मनोज घर्तीमगर
पोखरा र नाटकको साईनो धेरै वर्ष पुरानो हो । कुनैबेला पोखरालाई नाटककै शहर भनेर भनिन्थ्यो ।
४० को दशकमा यहाँ दर्जनौँ नाट्य मण्डलीहरु थिए । त्यो पोखरेली नाटकको लागि स्वर्ण समय थियो । ६० को दशक शुरुवातसँगै पोखरामा नाट्यकर्महरु विस्तारै कम हुँदै गए । यद्यपी पोखरा र नाटकको लामो साईनो हुँदा पनि अहिलेसम्म पोखरामा नाटक घर छैन । थुप्रै नाट्य समुह हुँदा पनि वाणिज्य र सभागृह हलमा नाटक देखाउनुपर्ने बाध्यता छ । जुन नाटकको लागि उपयुक्त नभएको यहाँकै रंगकर्मीहरु बताउँछन् ।
समय फेरिएको छ । पोखराले एउटा ऐतिहासिक उपलब्धि गर्दैछ–त्यो हो नाटकघर । पछिल्लो पटक गठन भएको यूथ क्रियशन थिएटरको अगुवाईमा यहाँ नाटकघर निर्माण सुरु भएको छ । शुक्रबार साहित्यकार तीर्थ श्रेष्ठले नागढुंगामा नाटकघरको शिलन्यास गरे । ‘नाटकघर बन्नु पोखराको लागि खुशिको कुरा हो । म पनि जोडिन पाउँदा गौरव महशुस गरिरहेको छु’ शिलन्यास पछि श्रेष्ठ आफ्नो सपना पनि सुनाए, ‘नयाँ छिमलका भाईहरुले मेरो आफ्नै सपना पनि पुरा गराउन अभियान चलाएकोमा मैले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता गर्दछु । यो अभियानमा म पनि छु ।’ श्रेष्ठले शिलन्यासपछि १५ हजार रुपैयाँ नाटकघरको लागि सहयोग गरे ।
यूथ क्रियशन थिएटर गठन भएसँगै सबैभन्दा पहिलो नाटक नाट्यकर्मी कृष्ण उदासीको लेखन र निर्देशनमा मञ्चन भएको थियो, अन्तराष्ट्रिय रक्सी भट्टी । उनै कृष्ण उदासीले शुक्रबार नाटक घर शिलन्यास भैरहँदा केहि पोखरेली नाटकका पुराना दिन सम्झिँदै अब आउने दिनहरु सुनौलो भएको बताए । नाटकघरको शिलन्यास भैरहँदा संस्थाका अध्यक्ष कपिल शर्मा निकै खुशि देखिन्थे ।
‘शुरुवातदेखिकै सपना थियो, कि पोखरामा पनि एउटा सुविधासम्पन्न नाटक घर होस् । र, त्यहि नाटकघरमा निरन्तर नाटक मञ्चन गर्न पाईयोस्’ कपिलले मनको कन्तुरबाट एउटा सम्झना झिके,‘नाटक घर नभएपछि संस्था आफै कस्सियो, नाटकघर बनाउन । लामो समयको मेहेनतपछि मात्रै संस्थाले नाटकघर निर्माण थाल्न सक्यो ।’ करिब २० लाख रुपैयाँ निर्माण लागत अनुमान गरेको संस्थाले दाताहरुबाटै सहयोग उठाएर नाटक घर निर्माण थालेको हो ।