✍ भिक्षु बुद्ध रक्खितो ‘रनु पुलामी मगर ’

खराब चित्तलाई अघि सारी खराब व्यवहारहरु प्रयोग गर्ने व्यक्तिहरुलाई नै खराब व्यक्ति भनिन्छ । नियत ठिक भएन भने त्यस व्यक्तिले धेरै जसो अरुलाई पनि आफुलाई पनि दु:ख हुने बिउ रोपिरहेको हुन्छ । त्यस्तो व्यक्तिहरुको विषयमा भगवान बुद्धले चर्चा गर्नु भएको छ ।
“अलसो गिही काम भोगी
नसाधु असञ्ञतो पब्बजितो न साधु
राजा न साधु अनिसम्मकारी
यो कोधनो पण्डितो सो नसाधु”
अर्थ-
१) अल्छी गृही काम भोगी मानिस ठिक छैन ।
२) असंयमित प्रव्रजित भिक्षु पनि ठिक छैन ।
३) अविवेकी स्वेच्छाचारी राजा पनि ठिक छैन ।
४) रिसालु पण्डित विद्धान पनि ठिक छैन ।
माथि उल्लेखित बुद्ध वचनलाई अध्ययन गरेर हेर्दा यसले प्रष्टाईरहेको छ, अल्छी र कामभोगी मानिसहरुको बानी व्यवहार ठिक छैन । किनभने अल्छी मानिसले आफ्नो जीवनमा उन्नति अभिवृद्धि गर्न सकिरहेको हुदैन जसले गर्दा उसले आफ्नो जीवनमा सफलता हासील गर्न सकिरहेको हुदैन । अल्छी मानिसको छिट्टै पतन हुन्छ । अल्छी व्यक्ति धेरै जसो आफ्नो जिम्मेवारी र कर्तव्य पन्छाउदै भाग्न खोज्छ । उसले आफ्नो अल्छीपना बानीको कारणले अनेक बहाना गर्दै अगाडी बढ्न खोज्दैन । कहिले जाडो त् कहिले चर्को घाम छ भन्दै अनेक बहाना अघि सार्दै आफुले गर्नु पर्ने कार्यलाई पछाडी हटाउदै जीवन विताइरहेको हुन्छ ।
त्यसैले भगवान बुद्ध भन्नुभएको छ-
“अलसस्स कुतो सिप्पं,
अर्थ- अल्छी मानिसलाई शिल्प शास्त्र कहाँ पाइन्छ ?
“असिप्पस्स कुतो धनं”
शिल्प शास्त्र नै नजानेका व्यक्तिले कसरि धन कमाउछ ?
भगवान बुद्धले भन्नुभएको छ-
गृहस्थ जीवनलाई सुखमय र सुखपूर्वक निर्वाह गर्नका लागि चार प्रकारका सुखहरु हुन अत्यावश्यक छ । ति यसरी छन्:
क) अत्थी सुख-
मानिसको जीवन सुखमय बनाउनका लागि, बाँच्नका लागि नभई नहुने दैनिक जीवनमा नभईनहुने आधारभूत आवश्यकताका वस्तुहरुको अभाव हुनु हुदैन । ति वस्तुहरु आफुसंग हुनुपर्छ । यसलाई अत्थी सुख भनिन्छ ।
ख) भोग सुख-
आफुले कमाएको धन आफ्नो इच्छानुसार भोग गर्ने मौका पनि हुनुपर्छ । यसलाई भोग सुख भनिन्छ ।
ग) अणन सुख –
आफ्नो जीवनमा अरुसंग ऋण लिन नपर्ने गरि जीवन बिताउनु पाउनु पनि एक प्रकारको सुख हो । त्यसलाई अणन सुख भनिन्छ ।
घ) अनवज्ज सुख –
अरुले दोषारोपण गर्न नसक्ने निर्दोष जीवन बिताउनु पाउनु पनि एक प्रकारको सुख हो । यस्तो जीवन सुखलाई अनवज्ज सुख भनिन्छ ।
माथि उल्लेखित चार प्रकारका सुख प्राप्त गर्नका लागि मानिसले उत्साहपुर्वक काम गर्नुपर्छ । परिश्रम गरि कमाउन सक्नु पर्छ । कर्ममा छैन के गर्नु भन्दै चुपलागेर बस्नु मानिसको कर्तव्य होइन । बुद्धले भन्नुभएको छ- मानिसले खानलाई पुग्ने गरि कमाएर मात्र पुग्दैन । उत्साहपूर्वक पसिना बगाई कमाउनु पर्दछ । कमाएको धनलाई सुरक्षा गर्नुपर्दछ । अर्को शब्दमा भन्ने हो भने आफुले परिश्रम गरि कमाएको धनलाई भविष्यको लागि संचय गर्नु पर्दछ । भविष्यको लागि धन संचय गर्नको लागि मानिसले बढी मेहनती बन्न अत्यावश्यक छ । त्यसैले हामी भन्न सक्छौं अल्छी व्यक्ति ठिक छैन ।
२) असंयमित प्रव्रजित भिक्षु ठिक छैन-
प्रव्रजित भिक्षुको कर्तव्य नै धर्म पालन गर्नु र धर्म प्रचार गर्नु हो । तसर्थ प्रव्रजित जीवन धर्म प्रचारक व्यक्तिलाई औषधि जस्तै उपयोगी छ ।
उदाहरणको लागि सम्रात अशोक पहिला महत्वाकांक्षी चण्डाल थियो । जब उहाँ संयमित निग्रोध श्रमणको संगतमा पर्नु भयो, तब उहाँ चण्डाल अशोकबाट धर्म अशोक बन्न सफल हुनुभयो । श्रीलंकाका राजा देवाना पियतिस्स र महारानी पनि सम्रात अशोकका छोरा भिक्षु महेन्द्रको संयमित जीवन देखेर प्रभावित भइ सुशिक्षित भए । त्यति मात्र होइन त्यहाका राक्षसी स्वाभावका जनताहरु पनि असल बने ।
३) स्वेच्छाचारी राजा ठिक छैन-
राजा प्रजाका अभिभावक र संरक्षक हुन् । इतिहासले स्वेच्छाचारी, स्वार्थि र अविवेकी राजाहरु पतन भएको प्रामाण देखाउछ । इतिहासले नै खराब छर्लङ्ग गराई रहेको हुन्छ । त्यसैले हामी भन्न सक्छौं स्वेच्छाचारी राजा ठिक छैन
५) क्रोधी पण्डित विद्धान पनि ठिक छैन-
क्रोधी,रिसालु पण्डित कदापी ठिक हुन सक्दैन ।
भगवान भन्नु हुन्छ –
“कोधो सत्थ मलं लोके”
अर्थात्- संसारमा जति पनि पढेलेखेका व्यक्ति हुन्छन् उसमा रिस, क्रोधले ठाउँ लियो भने उसको विद्धतामा खिया लागेको हुन्छ । रिसले विद्धान व्यक्तिको मूल्य नै ह्रास गरिदिन्छ ।
माथि उल्लेखित चार प्रकारका बेठिक बानिहरु हटाऊन सकेमामात्र समाजमा शान्ति र सुव्यवस्था कायम हुने कुरालाई भगवान बुद्धले चर्चा गर्नु भएको छ ।
नोट :-
प्रवजित :-गृहत्यागि भिक्षु अथवा श्रामनेर
शिल्प :- सीप कला आदि
