फिल्म टन्न, आम्दानी शून्य

Read Time:7 Minute, 52 Second

मनोज घर्तीमगर

माओत्से गुरुङले आफूलाई निर्देशकभन्दा बढी कलाकार ठान्छन् । तैपनि उनी एकपछि अर्को फिल्म निर्देशन गरिरहेका छन् । पछिल्लो समय कबड्डी कबड्डीमा अभिनय गरेको उनी दोख फिल्ममा व्यस्त छन् यतिबेला । तैपनि उनलाई निर्देशनको ह्याङ्ले कहिल्यै छाड्दैन । आफ्नो समुदायका मुद्दालाई पर्दामा देखाउनकै लागि उनी फिल्म बनाउँछन । समुदायमा आधारित भएर बनाइएका फिल्मको खासै बजार छैन भन्ने ज्ञान नभएको होइन उनलाई । तैपनि उनले फिल्म बनाउन छाड्दैनन् । थुप्रै फिल्म बनाई सकेका माओत्सेले पछिल्लो पटक ‘नरे’ नामक फिल्म बनाएका छन् ।

फिल्म नचले पनि एकपछि अर्को फिल्म बनाउनु बालुवामा पानी हाले सरह हो । यति थाह हुँदाहुँदै पनि किन फिल्म बनाइन्छ ? ‘नेपालमा बजार सोचेजति नभए पनि विदेशका विभिन्न ठाउँमा गरिने च्यारिटी शोबाट लगानी उठ्छ’ माओत्सेको उत्तर छ,‘त्यसैले पनि फिल्म बनाउन हौसला मिल्छ ।’ अरुभन्दा बेग्लै धारका फिल्म बनाउने माओत्से रंगमञ्चबाट फिल्ममा प्रवेश गरेका हुन् । कृपा फिल्मबाट नेपाली ठूलो पर्दामा हाम फालेका उनले त्यस यता दर्जनौं फिल्म निर्देशन गर्नुका साथै अभियन समेत गरिसकेका छन् । आदिवासी जनजाति समुदायका विविध सँस्कृतिलाई पर्दामा उतार्न तल्लिन माओत्से समुदायले दिएको मायाले नै फिल्ममा टिकिरहेको सुनाउँछन् । जति लगानी फिल्ममा हुन्छ, त्यसको तुलनामा भने आम्दानी शुन्यजस्तै छ ।

माओत्से मात्रै होइन, अर्का निर्देशक मेजन पुनमगरलाई समुदायका सँस्कृतिमा आधारित फिल्मको बजार कमजोर छ भन्ने गहिरो जानकारी छ । उनले पनि एकपछि अर्को फिल्म बनाइरहेका छन् । थुप्रै फिल्म बनाई सकेका मेजनले पछिल्लो सयम मगर सँस्कृतिमा आधारित नेपाली भाषाको फिल्म ‘रैंया’ बनाएका छन् । फिल्म प्रर्दशनीमा आउने अन्तिम तयारीमा छ । ‘पहिलेको तुलनामा बजार बढेजस्तो देखिन्छ । त्यही भएर एकपछि अर्को फिल्म आइरहेका छन्’ मेजन भन्छन्,‘जसले जे भने पनि यो क्षेत्रमा लगानी टन्न भएको छ, तर त्यसको तुलनामा आम्दानी शून्य छ ।’

माओत्से र मेजन जस्ता थुप्रै फिल्म निर्देशक छन् । जो समुदायमा आधारित फिल्मको बजार साँधुरो छ भन्ने जान्जाजान्दै फिल्म बनाउन छाड्दैनन् । यसको एउटै रहस्य हो, च्यारिटी शो मा भर पर्नु । नेपालको च्यारिटी शोबाट खासै रकम संकलन नभए पनि विदेशतिर दुई÷तीन ठाउँमा च्यारिटी शो हुने बित्तिकै निर्माताको लगानी लभगभ सुरक्षित हुन्छ । यहि जोडबलले उनीहरुले फिल्मलाई निरन्तरता दिइरहेका छन् । समुदायको सँस्कृतिमा आधारित एकाधबाहेक कुनै पनि फिल्म हलमा चल्दैनन् । केवल च्यारिटीकै भरमा भए पनि पछिल्लो समय पोखरामा यस्ता फिल्म बन्न छाडेका छैनन् । यस्ता फिल्मले मातृभाषा, आफ्नो परम्परा, भाषा, धर्म, रितिरिवाज र सँस्कृतिको उठान गरिरहेका छन् । आफ्नै समुदायका मुद्दा उठाइएकाले त्यही समुदायले च्यारिटी शो गरेरै भए पनि निर्देशक निर्मातालाई हौस्याएका छन् । समुदायबाटै पाएको हौसलाले यतिबेला भाषा र सँस्कृतिमा आधारित फिल्म बनाउन तछाडमछाड चलिरहेको छ । ‘अरुले नहेरे पनि आफ्नो समुदायले माया गर्छ, यसले निर्देशकलाई हौसला दिन्छ’ मां फिल्ममा निर्देशक युग गुरुङ भन्छन्,‘हाम्रा फिल्मलाई हलवालाले पनि लिन मान्दैनन् ।’

त्यसो त पहिलेको तुलनामा समुदायमा आधारित फिल्मको बजार बढेको छ । केही वर्ष पहिलेसम्म पोखरा र आसपासमा मात्रै फिल्म प्रदर्शन हुन्थे । अहिले समुदायमा आधारित फिल्मले गाउँस्तरसम्म आफ्नो बजार बनाएका छन् । अनि विभिन्न विदेशी मुुुलुकमा भइरहेका प्रर्दशनले फिल्मकर्मी झन् हौसिएका छन् । ‘लगानी नउठे पनि धमाधम फिल्म बन्नुको पछाडी बजार विस्तार हुनु मुख्य कारण हो । गाउँगाउँदेखी विदेशमा पनि फिल्म चल्छ’ मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्कीरानामगर भन्छन्,‘फिल्मबाट नाम मात्रै हैन, अलिअलि भए पनि दाम आउन थाल्यो । यसले झन् हौसला थपेको छ ।’

एकपछि अर्को धमाधम फिल्म बन्न थालेपछि चिम्सा आँखा, मझौला कद भएका मंगोलियन अनुहार भएका नायक÷नायिकाहरु ह्वात्तै बढेका छन् । यतिबेला फिल्म बनाउनका लागि प्रतिस्पर्धा चलेको छ । स्थानीयस्तरमा बनेका फिल्मको बजार पनि फराकिलो हुँदै गएकोले फिल्म बन्ने क्रम ह्वात्तै बढेको हो । फिल्महरु कुनै ऐतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामुलक त कुनै शुद्ध मनोरञ्जनको लागि निर्माण गरिएका छन् । फिल्मले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण सचेतना ल्याउने समेत गर्छ । आधुनिकतासँगै फिल्मका लागानी पनि बढी हुने गरेको छ । कसले पहिले फिल्म बनाउने भनेर प्रतिस्प्रर्धा भएपछि कलाकारलाई निकै फाईदा पुगेको छ । ‘धमाधम फिल्म बन्न थालेपछि सबैभन्दा फाइदा कलाकारलाई छ’ थुप्रै फिल्ममा सहनिर्देशक भइसकेकी कोरियोग्राफर जसु गुरुङ भन्छिन्, ‘नयाँ अनुहारले बढी मौका पाएका छन् । उनीहरुले नाम र दाम दुवै हात पारेका छन् ।’
डिजिटल प्रविधिको विकास स्थानीय स्तरमा बन्ने यस्ता फिल्मका लागि वरदान भएका छन् । अधिकाशं फिल्म ५ देखी २० लखको हाराहारीमा बन्छन् । यस्ता फिल्म नाफा कमाउन भन्दा पनि सँस्कर र संरक्षण गर्न बनाइन्छन् । फिल्म बन्ने क्रम बढेपछि नयाँ अनुहारले पनि पर्दामा जम्ने मौका पाएका छन् भने पूराना कलाकारलाई अभियन गर्न भ्याईनभ्याई भएको छ । अहिले मगर, गुरुङ, नेवार, थारु, राई, लिम्बु, तामाङ लगायत समुदायमा आधारित फिल्म ५ सयभन्दा बढी बनिसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %