भूकम्प पीडित सहयोगार्थ प्रदर्शन
मीना थापा मगर
पोखरा, १ असार – मेनोको फिल्म एण्ड मिडिया हाउसको प्रस्तुती मगर संस्कृतिमा आधारित चलचित्र “रैंयाँ” विभिन्न स्थानमा प्रदर्शनको क्रम जारी छ ।
यसैक्रममा शनिबार तनहुँको खैरेनीटारमा प्रदर्शन गरिएको छ । भूकम्प पीडितको सहयोगार्थ उक्त चलचित्र प्रदर्शन गरिएको निर्देशक मेजन पुन मगरले बताए ।
नेपालमा बैशाख १२ गते देखि पटक पटक आएको विनाशकारी भूकम्पका कारण ठुलो मात्रामा जनधनको क्षती भएकोमा चलचित्र प्रदर्शनीको केही रकम राहतको लागि छुट्याएको मिडिया हाउसले जनाएको छ ।
यस अघि चलचित्र विभिन्न स्थानमा प्रदर्शन भइसकेको छ । जेठ २ गते पोखरा सभागृहमा विशेष प्रदर्शन भएपछि जेठ ९ गते तनहुँको दमौलीमा, १५ गते साँघे, १६ गते थर्पु, ३० गते खैरेनी प्रदर्शन गरिएको थियो । यसैगरी तनहुको भिमादमा असार ५ गते भिमाद र असार १२ गते दुलेगौंडा, पाल्पा रामपुर १९ गते, र कास्की अर्घौचोक साउन १ गते प्रर्दशन गरिने निर्माता तारा थापा मगरले बताए ।
चलचित्र प्रदर्शन पछि दर्शकको प्रतित्रियाले थप उत्साह मिलेको र चलचित्रले दर्शकको मन छुन सकेकोमा आफूलाई गर्व लागेको निमार्ता तारा थापा मगरको भनाइ छ । यसैगरी दर्शकको माग र चाहाना अनुरुप पोखरामा पुनः प्रदर्शन गरिने पनि थापा मगरले बताए ।
मेकहादुर पुन (मेजन) ले निर्देशन गर्नुभएको चलचित्रको निर्माता हर्क आलेमगर, तारा थापा मगर रहेका छन भने हर्क आले मगरको कथामा रहेर उक्त चलचित्र निर्माण गरिएको छ । मगर महिलाको सुन्दरता, पवित्रता र अस्तित्व अनि आत्मरक्षाको कवज मानिएको गहना “रैंयाँ” भएकोले मगर महिलाको विषयमा केन्द्रित रहेर उक्त चलचित्र निर्मात गरिएको निर्माता तारा थापा मगरले बताइन । थापा मगरले चलचित्रमा महिलालाई मुख्य पात्रको रुपमा प्रस्तुत गरिएको बताउँदै चलचित्र “रैंयाँ” मा मगरहरुलाई एकजुट हुन प्रेरित गरिइएको बताए ।
चलचित्रको छायाङ्कन तनहुँको भिमाद, मिछुर्लुङ, कास्कीको धम्पुस टाईगर टप लगायतका ठाउँहरुमा गरिएको निर्माता तथा कथाकार हर्क आलेमगरले जानकारी दिए ।
चलचित्रमा सञ्चारकर्मी प्रिया थापामगर र अशोक आले मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारमा तारामाया थापामगर, मिन पुर्जा पुन मगर, दुर्गा ठाडामगर, पूर्ण थापा मगर (सुगा), अनिता थापामगर, गगन पुन मगर रहेका छन् ।