मनोज घर्तीमगर
पोखरा, २६ बैशाख-हल्लियो जमिन । थरथरी काम्यो शरिर । चक्कर लागेजस्तो भयो । उठूँ कि बसुँ भयो । गोर्खा सिङ्लाकि आशमाया गुरुङ ठाउँको ठाउँ थचक्क बसिन् । एकछिनमै हल्ला मच्चियो– भुइँचालो आयो…, भुइँचालो आयो… । हेर्दा हेर्दै सिङ्लागका घर गल्र्यामगुर्लुम ढले । भागदौड मच्चियो । घरघरबाट मान्छेहरु निस्किए । जमिन हल्लाउन छोडेन । गोर्खालाई केन्द्र बिन्दु बनाएर बैशाख १२ गते शनिबार गएको ७.दशमलब ६ रिक्टरको भुइँचालोले आशमायालाई जीवनको आश मारिदियो । चिर्ररररर चिच्याइन् । तै भाग्यले साथ दियो । सामान्य चोट बाहेक उनको जीवन सग्लै रह्यो ।
भुइँचालोले देशभर बिपत्ति ल्यायो । भत्कायो हजारौं संरचना । झन्डै नौ हजारको ज्यान लियो । हजारौंलाई बेपत्ता बनायो । एकछिन अघि घरमै बसेका धेरैलाई बनवास लगायो । लाखौंको सर्वश्व खोसिदियो । साँच्चै त्यो विनासकारी भुइँचालोले देश तहसनहस बनायो । त्यही भैंचालोले गाउँ ध्वस्त पारे पनि सिङ्ला गोर्खाकी आशमायाको जीवनमा दिनदिनै नयाँ आशाका आँकुरा पलाउँदैछन् । घाइते भएपछि उनी पोखरा आइन् । उपचारपछि तमु धिँ नेपालले पोखराको नयाँ बजारस्थित आफ्नै भवनमा भूकम्प पीडिका लागि पुनस्थापना केन्द्र स्थापना गरेपछि उनी यहि दिन कटाउँदै छिन् ।
याइको मानेजमेन्ट कम्पनी मन्टेकार्लो मोनाकोबाट फर्किएका सुरज गुरुङ, रिक गुरुङ, नारायण राना, केस राना, कमल थापा र मणी थापाको आर्थिक सहयोग र तम धिँ नेपालको व्यवस्थापनमा शनिबार आशमायासहित ९० जना भुइचालो पीडितलाई पोखराको फेवाताल र अन्टराष्ट्रिय पर्वतिय संग्राहलय घुमाईएको थियो । पहिलो पटक पोखरा घुम्दा आशामायालाई जीवन जीउने आशाले झन्झन् उक्सायो । ‘जीवन यत्ति रहेछ भन्ने लागेको थियो, बाँच्न लेखेको रैछ र घुम्न पाएँ’ आशमायाले सुनेको पोखराबारे लजाउँदै बोलिन्,‘पोखरा राम्रो छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म घुमेको थिइँन ।’
आशमायाँ जति खुसी थिइन् त्योभन्दा कयौं गुणा हर्षित थिइन् लाप्राककी कान्छिमाया गुरुङ । उनको अनुहार उसै त उज्यालो । ७१ वर्ष पुगेको जनाउ दिने कुनै चिन्ह थिएन । पोटिला गाला । शनिरबार दिनभर उनको अनुहारमा हाँसो हराउँदै हराएन । बुढ्यौलीले चेप्दै लगे पनि कान्छिमाया सबैभन्दा कान्छी जस्तै लाग्थीन् । घरी गीत गाउँथिन् । घरी नाच्न खोज्थिन् । अस्ति त हो उनी पोखरा झरेको । विनाशकारी भूकम्पले बसिरहेको घर गल्र्यामगर्लुम्म ढलेपछि उनलाई पोखरा आउने बाध्यता आइलाग्यो । भुइचालोले आफन्तहरुको ज्यान लियो र, बुढेसकालमा अरुको सहारामा बाँच्नुपर्यो उनलाई ।
घर परिवार सखाप भएको चिन्ता त लाग्छ । तर पनि कान्छिमाया यी सब पीडा भुल्न खोज्दैछिन् । र, भूकम्पको पीडालाई लुकाउने प्रयास गर्छिन् । तमु धिं नेपालले सुरु गरेको पुनस्थापना केन्द्रमा सहारा लिएकी कान्छिमाया पोखरा घुम्न पाउँदा निकै रमाइन् । उनीजस्तै धेरै विस्थापित भएकाहरुको अनुहारमा थोरै भएपनि खुशि आएको थियो । कान्छिमायाकै उमेरकी बिशानी गुरुङ पनि पहिलोपल्ट फेवातालमा डुंगा चढ्न पाउँदा दंग थिईन् । ‘अलिअलि डर लाग्या पनि रमाईलै लाग्यो औ मलाई त’ गुरुङ लवजमा खुसी बाँडिन्,‘हाम्लाई दुःखमा खुसी दिने सबको भलो होस् बाबु, मेरो आर्शिवाद छ ।’
उस्तै उमेरकी हस्तमाया गुरुङले पनि आर्शिवाद दिए, सहयोगीहरु सबैलाई । भुकम्प पीडितलाई सेल्टर दिएर खाने, सुत्ने व्यवस्था गरिदिने तमु धिंलाई पनि उनले धन्यवाद भन्न भुलिनन् । ‘घर भत्क्यो, खान, लाउनलाई केहि थिएन । यस्तो बेला यतिका धेरै सहयोग गरेर ठुलो गुन लगाएको छन् यीनीहरुले’ उनले तमु धिँ ले गरेको प्रयासबारे बयान गरिन्–‘हामी त विपत् परेपनि भाग्यमानी नै भन्नुपर्छ । अरुले यस्तो काँ पाउनु ?
भूकम्पबाट घरबार विहिन भएका १ सय ७० जना पिडितहरु तमु धिं नेपालको परिसरमा आश्रय लिएर बसिरहेका छन् । तमु धिं ले नै सबै पिडितहरुको खाने, बस्ने र लाउने व्यवस्था गर्दै आएको छ । ‘भुकम्पको केन्द्रबिन्दु गोरखा बारपाकका घाइते मान्छे धमाधम पोखरा ल्याइयो । उपचारपछि घर भत्केकाले उनीहरु कहाँ बस्ने कहाँ जाने ठेगाना थिएन । त्यसैले हामीले उनीहरुलाई आश्रय दियौं’ तमु धिं नेपालका अध्यक्ष कर्मा तमु भूकम्प पीडित पुनस्थापना केन्द्र खोल्नुको उद्देश्य सुनाइन्–‘मानवीय नाताले यो गर्नु हाम्रो कर्तव्य पनि हो । आश्रितहरुलाई त्यत्तिकै छाड्न पनि नमिल्ने भएकोले उहाँहरुको उचित व्यवस्थापनको लागि विभिन्न क्षेत्रमा पहल पनि गर्नेछौँ ।’
तमु धिंले त्यहाँ आश्रित भूकम्प पिडितहरुलाई अझै एक महिना अर्को व्यवस्था नहोउन्जेल राख्ने बताएको छ ।
तमु धिं नेपालकी विदेश विभाग प्रमुख सरस्वती गुरुङले तमु धिं भित्र बस्दाबस्दा सबैजना एकदमै आत्तिएजस्तो र दिक्क मानेजस्तो लागेकाले उनीहरुलाई घुमाउन लगेको बताइन् । ‘हामीले उहाँहरुलाई कतै घुमाउन लैजाने हो की भन्ने सोँचिरहेका थियौँ’ उनले भनिन्–‘विदेशबाट ६ जना दाजुभाईको टोलीले सबै खर्च गराएर पोखराको विभिन्न स्थानमा घुम्ने वातावरण गराईदिनुभएको हो, र कार्यक्रमलाई हामीले व्यवस्थापन गरेका हौँ ।’
जसले पिडितको अनुहारमा हाँसो ल्याईदिए
फ्रान्स र ईटलीको बीच तिर पर्छ–‘मोन्टेकार्लो मोनाको’ । त्यहिँको ‘वाईको म्यानेजमेन्ट कम्पनी’ले ‘कतारा’ नामको नीजि पानीजहाज चलाउँछ । र, त्यहि कम्पनीमा काम गर्दै आएका ६ जना नेपालीहरु हुन्, जसको सहयोगले शनिबार झन्डै सय जना भूकम्प पिडितहरु पोखरा घुम्न पाए । उनीहरुले जनही ५ सय नगद पनि पाए । र, त्यो सँगै अनुहारमा खुशि पनि ।
सुरज गुरुङ, रिक गुरुङ, नारायण रानामगर, केश रानामगर, कमल थापा र मणी थापाले भूकम्प पिडितलाई पोखरा घुमाउनुसँगै नगद र केहि नयाँ लुगाफाटा पनि उपलब्ध गराए । करिब एक लाख बराबरको सहयोग उनीहरुको रह्यो । तर दुखेको मनलाई सामान्य अवस्थामा ल्याउन उनीहरुले निकै प्रभावकारी तरिका अपनाए, उनीहरुलाई घुमफिर गराउने । र, उनीहरुको आईडियाले काम पनि गर्यो । तमु धिं मै आश्रय लिएर बसिरहेकी गोरखा सिम्लाकी आशमाया गुरुङ भन्दै थिईन्–‘मलाई त खुब खुशि लाग्यो, यसरी पोखरा घुम्न पाउँदा । आज धेरै दिन पछि पिडा केहि कम भएको महशुस गरेको छु ।’
नेपालमा भूकम्प आउँदा यी ६ जना नेपालीहरु कर्मथलो मै थिए । भूकम्पको समाचार विश्वव्यापी रुपमा यसरी सलबलायो कि, उनीहरु काम गर्ने कम्पनी आफैले उनीहरुलाई नेपाल पठायो, आफन्त वा घरपरिवार कसैलाई केहि भयो की ? भनेर । नेपालको भूकम्पले पोलेको मन्, कम्पनीले छुट्टी दिए पनि केहि शान्त बन्यो । त्यसैमाथि कम्पनीले नै भूकम्प पिडित आफन्तहरुलाई बाँड्न भनि केहि नयाँ लुगाफाटा उपलब्ध गराईदियो । जुन उनीहरुले शनिबार तमु धिं मा रहेका भूकम्प पिडितहरुलाई बाँडे । ‘पीडामा रहेको उहाँहरुलाई थोर भए पनि पीडा कम गर्न हामीले सकेको सहयोग गर्यौ’ सुरज गुरुङले भने,‘सेल्टरमा बस्दाबस्दा मोनोटनस भएको होला भनेर रिफ्रेस बनाउन पोखरा घुमाएका हौ ।’