–मनोज घर्तीमगर
‘यस किताबले गोर्खा भर्तीसम्बन्धी नयाँ बहस सिर्जना गर्यो र गोर्खा सैनिकबारे थप किताब लेख्न बाटो देखायो भने उपलब्धि सम्झनेछु ।’ ‘‘भर्तीको फन्दा’’ किताबको लेखकीयबाट लिइएका वाक्य हुन् यी । किताब लेखिसक्दा यहाँभन्दा ठूलो आश गरेको थिइन । रहरै रहरमा किताब लेखिएकाले पनि त्यति ठूलो अपेक्षा राखिन । नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको दुई शताब्दी पुग्नै लाग्दा किताब बजारमा आउन लागेकाले केही न केही तरङ्ग ल्याउँछ भन्नेचाँही भित्री मनमा थियो ।
भर्तीको भन्दा’ गएको वर्ष अर्थात ११ मे २०१४ मा हङकङमा विमोचन भएको हो । हङकङ नीवासी समाजसेवी रीता गुरुङ प्रकाशक रहेको किताबलाई विमोन गर्ने अवसर राज्यसत्ता डटकमले जुराइदिएको थियो । वरिष्ठ पत्रकार एवं किताबका टिप्पणीकार जेबी पुनमगरका अनुसार विमोचनकै दिन दुई सयभन्दा बढी र त्यसको दुई दिनपछि थप एक सय पचासप्रति बिक्री भएर यो किताबले हङकङको नेपाली समाजमा नयाँ मानक तयार पारेको थियो । हङकङमा विमोचन भएको एक हप्तामै हजार प्रति बिक्रि भयो । त्यसपछिको एक महिनामा दुई हजार प्रति । कुनै व्यक्ति प्रकाशक र भर्खरै लेखक बन्न खोज्दै गरेको सिकारुको पहिलो किताब नै यति धेरै बिक्री भएको मेरो जानकारीमा छैन । नेपालमा पहिलो प्रति छापिने भनेको धेरैको हजार प्रति हो । ‘‘भर्तीको फन्दा’’ को मागले म निकै हर्षित छु ।
हङकङ विश्वविद्यालयका पिएचडी सोधार्थी एवं समाजशास्त्री चुरा थापा ‘भर्तीको फन्दा’ बारे लेख्छन् । This book has opened up a new perspective on Nepalese history and the Gurkha recruitment history. A must read book for contemporary writers and intellectuals interested in Nepalese history and the Gurkha recruitment history.
‘यी तन्नेरी पत्रकारले गोर्खा भर्ती सम्बन्धमा अहिले सम्म नछोईएका कतिपय प्रसङ्गमा क्रुरुरतापूर्वक बयानबाजी गरेका छन् । जातीय रुपमा शुरु गरिएको भर्तीलाई त्यहि चस्माबाट हेर्न खोजेका छन् । ईतिहास लेखनको पुनब्र्याख्या गर्न खोजिएको छ । यस्तो दुस्साहस गर्नासाथ स्थापित मान्यताहरु भत्कन थाल्छन्, विवाद शुरु हुन्छ । तरंग पैदा हुन्छ । यस्तो गर्न साहस चाहिन्छ । लेखकले त्यो साहस र खतरा दुबै मोलेका छन् ।’ विमोचनमा किताबबारे टिप्पणी गर्दै विश्लेषक एवं इथिनिक्स भ्वाइसका सम्पादक जेबी पुनगमरले भनेका थिए,‘एउटा पत्रकारले नोकरीबाट समय निकालेर यति गर्नु सानो काम होईन । धैर्य र लगन चाहिन्छ । तन्नेरी पत्रकार आफ्नो ईतिहास आफै खोतल्न तम्सनुलाई सकारात्मक रुपमा लिईनु पर्दछ । यस्तो सक्रिययताले नया“ बिषयहरु उद्घाटित गर्दो रहेछ भन्ने देखाएको छ । जनजाति समुदाय, गोर्खाली र तीनका सन्तती, भूपू गोर्खालाई किताबले उर्जा दिन्छ । तताउँछ, रगत उमालिदिन्छ । विषयवस्तुले तान्छ । यसकारण बिक्रिमा यसले रेकर्ड तोड्छ ।’
मैले लेखकीयमै भने झै यस किताबले बजारमा गोर्खा भर्तीसम्बन्धी अहिले नयाँ बहस सिर्जना गरेको छ । जेबी दाईले भनेजस्तै किताबले नयाँ रेकर्ड तोडेकोमा म रमाइरहेको छु । यसलाई मैले ठूलो सफलता ठानेको छु । केही बिश्लेषकले यसलाई इतिहासको पुर्नलेखन पनि भनेका छन् ।
‘कतैकतै रुन मन लाग्छ । कतैकतै हाँस्न पनि मन लाग्छ । यो फरक ढंगको किताब हो । पढ्दा यसले तानिरहन्छ र मजा लाग्छ । एकदम छोड्न मन लाग्दैन ।’ र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष गनेस पौडेलको विश्लेषण छ,‘ कुटनीतिक भेषमा बसेर जासुसी गरेकाहरुको रिपोर्टका आधारमा नेपाल र गोरखालीको इतिहास तयार गरेकाले त्यो सत्य बन्न सकेको छैन । मनाजेजले त्यस्तो इतिहासको पुनर्लेखन सुरु गरेका छन् ।’
‘यो इतिहासको दस्तावेज मात्र होइन, इतिहास पुनर्लेखनको प्रस्थान बिन्दु पनि हो । यसले नयाँ बहस सुरु गरेको छ । ब्रिटिसको सकुनी चाललाई मनोजले पत्रपत्र केलाएर पस्केका छन् ।’ रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले भनेका छन् ।
यी सबै विश्लेषण पढ्दा लाग्छ । किताबले केही न केही बहस पक्कै ल्याएको छ । त्यसैले त बजारमा दिनप्रतिदिन यसको माग बढ्दो छ । बजारमा अहिले भर्तीको फन्दा कतै पाइदैन । त्यसैले छिट्टै तेस्रो मुद्रण तथा दोस्रो सँस्करण प्रकाशन गर्ने तयारी भइरहेको छ । किताबबारे जेजस्तो टिप्पणी आए पनि म सिद्धहस्त लेखक हुँदै होइन । लेख्न सिक्दै गरेको सिकारु हो । एक दशक अखबारी लेखन गरेपछि किताब लेखनमा हात हालेको हुँ । किताब लेखन मेरा लागि अत्यन्त नयाँ हो । जुन क्षेत्रमा म बामे सर्दैछु ।
‘भर्तीको फन्दा’ ले बजारमा नयाँ बहस ल्याएको कतिलाई खुसी लागेको छ । केही स्वनामधन्य विद्वानलाई भने अपाच्य भएछ । केही अति जान्ने सुन्ने भई टोपलेका व्यक्तिले बेलाबेला सुझावका नाममा दिने निर्देशन र होच्याउने तरिकाले गर्ने बातचितले मन बेस्मारी पोल्छ । ‘किताब त राम्रै हो अलि मगरमगर गन्हाएको छ’ एक जना स्वनामधन्य लेखकले भने । ‘अरु सबै राम्रै छ, आक्रोश बढी देखिन्छ’ अर्को मै हुँ भन्ने लेखकले प्रतिक्रिया जनाए । ‘लेखन राम्रो हुँदाहुँदै पनि तथ्याङ्क बढी भए ।’ एक संचारकर्मीले खोट लगाए । ‘यहाँनेर यसरी लेख्नुपथ्र्यो, यो च्याप्टरमा यो थप्नुपथ्र्यो, यहाँनेर यो नलेखे पनि पुग्थ्यो’ नामको अगाडी डा. झुन्ड्याएका अर्कोले सुझाए । किताब अलि जातिवादीजस्तो देखियो । अर्कोले प्याच्च भन्यो ।
मैले यस्ता प्रतिक्रियालाई सकरात्मक रुपमा लिएको छु । जसले मेरो लेखनलाई उर्जा दिएका छन् । खोट देखाउनेभन्दा कयौं गुणा प्रशंसा गर्नेहरु छन् । त्यसैले प्रशंसा गरिएका सबै कुरा यहाँ उल्लेख गरिन । तर, प्रतिक्रिया दिने नाममा कहिलेकाँही यस्तो भन्छन्, कि सबै गलत देखाउन खोज्ने । कि भने उछितो काढ्ने । केही त यस्ता भेटाए जसले यस्तो र त्यस्तो लेख्ने विषय वस्तु नै जुराइदिने । अझ केहीले त किताबको नामधरी जुराइदिए । यि सबैलाई मैले नकरात्मक रुपमा हेरेको छैन । तर, तिनका प्रबृति भने मलाई मन परेका छैनन् । त्यसैले मेरो पनि केही भन्नु छ ।
यस्तो र त्यस्तो लेख् भन्ने तिमी को ? हाम्रा मुद्दा हामी आफैले लिपिबद्ध गर्न तम्सिदा जातिवादी मात्रै देख्ने तिमीलाई के भन्ने ? कस्तो बिषयमा लेख्ने भन्ने लेखक स्वयंले निर्णय गर्ने हो, तिमी बिचमा दलाल बन्नु आवश्यक छैन । मेरो समुदायबारे लेख्दा तिम्रो टाउनको किन दुख्छ ? दुख्छ भने समाउ कलम । लेख हाम्राबारे । तिम्रो मेहनत हाम्लाई कामै लाग्ला । तिम्लाई धन्यवादै भनम्ला । नानाभाती भन्दिए पछि हट्ला भन्ठानेका हौला, त्यस्ता बोक्रे कुराले केही लछारपाटो लाउँदैन । हाम्रो अभियान रोकिनेवाला छैन ।
मैले आफ्नै मुद्दाबारे लेख्न सुरु गरेको छु । यसमा अरुको टाउको दुख्छ भने मलाई भन्नु केही छैन । गोर्खा भर्तीबारे लेखियो । यसले मेरो परिवार र समुदायमा पारेका सकरात्मक र नकरात्मक प्रभावबारे विज्ञ नभए पनि केही सुनेको, केही देखेको, केही अध्ययन गरेको र धेरै त भोगेको छु । त्यसैले यसबारे लेखियो । के ठूलै गल्ती भयो ? कि लेख्ने पढ्ने काम भनेको निश्चित जातिको पेवा हो भन्ने ब्राह्मणवादी सोच अझै गएको छैन तिम्रो दिमागबाट । यो राणाशासनकाल होइन, निश्चित जातिले र वर्गले मात्रै लेख्न पढ्ने पाउने । राज्यले नै कसैलाई लेख्न पढ्न मात्रै व्यवस्था गरिदिने जमाना गए । यो बेला त सबैले आआफ्नाबारे केही न केही जान्ने समय हो । अबको युग हाम्रा विषयमा हामीले लेख्ने, हाम्रै चोट हामीले लिपीबद्ध गर्ने बेला हो ।
एँथ्या (भाङ्ग्रा)भिरेका भरमा एक विदेशी अनि गैर समुदायको व्यक्तिले हाम्राबारे ठेलीका ठेली लेख्छ । हामी त्यही ठेली पछ्याउँछौं अनि भन्छौं मगरबारे पढेका छौं । मगरलाई नपढी कहाँ मगरबारे लेख्न सकिन्छ ? मगरलाई नचिनि कहाँ मगरबारे ठेलीका ठेली लेख्न सकिन्छ ? तीन महिना मगर गाउँमा बसेकै भरमा ती विदेशी र गैर समुदायको व्यक्ति कसरी मगर सँस्कृतिका ज्ञाता भए ? म विश्वस्त छु, आफ्नो समुदाय, तिनको भाषा, सँस्कृति, रितिरिवाज, तिनका कथाव्यथाबारे त्यति समुदायको विद्वानले लेख्नु जत्तिको ‘अथेन्टिक’ लेखन अरु हुँदै होइन । त्यसैले ‘अथेन्टिक’ लेखनका लागि पनि हाम्रा समुदायका विद्वानले कलम उठाउनैपर्छ । यदि ‘अथेन्टिक’ लेखनमा हामी कस्सिदा तिम्रो भाग खोस्न आएजस्तो ठान्छौं भने ठानिरहू ।
नामको अगाडी प्रा.र प्रा.डा.झुन्ड्याएका केही मनुवाले हाम्रोबारे नलेखेका होइनन् । तर, तिनका लेखनमा दक्षिणा गन्ध प्रष्ट आउँछ । जसले जे भने पनि आउटसाइडरले लेखेकोभन्दा इन्साइडरले लेखेको बलियो हुन्छ भन्ने तथ्य छिपेको छैन । त्यसले ति प्राडाहरुले सतही रुपमा लेखेका ठेलीले हाम्रा सबै मुद्दा र केस्राकेस्रा केलाउँछ भन्नेमा मचाँही सहमत हुन सक्दिन । हाम्राबारे हामीले लेख्ने अधिकार छैन । केवल तिनै प्राडाहरुले मात्रै लेख्ने ठेक्का हो, त्यसैले ठेक्कामा घाटा लागेको मान्छन् भने मानिरहून् ।
पंक्तिकार सावित्री गौतम लेख्छिन्,‘अफ्रिकाका चिनुवा अचिविलाई पढ्दा त्यहा“को मौलिक आदिवासी जीवनको झल्को पाइन्छ, प्रकृतिको समिपमा घन्टौं बिताउने वड्र्सवर्थका कवितामा प्रकृतिकै वर्णन पाइन्छ भने तस्लिमा नसरिनका कृतिहरुमा कट्टर मुस्लिम समाजमा बा“च्नुपर्दाको उकुसमुकुस र त्यसबाट छुटकारा पाउने उत्कट चाहना पाइन्छ ।’ त्यसैले आदिवासी जनजातिले लेख्दा तिनका लेखनमा पनि आदिवासीका मुद्दा आउनु स्वाभाविक हो । मगर समुदायको व्यक्तिले लेख्दा मगरबारे बढी मेहनत गरेर लेख्नु के गलत भयो ? भन्नेहरु भन्छन्, ‘तिमीले खाली मगर र आदिवासी जनजातिबारे मात्रै लेख्छौं’ म यहि समुदायको परे त ? अथेन्टिक लेखनका लागि पनि मैले कलम चलाउन किन छाड्ने ? मेरो समुदायबारे स्वनामधन्य विद्वानहरुले त नौथरी लेखेकै छन् त ? अझ केहीले त साम्प्रादायिकताको भिल्ला समेत भिराउँछन् । तिनका नजरले साम्प्रदायिक देख्छ भने देखिरहोस् ।
‘मानिसहरू स्वंयमा आफैलाई र आफ्ना समाजलाई उत्पादन एवं पुनःउत्पादन वा निर्माण गर्ने क्षमता हुन्छ ।’ मानवशास्त्रीय हिसाबले कार्ल माक्र्सको यो भनाई मननयोग्छ छ । म पनि मानवशास्त्रको विद्यार्थी भएकाले सबैभन्दा उपयुक्त लाग्छ यो भनाई । उदाहरणका लागि, मगर समाजलाई निर्माण गर्ने र पुननिर्न्माण गर्ने भनेको मगरहरू स्वयम् हुन् । बिचमा कोही दलाल बन्न आउन जरुरी छैन । हाम्राबारे लेख्ने हाम्रै विद्वान दिनप्रतिदिन जन्मिरहेकै छन् ।
समाजसेवी भूपू गोर्खा सैनिक हुमबहादुर थापामगरले फेसकुबमा गरेको टिप्पणी सँधै सम्झिन्छु । ‘भर्तीको फन्दाले बाहुनको धन्दालाई पर्दाफास गरेको छ’ यसो गम्छु । अलि धेरै पो भयो कि ? अर्को मनले सोच्छु । के साँच्चै त्यस्तै हो त ? घरिघरि केही बाहुन समुदायका व्यक्तिले भर्तीको फन्दामाथी गर्ने अति नकरात्मक टिप्पणीले झस्काउँछ । हुन पनि को कित ? किताब लेख्ने धन्दा आफ्नो मात्रै ठान्ने त्यस्तो कुनै अमुक समुदाय र व्यक्ति छ र हदै नकरात्मक तरिकाले हेरेको हो । अनि आफ्नो धन्दालाई भर्तीको फन्दाले पर्दाफास गरेको हो भने पर्दाफास् गरिरहोस् । अन्त्यमा ‘‘भर्तीको फन्दा’’ लाई अत्यधिक रुचाइदिनु भएकोमा सबैप्रति आभार छु । जसले मेरो लेखनमा सँधै हौसला थप्ने र उर्जा दिने काम गरेको छ । आजलाई यत्ति । जदौं ।
news.manoj7@gmail.com