जुलन राईको निर्माण तथा भीषण राईको निर्देशनमा बन्यो ‘पहिचान आन्दोलन बृत्तचित्र’
देब पचभैया
काठमाडौं, २९ चैत – नेपालको आदिवासी जनजाती आन्दोलनको सेरोफेरोमा केन्द्रित ‘पहिचान आन्दोलन बृत्तचित्र’ प्रदर्शन गरीएको छ ।
आइतबार प्रदर्शन गरीएको ७८ मिनेट लामो बृत्तचित्र पहिचानवादी योद्धाहरुको लागि समर्पण गरीएको बृत्तचित्रका लेखक तथा निर्देशक भीषण राईले बताए । बृत्तचित्रमा बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधता बोकेको नेपाली समाजमा एकात्मक शाषण व्यवस्थाले गर्दै आएको दमन र आदिवासी जनजातीले आफ्नो गुमेको सम्मान र पहिचान मागेको विषयलाई देखाउन खोजिएको छ ।
बृत्तचित्रमा आदिवासी जनजाती मधेशी, मुश्लीम, उत्पीडीत दलित, महिलामाथी हुने सवै खालका विभेद यथावत रहेको देखाइएको छ । उत्पीडीत जनताको गुमेको आत्मसम्मान र पहिचानका विषय वस्तु बृत्तचित्रमा उठाइएको छ । बृत्तचित्रमा नेपाली इतिहासमै पहिलो पटक पहिचान पक्षधर र विपक्षी विचमा ठुलो धु्रवीकरण पैदा भएको, सवै उत्पीडीत उपेक्षितहरु सडकमा ओर्लीएको, आदिवासी जनजाति, मधेषी, मुश्लीम, दलित पहिचानमा आधारित संघियता मागीरहेको विषयलाई समेटीएको छ ।
संघीयता र पहिचानको मुद्दाबारे फैल्याइएको गलत प्रचार र भ्रमलाई चिर्न यो वृतचित्रको मुख्य उद्देश्य रहेको निर्देशक राईले बताए । नयां राष्ट्रियता निर्माणको लागि यो वृतचित्र कोशेढुंगा सावित हुने पनि उनले बताए । राजधानीमा आयोजित बृत्तचित्र प्रदर्शनीमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता तथा कार्यक्रमका प्रमुख अतिथी पद्मरत्न तुलाधरले गरेका थिए ।
कार्यक्रममा फोनिज अध्यक्ष डण्ड गुरुङ, जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, लेखक युग पाठक लगायतले पहिचानका विषयमा मन्तब्य राखेका थिए । कार्यक्रम चलचित्र निमार्ता संघका अध्यक्ष राजकुमार राईको सभापतित्वमा संचालन भएको थियो ।