रुद्र श्रीसमगर
पोखरा, १५ साउन – नेपाली तथा मगर दुवै भाषामा छायाङ्कन गरिएको मगर चलचित्र ‘मिझार’ अर्थात् ‘जेठा’को पोखरामा विशेष प्रदर्शन गरिने भएको छ ।
नेपाल मगर महिला संघ कास्कीको आयोजनामा आगामी भदौ १९ गते पोखरा सभागृहमा सो चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको अध्यक्ष फूलकुमारी थापामगरले जानकारी दिए । आयोजकका अनुसार पोखरा सभागृहमा बिहान ११ बजे मगर भाषामा र दिउँसो २ बजे नेपाली भाषामा गरी दुई चोटि सो चलचित्रको विशेष प्रदर्शन गरिनेछ ।
मिवाट पिठाकोटेमगर प्रस्तुतकर्ता र म्याक्सोन फोर डी स्टुडियोको पहिलो प्रस्तुती रहेको सो चलचित्र किरण पुनमगर, सुशान्त पिठाकोटेमगर र सरस्वती पिठाकोटेमगरले निर्माण गरेको हो । लेखन/छायाङ्कन /सम्पादन/निर्देशन सन्तोष पिठाकोटेमगरको रहेको सो चलचित्रमा रमेशबाबु थापामगर, दिलु राम्जालीमगर, किरण पुनमगर, अनिता रानामगर, मोनिका थापामगर, बाबुलाल थापामगरलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
हालसम्म २० भन्दा बढी मगर चलचित्रसहित मगर, गुरुङ, तामाङ तथा नेपाली भाषाका गरी करिब ७० चलचित्रमा संलग्न रहेका निर्देशक सन्तोष पिठाकोटेमगरका अनुसार ‘मिझार’ पृथक कथावस्तु बोकेको मगर चलचित्र हो । पोखरा, मनकामना, आँबुखैरेनी, काठमाडौंलगायतका स्थानमा छायाड्ढन गरिएको सो चलचित्र १२ लाख रुपैयाँ लगानीमा निर्माण भएको निर्देशक पिठाकोटेमगरले जानकारी दिए ।
पोखराबाहेक यसअघि सो चलचित्र चितवन, आँबुखैरेनी, मनकामना, गोरखा, गैंडाकोट, कावासोती, दुम्कीबास, खैरेनीटार, कोत्रे, राम्चे, नागी, रामबजारलगायतका स्थानमा प्रदर्शन भइसकेको छ । प्रदर्शन भएका स्थानबाट दर्शकको राम्रो प्रतिक्रिया आएको निर्माण पक्षको दाबी छ । सो चलचित्रले पोखरामा समेत दर्शकको माया पाउने आशा निर्माण पक्षको छ ।