प्राकृतिक विपत्तीपश्चात् सरुवा रोगको महामारी फैलन सक्ने सम्भावना अधिक हुन्छ । धेरै देशमा यस्ता घटना देखिएका छन् । प्राकृतिक विपत्तीका घटना व्यवस्थापन गर्न नसक्दा सरुवा रोगको महामारी फैलिने गरेका छन् । त्यसैले समयमै सचेत हुन सके थप मृत्युबाट धेरै मानिसको ज्यान जोगाउन सकिन्छ । विपत्पश्चात सबैभन्दा बढी पानी र खानाका कारण रोगको महामारी फैलन सक्ने सम्भावना बढी हुन्छ । विपतमा मानिसलाई खानभन्दा पनि ज्यान जोगाउनु ठूलो कुरा हुन्छ । त्यसैले सरसफाईमा ध्यान नजानु स्वाभाविक पनि हो ।
नेपालमा महाभुकम्पबाट हजारौं मानिसको ज्यान गइसकेको छ । यो विपत्तीले थुप्रै भौतिक संरचनाको पनि क्षति गरेको छ । महाभुकम्पबाट बढी क्षति हुन नदिन के गर्न सकिन्छ भन्ने विषय अर्को पाटो होला । तर, अब बचेका मानिसलाई कसरी बचाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । अब थप महामारीबाट जोगिन सबैले प्रयत्न सुरु गर्नुपर्छ । अबको महामारी व्यक्तिको लापरवाहीका कारणले हुने हो । यसमा सरकारले शुद्ध पिउने पानी र खानाको व्यवस्था गरिदिनु पर्छ भने नागरिकले सरसफाई र फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ । जथाभावी फोहोर नफाल्ने, जथाभावी दिसापिसाव नगर्ने, खानु अघि साबुन पानीले हात धुने र सडेगलेको वा झिंगा भन्केको खाना नखाने हो भने पनि सरुवा रोगको महामारीको सम्भावना ८० प्रतिशतभन्दा कम हुने चिकित्सकहरु बताउछन् ।
यतिखेर मानिस तनावमा छन् । उचित निद्रा र आराम छैन । मौसम पनि चिसो छ । यस्तो अवस्थामा रुघाखोकी र निमोनियाको महामारी फैलन सक्ने सम्भावना पनि उत्तिकै छ । वृद्धवृद्धा, जीर्ण रोगबाट ग्रसित र बालबालिकामा रुघाखोकी र निमोनियाको प्रकोपको सम्भावना बढी हुन्छ ।
महाभुकम्पमा परि पुरिएका हजारौं शव अहिले पनि निकाल्न सकिएको छैन । पानी परेको छ । यसले लास कुहिएर महामारी फैलाउने जोखिम बढाएको छ । त्यसैले वातावरणीय सरसफाइमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । लासले पनि व्याक्टेरियल रोग फैलाउन सक्ने सम्भावना हुन्छ । लासमा बसेको झिँगा खानामा बस्दा त्यसले घातक रोग निम्त्याउन सक्छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्टले पनि महाभुकम्पको विपत्तीपछि खाना र पानीजन्य महामारी फैलने खतरा बढी रहेको जनाएको थियो ।
अर्कोतर्फ कीटजन्य रोगको संक्रमण जोखिम पनि त्यत्तिकै छ । यसमा लामखुट्टेका कारण मलेरिया र डेंगूजस्ता रोग फैलन सक्ने सम्भावना हुन्छ ।दुशित खानेकुरा ,पानीबाट भिविन्न रोगहरु झाडा पखाला हैजा जस्ता फैलने खतरा बद्धो छ त्यसैले वातावरणीय सरसफाईमा पनि ध्यान दिनुपर्छ । व्यक्ति–व्यक्तिले आफ्नो तर्फबाट सचेतना अपनाउनु पर्छ । अस्पताल र क्याम्पमा बसेका मानिसका लागि शौचालय र खानपानको सही व्यवस्थापनको अत्यन्तै खाँचो छ ।महाभुकम्पबाट अत्यन्तै प्रभावित ११ जिल्ला सरुवा रोगको महामारीको जोखिममा छन् । हाइटी, इन्डोनेसिया र जापानमा प्रकोपपश्चात देखिएका महामारीको पाठ सिकेर समयमै सबैले आ–आफ्नो ठाउबाट उचित प्रयास गर्न सके अर्को महामारीको जोखिमबाट धेरैको ज्यान जोगाउन सकिन्छ । तलका निम्न कुरा हरुमा ध्यान दिए स्वस्थ रहन सकिन्छ ।
१. भूकम्पका कारण त्रिपालमा बसिरहनु भएकाहरुले आफ्नो र परिवारको स्वास्थ्य ठिक राख्न ध्यान दिनु पर्ने पहिलो कुरा भनेको सफा पानी हो । पानी उमालेर सेलाई सके पछी सेवन गनुहोस् । उमाल्न सम्भव छैन भने क्लोरिनको ट्याब्लेट वा झोल पानीमा मिसाएर पिउनुहोला । फोहोर पानीकै कारण धेरै किसिमका रोग लाग्छ ।
२. खाना खानु अघि र पछी साबुन पानीले राम्रोसँग हात धुनुहोस् , आफ्ना बालबालिकाको हात आफैले धोइदिनुस । हात फोहोर छ भने सफा चम्चाले खाना खाँदा पनि हुन्छ ।दिशा पिसाब गरे पछी हाट साबुन पानीले राम्ररी धुनु होस्।
३. खाने थाल, कचौरा र गिलास पनि सफा राख्नुस् । खाना तातो, राम्रोसँग पकाएर मात्रै खानुहोला ।सके सम्म बासी खाने कुरा नखानु नै बेश हुन्छ । खान पकाएर खुला नराख्नु होस्।
४.फोहोरलाई राम्रोसँग व्यवस्थापन गर्नुस्, आफू बसेको वरपर झिँगा भन्कीन दिनु हुँदैन ।
५.सडकमा पाइने खानेकुरा भूलेर पनि नखानुहोला । त्यसमा पनि ठेलामा विक्रीहुने मेवा, खरबुजा जस्ता फलफूल खादै नखानुहोला , सके सम्मा खाने कुरा घरमै सफा सँग पकाएर मात्र खानु होला बाहिर खानु परे सुक्खा खाने कुरा जस्ताई बिस्कुट चाउचाउ आदी खान सकिन्छ ।
किनभने विक्रेताले सरसफाइ कति गरेको छ त्यो तपाईलाई थाह हुँदैन । अहिले धेरैजसो अस्पताल घाइतेहरुले भरिएका छन् । तपाई सरसफाइ नगरेका कारण बिरामी हुनुभो भने तपाइको राम्रो उपचार नहुन सक्छ । महाभूकम्पबाट त ज्यान जोगियो भने अन्य सरुवा रोगबाट किन ज्यान फाल्ने ? यसकारण सरसफाइमा राम्रो ध्यान दिनुहोला ।
६. हावामा धुलो जन्य कणहरु अधिक मात्रामा सिमेन्ट बालुवाका कण रहने हुनाले फोक्सोमा थिग्रिन गई श्वास प्रश्वास सम्बन्धीत निमोनिया लगायतका गम्भिर रोग लाग्ने हुँदा बाहिर जादा फेस मास्क लगाएर हिंड्नु पर्दछ ।
७. घर मै पनि सानातिना उपचार गर्नको लागि ज्वोरो नाप्ने थर्मोमिटर ,सानो तिनो घाऊ चोटमा लगाउने प्लस्टर ,सितामोल ,पखाला लाग्दा प्रयोग हुने ओ आर स (जीवन जल ) आदिको व्यवस्था गरी प्रयोग गर्न सकिन्छ ।
अर्को सम्भावित महामारीबाट जोगिन आ आफनो ठाउँबाट प्रयास गर्न सकिन्छ ।
यस्तो अवस्थामा मानसिक अवस्था पनि कम्जोर हुने हुँदा एक अर्कामा दु:ख सेयर गर्नु राम्रो हुन्छ ,अश्वस्थ भएमा तुरुन्तै अस्पताल वा स्वास्थ्य केन्द्रमा गई उपचार गर्नु पर्दछ ।
श्रोत :-स्वास्थ्य खबर पत्रीका