बेचिएका बालबालिकाको सहयोगार्थ लण्डन म्याराथन दौड्दै नेपाली किशोरी

Read Time:6 Minute, 12 Second

नरेश खपांगी

वीनेपाली, लण्डन – नेपालबाट भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकाको उद्दारमा सक्रिय एस्थर बेञ्जामिन ट्रष्टलाई सहयोग जुटाउन १८ वर्षिया कल्पना लिम्बु लण्डन म्याराथन दौड्दैछिन् ।

Kalpana Limbu

युकेको एक्सिटर विश्वविद्यालयमा अर्थशास्त्र विषयमा अध्ययन गरिरहेकी लिम्बु सो म्याराथानमा भाग लिने सबैभन्दा कम उमेरका सहभागीमध्ये एक हुन् । युकेको दौड क्षेत्रमा तेस्रो बृहत मानिने सो म्याराथनमा भाग लिन वर्षेनी करिब १ लाख ५० हजारले आवेदन दिने गर्छन र ती मध्ये करिब ४० हजारको मात्र सपना साकार हुने गरेको छ । धनकुटाको हात्तीखर्क गाविसमा जन्मेर ब्रिटिश सेनामा कार्यरत पिता विश्वासदीप तिगेला र आमा भोजकुमारीसँगै ब्रुनाइमा हुर्केकी कल्पनाको बाल्यकालदेखि नै दौड्नमा रुचि छ । उनले ब्रुनाइमै सन् २००५ मा बच्चातर्फकौ दौडमा प्रथम, २०११ मा महिलातर्फको दौडमा प्रथम र सन् २०१३ मा १७ वर्षकै उमेरमा १० किलोमिटर दौडमा सातौँ भएकी थिइन् ।

कल्पनालाई सधैँ ‘नेपालका लागि केही गरौँ’ भन्ने लाग्छ रे । लण्डन म्याराथन नजिकिादै गर्दा यस इभेन्टलाई जोडेर केही गर्न सकिन्छ कि भन्ने सोचाइ उनमा आयो । नेपालका लागि राम्रो काम गरिरहेका च्यारिटीहरु खोज्दै जाँदा उनले एस्थर बेञ्जामिन ट्रष्ट भेट्टाइन् । सो ट्रष्टले भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकाको उद्दार गरेको डकुमेन्ट्री उनले यसअघि नै अलजजिरा टिभीमा हेरिसकेकी थिइन् । संस्थाको बारेमा बुझेपछि उनले एस्थर बेञ्जामिनकै लागि दौड्ने निर्णय गरिन् । संयोग पनि उस्तै । एस्थर बेञ्जामिनले पनि लण्डन म्याराथनका लागि धावकहरुको खोजी गरिरहेको रहेछ ।

 ट्रष्टले उनको बारेमा बुझेर स्वीकृति दिएपछि दौड्ने पक्का भयो । धेरैले चाहेर पनि लण्डन म्याराथन दौड्न पाउँदैनन् । त्यस मानेमा उनी भाग्यमानी ठहरिन् । उनी भन्छिन्, ‘दौडमा रुचि हुनेहरुका लागि लण्डन म्याराथन सपना जस्तै हो’, ‘हाम्रो च्यारिटीबाट दौड्ने म सबैभन्दा कान्छी हुँ नि’ उनले थपिन् । म्याराथन आउन दुई महिना बाँकी हुँदा उनी अहिले अभ्यासमा ब्यस्त छिन् । विश्वविद्यालयमै साथीहरुसित ५ किलोमिटर, १० किलोमिटर दौडिरहेकी छिन् । गत सप्ताहन्तमा यस पंक्तिकारले सम्पर्क गर्दा उनी १४ किलोमिटर दौड्दै थिइन् । एकातिर विश्वविद्यालयको चाप अर्कोतिर म्याराथनको तयारी । कसरी सन्तुलन मिलाइरहेकी छिन् त ? ‘लेक्चर बिहान छ भने अभ्यास दिउँसो गर्छु । दिउँसो लेक्चर छ भने बिहान अभ्यास गर्छु’ उनले भनिन् । आयोजकले पठाइदिएको बुकलेट र इन्टरनेटबाट लिइएका तयारीका सुत्रहरुलाई अहिले उनी पछ्याउँदैछिन् ।

म्याराथनको मिति नजिकिँदै जाँदा उनी अभ्यासलाई पनि बढाउँदै लाँदैछिन् । प्राय किशोरकिशोरीहरु अहिले फेसन डिजाइन, आइटीजस्ता नयाँ नयाँ विषय पढ्न रुचाउँछन् । तर उनी चाहिँ धेरैले पट्यारलाग्दो ठान्ने अर्थशास्त्र पढिरहेकी छिन् । राजनीति, साहित्य र पत्रकारितामा क्रियाशील उनका पिताको जोडबल पो हो कि अर्थशास्त्र पढ्नुमा । ‘अर्थशास्त्र मेरै रोजाइ हो । जीसीएससीइमा अर्थशास्त्र लिएपछि मलाई अर्थशास्त्रसित मोह नै जाग्यो’ उनले यसरी सफाइ दिइन् । ए लेभलको पढाइमा उनले विदेशमा पढिरहेका अन्य नेपाली विद्यार्थीको कल्पनाबाहिरको विषय नेपालमा प्रचण्डले लिएको विचारधारा रसिया र चाइनाको कम्युनिष्टहरुसित कति फरक छ भन्ने बारेमा उनले प्रोजेक्ट वर्क गरेकी थिइन् । विश्लेषणहरु मन पर्ने बताउने कल्पना भविष्यमा अर्थशास्त्री बन्न चाहन्छिन् ।

अहिलेसम्म म्याराथन नदौडेकी उनी ४२ किलोमिटर लामो लण्डन म्याराथन पूरा गर्न दृढ भएर लागिपरेकी छिन् । उनले म्याराथन दौडेर २ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखेकी छिन् । यो समाचार तयार पार्दासम्म उनले तयार पारेको डोनेसन पेजमा ६२६ पाउण्ड उठिसकेको छ । दुई महिनाको अवधिमा बाँकी रकम पनि उठ्नेमा विश्वस्तमा छिन् उनी । ‘कृपया नेपालका बालबालिका जसलाई यो सहयोगको अत्यन्तै खाँचो छ उनीहरुका लागि सकेको सहयोग गरिदिनुहोला’ उनले याचना गरिन् ।. कल्पनाको आँटलाई होस्टेमा हैँसे गर्न र बेचिएका बालबालिकालाई घर फर्काउने काममा ऐक्यवद्धता जनाउन चाहनुहुन्छ भने तलको लिंकमा क्लीक गरि सहयोग गर्नु सक्नुहुन्छ ।

www_wenepali.com

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %