नेपाललाई धार्मिक युद्ध भूमि बनाउँन भारतको कसरत

Read Time:10 Minute, 59 Second

हुम सुनारीमगर

केहि दिन यता नेपालमा धर्मनिरपेक्षताको विषयमा खुब बहस भईरहेको छ । देश तथा विदेशमा रहने कैयौं नेपालीहरूले यसलाई ठुलो बहस बनाएका छन ।

(नेपाली भूमीमा भारतीय जोगीहरूको तान्डव निर्त्य ,धार्मिक युद्धको उद्दोस  तस्बिर आफै बोल्छ)

 

 

कसैले नेपाल धर्मनिरपेक्ष राष्ट्र संविधानमा नलेखिए कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् भने कतिले हिन्दु राष्ट्र कुनै हालतमा संविधानमा लेखिनु पर्ने र त्यसको लागि जनमत सङ्ग्रह गर्नुपर्ने धारणा पनि राखेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त धर्मनिरपेक्ष राष्ट्रको ठाउँमा धर्मस्वतन्त्र राष्ट्र हुनु पर्ने बेतुकको जिकिर गरिरहेका छन । एउटा देशकै जिम्मेवारी नेता भएर गैरअभिब्यक्ति दिदै हिंड्न  कत्तिको सान्दर्भिक देखिन्छ?

नेपाल धर्मनिरपेक्ष राष्ट्र होइन भनेर कसैले भन्छ भने त्यो व्यक्ति अथवा पार्टी ०६२/६३ को जनआन्दोलनको विरोधी हो भनि बुझ्न सकिन्छ । ०६२/६३ को ऎतिहासिक महान जनआन्दोलन र दशबर्षे जनयुद्धको उपलब्धि पछि तत्कालिन नेकपा (माओवादी) सहितको अन्तरिम संसदको शतप्रतिशत मतले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो भनेर लेखिएको २०६३ को अन्तरिम संविधान घोषणा गरिएको थियो । नेपाल बहुधार्मिक,बहुभाषिक र बहुसाँस्कृतिक राष्ट्र हो । त्यसैले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । धर्मनिरपेक्ष लेखिएको अन्तरिम संविधानलाई शतप्रतिशतले पारित गर्ने पात्रहरू तिनै हुन । अहिले आएर कुनै कारण बिना तिनै पात्रहरूले धर्मनिरपेक्षलाई उल्ट्याउने काम गर्छ भने त्यो राजनीतिक महा बेइमानी ठहरिने छ ।  

पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्बजनिक समारोह मै नेपालको नयाँ संविधानमा धर्मनिरपेक्ष नलेखिने उद्घोश  गरेका छन् । केहि मानिसहरूले संविधानको प्रारम्भिक मस्यौदा माथि नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भनेर सुझाव दिँदैमा मुलुककै दोश्रो ठुलो राजनीतिक दलका अध्यक्षले त्यस्तो अभिव्यक्ति दिन मिल्छ ? के केपी शर्मा ओली हिन्दुहरूका मात्रै नेता हुन् ? के नेकपा एमाले हिन्दुहरूको मात्रै राजनीतिक संस्था हो ?  

१६ बुँदे सहमतिको आधारमा तयार भएको संविधानको मस्यौदा माथि कैयौं राजनीतिक दलहरू र जातीय संघसंस्थाहरूले बहिस्कार गर्दै संविधानको प्रारम्भिक मस्यौदामा कुनै सुझाव नदिएर आन्दोलन जुलुस् गरिरहेका छन् । धार्मिक, भाषिक र सांस्कृतिक रूपमा बिगत २५० बर्षदेखि उत्पीडन र विभेदमा पारिएका लाखौं नेपाली जनताहरू संविधानको प्रारम्भिक मस्यौदालाई बहिस्कार गरेर कुनै सुझाव पेश गरेका छैनन् । नेपालको स्थायी शान्तिलाई ध्यानमा राख्दै र सबैका धर्मलाई सम्मान गर्दै कैयौं हिन्दु धर्मप्रति आस्था राख्ने मानिसहरूले पनि नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भनि सुझाव पेश गरेको देखिएको छ । केहि एकाध अतिहिन्दुवादी मानिसहरूले नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भनि सुझाव दिएकै आधारमा मात्रै संविधानमा हिन्दु धर्म राज्य लेख्न मिल्ला ? त्यसो गरियो भने भोलि नेपालमा धार्मिक युद्ध हुने निश्चित छ ।  

धन्य छ नेपालका बुद्ध धर्मावलम्बीहरूलाई । नेपाल बुद्धको देश । विश्व मै शान्तिको ज्योति फैलाउने बुद्ध जन्मेको देश । लाखौँ नेपालीहरूले बौद्ध अङ्गिकार गरेको देश  तर तिनीहरूमा कत्तिपनि अहंमता छैन  किनभने तिनीहरू नेपालमा स्थायी शान्ति चाहन्छन्, सबै मानिसहरूले अङ्गिकार गर्ने धर्मलाई सम्मान गर्छन् र समान ठान्छन्  त्यसैले तिनीहरूले कहिल्यै पनि नेपाल “बौद्ध धर्मसापेक्ष राज्य” हुनुपर्छ भनेर वकालत गरेनन् । सबै बौद्ध धर्मावलम्बीहरूको  मुखमा यहि शब्द, “छ नेपाल धर्मनिरपेक्ष” हुनुपर्छ ।  

पछिल्लो समयमा भारतका एक मन्त्रीले नेपालका प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल हिन्दु धर्म राष्ट्र लेख्न दबाब दिएका छन् भन्ने विभिन्न मेडियाहरूमा पढ्न पाइयो । यो नेपाली जनता र राष्ट्र कै लागि दुर्भाग्य हो । नेपालमा के हुनु पर्छ के हुनुहुँदैन भन्ने भारतले भन्ने होइन । नेपाल सार्वभौमसम्पन्न राष्ट्र हो । नेपालको भबिष्य निर्धारण गर्ने अधिकार नेपाली जनता मै निहित हुनुपर्छ ।  

भारतले नेपालमा धार्मिक युद्ध गराउन चाहन्छ भन्ने प्रष्ट छ । यसमा नेपाली जनताहरू सचेत हुनु अत्यावश्यक छ । ८० प्रतिशत भन्दा बढी हिन्दुहरू भएको भारतमा पहिला आफ्नै देशमा हिन्दु धर्म राष्ट्र घोषणा गर्न हिम्मत गरोस् भारतले । तर, भारतले त्यसो कदापी गर्न सक्दैन । झन्डै ६७ प्रतिशत मतका साथ भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेर २०१४ को चुनाव जितेको थियो । यो भारतको इतिहास मै सर्वाधिक बहुमत प्राप्त गरेको भनिएको छ । यतिबेला भारतका सत्तारुद पार्टीले चाहयो भने भारतलाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन सक्छ । तर, भारतले त्यस्तो गल्ति गर्दैन । करोडौ भारतीय नागरिकहरूले भारतीय जनता पार्टीलाई होइन कि नरेन्द्र मोदीलाई मत दिएका थिए भन्ने भाजपा र त्यसको सरकारले प्रष्ट बुझेका छन् ।  

भाजपा र त्यसको सरकारले भारतलाई हिन्दु सापेक्ष राष्ट्र बनाइए भारतमा रहेका १३ करोड ८० लाख मुस्लिम जनताले अर्को पाकिस्तान जन्माउन सक्छ भन्ने पनि तिनले प्रष्ट बुझेका छन् । आफ्नो देशमा भाजपा र त्यसको सरकारको पूर्ण बहुमत हुँदा पनि भारतलाई हिन्दु राष्ट्र बनाउन नसक्नेले नेपालमा हिन्दु राष्ट्र बनाउन भाजपाले लविङ्ग गर्नु त्यो गम्भीर राजनीतिक षडयन्त्र हो भन्ने नेपाली जनताहरूले प्रष्ट बुझ्नु जरुरी छ ।  

मुस्लिम मिरर डट कम भन्ने वेबसाइटमा भेटिएको एउटा तथ्यले यो पुष्टि गरेको छ कि भारतमा बीफ (गाई गोरुको) मासु उत्पादन तथा निर्यात गर्ने सबैभन्दा ठुला ६ कम्पनीहरू मध्ये ४ वटा कम्पनीहरूका मालिकहरू सबै हिन्दु हुन् । जस्तै, अलकबीर एक्सपोर्ट प्रा.लि. मुम्बईका मालिकहरू शतिश (हिन्दु) र अतुल सब्रवाल (हिन्दु) हुन् । अरबियन एक्सपोर्ट प्रा.लि. मुम्बईका मालिक सुनिल कपूर (हिन्दु) हुन् । एम.के.आर. फ्रोजन फूड इण्डस्ट्री प्रा.लि. न्यू देल्हीका मालिक मदन अवेट (हिन्दु) हुन् भने पि.एम.एल. इण्डस्ट्री प्रा.लि. चण्डीगडका मालिक ए.एस. विन्द्रा (हिन्दु) हुन् ।  

भारतले आफ्नै देशका कैयौं व्यवसायीहरूलाई गाई गोरूको फार्महाउस् खोल्न, आफ्नै देशमा गौहत्या गरि मासु उत्पादन गरेर देश विदेशमा निर्यात गर्न अनुमति दिने भारत सरकारले नेपालमा हिन्दु राज्यको पक्षमा वकालत र लविङ्ग गर्ने नैतिक अधिकार भारतसँग कदापी हुन सक्दैन । भारत मै गौहत्या गरेर प्याकिङ् गरि अलकबीर एक्सपोर्ट प्रा.लि. मुम्बई र अरबियन प्रा.लि. मुम्बईका कम्पनीहरूले निर्यात गरिएको गाईको मासु अरब राष्ट्रका सबै सुपरमार्केटहरूमा उपलब्ध छन् ।  

आम नेपाली मानिसहरूले बुझ्न र मनन् गर्नुपर्ने अत्यन्तै महत्वपूर्ण कुरा के छ भने नेपालमा हिन्दु राज्य स्थापित गर्न फलाना देशको पूर्ण समर्थन छ भन्दै सिङ्गो राष्ट्र नेपालमा एकात्मक हिन्दुवाद लाद्न खोजियो भने भयङ्कर ठुलो दुर्घटना हुने कुरामा सबै नेपाली नागरिक सचेत हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । नेपाल विभिन्न जातका फूलहरूको साझा फूलबारी हो । त्यो फूलबारीमा हरेक जातका फूलहरू समान रूपले हुर्कन र सुगन्ध दिन पाउनु पर्छ ।  

(सुनारीमगर आदिबासी जनजाति महासंघ(आन्दोलनका) अन्तराष्ट्रिय समन्वय समितिका संयोजक हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %