देविका घर्ती मगर,दाङ, जेठ ३०
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा मगरात सचेतना र सँगठन सुदृढिकरणका लागि राष्ट्रिय अभियान अन्तर्गत आज शनिवार मध्यपश्चिम स्तरिय कार्यक्रम तुलसीपुर दाङमा सम्पन्न भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सुरु गरिएको देशब्यापी अभियान अन्तर्गत कार्यक्रममा बोल्ने बक्ताहरुले अब बन्ने संविधानमा मगर जातिको अधिकार सुनश्चित गर्न माग गरेका थिए । ‘मगरात पहिचान सहितको संघीय संविधान, मगर सचेतना र संगठन सुदृढिकरढाको लागि राष्ट्रिय अभियान’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले संविधान जारी हुने क्रममा रहेको भन्दै मगर जातिको पहिचान हुनेगरी मगरात सहितको संविधान जारी हुनुपर्ने बताएका थिए । देशभरका मगर समुदायलाई गोलबन्द गर्नका निमित्त सँगठन सुदृढिकरण गर्दै थप क्रियाशिल बनाउन जरुरी रहेको भन्दै बक्ताहरुले बताएका थिए ।
त्यस अवसरमा मगर अन्तराष्ट्रिय मञ्चद्वारा वैशाख १२ र २९ गते आएको भुकम्पबाट पीडितहरुलाई राहत तथा सहयोग गरिएको जानकारी गराइएको थियो । जस अन्तर्गत हालसम्म अन्तराष्ट्रिय मञ्चको आह्वानमा मञ्चका सदस्य राष्ट्रहरुद्धारा संकलन गरिएको राहत र सहयोगलाई नेपाल मगर संघ केन्द्रीय समितिको समन्वयमा वितरण गरिएको छ । जसअनुसार हङकङबाट २४ लाख बराबरको नगद तथा जिन्सी सामाग्रीहरु सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, रसुवा र रामेछाप जिल्लाका विभिन्न क्षेत्रमा वितरण गरिएको नेपाल मगर संघका केन्द्रीय संगठन सचिव तथा मगर अन्तराष्ट्रिय मञ्चका राहत ब्यवस्थापन प्रमुख ज्ञानेन्द्र पुनमगरले जानकारी दिए ।
नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तथा मध्यपश्चिम संयोजक गुरुप्रसाद घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष गंगाबहादुर थापामगरले ‘२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण प्रभावित स्थानहरुमा संघले गरेका गतिविधि र भावी कार्ययोजनाहरु’, महासचिव नविन रोकामगरले ‘हामीले खोजेको संघिय संरचना र मगरात स्वायत्त प्रदेश’ र संघका सँगठन सचिव ज्ञानेन्द्र पुनमगरले ‘नेपाल मगर संघको संगठनात्मक पद्दती र नेतृत्व विकास’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि मध्यपश्चिमका सबै जिल्लाबाट सहभागिहरुले आ–आफ्नो धारणा राखेका थिए । संघका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल सहइञ्चार्ज साबित्रा रानामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, संघका पश्चिमाञ्चल उपाध्यक्ष बालकृष्ण काउचा मगर, केन्द्रीय सदस्य तथा भेरी अञ्चल संयोजक गणेश सलामी मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर लगायतले मगर संघलाई देशभर क्रियाशिल बनाउन सबैले जिम्मेवारीपुर्वक भूमिका निर्वाह गर्ने र युवाशक्तिलाई बढीभन्दा बढी क्रियाशिल बनाएर अगाडी बढाउनुपर्ने बताएका थिए ।
त्यस अवसरमा संघका केन्द्रीय सदस्य पुर्णिमा थापामगरले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने, कार्यक्रमको सहजिकरण संघका केन्द्रीय सदस्य होमबहादुर बुढाथोकी मगरले गरेका थिए ।