दुर्गा राजकोटी मगर
महाकवि लक्ष्मी प्रसाद देवकोटाले कविता मार्फत चेतना नभएकाहरुलाई चेतना फैलाउने काम गरेका थिए । चेतना फैलाउने विभिन्न माध्यम हुन्छन् । कसैले कथा मार्फत, कसैले गजल मार्फत, कसैले सिनेमा बनाएर, कसैले उपन्यास लेखेर, कसैले पत्र पत्रिका मार्फत, कसैले जनताहरुलाई जम्मा गरी आफ्नो विचार फ्याकेर । यसरी ज्ञान नभएकाहरुलाई ज्ञान दिनु र चेतना नभएका अर्थात गलत बाटोमा हिडेकाहरुलाई सही बाटोमा हिडाउनको निम्ति जो कसैले प्रयास गर्छ भने ती व्यक्ति पछि गएर महान् कहलिन्छन् । संसारमा लक्ष्मी प्रसाद देवकोटा जस्ता व्यक्ति धेरै छन् जसले गलत बाटोमा हिडेकालाई सही बाटोमा हिडाउने प्रयास गरे ।
“यात्री” कविता मार्फत लक्ष्मी प्रसाद देवकोटाले भगवान् केवल मन्दिरमा मात्र हुदैनन् र भगवानलाई खुशी पार्न फलफुल बोकेर मन्दिरमा धाउनु पर्दैन भनेर चेतना फैलाउने काम गरे । काम गलत गर्ने अनि रातदिन भगवान्को नाममा भजन गाउँदैमा, नाच्दैमा भगवान् प्राप्ती हुँदैन । धार्मिक पुस्तकहरु अध्ययन गर्ने हो भने पनि भगवान् केवल अमेरिकामा, चाईनामा, मलेशियामा बढि हुने र अरु देशमा वा ठाउँमा कम हुने भनेर उल्लेख गरेको पाईदैन । यसो मैले किन भने भन्दा भगवान केवल पशुपतिनाथको मन्दिरमा, सिद्धवावाको मन्दिरमा, मनकामनाको मन्दिरमा, सुपा देउरालीमा मात्र बसोेवास गदैनन ।
उनी प्रत्येकको घरभित्र, आँगनमा, पाईखानामा, भान्सा कोठामा अर्थात जहाँतही छन् । भगवान्लाई खुशी पार्न स्याउ, केरा, अंगुर किनेर मूर्तिलाई भगवान् सम्झेर चढाएर प्राप्त हुन सक्दैन बरु त्यो फलफुल आफ्नो जीवन निर्वाह गर्न सडकमा प्लाष्टिक बटुल्दै हिड्ने जसलाई हामी खाते भन्छौ त्यसलाई दिईयो भने खुशी हुन सक्छन् । मुर्ति भनेको निर्जिव वस्तु हो, त्यसको मुख पनि हुँदैन र भोक पनि लाग्दैन भने फलफुल चढाउनुको कुनै अर्थ नै छैन । नेपालमा अझ पनि धार्मिक अन्ध विश्वास कायमै छ । कुनै कुनै मन्दिरमा गएर आफूले चाहेको कुरा माग्यो भने त्यो पुरा हुन्छ भनेर ऋण काडेरै भएपनि गाडी रिजर्व गरेर मानिसहरु त्यो ठाँउमा पुगेको पाईन्छ ।
यदि मागेर पाईने भए किन विदेशिनु पथ्र्यो, किन मरी मरी काम गर्नु पथ्र्यो र ? दिनदिनै मन्दिर जादै आफूलाई चाहिएको चिज मागे भैहाल्थ्यो नि । नेपालको विकास नहुनुमा अन्धविश्वासले पनि राम्रो भुमिका खेलेको छ ।
श्रीमान् मरेपछि श्रीमतीको कुनै अस्तित्व हुँदैन त्यसैले श्रीमती श्रीमान सगै सती जानु पर्छ भन्ने चलन उहीले थियो र धेरै जनाले अनाहकमा ज्यान गुमाउनु पथ्र्यो । सती जान नमाने जबरजस्ती दन्कीरहेको आगोमा धकल्ने चलन थियो । वि.स. १७९९ चैत्र २५ मा नरभूपाल शाहको मृत्यु भएपछि उनको लाससँगै कान्छी रानी, नोकर केटो र १६ बटी उपरानी सहित १८ जनालाई सती पठाईएको थियो । त्यसबेलाको चलन अनुशार जिउँदो मान्छेलाई काँचो बाँसको काम्रोमा चटपटाउन नसक्ने गरी बाँधी चितामा राखेर जिउँदै जलाउने चलनलाई सती जाने भनिन्थ्यो ।
आगोले पोल्न थालेपछि रोए कराएको आवाज अरुले नसुनुन् भन्नका लागि चर्को स्वरले ढोलक, दमाहाहरु बजाईन्थ्यो । पछि चन्द्र शमशेरले यस चलनलाई हटाए । कुनै पनि राम्रो संकारलाई अगाल्नु पर्छ भने नराम्रो सस्ंकारलाई हटाउदै जानु पर्छ । के ठीक के बेठीक मानिस आफैले पहिचान गर्ने कुरा हो । अरुलाई ठीक लागेको संस्कार तपाईलाई ठीक लाग्दैन भने त्यो संस्कार अगाली राख्नु पर्छ भन्ने मान्यता ठीक होईन । जस्तै विवाह गर्दा नेपाली समाजमा लगभग गाउँको छिमेकी चिने जति सबैलाई निमन्त्रणा गर्ने चलन छ भले तपाईसँग ती सबलाई खुवाउनको निम्ति आवश्यक रकम होस या नहोस । छोरीलाई दाईजो दिने चलन छ । जग्गै बेचेर भएपनि तपाईले दुनियाँलाई खुवाउनु हुन्छ, दाईजो पनि दिनुहुन्छ ।
विवाह त उम्किएला तर ऋणले गर्दा तपाईलाई मानसिक पिडा दिन्छ र तपाईलाई पागल जस्तो बनाउन सक्छ । कतिपय बाबुहरु छोराछोरीको विवाहमा लागेको ऋण तिर्न भनेर नै विदेश जानुपर्ने स्थिति रहेको पाईन्छ । जुन कार्य गर्नाले आफूलाई र समाजलाई हित गर्दैन त्यस्ता कार्यहरु अरुले जेसुकै भने पनि गर्नु हुदैन । सक्नेले गरुन् त्यो आफ्नो ठाउँमा छ तर नसक्नेले जवरजस्ती सकी नसकी भोज भतेर गराउनु गतल हो । वर्तमान गृहमन्त्री वामदेव गौतमले एउटा प्रशंशनीय कार्य गरेका छन् त्यो हो विवाहमा मापदण्ड भन्दा बढी जन्ती जाने, दाईजो दिने जस्ता कार्य गरेमा ६ महिनासम्म कैदको सजाए । त्यो व्यवहारमा पालना होला नहोला आफ्नो ठाउँमा छ तर त्यस्ता नियम उल्लङघन गर्ने व्यक्तिलाई कानूनको कठघरामा उभ्याउनु पर्छ भनेर कानून बनाउनु सकरात्मक पक्ष हो ।
नेपालमा शिक्षित धेरै भए तर चेतनशिल कम भए । वास्तवमा भगवान प्रत्येकको घर घरमा हुन्छन भन्ने ज्ञान हुदा हुदै पनि मानिस फेरी फलफूल बोकेर किन मन्दिर धाउछन् ? लक्ष्मी प्रसाद देवकोटाले मन्दिर जानुको सट्टा दीन, दुःखीको सेवा गर, भोकालाई भोजन देऊ त्यसैमा नै भगवान् खुशी हुन्छन् भनेर भनेको धेरै भयो । उनी मरेर पनि गईसके । तरपनि मानिसहरु विहानै उठेर महङ्गो फलफूल भगवान्को नाममा मूर्तिलाई चढाएर आउछन् । त्यो मुख नभएको ढुङगाले के खाओस, ती सम्पुर्ण फलफूल त्यसै कुहेर जान्छन् । पण्डितले कति खाएर साध्य होला । यस्ता अचेतनशिल व्यक्तिहरु जसले आफूलाई शिक्षित सम्झन्छन् र सधै ढुङगालाई महङगा फलफूल चढाई रहन्छन् तबसम्म समाज वा देशले फड्को मार्न सक्दैन ।
पशुवली दिएर भगवान् कदापी खुशी हुन सक्दैनन् । बरु मासु खाने ईच्छा भए काटेर खादा हुन्छ तर जुन सोच अनुरुप भगवान् खुशी हुन्छन् त्यसैले वली दिएको हो भन्ने सोच छ त्यो पूर्ण रुपमा गलत छ । कलिलो उमेरमा श्रीमान्को स्वर्गे भयो भने र उसले पुनः विवाह गर्ने ईच्छा प्रकट गर्छ भने वा कसैले उसँग विवाह गर्न राजी हुन्छ भने त्यस्को तालमेल सासु ससुराले गरिदिनु पर्छ । विधुवा हुनेले पहिला सेतो साडी लगाउने चलन थियो । त्यसले अरुले हेर्ने दृष्टिकोणमा नराम्रो असर पर्ने हुनाले सेतो साडी हटाईयो । त्यो पनि स्वागतयोग्य कार्य नै हो । विधुवा शब्द नराम्रो सुनिने हुदा आजकल एकल महिला भनिन थालियो । यी सबै सुधार हुन् ।
यो चेतनाले गर्दा भएको हो । तर नेपालमा चेतनाको स्तर निकै सुस्त गतीमा अघि बढेको छ । बोक्सीको आरोपमा गाँउ निकाला गरेको घट्ना, बेस्मारी कुटपीट गरेको घटना, दिशा पिशाब नै खुवाएको घट्ना २१ औं शताब्दीको उच्चतम विकास तथा प्रविधिको युगमा सुहाउँदो कार्य किमार्थ हुन सक्दैन । पत्याउनै नसकिने, सोच्नै नसकिने विकास विश्वमा भईरहेको बेला नेपालमा भने उही परम्परागत सोच, शैली विद्यमान छ । जुन लाजमर्दो र दुखद विषय हो, महाकवि लक्ष्मी प्रसाद देवकोटाप्रतिको अपमान हो । सेतो साडी लगाउने बित्तिकै त्यो महिला विधुवा रहेछ अर्थात उसको श्रीमानको मृत्यु भएको रहेछ भन्ने थाहा पाएपछि उसलाई हेर्ने नजरमा फरक पर्ने हुँदा आजकल सेतो पहिरनमा महिलाहरु देखिदैनन् साथै चुरा पनि लगाउँछन् ।
यो सकरात्मक परिवर्तन हो यसले एकल महिलालाई सम्मान मिलेको छ, सन्तुष्टी प्राप्त भएको छ । त्यस्तै नेपालमा छुवाछुतको प्रभाव अझ हट्न सकेको छैन । दलित भन्ने वित्तिकै वा वि.क, परियार, सार्की, कामी, सुनार, दमाई भन्ने बित्तिकै वहाँहरुप्रति हेर्ने दृष्टिकोणमा फरक व्यवहार देखिन्छ । त्यसैले ती शब्दहरुमा पनि बिस्तारै परिमार्जन गर्दै लानु मैले आवश्यक ठानेको छु । उदाहरणको लागि मेरो एकजना सुनार थरका साथीले गौतम बनाउनु भएको छ । एवं रितले क्रमशः सबैले ती थरलाई परिमार्जन गर्दै लगे कसो होला यो वहसको विषय बन्न सक्छ ।
अन्तमा रुढिवादी, परम्परागत गतल संस्कारलाई त्याग्दै नयाँ सोंच, जोश र जाँगरका साथ नेपालको चौतर्फी विकासको निम्ति सबै जना आ आफ्नो क्षेत्रको विकास गर्न तर्फ लागौं र सत्तामा रहेका र जनताको सेवा गर्न र देशको विकास गर्न भनी नियुक्त भएका सबै मन्त्री तथा कर्मचारीहरु ईमान्दार भई देश विकास तर्फ लागौं ।
जनतालाई ढाट्नु राम्रो कुरा होईन । कहिले माघ ८, कहिले फाल्गुन १५, कहिले जेठ १५ मा संविधान दिन्छु भन्दै जनतालाई वेवकुफ बनाउदै हिड्नुको परिणाम के हुन्छ त्यो ख्याल राख्न जरुरी छ । सबैलाई समान अधिकार दिन कुनै कन्जुसाई नगरौं अन्यथा प्रेसर कुकरले सास फेर्ने अधिकार नपाउँदा विष्फोट भए जस्तै कसैले कल्पना नगरेको अकल्पनीय, विध्वंसकारी घट्ना अधिकार नपाएकाहरुबाट जुनसुकै बेला घट्न सक्छ । त्यसैले जिम्मेवार पदमा बसेका व्यक्तिहरुको चेतना बेलैमा जागोस् र सम्भावित दुर्घटनाबाट राष्ट्रलाई बचाईयोस् ।
