मगर समुदाय फुटेर होइन जुटेर अघि बढौं

Read Time:19 Minute, 31 Second

दिपा आलेमगर

व्यक्ति रहला न रहला तर संस्थालाई हराभरा बनाऊ,समय परिर्वतनशील छ । समय बलवान छ । समय आफ्नै रफ्तारमा अघि बढी रहेको छ । न त कसैले रोक्न सक्छ । न त कसैले छेक्न नै सक्छ । यदि समयलाई बुझेर काम गर्न सकेनौ भने । समयको अगाडि कसैको केही लाग्दैन । चाहे जति नै मै हुँ भन्नेहरु पनि । त्यसको एउटै मात्र विकल्प भनेको एकता हो । एकता विना कसैले पनि यस संसारमा सफलता पाउन गाह्रै पर्छ । यदि समयलाई चिन्ने हो र समयसंगसंगै बलवान भई हिड्ने हो भने एकता हुन आवश्यक छ ।

प्रसंग विभिन्न जातजातिहरु मध्ये यस लेखभित्र विशेषगरी मगर समुदाय र मगर समुदायको हितकोलागि संगठीत मगर विद्यार्थी संघको बारेमा केन्द्रीत हुनेछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक संघीय लोकतान्त्रिक गणतन्त्रमय देशमा जनसंख्याको हिसाबले मगर जाती तेस्रो ठूलो जाति हो । आदिवासी जनजातिमध्ये सबै भन्दा ठूलो जाती मगर हो । सन् २०१२ को जनगणना अनुसार नेपालको कूल जनसंख्याको ७.१२ प्रतिशत अर्थात १८ लाख ८७ हजार ७ सय ३३ रहेको छ ।

मगर समुदाय जनसंख्याको हकमा ठूलो जाती भनेर चिनिन्छ । नेपालमा मात्र होइन विश्वको जुनसुकै देशमा छरिएर रहेका छन् । तर राज्यको हरेक निकायमा मगर जातीको पहुंच भने अहिलेको वर्तमान अवस्थामा आईसक्दा पनि दुःखलाग्दो छ । ईतिहासको कालखण्डमा हेर्ने हो भने कुनै बेला यो देशको शासन र सत्ता मगरकै हातमा थियो । जब मगर जातीको शासन र सत्ता खोसियो तब देखि उनीहरुको पहिचान, भाषाधर्म, संस्कृति, संस्कार सबै विलिन हुंदै गए । उनीहरुको पहिचानलाई मेटाउने खेल खेलियो । जसले गर्दा आज मगर समुदाय राज्यको निर्णायक तहमा पुग्न नसकिरहनु पनि एक मुख्य कारकतत्व हो ।

आज देश संघीय लोकतान्त्रिक गणतन्त्रमय भइसकेको छ । देश भित्र रहेका सबै जातजातिले समान अधिकार समान सहभागीता र  समान हैसियत राख्ने भनेर अन्तरीम संविधानमा घोषित भई सकेको छ तर दुःखका साथ भन्नुपर्छ । आज पनि ति घोषित दस्तावेजहरु एकादेशका कथा जस्तै भएका छन् । भाषण र लेखाईमा एउटा छ ब्यवहारमा अर्को देखिएको छ । जसको नतिजाले गर्दा ठूलो जनसंख्यामा रहेका मगर समुदायहरु दिन दिनै विदेश पलायन हुन बाध्य छन् । कोही आफ्नै देशमा जेनतेन जिविकोपार्जन गर्दै दिन बिताई रहेका छन् । ताकि त्यो रहर होइन बाध्यता हो ।
 
मगर समुदायको हितकोलागि मात्र नभई समग्र राष्ट्र विकासको निम्ति गठित नेपाल मगर विद्यार्थी संघ यति बेला २० औं वर्षमा प्रवेश गरि सकेको अवस्था हो । जसले शैक्षिक मुद्दालाई उठान गर्दै माध्यमिक विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययनरत मगर विद्यार्थीहरुको हकहित, अधिकार र प्रतिष्ठाकोलागि लडिरहेको छ । त्यति मात्र नभई नेपालका आदिवासी जनजाति विद्यार्थी संगठनहरुसंग हातेमालो गर्दै आफ्ना हकहितकोलागि एकजुट भईरहेको वर्तमान अवस्था हो ।
 
नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले भर्खरै मात्र माघ १६,१७ गते दा²को घोराहीमा संघको ९ औं राष्ट्रिय विस्तारीत भेला सम्पन्न गरिसकेको छ । भेलाले १७ बुंदे घोषणा पत्र समेत जारी गरेको छ । देशभरबाट उपस्थिति मगर विद्यार्थीहरुले आफूले भोगेका समस्याहरु राखेका थिए । साथै सम्भावनाका प्रश्तावहरु पनि राखे । उनीहरुले कसरी मगर समुदाय र मगर विद्यार्थीलाई शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनीक, सांस्कृतिक लगायतका क्षेत्रमा पहुंच बढाउन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए । त्यसको लगत्तै मगर विद्यार्थी संघले फागुन २७ गते एक अन्तरक्रियात्मक कार्यक्रम गरी २० औं स्थापना दिवस मनाइसकेको छ । यति बेला जिल्ला देखि अञ्चल र केन्द्रमा भएका क्याम्पस समितिहरुमा विभिन्न रचनात्मक कार्यक्रम एवं अधिवेशन सम्पन्न भएका छन् भने कतिपय क्याम्पसहरुमा हुने क्रम जारी छ ।

नेपालको ७५ वटै जिल्लामा रहेका मगर समुदाय भित्र अझ सशक्त बनाउन मगर विद्यार्थीले प्रत्येक जिल्ला जिल्लामा मगर विद्यार्थी संगठीत गर्ने अभियान रहेको छ । सोही अभियानकै क्रममा कतिपय जिल्लामा अहिले पनि मगर विद्यार्थी संघ पुग्न नसकेको तितो यर्थात हाम्रो सामु सर्ववित्तितै छ । पुगोस् पनि कसरी विभिन्न समस्या र चुनौतिहरु मांझ गुज्रीएको संघ चाहेर पनि ति दुरदराजमा रहेका मगर बस्तीहरुमा अहिलेपनि पुग्न सकिरहेको छैन् । चाहे हालको वर्तमान अध्यक्ष दिपा आलेको कार्य काल होस् या त पूर्व अध्यक्षहरुको कार्यकालमा होस् । तर जे जति भए पनि आजसम्म ६५ वटा जिल्लाहरु मात्र गठन र पुनरगठन भइरहेका छन् ।
 
एकपटक हामी सबै मगर समुदायले सोंच्नै पर्छ किन हामी ७५ वटै जिल्लामा भएका मगर बस्तीमा पुग्न सकेका छैनौ ? कतै हामीमा एकताको भावना नभएर त होइन ? आज हामी मगर समुदायले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ । हामी आजसम्म किन एकजुट भएर, एक ढिक्का भएर एकताको मालामा गांसीन सकेका छैनौं । संख्यात्मक मात्र भएर हुंदैन गुणात्मक रुपमा किन हामी एक हुन सकेका छैनौं मेरो प्रश्न यहाँहरुलाई ? जति हामी बोल्छौं । त्यति हामीले किन ब्यवहारमा लागु गर्न सकेका छैनौं ? यो कुरा तपाई हामी सबैलाई केही हदसम्म भएपनि थाहा भएकै कुरो हो । ‘बोल्यो कि पोल्यो’ भन्ने उखान छ सायद यो भन्दा बढी भन्नु उपयुक्त ठान्दीन ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिसंग देशभर छरिएर रहेका आम मगर विद्यार्थीहरुले धेरै आशा र अपेक्षाहरु राखेका छन् । राख्नु पनि उनीहरुको अधिकार हो । तर केन्द्रीय समितिले चाहेर पनि उनीहरुको आशा र अपेक्षालाई पुरा गर्न सकिरहेको छैन् । त्यो संघको बाध्यता हो । किन कि संघलाई साथ र सहयोग गर्नेहरुको कमि छ यहां । बरु रमाईलो र मदिरामा साथ र सहयोग हुन सक्छ तर मगर विद्यार्थीको सुन्दर भविष्यको कल्पना कमैले मात्र महसुस गरेका छन् । मगर विद्यार्थीको उज्जवल भविष्य भन्दा पनि कतै नाताबाद, विचारवाद र क्रिपावादले ति सहयोग गर्ने हातहरु रोकिएका छन् । जसले गर्दा संघ आम मगर विद्यार्थीको सपना पुरा गर्न सकिरहेका छैनौं । भोलि यो देश हांक्ने मगर विद्यार्थीको जग वास्तवमै कमजोर अवस्थामा छ । जब आफ्नै अभिभावकहरुले आफ्नो जिम्मेवारी र दायित्व के हो भन्ने कुरा बुझेर पनि बुच पचाउछन् भने ति अभिभावकका सन्तानले भोलिका दिनमा कसरी यो देशको बागडोर सम्माल्ने हैसियत राक्न सक्छन् ?
 
संघ प्रति मगर विद्यार्थीहरुले छात्रावृत्तिको माग गरेका छन् । कसैले कापिकलम, किताब, ब्याग, आफ्नै मगर भाषामा लेखेका पुस्तकहरु, आफ्नै भेषभूषाहरु, विभिन्न समसामायिक प्रशिक्षणहरु, रचात्मक क्रियाकलाप गरेपछि केन्द्रले पुरस्कार स्पोन्सर गरिदिने देखि लिएर, मगर भाषामा मातृभाषा पढ्न पाउने उनीहरुको चाहना, कार्यगत भ्रमण, शिक्षामा होस् या खेलकुद या त सामाजिक कार्यमा राम्रो काम गर्नेहरुलाई सम्मान स्वरुप कदरपत्र र पुरस्कार लगायतको धेरै भन्दा धेरै आशा र अपेक्षा गरेका ति मगर विद्यार्थीहरुको सपनालाई पुरा गर्न केन्द्रीय संगठनलाई धौ धौ परेको अवस्था छ ।
 
संगठन जन्मीए देखि आजसम्म आर्थिक पक्षमा भन्नु पर्दा खाल्डोमै रहेको स्थिति छ । किन भने संगठनमा आर् स्रोतको कमि छ । आर्य स्रोतको कमिले गर्दा संघले चाहेका विभिन्न कार्यक्रमहरु रोकिएका छन् । हरेक कार्य गर्दा आर्थिकको अभाव खटकिएको अवस्था छ । ग्रामीण दुरदराजबाट अध्ययन गर्न काठमाडौं छिरेका मगर विद्यार्थीहरु स्यम अध्ययनकै क्रममा भएका हुनाले पनि संगठनलाई आर्थिक पक्ष बलियो बनाउन नसकेको अवस्था हो । तर मगर विद्यार्थी संघ भित्र जनशक्ति भने नभएको होइन । काम गर्ने सयौं हातहरु भएपनि त्यसलाई थालनी गर्ने स्रोत र साधनको अभावमा खटकिएको मगर विद्यार्थीहरु आज  हात बांधेर बस्नु परेको छ । एकातिर उनीहरुको आफ्नो अध्ययनको समय र अर्को तिर समग्र मगर विद्यार्थीको हितकोलागि महत्वपूर्ण जिम्मेवारी कांधमा परेको हुंदा चाहेर पनि संगठनलाई जति दिनु पर्ने हो त्यति दिन नसकेको वास्तविक यर्थात हो । सत्य कुरा तितो हुन्छ तर त्यसलाई ग्रहण गर्न पो गाह्रो हो ।

समय बितिरहेको छ । समयको साथ साथै हिड्न खोजेपनि विभिन्न समस्याहरु, चूनौतिहरुको सामना गर्दै संगठन जसोतसो चल्न बाध्य छ । तर हाम्रा मगर समुदाय भित्र आज पनि एकता हुन सकेको छैन् । केही एकता भएको छ त विचारवाद, नाताबाद र क्रिपाबादमा । आज भन्नै पर्छ यो कस्तो एकता हो ? जसले आम मगर समुदायलाई समेट्न सकिरहेको छैन । एकपटक हामी गम्भीर भएर सोचौं हामी पहिला मगर हौं या विचार, नाता र क्रिपाबाद ? यदि सांच्चीनै मगर समुदायको उत्थान गर्ने हो भने हामी मगर भित्र कस्तो एकता हुन जरुरी छ ? आजको बैज्ञानिक युगमा हाम्रो समुदाय भित्र विभिन्न क्षमता, दक्षता र हरेक क्षेत्रमा पहुंच नभएको होइन तर छ त मात्र आफ्नै लागि जसले आम मगर समुदाय भित्र प्रभाव पार्न सकेको छैन् । यसरी नै अबल दर्जामा भएका मगरहरु आफ्नै शैलीमा हिड्छन् भने हामीले हाम्रा मगर विद्यार्थीप्रति आशा र अपेक्षा नराख्दा नै बेस हुन्छ । जब तपाईहरु जस्ता अबल ब्यक्तिहरुले भोलि यो देशको राष्ट्र  हाक्ने मगर विद्यार्थी प्रति कुनै चांसो राख्नु हुंदैन भने आशा र अपेक्षा पनि नराख्नुस् । यदि राख्न चाहानु हुन्छ भने आजैदेखि आफूमा भएको क्षमता, दक्षता र साधनस्रोतलाई लगानी लगाउनुस् ताकि कि भोलि तपाईहाम्रो सपना पक्कै पुरा हुनेछ । भलै आज नहोला तर फलको भोट रुपेर जलमल हाल्नु हुन्छ भने पक्कै त्यसको फल तपाई हामीले पाउने छौं ।

आदरणीय मगर समुदायका अग्रज, बुद्धिजिवि, आमाबुवाहरु समय वितेको पत्तै हुदैन । हिजो दिपा आलेमगर बांकेको राधापुर गाविस सैनिकस्थीत मध्यमवर्गमा जन्मीएर, हुर्किर, अध्ययन गर्दै नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा नेपाल मगर विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस समितिको कोषाध्यक्ष हुंदै जिल्ला उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य हुंदै उपाध्यक्ष हुंदै ११ वर्षको लामो संघर्ष र योगदानले आज नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्ष जस्तो गरिमामय पदमा बसेर काम गर्ने अवसर प्राप्त भएको छ । यो सफलता ब्यक्तिगत दिपा आलेमगरको मात्र नभई आम मगर समुदाय, मगर विद्यार्थी शुभचिन्तकहरु र राष्ट्र विकासको लागि हो भन्न चाहान्छु । किन कि त्यो सफलतामा आम मगर समुदायको एकता जोडिएको छ । भावना जोडिएको छ र मात्र आज यहां सम्म पुग्न सफल भएको यो एउटा उदाहरण हो । त्यसरी नै अब देश विदेशमा छरिएर रहेका मगर समुदाय एक जुट हुन आवश्यक छ । मगर विद्यार्थीहरुलाई सांच्चीनै राज्यको हरेक निकायमा पुराउने हो भने आजै देखि मगर समुदायले सोच्नैपर्छ ।

विशेष सोच्नु पर्ने नेपाल मगर संघ केन्द्रीय समिति हो । हामी विद्यार्थीहरुलाई आन्दोलनमा मात्र होइन हरेक रचनात्मक क्रियाकलाप देखि लिएर शैक्षिक, राजनैतिक सामाजिक, आर्थिक, नैतिक, भौतिक, प्रशासनिक, सञ्चार, खेलकुद, स्वास्थ्य लगायतमा लगानी लगाउनुस् ताकि भोलिका दिनमा तपाईहाम्रो नै शीर ठाडो हुनेछ । गर्वको महसुस हुनेछ । समय आफ्नै रफ्तारमा चलिरहेको छ । यदि समयलाई बुझेर मगजलाई सहि ठाउँमा सदुपयोग गरेनौं भने समय आउंछ पर्खिदैन, बगेको खोला फर्खिदैन भन्ने झै हुनेछ । अरुले देला र खाउला भन्नु भन्दा पनि पहिला हाम्रो समुदाय नै एकजुट भएर लाग्न सके मात्र सफलता पाईन्छ भन्ने कुरामा हेक्का राख्नु सक्नु पर्छ । यो भएन त्यो भएन यसो गर्न सकेन उसो गर्न सकेन भन्दा पनि मेरो समुदाय प्रति म मगर भएको नाताले मेरो भूमिका कति हुनुपर्छ भन्ने कुरा बुझ्न जरुरी छ । म मेरो समुदाय र मेरो देशको काम गर्दै गर्दा ममाथि सांघातीक आक्रमणबाट सक्त घाइते भएर बांचेछु । खेयर घाइते शरीर लिएर भएपनि यो समाजकोलागि आफूले सक्ने जति काम गर्दैछु ।

आज पनि त्यो दिन सम्झेर कता कता मेरो मन अमिलो भइरहेको छ । संगठनको हितकोलागि मगर समुदायका केही अग्रजहरुसंग समस्या र चुनौतिहरु बताउंदै संगठनलाई सहयोगको हात फैलाउने कुरा गर्दै गर्दा बिजुली चम्केझै चम्कीनेहरु नभेटिएका होइनन् । कुरा भने ठुला काम भने जहाका तही । तर म भन्छु जबसम्म तपाई हामी जस्ताले संगठनको मर्म बुझदैनौ तब सम्म न संगठन बलियो हुनेछ न त तपाई हामी नै बलियो हुनेछौं । न त हामी एकताको मालामा गांसीएर समग्र मगर समुदायको उत्थान गर्नेछौं । अन्तिममा हात्ति आयो हात्ति आयो फुस्सा भने झैं हुनेछ  । त्यसैले बेलैमा सोच्नु पर्छ जहां जुन सुकै स्थानमा रहेपनि मगर समुदायको हितकोलागि समग्र राष्ट्र विकासकोलागि हाम्रो यात्रा सधैं जारी राख्नुपर्छ ।

मगर विद्यार्थीलाई जन्माउने र हुर्काई यहांसम्म ल्याउन सफल ति अग्रजहरुलाई संघले सधैं आभार प्रकट गर्दछ । मगर विद्यार्थीहरुको हरेक दुःख, पीडा, समस्या, चूनौतिमा साथ दिने ति महान हस्तीहरुलाई सधैं संघले सम्झीरहनेछ । संगठनमा काम गर्दै गर्दा ब्यक्ति रहला नरहला तर संस्थालाई सधैं हराभरा बनाउन मगर समुदायको ठूलो जिम्मेवारी र दायित्व हो । यदि हाम्रो संस्था बलियो हुन्छ भने हाम्रो एकता पनि बलियो हुनेछ । राज्यको जुनसुकै निकायमा हाम्रो दु्रतगतिमा पहुंच हुनेछ । आम मगर समुदायले देखेको सपना पक्कै एकदिन पुरा हुनेछ । त्यसकोलागि पहिलो खुडकिलो भनेको हाम्रो समुदाय एकतामय भएर क्षमतावान, दक्षतावान हुनुपर्छ । अरुमाथि रिस राग होइन पहिला आफै क्षमतावान बन्न सक्नु आजको आवश्यकता हो ।

(लेखक: नेपाल मगर बिध्यार्थी संघका केन्द्रिय अध्यक्ष तथा बरिस्ठ पत्रकार हुन)


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %