रैंयाँलाई दर्शकले अपार माँया दिए फल्स्वोरुप सरकारबाट सम्मान मिलेको छ -निर्देशक ,मेजन पुन मगर

Read Time:9 Minute, 23 Second

मगर महिलाको गहना रैंयाँलाई विषयवस्तु बनाएर जेठ २ गते पोखराको सभाहलदेखि प्रदर्शनमा आएको मगर विषयवस्तुमा आधारित चलचित्र ‘रैंयाँ’ र यसैको सेरोफेरोमा रैंयाँ फिल्मको लेखन/निर्देशक मेजन पुनसँग राज्यसत्ताले गरेको कुराकानी ।

 

‘रैंयाँ’ चलचित्रलाई आम मानिस र आम मगरले कसरी बुझ्ने ?

मगर महिलाको गहनामा आधारित रहेर यसको महत्व र यसको पहिरनले सुन्दरता मात्र नभएर यो गहना मगर समाजमा आत्म रक्षाको कवच पनि हो भन्ने कुरालाई रैयाँ चलचित्रमा उजागर गर्ने प्रयास गरिएको मुलतः नेपाल भित्रको कथा बोकेको मगर समाज भित्रको कथानक चलचित्र हो । यसमा समाज भित्र भईरहेको घटनाहरुलाई सकभर सरल तरिकाले उजागर गर्न खोजिएको छ । मगरको विषय वस्तु भएको कारण मगरले त मन पराउनु हुने नै छ भने यो हाम्रै वरिपरि घटेको घटनाहरुलाई समेटिएको कारण यसले आम मानिसको मन पनि छुने छ भन्ने लाग्दछ । रैंयाँ चलचित्र पूर्णतः साँस्कृतिक चलचित्र पनि हो । विदेशी भाषाको चलचित्र हेर्छौ तर नेपालभित्र बोलिने भाषामा बनेको चलचित्र चाहिं हामी किन नहेर्ने ? यो आम दर्शक र मगर समाजलाई हेर्नको लागि आग्रह पनि हो ।

मगर विषयवस्तुमा नै आधारित चलचित्र बनाउनुको खास कारण ?

रैयाँमा मगरको विषय मात्र समेटिएको छैन । रैयाँ भित्र नेपालको आम मानिसको कथा पनि बगेको छ । जहाँ सत्य कुरा सत्य हो भनेर जाँचबुझ गर्न पनि माथिल्लो ओहोदाको सिफारिश चाहिन्छ । र राज्यबाट आफ्नो समाजभित्रको परम्परागत गौरवपूर्ण संस्कार, संस्कृतिलाई संरक्षण गर्ने कुनै पहल नभए पछि समाजभित्रैबाट आफ्नो गौरवपूर्ण विषयवस्तुमा आधारित रहेर भाषा, संस्कृतिको साथै मनोरञ्जनलाई पनि ध्यानमा राखेर यो चलचित्र निर्माण गरिएको छ । जसले मनोरञ्जनको साथ साथ मगर समाज भित्रको कथा बोकेको छ ।

 

चलचित्र हेरिसकेपछि दर्शकले कस्तो प्रतिक्रिया दिईरहेका छन् ?

प्रतिक्रिया राम्रो पाईरहेका छौं । मगर बाहेक अन्य जातिले पनि चलचित्र मन पराउनु भएको छ । हामीलाई भेटेर बधाई दिएका छन् । अझै कसै कसैले त रैंयाँ २ को आशा पनि गरिरहेका छन् । यसर्थ हामीले अलि बढि लगानी गरि एउटा भाषालाई समेटेर चलचित्र निर्माण गर्नु कतै गलत त होइन भन्ने कहिले काहि लाग्ने गर्दथ्यो तर गलत होइछ भन्ने कुरा अहिले दर्शकको उपस्थिति र माया पाउँदा सन्तोक लागिरहेको छ ।

चलचित्रको ‘मेकिङ’को विषयमा कुनै सुझाव दिएका छन् ?

हामीले सिमित श्रोत र साधनले अधिकतम आउटकम निकाल्ने प्रयास गरेको हो । ५०–६० लाख खर्च गरेर बन्ने फिल्म झै प्रविधि प्रयोग गर्न सकेनौं तर सिमित साधन प्रयोग गरि जति गरेका छौं त्यसले मन छुएको छ । स्क्रिप्टमा मेहनत गरेका छौं । वर्कसप राखेर नयाँ कलाकारहरुलाई माझ्ने काम गरेका छौं । यसर्थ प्रविधि भन्दा हामी विषय वस्तुलाई ध्यान दिएर चलचित्र निर्माण गर्ने पहल गरेका हौं । यसर्थ बुझ्नेले स्रराहना दिईरहेका छन् । नबुझ्नेको त के कुरा गर्न सकिन्छ र ?

 

चलचित्रले आर्थिक रुपमा कत्तिको व्यापार गर्ने अपेक्षा गर्नुभएको छ ?

अहिले सम्मको प्रदर्शन र दर्शकले यो चलचित्रप्रति देखाउनु भएको उपस्थितिबाट हामी हौसिएका छौं । कतै रैंयाँ २ बन्छ कि क्या हो भन्ने सम्म भएको छ । यसमा मगर समाजमा विगत देखि काम गरिरहेको हाम्रो क्रियाकलापको कारणले पनि हामीलाई विश्वास गरेर हाम्रो कदमको स्रराहना गर्नु भएको छ— जस्तो लाग्छ । किनकि २० औं वर्ष रेडियो नेपाल क्षेत्रीय प्रसारणमा कार्यरत हर्क आले मगर, सामाजिक संस्थामा काम गरिरहेका तारामाया थापा मगर पनि निर्माताको रुपमा रहेको हुँदा पनि चलचित्रले राम्रै व्यापार गर्छ भन्ने लागिरहेको छ । फेरि हामीले भुकम्प पीडितलाई सम्झेका छौं साथै मगर चलचित्रकर्मी संघलाई पनि नाफाको केही प्रतिशत छुट्टाएका छौं यसको कारणले गर्दा पनि हाम्रो व्यापार राम्रै भईरहेको छ भन्ने लागिरहेको छ ।

विदेशमा पनि चलचित्र देखाउने तयार गर्नुभएको छ ?

कुरा त भईरहेको छ । तर विदेशको भन्दा अहिले हामीलाई स्वदेशका विभिन्न ठाउँहरुबाट प्रदर्शनको लागि अनुरोध आईरहेको छ । स्वदेशमा प्राप्त भएको यो माया हाम्रो लागि ठूलो हो यसर्थ हाम्रो योजना असार–साउन पोखरा वरिपरिको ठाउँहरुमा प्रदर्शन गर्ने र साउन पछाडि अलि टाढा प्रदर्शन गर्ने राखेका छौं । यसको लागि पुर्वको इटहरी देखि पश्चिमको सुर्खेत सम्मबाट प्रदर्शनको लागि कुरा भईरहेको छ । र, यसको प्रभाव एक दिन विदेशमा पनि पर्ने छ भन्ने लागेको छ ।

रैंयाँले चलचित्र विकास बोर्ड अन्तरगत आदिवासी जनजाति प्रवद्र्धन समितिद्वारा प्रोत्साहन सम्मान पत्र प्राप्त गर्दैछ कस्तो लागिरहेको छ ?

आदिवासी जनजाति प्रवद्र्धन समितिले नयाँ कामको शुरुवात गरेको छ । राज्यबाट आदिवासी जनजातिको कामलाई प्रोत्साहन दिने यो कामले निरन्तरता पाईरहोस् । साथै यसले जातीय चलचित्र र जातीय चलचित्रकर्मी संघको महत्व पनि बढ्ने छ भन्ने लागिरहेको छ ।

 

साथै जातीय चलचित्रकर्मी संघको तर्फबाट सिफारिश हुने हुँदा चलचित्रले जातीय कुरा बोकेको छ भन्ने कुरामा सबै ढुक्क भए हुने आधार तयार हुने निश्चित भएको छ । र, यो सम्मान प्राप्त गर्दा रैंयाँ माथि अझ भार थपिएको महसुस चाहिं भएको छ । र, रैंयाँले पहिलो पटक थाप्दैछ भने अब बन्ने मगर चलचित्र कम्तीमा रैंयाँ भन्दा राम्रो र स्तरीय बनाउनु पर्ने जिम्मेवार पनि मगर चलचित्रकर्मीहरु माथि थपिएको छ । साथै रैयाँको स्क्रिप्ट लेखनको बेलामा धेरै पटक कोर्ने/मेट्ने काम भएको छ । लेखनमा मेहनत भएको कारण चलचित्र राम्रै बन्यो कि भन्ने लागेको छ ।

  लेखनमा मलाई राज थापा मगर, केशव थापा मगरले साथ दिनु भएको थियो । अहिले वहाँहरुसँग बसेको गफ गरेको कोरेको मेटेको काम राम्रो भयो भन्ने लागेको हो । यसर्थ वहाँहरुलाई पनि धन्यवाद । अनि हर्क आले मगरज्यूको कथाको जिस्ट राम्रो थियो । यसर्थ पनि चलचित्रले यो सम्मान प्राप्त गरेको छ जस्तो लागेको छ । अनि चलचित्र बनाएर मात्र पनि भएन यो चलचित्र प्रदर्शनको लागि तारामाया थापा मगर, हर्क आले मगरको सम्पर्क सुत्रले राम्रै काम गरेको छ । र, प्रदर्शनको बेलामा दर्शकको ओइरोले गर्दा यो यहाँ सम्म आएको चाहिं पक्कै हो ।

साथै प्राविधिक रुपमा हामीले अन्य मगर चलचित्र भन्दा अलि बढी लगानी गरेको चाहिं पक्कै हो । र, प्रविधिको लागि चाँजो पाँजो मिलाउने एम पुनलाई पनि सम्झन चाहन्छु । एकमुष्ट भन्नु पर्दा कलाकार, प्रविधि, कथा, समय सबैको मिश्रण राम्रो भएको छ । साथै यसलाई मगर महिला पत्रकार समुहबाट राम्रो सहयोग प्राप्त भएको छ । यसको लागि धन्यवाद सबैलाई ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %