रोशन मेवाहाङग
लन्डन-चैत ८ अवैधानिक ढंगले एनआरएन यूकेको अध्यक्ष बनेका महेन्द्र कंडेल केहि गरी पनि आफ्नो पद सुरक्षित नहुने देखेपछि षड्यन्त्र गर्न लागेका छन् । तर बेलायतमा सबभन्दा शक्तिशाली देखिएको ‘बृटिश गोर्खा’हरुलाई पाखा पारेर आफ्नो पद सुरक्षित राख्ने उनको षड्यन्त्र सफल नहुने संकेत देखिएको छ । केहि गरि पनि आफ्नो नेतृत्वले एनआरएन यूके चलाउन नसक्ने भएपछि अहिले उनी चक्रिय प्रणालीमा नेतृत्व चलाउँ भन्दै षड्यन्त्र गर्न खोजिरहेका छन् । तर अवैधानिक ढंगले अध्यक्ष बनेका कँडेलको कुनै पनि प्रकारको नेतृत्व यूकेबासी नेपालीले स्वीकार नगर्ने बताईसकेका छन् । चक्रिय प्रणालीको व्यवस्था एनआरएनको कुनै पनि विधानमा व्यवस्था गरिएको छैन । विधान विपरित आएको यस्तो प्रस्तावप्रति यूकेबासी नेपालीहरु सहमत छैनन् ।
२१ फेब्रुअरीमा भएको साधारणसभा विवाद भएपछि प्रहरीले हस्तक्षेप गर्दै रातको ११ बजे सभा विथोलिएको थियो । सभा विथोलिएपपिछ अधिकांश सदस्य स्थगित भएको भन्दै आ–आफ्नो घरतिर लागे यता कंडेलले भने सभास्थल नजिकैको रेष्टुरेन्टमा गएर आफैँलाई अध्यक्ष घोषित गरे । विडम्बना केन्द्रबाट आएका प्रतिनिधि कुमार पन्तले पनि उनैलाई माला लगाई दिए । यस्तो स्वेच्छाचारी निर्णयप्रति यूकेबासी नेपालीहरु आन्दोलिन छन् । कंडेलले पैसाको आडमा आफूलाई अध्यक्ष पदको लागि स्वीकार गराएको चर्चा चलिरहेको छ । कंडेलले आफू अध्यक्ष बन्न त्यसबेलादेखि नै षड्यन्त्र गरेका थिए । सभामा बृटिश गोर्खाहरूलाई जान नदिन उनले निकायको प्रमुखलाई फोन गरेको फेसबुकलगायतका सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती भएको छ ।
दुई सय बर्षको ईतिहास बोकेको आफ्नो पूर्खाको इमान्दार इतिहास विर्सँदै केहि अग्रजहरु कँडेलको षड्यन्त्रमा फसेकोले यस्तो परिस्थिति आएको भन्दै अहिले गोर्खाहरु कुनै पनि हालतमा कँडेलको नेतृत्व स्वीकार नगर्ने पक्षमा देखिएका छन् । ‘षड्यन्त्रपूर्ण ढंगले अध्यक्ष हुन खोज्ने यस्तो ब्यक्तिलाई हामि एनआरएन बेलायतको अध्यक्ष हैन जोरी खोजे कानुनी कठघरामा उभ्याउछौ,’ । उनको षड्यन्त्रको विरुद्ध लागेका एक गोर्खाले भने, ‘एनआरएन अध्यक्षको हैसियतमा बेलायतमा हुने कुनै पनि कार्यक्रममा सरिक हुन् खोजे त्यो प्रयत्न उन्को निम्ति ठुलो अभिसाप बन्नेछ ।’ कंडेल आफ्नो महत्वकांक्षा पुरा गर्न नेपाली दाजुभाइमाथि नै षड्न्त्रपूर्ण ढंगले कदम चालिरहेको दावी गर्दै एक युवा भन्छन्– यसरी अपराधिक क्रियाकलाप गर्ने ब्यक्ति समाजसेबी हुन सक्दैन । यस्तो ब्यक्तिलाई एनआरएन जस्तो अभिभावकीय संस्थाको अध्यक्ष पदमा स्विकार्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो । केहि महत्वकांक्षीहरुको कारण सम्पूर्ण सँस्थालाई दुर्गन्धित बन्न दिनुहुँदैन । नेतृत्व गर्छु भन्नेले बिधि र विधानको कुनै हेक्का राख्न सक्नुपर्छ ।
उनले एनआरएन यूकेमा सिमित व्यक्तिहरुको मनपरीतन्त्र चलिहेको जानकारी दिँदै त्यस्ता ब्यक्तिहरुलाई किनारा लगाएर, विधान सम्मत र विवाद रहित ढंगले नयाँ समिति बनाउनुको विकल्प नभएको बताए । आफ्नो अभियान त्यसैतर्फ उन्मुख भएको जानकारी दिँदै उनले भने – हाम्रो बिरोधको अभियान जारी रहने छ । यसका बावजुद कंडेलले आफ्नो हठ नछाडे फेरी अर्को बिबादको सिकार बन्ने निश्चित भईसकेको छ ।
एनआरएन बेलायत भित्र आर्थिक अनियमिता गैर आवासीय नेपालीहरुको हकहितको लागि गठित सँस्थामा आर्थिक अनियमितताको चर्को उदाहरण पनि भेटिन्छ । आर्थिक अनियमितताकै कारण तत्कालिन अध्यक्ष योगेन्द्र छेत्रीको पालामा तमुधि युकेका निबर्तमान अध्यक्ष तथा एनआरएन बेलायतका बरिष्ठ सल्लाहकार कमल गुरुङको संयोजकतामा आर्थिक छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिले छानबिनको प्रक्रिया पूर्ण रुपमा अन्त्य नभए सम्मका लागि संस्थाको एकाउण्ट फ्रिज गरेको छ ।
तत्कालिन समयमा कडेल आफ्नो छुट्टै समुह भित्र सिमित थिए । उनीसँगै समितिमा रहेका कतिपय सदस्यहरुले आर्थिक अनियमिततामा कँडेलको महत्वपूर्ण भूमिका रहेको बताउने गरेका छन् । उनले करिब ७० हजार पाउण्ड अनियमितता गरेको ती सदस्यको दावी छ । यद्यपी यसबारे छानविन समितिको अन्तिम निर्णय आउन बाँकी नै छ । यस्तो विवादका बीच कंडेलले आफ्नो झुण्डको कोठे बैठक बसी काठमाण्डौमा निर्माण हुनलागेको भनिएको एनआरएन भवनको निम्ति भनेर दुई करोड रकम उठाउने ध्वाँस दिएका छन् । जुन एकातिर बहुसंख्यक बेलायतबासी नेपालीहरुको समर्थन नभएको समितिले गर्नसक्ने कुनै आधार छैन । अर्कोतिर आर्थिक अनियमिता को कारण संस्थाको एकाउण्ट फ्रिज भएको र आफैँ पनि त्यसमा मुछिएको अबस्थामा सिमित व्याक्तिहरुको अध्यक्ष कडेलको त्यो पहल आफैमा हाँस्यास्पद छ ।
नाम नखुलाउने सर्थमा कडेल समुहकै एक जिम्मेवार ब्यक्ति भन्छन्– बिगत दिनमा हाम्रो बेग्लै समूह हुँदा पनि हामीले कसैको जीवन बचाउनका निम्ति चन्दा उठाएकै हो । तर त्यो काहाँ, कसले कति पायो भन्ने अत्तोपतो आज सम्म भएको छैन । पाँचौ महाधिवेसनको बेलामा पनि केहि साथिहरुले सदस्य बनेका सयौ ब्यक्तिहरुको पैसा सहितको सदस्यता फारम बटुलेर दर्ता नगेरेको घटना अझै आलै छ । बिगतदेखि आजको दिनसम्ममा यसरी एनआरएन युके भित्र सहयोगको लागि भन्दै चन्दा उठाएर धेरै रकमहरु बेवारीसे बनिसकेको छ । यी समग्र परिस्थिति हेर्दा केहि महत्वकांक्षी खेलाडी ब्यक्तिहरुको जुँगाको लडाईले एनआरएन बेलायत वर्वादीको संघारतिर जादै छ । यसबारे एनआरएन केन्द्रीय समिति र वेलायतबासी नेपालीहरुले बेलैमा सचेत हुन जरुरी छ ।