दृष्टिविहीन नौमती बाजा समूहलाई युकेबासीको सहयोग

Read Time:3 Minute, 53 Second

रूद्र श्रीसमगर

पोखरा, ३ चैत्र

युकेमा बस्ने नेपालीहरूले नेपाल दृष्टिविहीन नौमती बाजा तथा सांस्कृतिक समूह, पोखरालाई आर्थिक सहयोग गरेका छन् । हाल युकेमा रहनुभएका समाजसेवी टकबहादुर राम्जाली पुनको सक्रियतामा संकलित रकम मंगलबार एक कार्यक्रमका बीच सो दृष्टिविहीन नौमती बाजा समूहलाई सहयोग रकम हस्तान्तरण गरियो ।
पोखरा–३, नदीपुरस्थित करपाकेली समाज भवनमा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पुन समाज पोखराका अध्यक्ष गोर्खा मेजर चन्द्रबहादुर पहरे पुनले दृष्टिविहीन नौमती बाजा समूहका अध्यक्ष कुमार पुनलाई युकेमा संकलित ८० हजार ६ सय रुपैयाँ हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै गोर्खा मेजर पुनले अपागता भएका व्यक्ति तथा दीन दुःखीलाई सेवा गर्नु नै असली धर्म भएको बताए । पाएको सहयोगलाई सदुपयोग गर्न समेत मेजर पुनले आग्रह गरे । मन्दिरमा गएर धर्म नहुने भन्दै पुनले एक अर्कालाई परेको बेला सहयोग गर्नु नै वास्तवमा धर्म हुने बताए ।

अपागता भएका व्यक्तिलाई समाजमा सहज रूपमा जिउने वातावरण सिर्जना गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै जनताले पनि आफ्नो तहबाट दृष्टिविहीनहरूलाई सहयोग गर्नुपर्ने बताए । युकेमा कार्यरत समाजसेवी टकबहादुर राम्जाली पुनले दृष्टिविहीनहरूको दुःख देखेर आर्थिक सहयोग संकलनको आफूले पहल गरेको जनाउँदै दृष्टिविहीनहरूलाई थोरै भएपनि मदत पु¥याउन सहयोग गरिएको उल्लेख गरे ।
स्थानीय सीबीआर नेटवर्क पोखराका संयोजक एवं नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य खेमराज शर्माले दृष्टिविहीनहरूलाई व्यवसायिक दक्षतासँगै रोजगार बनाउन विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको जनाउँदै दृष्टिविहीनहरूलाई स्वरोजगार बनाउनका लागि नौमती बाजा बजाउने तालिम गराइएको बताए । फेवा वातावरण, सांस्कृतिक तथा नौमती बाजा संरक्षण समूहका अध्यक्ष दुत बहादुर गर्बुजा पुनले दृष्टिविहीनहरूलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै दृष्टिविहीनहरूले पनि नौमती बाजा बजाएर जीविकोपार्जन गर्न सक्छन् भन्ने मान्यतासाथ आफूहरूले पनि सहकार्य गरिरहेको बताए ।
दृष्टिविहीन नौमती बाजा समूहका अध्यक्ष कुमार पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिवराज अधिकारीले गरेका थिए भने दिनेश थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पोखराका दृष्टिविहीनहरूले हेल्भेटास नेपाल स्वीस कोअपरेशनको सहयोगमा जनहित ट्रेनिङद्वारा नौमती बाजा प्रशिक्षण लिएर व्यावसायिक रूपमा विभिन्न उत्सव, विवाह, ब्रतबन्ध, शुभकार्य आदिमा नौमती बाजा बजाउँदै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %