एउटा बूढ़ों रूख – कबिता

करिश्मा घम




 

एउटा ठूलो बूढ़ों रूख

त्यो पारी चौतारीमा एक्लै उभिएको

आँधी तूफ़ान बरसातको झटारो संग

पैठारी खेल्दै हुर्कियको

कति झेल्यो जीवनमा

राक्षसी चट्यांगहरूको आक्रामक कड़क

तर बेहिसाब चोटहरू सहदै अचल अटल बनी

रह्यो निडर बेधड़क

आज उ एउटा ठूलो परिवारको

भिभावक भै हाँसेको छ

Image result for pipal tree buddha







विभिन्न जात जातीको चराहरूलाई

संरक्षण दिई बाँचेको छ

हाँगा हाँगामा चराहरूलाई वास

पात पातमा कमिलाहरूको राज

आफ्नो अंगालोमा समेटी सबैलाई

पहरेदारी गर्छ जब हुन्छ रात

बाटो हिड़ने बटुवाहरूलाई

शीतलता दिई थकान मेटाई दिन्छ

यात्राको क्रमलाई निरन्तरता दिन

उमंगको साइत जुराई दिन्छ

निस्वार्थ

निष्कपट

त्यो पवित्र त्यागी भावनाले नै

उ जूनी जूनी बाँचेको छ

कति बटुवाहरू,कति घटनाहरू कति सुखदुखहरू

मौन भै मुटू भरी साँचेको छ  

सबैको आँशु खुशीमा साथ दिन्छ  

कहिलै कसैलाई भेदभाव नगरी

तर स्वार्थी मानवले काँटी दिन्छन्

उस्का हाँगाहरू बिचारै नगरी

विचरा उ तेही स्वार्थीहरूका लागी

दुख विर्सी फेरी पलाउंछ

आफ्नो दुख आफै झेल्दै

अरूकै पीड़ामा मलहम लगाउछ

घाम छेक्छ छाया बनी

पानी छेक्छ ओत बनी

बाटो देखाउंछ ज्योत बनी

उसको कसैलाई चासो छैन

सबै आफैमा तल्लीन उ

बस हेर्छ मात्र मौन बनी !!

(अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठिमा प्रस्तुत उत्किस्ट कबिता)

७/३/२०१५ , बेलायत