पुरानो पार्टीलाई क्याप्चर गर्नेछौँ- अध्यक्ष थापा

Read Time:22 Minute, 41 Second

राष्ट्रिय जनमुक्ति पार्टीको समानुपातिक सभासद रहेकै बेला एकाएक पार्टीबाट राजीनामा दिएर राष्र्टिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल नामक नयाँ पार्टीको गठन गरेका शिबलाल थापा अहिले नयाँ पार्टीलाई मजबुद बनाउने ध्याउन्नमा छन् । थापा अध्यक्ष राष्र्टिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालले केही दिन अघि निर्बाचन आयोगबाट नयाँ पार्टीको रुपमा अधिकारीक मान्यता पनि पाएको छ । प्रस्तुत छ, शिबलाल थापासँग उनको पार्टी र नयाँ राजनीतिक उतारचढावबारे राज्यसत्ता डट कमका निर्देशक हुम बहादुर थापा (पचभैया) ले गरेको कुराकानी :

किन नयाँ पार्टी खोल्नु भो ?

राष्ट्रिय जनमुक्ति पार्टीलाई सामूहिक नेत्तृत्वमा लैजाने काम यो पार्टीबाट अब हुँदैन । जनमुक्तिको चौथो महाधिवेशनले दिएको म्यान्डेट पनि पूरा भएन । अहिलेसम्म व्यवहारमा पनि देखिएन । जमनुक्तिका अध्यक्ष एमएस थापाको उमेर पनि बुढो भयो । स्वास्थ्यले पनि उहाँलाई साथ दिएको छैन । एउटा महाधिवेशन राखेर नेत्तृत्व बदलेर जाऔं । पार्टीमा उहाँलाई अभिावकको ठाउँमा राखेर जाऔं भन्ने सुझाव दिँदै आयौं । उहाँले मान्नु भएन । मलाई उल्टै मेरो नेत्तृत्व खोस्न खोज्यो । यो सबै बिगोरेको उपाध्यक्ष शिबलाल थापाले हो भन्न थाल्नुभयो । शिवलाल सभासद भएपछि धेरै गल्ती गरेको छ । त्यसलाई अब सभासदबाटै हटाउनुपर्छ उपाध्यक्षको जिम्मेवारीबाट हटाउनुपर्छ भन्ने खेल खेल्नुभयो । त्यसपश्चात नै म नयाँ पार्टी खोल्ने अवस्थामा पुगेको हुँ ।

तपाईहरुलाई पार्टीबाट निकाल्ने योजना बनेपछि आफै निक्लिएको भन्ने छ नि ?

त्यो त यस्तो हो । अध्यक्ष एमएस थापाले अग्रगमन छलाङ मार्ने नदेखिएकोले धेरै पटक अउहाँलाई नेत्तृत्व हस्तान्तरण गर्न सुझाव दियौं । उहाँले मान्नु भएन । अर्को कुरा हामीलाई निकाल्ने भन्दैमा त्यो जनमुक्ति पार्टी परित्याग गरेको पनि होइन र पहिलो चरणबाट आउँदा उहाँले कि पार्टीलाई दुई सभासदले ५०/५० लाख दिनुपयो । दुई सभासदले एक करोड दिनुपर्छ हैन भने पार्टी छोड भनेपछि बाध्रत्मक किसिमको परिस्थिती उहाँले सिर्जना गर्नुभयो । अनि यतातिर लागियो ।

जनमुक्तिबाट संबिधान सभाको सभासद हुनुहुन्थ्यो पार्टी छोडेपछि त त्यो  पद पनि गयो होला नि ?

संविधान सभाले हामीलाई छोड भनेर छोड्ने र बस बनेर बस्ने हैन । कुनै पार्टीले त सभासद बनिरहनुपर्छ त बन्न पाउँदैन भनेर पनि हुँदैन । हामीलाई नेपाली जनताले संविधान निर्माण गर्नको लागि ४ वर्षसम्मको जिम्मेवारी दिएर पठायो । त्यही जिम्मेवारीको आधारमा हामीले काम गरिरहेका छौं । अहिले पहिलो चरणमा हामीले बाध्य भएर जनमुक्ति पर्टी परित्याग गरेर नयाँ पार्टी गठन गरेर अघि बढ्ने प्रक्रिया बढायौं । जनमुक्तिले निर्वाचन आयोगमा जुन निवेदन दर्ता गर्नुभयो उहाँ असफल हुनु भएको छ । हाम्रो पक्षमा निर्वाचन आयोग र संविधान सभाले सभासद रहिरहने भन्ने निर्णय गरेकाले हामी सभासद नै छौं ।

सभासद जनमुक्ति पार्टीबाट बन्ने, त्यही पार्टीमा लामो समय काम गर्नुभयो । यति धेरै पहिचान र इतिहास बोकेको पार्टी किन छोड्नु भा त ?

म अहिले पनि राष्ट्रिय जनमुक्ति पार्टीको संस्थापक सदस्य हुँ । र अध्यक्ष एम.एस.थापासँगै झन्डै २०-२५ बर्ष काम गर्यौँ । त्यतिबेला हामीले हरेक चरणमा सहयोग गर्यौँ । अहीले आएर उहाँको जुन क्रियाकलाप देख्यौँ, भोग्यौँ त्यसले पार्टीलाई अगाडी लाँदैन । गलत निर्देशनबाट पार्टीलाई निस्क्रिय गराएर राख्ने अग्रगमनमा लैजान नचाहने सँधै यथास्थितितिर राख्ने जस्तो क्रियाकलाप देखियो । २०६७ साल फागुनमा हाम्रो चौथो महाधीवेशन भयो । महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व दिने म्यान्डेट दिएको थियो । तर अध्यक्ष ज्युको एकल नेतृत्व कहील्यै हटेन । सँधै हैकमवाद लाद्ने प्रयास भयो । हामीले २-३ बर्ष अगाडी देखी सम्झाउँदै आयौँ । बैठकमा कुरा राख्यौँ । तर अध्यक्षले गलत ढंगले सोच्नुभयो । चौथो अधिवेशनबाट निर्वाचित म उपाध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने किसिमको क्रियाकलाप गर्नुभयो । त्यसो गर्नुको कारण के थियो भने पार्टीको पन्ध्रौँ बैठकमा दुई जना सभासद म र सिमा कुमारी वि.क.लाई कुनै जानकारी नगराई सबैलाई वाईकट गरेर राख्नुभयो । त्यसपछि अध्यक्षले हामीलाई सभासदबाट हट अन्यथा पार्टीबाट कारबाही गर्छु । कारबाही गर्ने अधिकार पार्टीबाट पाएको छु  भन्दै जानु भो । सभासदबाट फिर्ता बोलाए पनि जुन पार्टीले सभासद बनायो । त्यसले बोलाउँछ भने आउँछु भनेकै थियौं । तर, उहाँले त जनमुक्तिबाटै निकाल्ने प्रपञ्च गर्नुभो । त्यसपछि बाध्य भएर हामीले नयाँ पार्टी खोल्ने अवस्थामा पुग्यौं ।

अध्यक्ष बन्ने नै रहर थ्यो भने त पुरानै पार्टी भित्र छलफल चलाएनि हुने हो नि ?

हुन्थ्यो, मलाई त्यस्तो कुनै पदहरुको लोभ त छैन । अब पुरानै पार्टीमा बसेनि पाईन्थ्यो होला । नयाँ दलबाट पनि पाईन्थ्यो । मलाई अध्यक्षको रहर होइन । सभासद पनि चाँहिदैन । तर, पार्टीको निर्णय मान्नुपर्छ भनेर म सभासद भएको हो । तर पार्टीमा पहिलेदेखी नै अन्तरसंघर्ष हुँदै आएको हो । दुई तीन वर्षदेखी मैले पार्टीमा बढी अन्तर संघर्ष गर्दै आएँ । धेरै जना अध्यक्षको कार्यशैलीबाट असन्तुष्ट थिए । अध्यक्षले पार्टीमा सँधै एक नेत्तृत्व गर्ने गर्नुभयो । उहाँले अरु सदस्यको कुरा सुन्ने प्रयास गर्नु भएन । जति सुझाव सल्लाह दिए पनि मान्नु भएन । जनमुक्तिको अध्यक्ष एमएस थापाको नेतृत्व ठिक छैन भनेर पार्टीका धेरै सदस्यले भनेकै हुन् । उहाँले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न थाल्नुभो । त्यहाँ बसेर हाम्रो मुद्दाको सम्बोधन हुने अवस्था देखिन । उहाँ कुनै पनि हालतमा अध्यक्ष पदमा बसिरहने योजनामा हुनुहुन्छ । जति बहस चलाए पनि व्यर्थ हुनेदेखेपछि म अहिलेको नयाँ अवस्थामा आएको हो । अर्को कुरा पूरानो पार्टीबाट मात्र होइन हामीले अहिले पनि नयाँ पार्टीको लागि  निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दियौं । यसो गर्दा अध्यक्षज्यू केही बदलिनुहोला भनेको उहाँको हैकम जारी रह्यो । उल्टै हामीलाई नै साधारण सदस्य नरहने गरि पार्टीबाट निस्कासन गर्ने मुद्दा मामिला, झैझगडा गर्ने भएकाले बरु दल दर्ता गरौँ भनेर लागेपछी राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) गठन गर्यौँ । निर्वाचन आयोगले प्रमाण पत्र दिएको साढे तीन महीना भयो ।

 उसो भए पुरानो पार्टीमा बसेर उपाध्यक्षभन्दा माथि जान सकिदैन भनेर हो नयाँ पार्टीको आबश्यकता भएको ?

त्यो त यसो हो, कुनै पनि संघसंस्था, दलमा जबसम्म विचार र मुद्दा मिल्छ तबसम्म एकठाउँमा बस्ने हो । जब विचार र मुद्दामा बिमति देखा पर्छ छुटीनु भन्दा अर्को विकल्प हुँदैन । एउटै बाउआमाका छोराछोरी त छुटिन्छन् भने यो त राजनितिक मुद्दा हो ।

नेपाली उखान छ नि जुन थालमा खायो उही थालमा थुक्यो भन्ने । यो उखान त तपाईलाई पनि लाग्छ नि हैन र ?

जुन थालमा खायो त्यो थालमा थुकेको भन्दा पनि जुन नेतृत्वले दिनसक्ने विचार हो त्यो दिन नसकेपछी २५ बर्षको इतिहासमा केही परीवर्तन नभएपछी हामीले बाध्यात्मक परीस्थितिमा यो बाटो समात्नुप-यो ।

पुरानो पार्टी छोडेर ठुला पार्टीमा (काँग्रेस, एमाले, एमाओबादी) जानु भएको भए त राम्रै पद दिन्थे होला नि ? तपाईलाई अध्यक्ष नै किन चाहियो र ?

हैन, यो हाम्रो अध्यक्ष पद भन्दा महत्वपुर्ण चिज मुद्दा हो । हामीले हिँजो देखी आदिवासी, जनजाति, मधेसी, दलित, अल्पसंख्यक, महीला, मुस्लिम, सिमान्तकृत समुदायको पक्षमा वकालत गर्यौँ । यो मुद्दा अरुले बोक्न सक्दैन । हामी पनि यो मुद्दा छोड्न सक्दैनौँ । हामीलाई ठुला राजनितिक दलले बोलाएकै हो, यत्रो बर्षसम्म यही मुद्दामा लडयौँ, हामीले छोड्न चाहेनौँ । आफ्नै मुद्दा बोकेर अगाडी बढ्यौँ । अहीले साना राजनितिक दलहरु जसको मुद्दा मिल्छ सबै एउटै दलमा बसेर कार्यगत एकता गरौँ । संगसँगै मिलेर जाउँ भन्ने प्रस्ताव संवाद समिति र संविधान सभामा प्रस्ताव राख्यौँ । अहीले त्यसलाई पास गर्ने विषयमा अगाडी बढेका छौँ ।

नयाँ संबिधानमा जनताको हक अधिकार सुनिश्चित गर्न दिनरात खट्नुपर्नेमा तपाई त नयाँ पार्टीको खेलमा पो लाग्नु भारैछ ?

हैन, हाम्रो पार्टीको सभासदको हैसियतले संविधानसभामा खेल्नुपर्ने भुमिकामा केही कमी आएको छैन । २०६४ सालमा एमएस थापा निर्वाचित भएर सभासदमा जानुभयो । त्यो भन्दा १० गुणा बढी भुमिका खेलिरहेका छौँ । संविधानसभामा ७५-८० पटक आफ्ना भनाई राखिसकेका छौँ । आफ्नो मुद्दामा लड्दै आएका छौँ ।

नयाँ पार्टीको आवश्यकता खासमा किन हो ? ब्यक्तिगत रिसिबिमा हो कि, पार्टीको निति र सिद्धन्त नै गलत भएर हो ?

पार्टी र राजनितिक सिद्धान्त प्रति होईन, मेरो फरक विचार भनेको नेतृत्वको कार्यशैलीप्रति हो । हिजो राष्ट्रिय पार्टीबाट विभाजीत हुँदै जाने मध्ये हामी जनमुक्ति १६ औँ नम्बरमा पर्छ । त्यो भन्दा अगाडी १५ चिरा भईसकेको छ । त्यो सबै नेतृत्वको कार्यशैली, विचारबाट असन्तुष्ट भएर हो ।

नयाँ पार्टी खोल्न त एउटा बिचार हुनुपर्ने, सिद्धान्त र भाबी यो योजना हुनुपर्ने, तपाईले त कुनै ब्यक्तिको रिसिबिको आधारमा नयाँ पार्टी खोल्नु भो भनेर सबैले भन्छन् नि ?

मैले अघी नै भनेँ, यो कुनै व्यक्तिगत असन्तुष्टीले भन्दा पनि नेतृत्वमा बसेपछी कार्यशैली सुधारीनुपर्छ । अरु सदस्यको कुरा सुन्नुपर्छ । यति भन्दा भन्दै तानाशाही ढंगले विधान विपरीत पार्टीको केन्द्रिय समितिले बैठकमा निर्णय गरेर अध्यक्षलाई सबै अधिकार दिएको हो । तैपनि उहाँ सुध्रनु भएन । २५ बर्षसम्म एउटा पार्टीको नेतृत्व गर्दा पार्टीलाई सत्ताको नजिक पुर्याउनुपर्नेमा सँधै कोठाभित्र राजनिति गरेर कोठामै समय खेर फाले । त्यसकारण नयाँ फड्को मार्न हामीले नयाँ शक्तिको निर्माण गरेका हौँ ।

आगामी दिनमा तपाइ र तपाईको पार्टीको योजना र उदेश्य के के हुन् त ?

१५-१६ चिरा भएको पार्टीलाई जोड्दै जानेछौँ । जिल्ला समिति गठन, विस्तारीत राष्ट्रिय भेला गरेर वैकल्पिक शक्तिका रुपमा अगाडी बढ्ने हाम्रो लक्ष्य छ । म अध्यक्ष रहेको पार्टी राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)को केन्द्रिय समितिले भावि कार्ययोजना, रणनिति, कार्यदिशा सबै तय गर्नेछ । भुकम्पले मुलुक रोईरहेको बेला अब हामीले पनि उनीहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । साथसाथै नयाँ संविधान निर्माणमा हाम्रो पार्टीको महत्वपुर्ण भुमिका रहनेछ । पार्टीलाई शक्तिमा पुर्याउनका लागी धेरै किसिमका खेलहरु खेल्नुपर्ने हुन्छ । हामीले विचार सिद्धान्त मिल्नेहरुसँग एकीकरण गर्ने, नसके मोर्चा गठबन्धन गर्ने, त्यो नभए कार्यगत एकता गरेर सडक र सदनमा आन्दोलनलाई सही रुपमा लैजाने छौँ ।

पुरानो पार्टीका अन्य साथीहरु सँग पनि छलफल र कुराकानी भएको होला नि ? के भन्छन् , फेरी आउ भन्छन् कि हामीपनि तपाई संगै आउछौं भन्छन् त ?

पुराना साथीहरु आउने क्रम जारी छ, कसैले आउँछु भनेका छन् । हामी जस्तो पायो त्यस्तै साथीहरुलाई पार्टीमा प्रवेश गराउने छैनौँ । त्यो पार्टीमा असल साथीहरु जो, जसले लामो समयदेखी काम गरेका छन्  उनीहरुलाई हामी छानिछानि ल्याउँदै छौँ । सत्प्रतिसत पुर्याएपछी हामीले पुरानो पार्टीलाई क्याप्चर गर्नेछौँ, यो हाम्रो लक्ष्य रहेको छ ।

तपाईलाई अहिलेकै अवस्थामा राष्ट«िय जनमुक्ति पार्टीले (पुरानो पार्टीले ) अध्यक्ष पद दियो भने तपाईले गठन गरेको लोकतान्त्रिक नेपाल पार्टी के हुन्छ ?

बहुमत भयो भने हामीले पुरानो पार्टीलाई क्याप्चर गर्छौँ । नयाँ पार्टी छोड्दिन्छौँ । हाम्रो पार्टीको नाम भन्दा, घोषणा पत्र, विधान लगायत दस्तावेज पुरानै रहन्छन् । चुनाव चिन्ह त्यही आकारमा बनाउछौँ ।

पुरानो पार्टीका सार्थीहरु तपाईसँग आएर बहुमत भयो भने के हुन्छ ?

हामीसँग आउन चाहाने राम्रो साथीले एक्लाएक्लै हामी आउँदैनौँ, ५१ प्रतिसन पुर्याउने कसरत गर्छौँ भनेको हुनाले उहाँहरु त्यहीँ भित्र बसेर संघर्ष गर्दै हुनुहुन्छ । अब ५१ प्रतिसन पुर्याउने स्थितिमा पुग्छौँ । यदि ५१ प्रतिशत पुगेमा राष्ट्रिय जनमुक्ति (लोकतान्त्रिक) पार्टी नेपाल स्वतः खारेज हुन्छ र पूरानै पार्टीको झन्डा, चुनाव चिन्ह, पार्टीको लोगो लगायत पार्टीको सम्पूर्ण बागडोर म अध्यक्ष रहेको पार्टीले सम्हाल्नेछ ।

नयाँ पार्टीका तर्फबाट संविधान लेखनमा कस्तो भूमिका खेल्दै हुनुहुन्छ त ?

सविधान लेख्नमा अगाडी बढी राखेका छांै । हिजो मात्रै संबैधानिक राजनितीक सदभाव तथा  सहमती  समितीबाट एउटा सहमती प्रतिवेदन तयार पारेर सभामा पठएका छौ  । सविधान सभामा सबै राजनैतिका दलले आफनो धारणहरु राख्ने मौका पाउँछ । मैले पनि राष्ट्रिय जनमुक्ति पार्टि लोकत्रान्कि नेपालको तर्फबाट आफनो बिचार राखेको छु । हाम्रो पार्टीको केन्द्रिय समितीको तर्फबाट संघियता र प्रदेशको सन्दर्भमा आफ्नो फरक मत दर्ज गरेको छु ।

संविधान निर्माण र संघिय प्रदेशबारे पछिल्लो समय आएको १६ बुँदे प्रतिवेदलाई कसरी हेर्नु भएको छ ?

चार राजनैतिक दलले  १६ बुँदे  प्रतिवेदन संवाद  समितिमा  पेश ग¥यो । त्यसमा पहिचानको ५ र सामथ्र्यको आधारमा ४ प्रदेश बनाउने  भन्ने छ । हाम्रो पार्टिको धारणे हिजो देखिनै त्यही हो यो आधार त्यो ठिक छ । पहिलो संविधान सभाबाट नै त्यसलाई पास गरि सहमती कायम गरेर ग्रहण गरेको छँ भनि सकेका छौं । तर त्यसमा फरक के भन्दा खेरि ८ प्रदेश हुनुहुँदैन १० प्रदेश हुनुपर्छ भन्ने हाम्रो पार्टिको धारण छ ।  पहिचानको सन्दर्भमा प्रदेशको नामाकरण गर्ने जिम्मा  प्रदेश सभालाई दिनेभनेर १६ बुँदे प्रतिवेदमा ४ दलले  प्रस्तुत गरेका छन् । नामकरण  गर्ने जिम्मा प्रदेशलाई होइन संविधान सभाले नै त्यसको नामकरण गर्र्र्नुपदर्छ भन्ने हाम्रो धारण छ । भुगोल, इतिहास, भाषा, जाति, सँस्कृतिको आधारमा प्रदेशको नामहरु भन्नुपर्दा फेरी  लिम्बुवान खम्बुवान, तामासालिङ ,नेवार, मगरात ,तम्बुवान, थारुवान, शेर्पा, खसान र जडान गरेर १० वटा प्रदेश हुनुपर्दछ भन्ने हाम्रो  धारण हो । सीमाङ्कनको जिम्माबारे पनि हाम्रो फरका मत छ । आयोग बनाएर ६ महिनाको समय सिमा तोक्ने र त्यहि समयमा आयोगले विज्ञ समितिले ६ महीना भित्रमा टुडगो लगाउने कुरा गलत छ । संविधान सभाबाट संविधान बनाउने भनेर हामी आउने, फेरि बिज्ञहरुलाई नै बोलाएर संविधान निर्माण गर्ने सिमाङकन ,नामाङकन  सारा जिम्मा दिने हो भने, त्यो दोस्रो संविधानसभाबाट निर्वाचित भएर आएको ६०१ जनाको त कुनै औचित्य रहेन ।  त्यसो भएकाले सिमाङ्कन र प्रदेशको नाम पनि संविधानसभाबाटै टुङ्गाने लगाउनुपर्छ । यो फरक मत  हामीले संविधान सभामा दर्ता गरिसकेका छौं ।

तपाइहरु संविधान सभामा हुनुहुन्छ, संविधान बाहिर पनि दलहरु छन् । १६ बुँदापछि संविधान बन्ने संकेत देखिएको छ । कत्तिको संभावना देख्नुहुन्छ ?

हिजो पनि संवाद समितिमा हाम्रो भनाई संविधान सभा भित्र रहेका दलहरुले मात्र बनाएको संविधान सबैलाई मान्य हुँदैन । ठूलै शक्ति संविधानसभा बाहिर पनि छन् । त्यसकारण उनीहरुलाई पनि भेटेर सम्बाद, छलफल बहस गरेर विचारधारा पनि समेट्नु पर्छ । उनीहरुलाई पन्छाएर संविधान सभा जबरजस्ती ढंगले बनाउनु हुँदैन । त्यो संविधान टिकाउ हुँदैन । त्यसैले नेकपामा माओवादी लगायत राजनैतिक दलहरु जो संविधान सभाभन्दा बाहिर छ । उनीहरुसँग सहमति, छलफल गरि  राय लिएर  अघि बढ्नुपर्छ भन्ने सुझाव हामीले दिएका छौं

तस्वीर : मिनबहादुर थापा

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %