भीम राना मगर
काठमाडौ , असार २८ – आदिवासी जनजाति मातृभाषी प्रवद्र्घन समिति, चलचित्र विकास बोर्डको आयोजनामा २०७१ सालमा निर्मित आदिवासी जनजाति मातृभाषी चलचित्रहरुलाई सम्मान गरियो ।
सम्मानित हुनेहरूमा मगर चलचित्र रैंयाँ, गुरुङ चलचित्र युम्पो देउराली, तामाङ चलचित्र मेन्दो, लिम्बु चलचित्र केवा कोक्मा, राई चलचित्र मतान, थारु चलचित्र प्रितक फूल र सुनुवार चलचित्र क्योङ मातृभाषी चलचित्रलाई यो वर्ष सम्मान गरियो ।
राज्यको तर्फबाट आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । २०४४ सालमा नेवार भाषा, संस्कृति र विषयवस्तुमा “शिलु” निर्माण भएदेखि आदिवासी चलचित्र निर्माण शुरु भएको हो । २०४७ सालमा थारु भाषामा “करम”, २०४९ सालमा लिम्बु भाषामा “तरेवा”, २०५१ सालमा मगर भाषामा “लंघन” २०५२ सालमा गुरुङ्ग भाषामा “पाते”, राई भाषामा “सायाबुङ” र तामाङ भाषामा “सेमरी छोरङान” हुँदै अन्य आदिवासी विषयवस्तुमा चलचित्र बन्ने क्रम अगाडि बढेको थियो ।
हालसम्म राज्यबाट दर्ता, सेन्सर, वितरण र प्रवद्र्घनमा सहयोग र सुविधाको अपेक्षा गरिरहेका आदिवासी चलचित्रकर्मीहरु पहिलोपटक सम्मानित हुँदा निकै प्रफुल्लित देखिन्थे । कार्यक्रममा आदिवासी जनजाति मातृभाषी प्रवद्र्घन समितिका सदस्य रेणु चौधरीले स्वागत मन्तव्य, अर्का सदस्य अरुण प्रधानले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । आदिवासी जनजाति चलचित्रकर्मी संघहरुको प्रतिनिधित्व गर्दै गुरुङ्ग फिल्म एशोसियसन नेपालका अध्यक्ष वेदबहादुर गुरुङ्गले आदिवासी चलचित्रहरुको निर्माणमा स्तरोन्नति गर्दा बजार व्यवस्थापन हुँदै जाने आशा प्रकट गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष प्रतिमाया पुन मगरले आजको कार्यक्रमले आफू निकै खुशी भएको बताइन् । यो दिनको लागिआफुले निकै संघर्ष गरेको स्मरण गरिन् ।
आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले अझै पनि आदिवासी चलचित्रहरुलाई राज्यबाट सहयोगको खाँचो रहेको, समान व्यवहारको अभाव रहेको विचार व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईले आदिवासी चलचित्रहरुलाई राज्यबाट विभेद हुन नहुने, सहयोग गर्नुपर्ने आवश्यकता रहेको र सवकास बोर्डबाट सहयोग बढाउँदै लगिने योजना रहेको बताए ।
कार्यक्रममा सम्मानित निर्माता / निर्देशकहरुले आयोजकलाई धन्यवाद प्रकट गर्नुका साथै आ–आफ्नो विचार पनि व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन आदिवासी जनजाति मातृभाषी प्रवद्र्घन समितिका सदस्य प्रितम गुरुङ्गले गरेका थिए भने सभाध्यक्ष समितिका संयोजक युवराज मास्की रानाले गरेका थिए ।
उनले अब आदिवासी जनजाति चलचित्रहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्न नमिल्ने बताए ।