एउटा नेपालीको मुटु दुख्दा सबै नेपालीको मुटु दुख्नु पर्छ

Read Time:8 Minute, 57 Second

हरेक दिन रोजगारीको शिलशिलामा १५ सय युवा बिदेश जान्छन । ३ करोड जनसंख्या भएको नेपालका ४० लाख नेपाली बिदेशमै छन । जसमा २५ लाख नेपाली खाडी मुलुकमा छन । आईसीसी विश्व कप क्रिकेट खेल चलिरहदा अस्ट्रेलिया निवासी दीपा राईले भारत र बङ्गलादेश बीच खेलमा युनाईटेड अगेनस्ट स्लेभरी अफ माईग्रेन्ट वर्कर लेखेको ब्यानर शो गरे पछी एकाएक चर्चामा आईन ।

सन १९९८ मा स्टुडेन्ट भिसामा अस्ट्रेलिया पुगेकी राई एनआरएन आइसिसी सदस्य तथा एनआरएन आप्रवासी श्रमिक संघकी उपाध्यक्ष पनि हुन । अस्ट्रेलियामा बस्ने नेपाली चेलीलाई कसरी खाडी दुख्यो त? यही बिषयमा केन्द्रित रहेर राज्यसत्ताको लागी निश्चल काउचाले राईसँग गरेको कुराकानीमा आधारित अंस ।

निश्चलः तपाईं अस्ट्रेलियामा बस्ने मान्छेलाई खाडीका आप्रवासी श्रमिकका लागि काम गर्ने उत्प्रेरणा कसरी जाग्यो ?

दीपाः हामी अष्ट्रेलिया, अमेरिका वा युरोपमा जहाँ बसे पनि हामी मध्य पूर्वमा मरिरहेका हाम्रा आप्रवासी श्रमिकका बारेमा सबै थाह छ । यो समस्यालाई हाम्रो सरकार र अन्तराष्ट्रिय समुदायद्वारा सम्बोधन गर्नु पर्ने हो । मैले धेरै पढेको र देखेको छु आप्रवासी श्रमिक र श्रमिक परिवारको कथा व्यथाहरु कतारी कम्पनीहरुबाट हाम्रा आप्रवासी श्रमिकहरु शोषण भइरहेको कुराले मलाई व्यक्तिगत रूपमा छुने गरेका छन् ।

हामी विश्व भरिका युवाहरु मिलेर कर्मा तेन्जिङ न्याङ्मीको संयोजकत्वमा युनाईटेड अगेनस्ट स्लेभरी अफ माईग्रेन्ट वर्कर भनिने समूह छ । जसमा ४ हजार ५०० सय सदस्य छन । संसार भरिका नेपाली युवाहरुको समूह मिलेर आप्रबासी श्रमिकको दासत्वको बिरुद्ध २०१३ मा न्यूयोर्क, सान फ्रान्सिस्को, लन्डन, सिडनी र मेलवर्नमा र्याली आयोजना गरी सकेका छौ । यस समस्याको सामना गर्न एनआरएन अध्यक्ष शेष घलेले पनि वचनबद्धता जनाउनु भएको छ । म आफै पनि एनआरएन आइसिसी सदस्य तथा एनआरएन आप्रवासी श्रमिक संघकी उपाध्यक्ष रहेको नाताले एउटा नेपाली दुख्दा अर्को नेपालीको मुटु दुख्नु स्वभाविक हो ।

निश्चलः तपाईंले ब्यानर शो गर्न विश्वकप क्रिकेट भइरहेको स्टेडियम मेलवर्न क्रिकेट ग्राउन्ड नै रोज्नुको कारण ?

दीपाः आईसीसी विश्व कप क्रिकेटको क्वाटर फाइनल खेल भारत र बङ्गलादेश बीचमा थियो । मैले ब्यानर देखाउनु कारण खाडीमा दक्षिण एसियाली आप्रवासी श्रमिकको संख्या धेरै छ । मलाई आशा थियो त्यो खेलमा ब्यानरमा देखाउदा यस विषयमा अन्तर्राष्ट्रीय मिडिया र लाईभ टेलिकास्ट गरेका टिभीले फोकस गर्ने छन । दक्षिण एसियाली देशहरू मिलेर कतारी सरकारसंग कूटनीतिक आधारमा पहल गरेर यो समस्या समाधान गर्न मिलेर काम गर्न सक्छन् भन्ने सन्देश दिन र महसुस गराउन सकिन्छकी भनेर मैले सो खेलमा ब्यानर शो गरेकी हुँ ।

निश्चलः खाडी देखी मलेसिया सम्म नेपाली आप्रवासी श्रमिकको स्थिति त नाजुक छ तर , तपाईंहरुले खाडीलाई फोकस गर्नुको कारण ?

दीपाः कतारले २०२२ मा फिफा विश्व कप आयोजना गर्न गैरहेको छ । जहाँ आप्रबासी श्रमिकहरुले दासत्वको रुपमा स्टेडियम निर्माण गरिरहेका छन । तलव न्युन छ बासस्थान राम्रो छैन । तसर्थ हामीले अन्तर्राष्ट्रिय समुदाय बीच यो बिषयमा जानकारी गराउदै आप्रवासी कामदारको समस्या कतार सरकार समक्ष उठाउन चाहन्छौ । ताकी कतार सरकारले आफ्नो सिस्टम बदलेर आप्रबासी श्रमिकको हितको निम्ती काम गरोस ।

निश्चलः कुनै पनि नेपाली श्रमिक बिदेशी भुमीमा जेल चलान हुदा या ठगीमा पर्दा रेस्पोन्स लिने जिम्मेवारी त नेपाल सरकारको होईन र ?

दीपाः हामी लज्जित हुनु पर्ने अवस्था छ । आप्रवासी श्रमिकले पठाएको रेमिटयान्सले नै देशको अर्थतन्त्र धानेको छ भनेर गर्व गर्ने सरकार नै रेमिटयान्स पठाउने आफ्नै कामदारको सुरक्षा दिन असफल छ । यस बिषयमा नेताहरुलाई नलज्जाबोश न आत्मग्लानी नै ।

निश्चलः २०२२ मा कतारले फिफा विश्वकप आयोजना गर्दैछ । यसैको अवसरमा खाडीका आप्रवासी श्रमिकका मुद्धा उठाउदा अन्तराष्ट्रिय मिडियाको साथ पाईन्छ भनेर यो अभियान चलाईएको हो ?

दीपाः हजुर हो । कतारमा स्टेडियम निर्माणको क्रममा हालसम्म अनुमानित ४००० हजार मजदुरको मृत्यु भईसकेको छ र अन्तराष्ट्रिय समुदायले यो समस्याको बारेमा शान्त बस्न सक्दैनन हामी जस्ता जिम्मेवार नागरिकले विश्वव्यापी रुपमा आवाज उठाउन जरुरी छ ।

निश्चलः खाडीका आप्रवासी श्रमिकका हक हितका लागि बोल्दा अस्ट्रेलियाली प्रहरीको फन्दामा पनि पर्नु भयो ?त्यती बेला तपाईंलाई कस्तो अनुभव भयो ?

दीपाः मलाई थाहा थियो मैले कुनै गल्ती कार्य गर्न गैइरहेको छैन । जव हामी राम्रो काम गर्दैछौ भने डराउनु पर्ने आवश्यकता नै हुँदैन । मैले ब्यानर राख्दा सुरक्षाकर्मीलाई नै सोधेर राखेकी हुँ र पछी मलाई सोधपुछको लागि केही समय नियन्त्रणमा लिए पछी मैले हाम्रो मुद्धाको बारेमा बताए र पछी छोडी दियो । मलाई त्यस कुनै पछुतो या आत्मग्लानी केही छैन ।

निश्चलः तपाई एनआरएन आप्रवासी श्रमिक संघकी उपाध्यक्ष पनि हुनुहुन्छ । खाडी मात्र होईन अरु कुनै पनि देशमा पुगेर श्रम शोषणमा परेरका या ठगिएका नेपाली आप्रवासी कामदारलाई तपाईंको संस्थाले के-कस्तो सहयोग गर्न सक्छ ?

दीपाः आईसीसी अध्यक्ष ज्युले आप्रवासी श्रमिक हितको लागि १ करोडको राहत कोष खडा गरिसक्नु भएको छ । हामीले त्यो रकम कसरी सहयोग गर्ने भनेर निती र योजनामा फोकस गरिरहेका छौ । नेपाली कामदार हितको लागि युएन वोमन, वाल्क फ्री र आईएलओ जस्ता संस्थाहरुसंग मिलेर काम गरिरहेका छौ । अब चाडै नै राम्रो नतिजा देखा पर्ने छ ।

निश्चलः अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?

दीपाः मैले त्यहा ब्यानर राख्नु मेरो सानो प्रयास थियो । म नेपाली कामदारहरुको दुर्दशाको बारेमा जानकारी राख्ने गर्छु र आप्रवासी श्रमिकको समस्या र सुरक्षा ग्यारेन्टि सरकारले गरोस् भन्ने चाहन्छु । मैले व्यक्तिगत रुपमा आफूले सकेको गरिरहेकी छु र गरिरहने छु । यो हाम्रो अभियानलाई अन्तराष्ट्रिय जगतसम्म पुर्याउन चाहन्छौ । हाम्रो अभियानलाई सबै नेपालीहरुले साथ् दिन पनि आग्रह गर्दछु ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %