रैंयाँ चलचित्र (शुरुवात देखि सुटिङ समापनसम्म)

Read Time:10 Minute, 5 Second

जातीय पहिरन — पहिचान र आत्म रक्षाको प्रतिक

MENOKO Films and Media House Presents’

Rainyaa रैंयाँ raya2.mp3

मगर महिलाको सुन्दरता, पवित्रता र सतित्व अनि आत्मरक्षाको कवज मानिएको गहनाको नाम नै रैंयाँ हो भने यसको उपयोग विधि व्यक्तिगत, साँस्कृतिक र बहुपयोगलाई कथा बनाई चलचित्र पर्दामा उतार्ने प्रयास नै मगर चलचित्र रैंयाँ हो ।

मगर महिलाले प्राचीनकाल देखि प्रयोग, उपयोग र पहिचान गरेका करिव तीन दर्जन गहना मध्ये रैंयाँ बनावट आकार र प्रकारले बेग्लै र बडो रहस्यमयी मानिन्छ । मगर महिलाका सबै जसो उमेर समुहले यसलाई अपनाएको पाइन्छ भने समयान्तर सँगै यसको प्रयोगमा कमी देखिन्छ । नारीको सुन्दरता, अस्तित्व, आत्मरक्षा र पहिचान सँगै आत्म सम्मानको प्रतीक रैंयाँलाई चलचित्रको पर्दामा उतार्ने र समुदायमा इतिहास, मगरपन, मनोरञ्जन र संरक्षणको पर्खाइमा रहेको गहना रैंयाँ चलचित्र आफैमा मगर चलचित्र बनाउने धेरै प्रयास गरिएको छ ।

मेजन पुन मगर (लेखन/निर्देशक)

 

रैंयाँको कथा पहिलो पटक सुनाउने क्रममा हर्क आले मगर र म सराङकोटको डाँडामा थियौं । कथा राम्रै लाग्यो । कथालाई अझ परिमार्जन गर्नु पर्ने त थियो तर मुलजड चित्त बुझ्दो लाग्यो । कथा बारे तर्क बिर्तक गर्दै कथाको व्यवहारिक पक्ष सम्बन्धी छलफल गर्यौं  । त्यो कफी गफलाई अझ सारत्व दिन कथालाई कपीमा उतार्न र यसको स्क्रिप्ट लेख्नु होस् भन्दै विदा भयौं ।

 न्यूरोडको एउटा चिया पसलमा यसै सम्बन्धी धेरै दिन लगाएर छलफल भयो । कफी गफमा अन्त्य भएको ठाउँ भन्दा अगाडि कथा बड्न सकेन । कथामा म बढी जान्ने हुने कुरा पनि भएन । कथा कसरी अगाडि बढाउने भन्ने बारे चाहिं तर्कहरु गरिराखेकै हो । चलचित्र निर्माण गर्ने तपाई (हर्क) को सोंच हो चलचित्र निर्माण/लेखन गर्ने व्यक्तिहरुसँग कुरा गर्नु भए पनि हुन्छ । यसलाई हामी (म, तारामाया थापा र तपाई) मिलेर बनाऔं । तपाईले लेखन/निर्देशनको भूमिका निर्वाह गर्नु पर्ने भो भन्ने कुरा हर्क जीले राख्नु भयो । मेरो पनि चलचित्र निर्माणको ग्याप निकै भएको थियो । कथाको मुल सार राम्रो थियो नै । यसर्थ चलचित्र निर्माणमा वहाँहरु पहिलो संलग्नता भएको कारण धेरै कुराहरु चलचित्र सम्बन्धी जानकारी गराउँदै के के गर्ने भन्ने कुराहरु शुरुवात देखि लिस्ट बनायौं । र, चलचित्र निर्माण गर्न कम्पनी दर्ता, स्क्रिप्ट लेखन, कलाकार छनोट, कस्तो प्रविधिमा बनाउने, कसले/कति लगानी गर्ने तथा श्रमको उचित मुल्याँकन आदि बारे छलफल गरेर चित्त बुझ्दो भए पछि मात्र म रैंयाँमा संलग्न हुने निर्णय गरें ।

यसरी निर्देशक र लेखनको जिम्मा लिए— यता स्क्रिप्टको पहिलो जिस्ट तयार पारेर बुटवल केशब थापा मगर र याम पुन मगरसँग स्क्रिप्टमा छलफल तथा सुधार गर्न गएँ । स्क्रिप्टमा वहाँ दुई जनासँगको छलफल पश्चात अझ परिमार्जन गरि काठमाडौं राज थापा मगर (पहिलो मगर चलचित्रका नायक) सँग छलफल गर्न हान्निएँ । वहाँहरुको उचित सुझावलाई मध्य नजर राख्दै स्क्रिप्ट फाइनल गरें । र, कलाकार खोज्ने क्रममा लाग्यौं । यसको लागि राज थापा मगरलाई पोखरामा ७ दिने वर्कसप राखेर हामीसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई माझ्न जिम्मा दियौं । चलचित्रको कौडा गीत र रैंयाँ बुमले गीत तयार पार्न पनि निकै कम्मर कस्नु पर्यो ।

निर्माण भएको मगर चलचित्रहरुमा बजारिया कौडा मात्र राखिएको पाउँछौं तर हामीले अलि टिपिकल कौडा राखौं भन्ने सोचाई पहिले देखिकै भएको कारण हर्क जीले लेख्नु भएको कौडालाई रेकर्डिङ गर्न मान्छे खोज्दा टिपिकल तरिकाले गर्ने मान्छे पाउनै गाह्रो भो । सम्पर्कमा आएको व्यक्तिले पनि हामीलाई झुलाई मात्र राखे । यसर्थ याम सारु मगर कौडा गाउने भएको कारण उनलाई भेटेर कुरा गर्दा टिपिकल खालको बनाउने भन्ने छलफल गरि उनैलाई कौडाको जिम्मा दियौं र ११ मिनेट लामो कौडा गीत तयार भयो ।

यसरी वर्कसपबाट कलाकार र गीतहरु त्यार भए पछि प्राविधिकहरु फाइनल गरि चलचित्र निर्माण गर्न छायाँकन थालनी मिति २०७१ साल भदौं १४ तय गर्यौं । शुरुवातदेखि कलाकार, प्राविधिक तथा स्थानीय व्यक्ति, मगरहरुले सहयोग गरेकै हुन् । तर पनि धेरै कुराहरु लेख्न खोज्दा पनि लेख्न सकिदैन । भन्न खोज्दा पनि मुख फुट्दैन । यस्तै भएको छ । कारण रैंयाँसँग हामी सबैको भावना जोडिएको छ । र, सबैको भावना जोडिएको कारण मान्छे भावुक हुनु स्वभाविक हो । र, सुटिङको क्रममा भएका कुराहरु म लगायत सबै कलाकारहरु, मगर प्राविधिकहरु भित्र मिठा अनुभूतिको रुपमा रहको छ भन्ने मलाई लागिरहेको छ । मगर विषय वस्तुलाई समेट्दै शुरुवात देखि नै मगर चलचित्र निर्माण गर्न भनेर लागेका हौं । यसर्थ तयार पारिएको चलचित्र लिएर समाजमा जाँदा सकारात्मक सहयोग प्राप्त गर्छौ भन्ने पनि लागिरहेको छ ।

कुनै पनि कुरा मनैदेखि बनायो भने त्यसले आवश्य अरुको मन पनि छुन्छ भन्ने लागेको छ । कथा लेखन देखिनै मेहनत गरेका छौं । मगर भाषा नबोल्नेले कसरी मगर भाषाको चलचित्र निर्माण गर्यो भन्लान तर यसमा प्रक्रिया मिलाएर काम गर्ने हो । भाषामा सहयोग गर्ने साथीहरुको टिम थियो । मुख्य कुरा गर्छु भन्ने भावना हो । मगर भाषाको चलचित्र निर्माण गर्ने भित्रै देखिको चाहना रैंयाँले चलचित्रले पुर्याएको छ । यसको रिजल्ट त तपाईहरुले अवलोकन गरेर मात्र थाहा हुने हो । यसर्थ चलचित्र प्रदर्शनको संघारैमा छ । यसलाई माया गरिदिनु भयो भने निश्चित रुपमा अर्को मगर चलचित्र निर्माण गर्न यसले सहायता गर्ने छ । यो चलचित्र अवलोकन पश्चात सरसल्लाह, सुझाव र सकारात्मक आलोचना पनि गरिदिनु हुने छ भन्ने लागेको छ । धन्यवाद ।

कथाकारको रुपमा हर्क आले मगर

राष्ट्रको आधिकारिक रुपमा सबैभन्दा बढी पहुँच भएको सञ्चार माध्यम रेडियो नेपालमा करीब दुई दशक काम गर्दाको समयमा मैले आफ्नो समुदायलाई कतै जन्म जात, कतै भोगाई र कतै प्रयासबाट नजिक हुने अवसर पाएँ । अनुभव र भोगाईलाई लिपीवद्ध गरि एउटा कृतिको रुप दिने प्रयासमा थिएँ तर विद्या छनोट गर्ने क्रममा सर्वसाधारणदेखि शिक्षित वर्गसम्म पुग्न सक्ने चलचित्र विद्या उपयुक्त लाग्यो । तसर्थ मगर आमाको कोखबाट जन्मेको म आमाको प्यारो गहना रैंयाँ विषय मेरो चलचित्रको कथा वस्तु हुन पुग्यो ।

अर्को तर्फ प्रत्येक मानव यस धर्तीमा आमाको कोखबाट जन्म लिने हुनाले आमाप्रतिको श्रद्धा, प्रेम र भावना यही हो । र रहने छ । क्यान्सरका कारण अल्पायुमा नै जीवन गुमाउन बाध्य आमा बिष्णुमाया आले मगरको जन्म भार, दुधको भार तिर्न रैंयाँ कथा लेखेको हुँ । रैंयाँ चलचित्रबाट म लगायत निर्माता तारामाया थापा मगर, लेखन/निर्देशन मेजन पुन मगर, प्राविधिक मगर साथीहरु र कलाकार सबैले मगर भाषा, संस्कार र संस्कार दिने मगर समुदायको कृतज्ञताको खातिर रैंयाँ चलचित्र निर्माण गर्न जुटेका हौं । मलाई लाग्छ— हरेक मगरले आफ्नो संस्कार, संस्कृति र भाषा संरक्षणको लागि हामीले गरेको यो प्रयासलाई सराहना गर्दै साथ दिनु हुने छ भन्ने लागेको छ । धन्यवाद ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %