमा ल्याएका सामग्रीहरु लोप हुन लागेको भन्दै जिल्लामा हालै मात्र मगर संग्रहालय तथा सांस्कृतिक केन्द्र खोलीएको छ । पश्चिम उच्च पहाडि गरीबी निबारण उपापको ७ लाख ५९ हजार आर्थिक सहयोगबाट सञ्चालन गरिएको सो केन्द्रमा मगर जातीका महिला तथा पुरुषहरुले प्रयोग गर्ने अल्लो, धागोका कपडाहरु, मगर महिलाहरुले प्रयोग गर्ने गहना(कण्ठमाला, कपुरनी माला,) गाईभैसीको दुध दुहुने गाबु, मोही पर्ने ठेका, घिउ राख्ने चाँठी,घास काट्ने आँसी, दाउरा काट्ने खुर्पा, घास दाउरा तथा सामान बोक्ने बर्रे,मकै लगायत बारी गोड्ने कुटा, माछा मारेर राख्ने ब्यारी, गाई ग्वाला जादा टेक्ने डिङ्ना, राखिएको मगर संग्रहालय तथा सांस्कृतिक केन्द्रका अध्यक्ष भिमबहादुर बुढा मगरले बताए ।

संग्रहालयमा घर बढार्ने बाब्बेको कुचा, भाङगो काट्ने टाकु, भेडाको प्वाखबाट निर्माण गरेको कम्बल, बिबाह, मरु र पूजाआजामा बजाईने दमा, मादल, सनाई, पैसेरु मादल, दौदी तथा पानी भर्न प्रयोग गरिने गाग्री, जाँड पकाउन प्रयोग गरिने ताउला, दाउला बाट्न प्रयोग गरिने गाप, कुसुम (स्याउला) खेर्न प्रयोग गरिने कोर्ने, खुरुङ्गी, डारु, पन्यू, चुल्होको अदान समेत राखिएको छ ।
संग्रहालयमा अल्लो / पुवाबाट निर्मित झोलाहरु, मोबाईलका खोलहरु, साना झोलीहरु समेत राखिएको छ । पछिल्लो पुस्तालाई आकर्षण गर्नका लागि तथा छिटो र सजिलो माध्ययमबाट यी चिजहरुले बजार बिस्तार गर्नमा मद्दत मिल्ने बुझाईले यी चिजहरु राखिएको संग्रहालयकी सदस्य रामप्रिया बुढा मगरले बताईन् । बुढाका अनुसार संग्रहालप्रति आम मानिसको चासो बढ्दै गएको छ । दैनिक कार्यालय समयमा भिडभाड हुने सो संग्रहालयमा कतिपयले सामान किनेर समेत लगिरहेका छन् । संग्रहालयको सामान किन्न चाहनेलाई बेच्नेको समेत प्रबन्ध केन्द्रले मिलाएको जनाएको छ ।
सामग्री आउने क्रम जारी रहेकाले यसको औपचारिक उद्घाटन भने केहि समय पछि मात्र हुने बताईएको छ । संग्रहालयमा राख्नका लागि विभिन्न व्यक्तिहरुले पुराना डिजाईनका मगर परम्पराका सामानहरु निशुल्क सौजन्य गरिरहेको समेत अध्यक्ष बुढामगरले बताए ।
यस केन्द्रलाई थप प्रचारप्रसार गर्न हालै मात्र वेवसाईट www.magarculturalmuseum.com सञ्चालनमा ल्याईएको केन्द्रले जनाएको छ।
