केजिन राई
ब्रसेल्स, १२ अप्रिल २०१५ – बेल्जियम नेपाली दूतावास ब्रसेल्सको तर्फबाट एक बुद्ध प्रतिमा नेदरल्याण्डस्को डेल्फ नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य आज डेल्फ शहरको World Art Delft – (विश्व कला केन्द्र) परिसरमा एक विशेष समारोहको वीच सम्पन्न भयो ।
बेनेलक्स तथा यूरोपियन यूनियनका लागि नेपाली राजदूत महामहिम राममणि पोखरेलले तामाको तीन फिटको ध्यानमग्न उक्त बुद्धको मुर्ति डेल्फ नगरपालिकाका मेयर श्री G.A.A. Verkerk लाई हस्तान्तरण गरे । विश्वका विभिन्न देशहरुको कला सँस्कृति झल्काउने प्रतिमा तथा वास्तुकला रहेको World Art Delft को परिसरमा स्थापित गरिएको उक्त प्रतिमाको राजदूत पोखरेल र मेयर भेरकर्कले सँयुक्त रुपमा अनावरण गरेका थिए ।
नेपाल र नेदरल्याण्डसबीच गहिरिँदो द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको प्रगाढ हुँदै गएको आपसी सम्बन्धलाई अझ बढावा दिने तथा नेदरल्याण्डसमा नेपाललाई थप चिनाउने उद्देश्यका साथ दूतावासले उक्त प्रतिमा डेल्फ नगरपालिकालाई हस्तान्तरण गरेको हो । विश्व कला केन्द्रको परिसरमा स्थापित उक्त प्रतिमाले उक्त केन्द्र भ्रमण गर्ने अन्य देशका पर्यटकमाझमा समेत नेपालको चिनारीलाई थप विस्तार गर्ने दूतावासको विश्वास रहेको छ ।
उक्त बुद्ध प्रतिमा हस्तान्तरण एवं अनावरण समारोहमा डेल्फ नगरपालिकाका पदाधिकारीहरु, विश्व कला केन्द्रको कार्यकारी बोर्डका सदस्यहरु तथा कार्यकारी निर्देशिका Paula Kouwenhoven, डेल्फस्थित विश्वविद्यालयका डच तथा नेपाली मूलका प्रोफेसरहरु, गैह्र आवासीय नेपाली संघ युरोप सँयोजक तथा अन्तराष्ट्रिय समन्वय सदस्यहरु, गैह्र आवासीय नेपाली संघ नेदरल्याण्डस्का पदाधिकारी तथा सदस्यहरु, नेदरल्याण्डस्का लागि नेपालका अवैतनिक महावाणिज्यदूत F. Casper de Stoppelaar स्थानीय डच समुदाय तथा अन्य नेपाली संघसंस्था तथा समुदायका पदाधिकारी तथा सदस्यहरु गरी करिब १०० अतिथिहरु सहभागी थिए ।
दुवै देशका राष्ट्रिय गान बजाई शुरु गरिएको समारोहमा मन्तव्य दिंदै नेपाली राजदूत श्री पोखरेलले नेपालमा करिब २६०० वर्षअघि जन्म भई शान्ति र अहिंसाको पथमा मार्गदर्शन दिएका नेपालका राष्ट्रिय विभुति गौतम बुद्धको प्रतिमाको उपहार स्वीकार गरी उक्त प्रतिमालाई F. Casper de Stoppelaar परिसरभित्र प्रतिस्थापन गरेकोमा डेल्फ नगरपालिका तथा विश्व कला केन्द्र डेल्फलाई हार्दिक धन्यवाद दिए ।
बुद्धको शान्ति, करुणा र विश्व बन्धुत्वको मार्ग आजको विश्वमा झनै सान्दर्भिक रहेको उल्लेख गर्दै उन्ले दुई देशका बीच जनस्तरमा समेत बढिरहेको आपसी घनिष्टता प्रतिमाको स्थापनासँगै अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपाल प्राचीन सभ्यतादेखि नै विभिन्न धर्म, सँस्कृति, भाषा र रीतिरिवाजको अनुपम सँगम रहेको उल्लेख गर्दै राजदूत पोखरेलले उपस्थित डच समुदायलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।
सो अवसरमा डेल्फ नगरपालिकाका मेयर श्री G.A.A. Verkerk ले नेपाली राजदूत तथा अन्य सहभागीहरुलाई स्वागत गर्दै उपहारका लागि राजदूत तथा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । उक्त अवसरमा गैह्र आवासीय नेपाली संघ नेदरल्याण्डस्का अध्यक्ष श्री कृष्ण राज अधिकारी तथा लुम्बिनी कपिलवस्तु अभियानका युरोप सल्लाहकार दामोदर प्रसाद आचार्यले गौतम बुद्धको सम्बन्धमा थप प्रकाश पारेका थिए ।
समारोह अघि राजदूत पोखरेलले मेयर Verkerk लाई नेपालसम्बन्धी जानकारीमूलक पुस्तक Vigenttes of Nepal गरेका थिए । त्यसैगरी श्री पोखरेलले केन्द्रकी निर्देशिका श्री Kouwenhoven लाई सगरमाथा (Top of the World) को लेमिनेटेड भित्ते पोस्टर तथा एक प्रति Vigenttes of Nepal प्रदान गरेका थिए ।
प्रतिमा हस्तान्तरण एवं अनावरण समारोहको आयोजना दूतावाससँगको सहकार्यमा नेपाल समाज नेदरल्याण्डस्, नेदरल्याण्डस्को गैह्र आवासीय नेपाली संघ तथा नेदरल्याण्डस्स्थित अन्य नेपाली समुदायले गरेका थिए । समारोहमा अतिथिहरुमाझ नेपाली गीत, सँगीत, नृत्य तथा नेपाली परिकारको खाना पेश गरिएको थियो ।