मनोज घर्तीमगर
पोखरामा नाटकघर बन्ने कुराले चर्चा पाएको केहि वर्ष भयो ।
बैशाखको शुरुवातसँगै पोखरामा नाटक घर बन्ने र त्यसका लागि आवश्यक जग्गाको बन्दोबस्त समेत भएको मिडियामा छायो । त्यहि बीचमा आएको विनाशकारी भूकम्पले रोकिएको पोखरामा नाटक घर बनाउने अभियानले फेरी तिव्रता लिएको छ । यूथ क्रियशन थिएटरको पहलमा निर्माण बन्न लागेको नाटक घरको लागि आर्थिक संकलन शुरु भएको छ ।
सामाजिक संजालमा तिव्र पारिएको अभियानमार्फत डेढ लाख रुपैयाँ संकलन भैसकेको यूथ क्रियशन थिएटरका सचिव सौगात पोखरलले बताए । उनका अनुसार साउनको शुरुवातसँगै नाटक घरको भौतिक संरचना निर्माण शुरु हुनेछ । नाटक घर बनाउन पुराना र नयाँ छिमलका नाट्यकर्मीहरु एकजुट भएर लागिरहेका छन् । पोखरामा नाटकघर नहुँदा वाणिज्य हल र सभागृह हलमा नाटक मञ्चन हुँदै आएका थिए ।
नाटक घर निर्माणको लागि संस्थाले करिब २० लाख रुपैयाँ लाग्ने अनुमान लगाएको छ । त्यसका लागि आर्थिक सहयोग गर्न सबैलाई आग्रह समेत गरेको छ ।