विनोद रखाली मगर
वालिङ, २८ चैत्र – सविंधानसभाका उपसभामुख ओनसरी घर्ती मगरले जातिय राज्यको मागले सविंधान वन्न नसकेको भनाई भम्र फिजाएको दावी गरेकी छिन् ।
स्याङ्जाको वालिङमा नेपाल मगर महिला संघको पाँचौं राष्ट्रिय सम्मेलनको शनिवार उद्धघाटन गर्दै उपसभामुख घर्ती मगरले आँफूहरुले अगाडि सारेको पहिचानको एजेण्डा सफल भएर छाड्ने दाबी गरिन् । उनले नेपालको परिवर्तनका लागि संघिय संविधान आवश्यक रहेकोमा जोड दिइन् ।
नेपालको इतिहासमा पहिलो शासक आदिवासी जनजाति भएको र अहिले आदिवासी जनजातिहरु नै शोषित अवस्थामा रहनु तीतो यथार्थ भएकाले आदिवासी जनजाति , उत्पीदनमा परेका समुदाय , वर्ग तथा महिला र दलितका सविंधान आवश्यक रहेको उनको भनाई थियो । मगरले जातीय अहङ्कारवादको चर्को विरोध समेत जनाइन् ।
कार्यक्रममा संविधानसभाका सदस्य तुलसा राना मगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगर, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगर , तमु ह्यूला छोँज धीका पश्चिमाञ्चल संयोजक ल्याप्टेन यामबहादुर गुरुङ, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरे, नेकपा एमाले केन्द्रीय सदस्य पद्मा अर्याल, कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति मुक्तिप्रसाद सुबेदी, राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष छमकला कुँवर, माओवादीका खिमकुमार विक, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष हुम वहादुर राना मगर , राष्ट्रिय जनमुक्ति पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष पदमबहादुर गाहा मगर, आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आले, मगर युवा संघका केन्द्रीय उपाध्यक्ष मिलन थापा मगर , आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तेजबहादुर आले मगर, वालिङ बहुमुखी क्याम्पस प्रमुख रीना राना मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
“नयाँ संविधान निर्माणमा मगरात स्वायत्तता र पहिचानका लागि हाम्रो आन्दोलन, विभेदरहित पूर्ण समानुपातिक प्रतिनिधित्वको लागि नेपाल मगर महिलाको पाँचौं सम्मेलन” भन्ने उद्धघोषका साथ जारी पाँचौं राष्ट्रिय सम्मेलनमा देशका ४७ जिल्लाका ५ जनाका दरले करिव २५० महिला प्रतिनिधी तथा पर्यवेक्षकहरु सहभागी छन् ।
राज्य पुनर्संरचनामा मगरात प्रदेशसहित मगर महिलाको पहिचान र नीति निर्माण तहमा मगर महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने, मगर महिलालाई जातीय जनसंख्या एवं लैंगिक आधारमा समानुपातिक प्रतिनिधित्व र नेतृत्वदायी भूमिका सुनिश्चित गर्नु पर्ने जस्ता समसामयिक मुद्धालाई अबको संविधानमा समावेश गरिनुपर्ने र अबको नयाँ संविधान निर्माणको अन्यौलपूर्ण समयसँगै नयाँ नेपालको खाकामा यी मुद्धालाई सम्बोधन गर्नकालागि भावी रणनीति र विगतको कार्यक्रमको समीक्षा गर्नकालागि सम्मेलनको आयोजना गरिएको नेपाल मगर महिला संघकी अध्यक्ष गगां खासु मगरको भनाइृ छ ।
यसैबीच उद्घाटन पूर्व मगर भेषभूषा झल्कने र्याली प्रदर्शन गरिएको थियो सयौंको सङ्ख्यामा रहेको र्यालीमा विभिन्न जिल्लाका मगर महिला संघले मगर भेषभुषा सहित वालिङ् वजार परिक्रमा गरेको थियो । सम्मेलनले आईतबार वालिङ् घोषणा पत्र जारी गर्दै पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष खगिसरा थापा मगरको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह संघका केन्द्रीय अध्यक्ष गंगा खासु मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने धन्यवाद मन्तव्य संघका उपाध्यक्ष मन्धरी आले मगर र सञ्चालन महासचिव हिरा राना मगरले गरेकी थिईन् ।
तस्विर : विनोद रखाली मगर