माओवादीको अवस्था र विपक्षीहरुको आन्दोलन

Read Time:11 Minute, 52 Second

बलदीप प्रभाश्वर चामलिङ

 
राजनीतिमा सबैलाई आफ्नो बनाउन खोज्नेको अन्तमा कोही पनि हुदैन । यही कुरा लागु भइरहेको छ प्रचण्ड–माओवादीमा । सत्ता पक्षसंग पनि राम्रो देखिनुपर्ने र तीस दलीय सहकर्मीहरुको साथ पनि कायम गराइराख्ने प्रचण्डको रणनीतिक दाउपेचले उनको गठबन्धको अस्तित्वलाई निर्धारण गर्नपुगेको छ । यसले गर्दा  प्रचण्ड–माओवादी यता न उताको हुने परिवेश आफै निर्माण हुदैगएका छन् । आन्दोलनलाई निर्णायक मोडमा पुर्याइछाड्ने उद्घोषका साथ तीन दिने आम हड्ताल आह्वान गरेको सुरुकै दिनमा फिर्ता लिएपछि माओवादी घटकमा मधेशवादी दलहरु माओवादीसंग चिढिएको मात्रै होइन, तीस दलीय मोर्चाबाटै टाढिने संकेत दिइसकेका छन् र अहिले सो मोर्चा थलापरेको अवस्थामा छ ।

 
आम हड्ताल फिर्ता गरे सरकार पक्ष नरम हुने र उद्योगी व्यपारीहरुले पनि सरकारलाई दबाव दिन सहयोग गर्ने बचन पाएको हुदा बन्द घोषणा फिर्ता गरेको भनेर पुष्टी गर्नखोजिए पनि वास्तविकता अरु नै छ ।

अहिले माओवादीले आफ्नो अस्तित्व र साख जोगाउने कुरा नै प्रमुख हो । वाग्लुङ निर्वाचन क्षेत्र नं १ को उप– निर्वाचनको हारले झन् अरु हतास मनोस्थितिमा माओवादी पुगिसकेको छ । हिजो दोश्रो संविधानसभामा आफुलाई धाधली गरेर हराइएको भन्ने आरोप लगाउने ठाँउ पनि सिद्धियो । त्यो बेला त धाधली भयो रे तर पछिल्लो पाली माधव नेपालले छाडेको काठमाण्डौ निर्वाचन क्षेत्र नं २ मा लिलामणी पोखरेल र यो पाली वाग्लुङमा चाँहि किन माओवादीले जित्न सकेनन् त ? भनेर प्रश्न गर्ने ठाँउ विरोधीहरुलाई प्राप्त भएको छ । यी यावत प्रतिकुल अवस्थोले उसलाई पिरोलेको छ ।
सर्बोच्चको आदेश र माओवादीको मनोवल सर्वोच्च अदालतले हिजो युद्धकालमा भएको अपराधमा मुछिएकाहरुलाई सत्य निरुपन आयोगको नाममा आम माफि दिन नमिल्ने आदेश जारिगरेको छ । यो सर्वोच्चको आदेशले हिजोको माओवादी जनयुद्धलाई युद्धको मान्यता नदिएर अपराधिक हत्याकाण्डको रुपमा स्थापित गराउन खोजेको छ ।

सर्वोच्चको आदेशअनुसार यही अर्थ लाग्दछ । यही आदेश नै माओवादीहरुलाई खतराको घण्टी भएको छ । सर्बोच्चको यस्तो आदेश विरुद्ध अन्य टुक्रिएका माओवादी घटकहरु पनि एक ठाँउ आएर सरकारलाई सर्वोच्चको यो आदेशउपर पुनरावेदनको लागि याचिका गरेको छ ।

सर्वोच्चको यस्तो आदेशबाट भयभित हुनु भनेको माओवादीले आफ्नो भविष्य मजबुत नदेख्नु हो । उसमा आत्मविश्वासको संकटको संकेत हो यो । हिजो पंञ्चायतकालको मुद्दामा उद्योग वाणिज्य महासंघको अध्यक्ष आज पुनः जेल परेको छ । परिस्थिति प्रतिकुल भएको वेला कानूनले दीर्घकालसम्म पनि पछ्याउदो रहेछ भन्ने कुराको नजीर हो यो । भोलीको दिनमा आफूहरुमा पनि त्यस्तो आपती आइपर्नसक्छ भन्ने कुराले यदाकदा पिरोलेको हुनुपर्छ माओवादीहरुलाई ।

यही सर्वोच्चको आदेललाई सत्ता पक्षले माओवादीलाई गलाउने शस्त्रको रुपमा लिएको छ । यो आदेश उपर पुनरविचार गर्नको लागि सत्ता पक्षको पनि सदासयता चाहिन्छ । यदि माओवादी लचिलो भएर सहमतिमा नआए सरकारको तर्फबाट सर्वोच्चमा सो आदेश उपर पुनरावेदनको लागि औपचारिक निवेदनको लागि पहल नहुने सक्ने संकेत सत्तापक्षले माओवादीलाई दिएको हुनुपर्दछ । त्यसकारण हतारिएर सत्तापक्षलाई  नचिढ्याउन आम नेपाल बन्द पहिलो दिनमै फिर्ता लिएको घोषणा गरे । जसरी भए पनि सर्वोच्चको त्यो आदेशलाई निकम्मा बनाउने कुरा नै प्रधान हो प्रचण्ड–माओवदीहरुलाई ।

मोर्चा र माओवादी

वास्तवमा माओवदीले हिजो वाध्यात्मक अवस्थामा तीस दलीय मोर्चा गठन गरेको हो । तीस दल राजनैतिक सिद्धान्तले भन्दा पनि मुद्दाले एक भएको हो । मुद्दा टुङ्गिएपछि जुनसुकै मोर्चाको औचित्य पनि सकिन्छ । यद्यपि, अहिले आएर प्रचण्ड–माओवादी आफूहरुले उठाएको मुद्दाको बैठान गर्नुभन्दा पनि आफ्नो राजनैतिक अस्तित्व कसरी कायम गर्न सकिन्छ भन्ने कुरामा घोत्लिएको अवस्था हो ।

प्रचण्डहरुले आफूबाट छुट्टिएर गएका अन्य टुकडीहरुलाई आफूमै मिलाउन सकिए उत्तम हुने कुरालाई पनि प्राथमिकता दिएको छ । यदि हिजो आफूबाट फुटेर गएकाहरुसंग एकता गर्ने हो भने तीस दलको बैसाखी टेकिरहनु नपर्ने विचार माओवादीले लिएको छैन भनेर भनिहाल्ने अवस्था पनि छैन । हुन पनि ती फुटेर गएका टुकडीहरुलाई एक ठाँउमा ल्याउन सके माओवादीमा थप शक्ति आर्जन पक्कै हुनेछ । सर्वोच्चको आदेशले पनि उनीहरुलाई एक ठाँउमा आउनु नै पर्ने एक प्रकारको अवस्था सृजना गरिदिएको छ । कि उनीहरु निर्णायक युद्धमै जानुपर्यो कि एक ठाँउ आएर आफू प्रतिकुलका विद्यमान नियमकानूनलाई निस्तेज पार्नुपर्यो ।

माओवादी नेतृत्वको मनसाय भनेको अब यस्तै बहुदलीय संसदीय प्रणालीलाई नै अवलम्बन गरेर जाने भन्ने नै हो । यसबाट पर हट्ने कुनै कारण नै हुनसक्दैन । यस राजनीतिक प्रणालीमा आइसकेपछि अन्य कम्युनिष्टहरु भन्दा कसरी आफूलाई पृथकशैलीमा बदलेर क्रान्तिकारी धार जीवितै रहेको भान जनतामा कायम गर्नसकिन्छ भन्ने प्रचण्डहरुको चिन्ताको विषय हो । कम्युनिष्ट पार्टीहरुमा एउटा मात्र विकल्प हुन माओवादी चाहन्छ । वास्तवमा अब कम्युनिष्टको शास्त्रिय दर्शन अव्यवहारिक भएको कुरा स्वयम माओवादीलाई पनि ज्ञातव्य छ । त्यही भएको हुदा परिस्थितिजन्य मुद्धाहरुलाई नै उठाएर पुनरताजकी प्राप्त गर्ने माओवादीको सोच हो ।

यसैको परिणाम थियो तीस दलीय मोर्चा । यो मोर्चाको माध्यमबाट आफ्नो दलीय साख कायम गर्नसकिएला भन्ने माओवादीको सोच हो । माओवादीले उठाएको मुद्धा सही नै हो भन्ने सन्देश दिन केही दलहरु बाहेक भएभरका झिनामसिना दलहरुलाई मोर्चामा सामेल गराए । यसले देशविदेशमा माओवादीले उठाएको मुद्धा जायज छ भन्ने देखाउनु हो । यो संगसंगै माओवादी एक्लो नभै त्यत्रा राजनीतिक पार्टीहरुको पनि साथ छ है भन्ने सन्देश प्रक्ष्यपण गर्नु थियो ।

तर, वास्तवमा मोर्चाको तीस दल संख्या देखाउनु मात्रै हो र आन्दोलनमा परेको बेला भैपरी आउने व्ययभार र क्षती आफूले मात्रै व्यहोर्नु पर्ने हो भन्ने कुरा माओवादी नेतृत्वको निष्कर्ष हो । जनता आफू ओराल्ने तर अरुलाई मञ्च दिएर नेता अरुलाई नै बनाउनुपर्ने भन्ने डाह पनि केही माओवादी नेताहरुमा नभएको होइन । हुनपनि केही सानादलहरुले माओवादीसंगको मोर्चामा रहेर स्थापित हुने र उता माओवादीले पनि सानादलहरु प्रयोग गरेर मात्रात्मक शक्ती देखाउने पारस्पारिक स्वार्थ तीस दलीय मोर्चामा निहित छ । यद्यपि, फेरि प्रचण्ड माओवादीहरुले जुनसुकै तवरले भएपनि उनको मुद्धालाई स्थापित नगराइ सहमतिमा जाने हो भने झन् उनको राजनीतिक अवरोहको ‘काउण्ट डाउन’ सुरु हुनेछ । अहिले पहिचान र संघीयताको मुद्धाले  आफूहरु धारासायी भएको भनेर निष्कर्ष निकाल्नु माओवादीहरुको लागि आत्मघाती हुनेछ । वास्तवमा त्यही मुद्धाले अहिले माओवादी यतिका हैसियतसम्म भए पनि रहेका छन् । यही मुद्धा पनि उसले छाड्ने हो भने परिस्थिति नाजुक हुनेछ उस्को लागि ।
 
राजनीतिक पार्टी कि डर लाग्दो कि रहर लाग्दो हुनुपर्दछ । पहिलो संविधानसभाको चुनावमा  माओवादीलाई उसको डर लाग्दो युद्धकालिन छवीले फाइदा पुर्याएको थियो । माओवादीलाई भोट नहाल्ने हो भने केही अनिष्ट पो आउने हो कि भन्ने मानसिक भयले त्यो बेला माओवादीको पक्षमा काम गरेको थियो । तर पछि विविध कारणले त्यो भय टिकिरहन सकेन । त्यो भय हट्दै गर्दा आफूहरुले अर्को रहर लाग्दो छवी सृजना गर्ने कुरामा माओवादीले ध्यान दिन सकेन । नेतृत्वको जीवनशैली र तत्लो तहका कार्र्यकर्ताहरुको दैनिकी गुजाराबीचको विसंगती देखाएर विरोधीहरुले माओवादीको हुर्मत लिन थाले । पार्टी आफै विभाजित भो । जनतामा वितृष्णा आयो । दोश्रो संविधानसभाको चुनावमा परिणाम अनपेक्षित आयो ।
 
माओवादी नेताहरुले अब ठाँट देखाएर होईन आँट गरेर राजनीतिक निकास दिने प्रयत्न गर्नुपर्छ । उसलाई अडान र एक रुपताको आवश्यकता छ । उसको लोभ लाग्दो राजनीतिक प्रस्तुतिको खाँचो छ । यो घडीमा तीस दलीय मोर्चा थलापर्नु  भनेको नेपाली राजनीतिक क्षितिजमा प्रचण्ड–माओवादी पार्टीको उदेश्य वेवारिस हुनु हो ।

सम्पर्क – ९७४१०७८४३५,काठमाण्डौ,नेपाल ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %