– काशीराम डाँगी
रोल्पा, कवि तथा गीतकार भावेश भुमरीले रोल्पाको लिबाङमा शनिबार आफ्ना गीत एवम् कविता सुनाए ।
यहाँको ललित साहित्य परिषद्ले मासिक रुपमा आयोजना गर्ने एकल रचना वाचन अभियानअन्तर्गत भुमरीले असार महिनाको १४ औं शृङ्खलाका क्रममा रचना वाचन गरेका हुन् । प्यूठानमा जन्मिएर राजधानीमा बस्दै आएका भुमरीको खास नाम जुद्धबहादुर पुनमगर हो । उनले लेखेका दर्जनौ गीतले राष्ट्रिय चर्चा कमाएका छन् । भावेश गीतहरुबाट कैयौँ पुरस्कार र मानसम्मानले समेत पुरस्कृत र सम्मानित भइसकेका छन् । उनले एउटा कवितासङ्ग्रहसमेत प्रकाशित गरेका छन् ।
स्थानीय रोल्पा गेष्ट हाउको हलमा खचाखच भरिएका शुभचिन्तक एवम् स्थानीय स्रष्टाहरुमाझ भावेशले केही थान गीत र केही थान कविता सुनाए । भुमरीले पहिलो खण्डमा पाँचवटा राष्ट्रिय गीतहरु वाचन गरे । त्यसपछि भुमरीको व्यक्तित्वबारे चर्चा गर्दै साहित्यकार रमेश सुवेदीले भावेशले गाउँमा घाँस दाउरा गर्दा र राजधानीमा कलेज पढाउँदाखेरिका भोगाइलाई साहित्यमा समेटेर रचना सिर्जना गरेको निष्कर्ष सुनाए । ‘भुमरीका रचनाले सामाजिक, वर्गीय, प्रेम र देशकाल परिस्थितिका बारेमा चर्चा गरेका छन् ।’ रमेशले भने ।
दोस्रो खण्डमा भावेशले जीवनवादी, वर्गीय, विकृति/विसङ्गति, परदेश, संयोगान्त, वियोगान्त, निराशा, प्रयोग र प्यूठान गरी विभिन्न विषयका रचना वाचन गरेर स्रोताहरुको मन जिते । समयाभावका कारण अलि हतारिएका भुमरी २८ वटा गीत वाचनपछि कविता खण्डतिर लागे । जम्मा चारवटा कविता वाचेका भुमरीले कविताबाट अझ बढी मन जिते दर्शक/स्रोताहरुको । आफ्ना रचना सुनाउँदै भावेशले भने, ‘गाउँमा जन्मेहुर्केकाले मेरा गीत र कविता गाउँकै परिवेशमा बाँधिएका छन् । गाउँ र सहर (राजधानी) दुवै स्थानको बसाईले जन्माएका रचनाले मलाई आफ्नो कामप्रतिको जिम्मेवारी बोध गराउँछन् ।’ काठमाडौँदेखि रोल्पाको रात्री बसमा बिहान १० बजे मात्रै लिवाङ उत्रेका भुमरीले वाचनमा कमी भयो भन्ने कुरा पनि राखे । प्रष्ट बोल्ने भावेशले रोल्पाको मायालाई आजन्म नभुल्ने बचन पनि दिए ।
दुःखजिलो गर्दै विद्यालय तह पढ्दै साहित्यको यात्रा सुरु गरी उच्च शिक्षा हासिल गर्न राजधानी हानिएपछि भुमरीले राजधानी बसाईका क्रममा साहित्य सिर्जनालाई उर्वर बनाएका हुन् । आधा दर्जन जति गीतसङ्ग्रह र त्यति नै सङ्ख्यामा गीतिएल्बम प्रकाशन गरेका भुमरीकी पत्नी प्रणितासमेत गीतकार हुन् । निकट भविष्यमा संस्मरण, गीतसङ्ग्रह र कवितासङ्ग्रह प्रकाशन गर्ने तयारीमा रहेका भावेशले आफ्ना पुर्ख्यौली थलो रोल्पाको सेरम भएको बताए ।
‘आज आफ्नो पूर्खाको थलोमा आएर रचना सुनाउने मौका पाएको छु ।’ रोल्पाका सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रसारण भएको उनको रचना वाचन कार्यक्रममा उनले भने, ‘म जहाँ जान्छु, त्यहीँको परिवेशलाई समेटेर रचना सिर्जने गर्छु ।’ विभिन्न विद्यालय र कलेजमा नेपाली विषय अध्यापन गर्दै घरव्यवहार चलाउने भावेशले राम्रा स्रष्टाहरु गुमनाम बस्नुपर्ने स्थिति भएको र त्यसमा राज्यको कुनै दृश्टि नपुगेको कुरा राखे ।
मुलुकको अस्तव्यस्त राजनीतिक अवस्थालाई समेत गीत र कवितामार्फत व्यक्त गरेका भुमरीले मुलुकबाहिर रहेका कर्मशील युवाको चाहना र भावनालाई समेत साहित्यमार्फत अभिव्यक्त गरेका छन् । भुमरीले लेखेका कैयौं गीत र कवितामा काम खोज्न विदेसिएका हजारौँ युवाको दुःख, पीडा र मनोभावलाई समेटिएको छ । कवि एवम् गीतकार भुमरीले सुनाएका रचनाको समीक्षा साहित्यकारद्वय डीबी टुहुरो र नारायण आचार्यले गरे ।