२५ बर्ष सम्म पसिना बगाएको पार्टीलाई छोड्न बाध्य पारीयो–शिवलाल थापा

Read Time:22 Minute, 42 Second

१७ मार्च २०१५

  विगत २५ बर्ष देखी आदिबासी जनजाती,दलित,महिला,मुस्लिम,मधेसी, सिमान्तक्रित,अल्पसन्ख्यक र उत्पीडित समुदायको पहिचान र अधिकारको मुद्दा बोकेर निरन्तर शान्तीपूर्ण सङ्घर्ष गर्दै आएको दाबी गर्ने राष्ट्रिय जनमुक्ती पार्टी आजसम्म आईपुग्दा धेरै पटक बिभाजनको अवस्थाबाट गुज्री सकेको छ । यस पार्टीबाट आदिवासी जनजाती , दलित उत्पीडित समुदायको आवाजलाई सतहमा ल्याइदिएर तरङ पैदा गर्ने व्यक्तित्वो गोरेबहादुर खपाङीहरुले असन्टुस्टी जनाउदै बिदा भए भने कोही लिम्बुवानी राजनीतिमा होमिएका छन,कोही भर्खरै स्थापना भएको संघीय समाजवादी पार्टिमा समाहित भएका छन । 

जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक पद्दती , संघीयता , धर्म निरपेक्षता जस्ता गहन मुद्दाहरु बोकेर अगाडि बढेको राष्ट्रिय जनमुक्ती पार्टिमा फेरी अर्को विभाजनको स्थिती सार्वजनिक भएको छ । मुलुकको समस्या विस्त्रित रुपमा केलाई त्यस्को निकास के हुने भन्ने निस्कर्ष सहित अगाडि आएको यस् पार्टिको मुलभुत मुद्दामा नै अहिले नेपाली राजनितीको केन्द्रबिन्दु रहेको छ । तर, यती हुँदा हुँदै पनि उत्पीडित वर्गको पक्षमा पार्टीको जुन लाइन थियो  त्यसमा  पार्टीले आफ्नो लाईन छोड्दै गएको , यी उत्पीडित समुदायलाई लक्षित गरेर कार्यक्रम ल्याउन पार्टी नेत्रित्वलाई सल्लाह दिदा कुनै सुनुवाई नभएको , आदिबासी जनजाति,दलित, महिला,मुस्लिम र मधेसिको मुद्दालाई पनि त्याग्दै जान थालेको,पार्टी अध्यक्ष एम.एस थापाले पार्टीमा तानाशाही र हैकमबादी लादेको जस्ता आरोप लगाउदै दोश्रो संबिधानसभाको समानुपातिक तर्फबाट सभाषद बनेका शिवलाल थापाको नेतृत्वमा राष्ट्रिय जनमुक्ती पार्टी लोकतान्त्रिक गठन भएको छ ।

शिक्षक पृष्‍ठभुमिका थापा शिक्षण पेशा छाडेर राष्ट्रिय जनमुक्ती पार्टीमा रही राजनैतिक करीयर सुरु गरेका थिए । लामो समय सम्म यसै पार्टीमा  रही काम गरेका थापाले एकाएक फागुन १९ गते पार्टी बिभाजन गरेका छन। अहिले सम्म अध्यक्ष एम.एस थापाको अदक्ष नेतृत्वले गर्दा पार्टी सोर्हौ पटक टुक्रा भएको उनको  भनाइ छ । उनी  पार्टीकै निदेर्शनमा २०६२ श्रावण महिनाको १७ गते देखि २०६३ बैषाख ११ गते सम्म तनहुँ जिल्ला बिकाश समितिका उपसभापति समेत भएका थिए ।२०६५ भाद्र १८ गते राजमुपाले नेपाल बन्द गर्दा उनी एक हप्ता सम्म प्रहरीको हिरासतमा बस्ने राजमुपाको नेताको तर्फबाट उनि पहिलो ब्यक्ति पनि हुन । पार्टी बिभाजन बारे उनीसँग राज्यसत्ताको राउन्ड टेबलमा भएको संवाद ।  

राज्यसत्ता : नयाँ पार्टी दर्ता गर्न लाग्नु भएछ,के हुँदै छ्?कोको हुनुहुन्छ?

शिवलाल :- हामीले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निबेदन दिएका छौ। प्रकृया अगाडी बढ्दैछ। हाम्रो नयाँ दल राष्ट्रिय जनमुक्ती पार्टी(लोक्तान्त्रिक)नेपालको केन्द्रिय तदर्थ समितिमा राजामुपाका पुर्व उपमहासचिव चन्द्रबहादुर श्रिश,केन्द्रिय सदस्यहरु लालबहादुर राना,टोपबहादुर बलाल,सानुबाबु लामा,धर्म छन्त्याल्(मल्ल) ,सुबास राइ र संघीय मगरात मन्च संयोजक जनकलाल  थापा लगायतका साथीहरु हुनुहुन्छ। 

राज्यसत्ता:-पार्टीले भर्खरै रजत महोत्सव मनायो   अझै मजबुत हुँदै जानु पर्नेमा तपाईंहरु पार्टी फुटाएर हिंड्नु भयो नि?

शिवलाल :- राजमुपाले अहिले रजत महोत्सव मनाइरहेको अवस्था छ्।लामो ईतिहास बोकेको पार्टी भएता पनि २५ वर्षको ईतिहासमा यो पार्टीले गौरव गर्ने खालको उपलब्धिमुलक कार्य गर्न सकेको छैन।२०४७ बैशाख २३ गते नेपाल जनमुक्ती मोर्चा नामबाट यो पार्टीको स्थापना भयो। त्यसको ठीक दुई महिनापछी तनहुँमा हामीले यो पार्टी स्थापना गरेका हौ। पार्टीको स्थापनाकालदेखी नै हामीले एम.एस.थापा र गोरेबहादुर खपाङ्गिलाई नेताको रुपमा स्विकार गर्दै आएका हौ। जब २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले कु गर्‍यो,त्यसपछी बदलिदो परिस्थिती अनुसार राजाले मन्त्री हुन चाहने राजनीतिक दल,स्वतन्त्र नागरिक,बुद्धिजिवी,पत्रकार सबैलाई मन्त्रिको लागि आह्वान गर्‍यो ।

त्यो बिषयमा छलफल गर्न राजामुपा को बैठक बस्यो। पार्टीले राजाको कदमलाई समर्थन गर्ने कि नगर्ने  भन्ने बिषयमा छलफल गर्दा हामीले यो कदमलाई समर्थन गर्नु हुँदैन भनेका थियौ। तर अध्यक्ष एम.एस.थापाले जसरी पनि राजाको कदमलाई समर्थन गर्नु पर्छ भन्ने जिद्दी गरेपछी सोही प्रस्ताब पारीत भयो। अनी मन्त्रिको लागि कती जनाको नाम दरबार पठाउने भन्ने सल्लाह हुँदा १२ जना केन्द्रिय सदस्यको नाम पठाउने सल्लाह भयो। त्यतिबेला अध्यक्षले के प्रस्ताब् पनि ल्याउनु भयो भने दरबारमा १२ जना केन्द्रिय सदस्यको नाम जादै छ्। मन्त्री भए पनि नभए पनि भविष्यमा पार्टीभित्र आउने सुबिधाहरुमा यि १२ जना केन्द्रिय पदाधिकारी र सदस्यहरुले दाबी बिरोध गर्न पाइदैन ।

१२ जना बाहेककालाई भाग पुगेपछी मात्र यो १२ जनाले पाउछ भनेर पार्टीमा निर्णय भएको छ्। १२ जना मध्य एम.एस.थापाको नाम १ नम्बरमा गएको छ्। १ नम्बरमा नाम भएपछी मन्त्री पक्कै हुन्छु भन्ने उहालाई लागेको रहेछ। तर ३ नम्बरमा नाम भएको गोरेको नाम आयो। हामीले सोचेका थियौ कि अध्यक्ष होस् या महासचिव जो भए नि ठिकै छ् भनेर। तर गोरे मन्त्री भए पछी एम.एस.बौलाएको कुरा त हामी सबैलाई थाहा भएकै हो। त्यसपछी २०६४ सालमा  संबिधानसभाको चुनाव भयो। राजमुपाले दुई सिट पायो। पार्टीले कसलाई पठाउने भन्ने बारे केन्द्रिय समितीमा छलफल भयो। त्यतिखेर अध्यक्ष एम.एस.थापा नै सभासद खानको लागि तम्सिनु भयो।

अरु सबै साथीहरुले उहालाई पठाउनमा सहमती गर्नु भयो। तर मैले असहमती जनाए। मैले दरबारमा १२ जनाको नाम गएको र त्यतिखेर पार्टीमा भएको निर्णयले एम.एस.थापा जान पाइदैन।अरुलाई पठाउनु पर्छ भनेर कुरा उठाए।त्यसपछी तत्कालिन महासचिव बयानसिङ राइ र अध्यक्ष कानेखुसी गर्नु भयो। त्यसपछी महासचिवले त्यो रजिस्टर हरायो भन्नु भयो। अनी मैले बिरोध गर्दा गर्दै एम.एस.ले जबर्जस्ती आफु सभासद भएको निर्णय गर्न लगायो। यो कुरा तत्कालिन महासचिव बयानसिङ राइ सँग सोधे थाहा हुन्छ। त्यही समय देखी नै अध्यक्ष एम.एस.थापाको मलाई हेर्ने दृष्‍टिकोण राम्रो भएन।२०६७ मा पार्टीको चौथो राष्ट्रिय महाधिबेशन भयो। पार्टी सामुहिक नेत्रित्वमा गयो। बिधान सोही अनुसार बन्यो। तर व्यबहार तानाशाही नै रह्यो। हामीले मुलुकको परिवर्तन अनुसार पार्टीले छलाङ मार्ने किसिमले कार्यक्रम बनाएर अगाडि बढ्ने सल्लाह दियौ। तर उहाले सुन्नु भएन।

२०७१ कार्तिक १४ र १५ गते हेटौंडामा भएको १४ औ बैठकमा पार्टीलाई अग्रगामी ढंगले अगाडि लान पर्‍यो भनेर हामीले प्रस्ताव गर्यौ। उल्टै उहाले १९ दलिय मोर्चा र ३० दलिय मोर्चाको आन्दोलनमा जान हुँदैन भनेर प्रस्ताव ल्याउनु भयो। हामीले अहिलेको परिस्थिती अनुसार आन्दोलन छोड्न नहुने कुरा राख्यौ। बहुमतको निर्णय अनुसार पार्टीले आन्दोलनमा भाग लिने निर्णय भयो। हिजो २०६२/६३ को आन्दोलनमा पनि हामीले ७ दलिय मोर्चाको आन्दोलनमा जाने सल्लाह दिएका थियौ। तर अध्यक्षको एकलौटी निर्णय अनुसार राजाले चालेको कदम ठीक छ् भनेर जबर्जस्ती निर्णय गरायो। अझ उहाले रेडियोमा राजाको कदमको समर्थन गर्दै अन्तर्वाता दिनु भयो। यि र यस्तै कारणले पार्टीभित्र हामीले असहमती जनाउदै आयौ। तर नेत्रित्वमा सुधार होला भन्दा उल्टै हामीलाई कारबाही गर्दै गयो।

अन्तमा हामीलाई कि सभासद छोड कि पचास् पचास् लाख ल्याउ भन्नु भयो। सभासद मात्र होइन पार्टीबाट नै राजिनाम माग्न थाल्नु भयो। पार्टी छोड्नु हाम्रो बाध्यता हो। आफु पदमा रहदा सबै ठीक आफुले नपाएपछी बेठिक भन्न राम्रो हुँदैन। जुन दिन हामी सभासद भएर संबिधानसभामा गयौ त्यही दिन देखी पार्टीबाट हामीलाई सहयोग कहिल्यै भएन। २५ बर्ष सम्म पसिना बगाएको पार्टीलाई छोड्न कसलाई मन लाग्छ र। यो त हाम्रो बाध्यता हो।

 राज्यसत्ता:- ३० दलिय पहिचान र संघीय  पक्षधरको आन्दोलन चर्किदै गर्दा नयाँ पार्टी खोल्नुको कारण र उद्धेष्य के होला?  

शिवलाल:- पार्टीको स्थापनाकालदेखिनै आदिबासी जनजाती,दलित,महिला,मुस्लिम,मधेसिको पहिचान र अधिकारको कुरा उठाउदै आएका हौ। अहिले सम्म यही मुद्दालाई हामीले आत्मसात गरिरहेका छौ। हामी संबिधानसभामा किन आएको हौ भने हाम्रो मुद्दालाई अब बन्ने संबिधानमा स्थापित गराउनको लागि र संबिधानसभाबाट नै संबिधान लेख्नको लागि आएका हौ। संबिधानसभाबाट पहिचान र अधिकार सहितको संबिधान दिन नसक्ने परिस्थिती आएकोले नेपाली जनताले हामीलाई पठाएका हुन। उनिहरु सँग नै सोध्नु पर्छ भनेर हामी अहिले सडकमा छौ। दलहरु फुट्नु र जुट्नुले यो आन्दोलनलाई कुनै असर पर्दैन।हामी जहाँ रहे पनि सङ्घियता,गणतन्त्र,धर्मनिरपेक्ष र समानुपातिक प्रतिनिधित्वको बारेमा हामीले कसै सँग सम्झौता गर्दैनौ। अहिलेको आन्दोलनलाई हाम्रो पूर्ण समर्थन रहने छ्। नयाँ पार्टी खोल्नुको कारण त धेरै छन। प्रमुख त राजनीतिक बिचलन र नेत्रित्वको कार्यसैली नै प्रमुख हो। अन्यमा पार्टीमा बसेर काम गर्न सक्ने बातावरण नै भएन। २५ बर्ष सम्म एउटै पार्टीमा बस्न सक्दा अहिले तत्कालै छुट्टीनु पर्ने बाध्यता आउनु यो दु:खद कुरा हो। हामीलाई पनि दु:ख लागेको छ् ।      

 राज्यसत्ता :- के यसरी पार्टी फुटाउदै हिडदा आदिबासी ,दलित,मधेसी,महिला,अल्पसङ्ख्यक,उत्पीडित समुदायले मुक्ती पाउलान ?     

शिवलाल:-बिगत २५ बर्षको ईतिहासमा हामीले आदिबासी जनजाती,दलित,महिला,मुस्लिम,मधेसी, सिमान्तक्रित,अल्पसन्ख्यक र उत्पीडित समुदाय्को पहिचान र अधिकारको लागि जुन मुद्दा बोकेर सङ्घर्ष गर्दै आयौ। आज त्यो मुद्दाले सार्थक रुप लिन सकेन। राजामुपाले त्यो मुद्दालाई सही ढंगले सम्बोधन गर्न सकेन। सार्थक कार्यक्रम पार्टीले दिन सकेन।हामीले पटक पटक यी  उत्पीडित समुदायलाई लक्षित गरेर कार्यक्रम ल्याउन पार्टी नेत्रित्वलाई सल्लाह दियौ। तर कुनै सुनुवाई भएन। अबका भाबी दिनमा यिनलाई समेटेर यिनिहरुको समस्या समाधान गर्ने खालको कार्यक्रम हामीले ल्याउदै छौ। मुलुक भर छरिएर रहेका अल्पसन्ख्यक,सिमान्तक्रित आदिबासी जनजाती, दलित,महिला,मुस्लिम,मधेसी र उत्पीडित वर्ग सबैलाई एक ढिक्का गरेर अगाडि बढ्ने हाम्रो कार्यक्रम रहने छ्।

राज्यसत्ता :- राष्ट्रिय जनमुक्ती पार्टी कछुवा गतिमा हिंडेकोले पार्टी छोड्नु भएको त होइन ?

शिवलाल :- राजमुपा कछुवाको गतिले हिंडेको कारण हामीले पार्टी परीत्याग गरेका होइनौ। अलिकती त पार्टीको जुन आदिबासी जनजाती,महिला,दलित,मुस्लिम,मधेसीलाई हेर्ने दृष्‍टिकोणमा पार्टी विचलन हुन लागेको हामीलाई महसुस भयो। यो बिषयमा हामीले धेरै सुझाब राख्यौ। तर कुनै सुनुवाई भएन। अध्यक्षको कार्यसैलिमा कुनै परिवर्तन हुन सकेन। पार्टी झनझन अप्ठ्यारो स्थितिमा पुग्यो। हामीले काम गर्ने सहज बातावरण भएन। त्यसैले हामीलाई बाध्यता पर्यो। 

राज्यसत्ता :- राष्ट्रिय जनमुक्ती पार्टी सँग कुन कुन कुरामा मतभेत भएको हो ?

शिवलाल :- पहिलो कुरा त उत्पीडित वर्गको पक्षमा पार्टीको जुन लाइन थियो। त्यसैमा पार्टीले आफ्नो लाईन छोड्दै गयो। आदिबासी जनजाति,दलित, महिला,मुस्लिम र मधेसिको मुद्दालाई पनि त्याग्दै जान थाल्यो। अर्को कुरा अध्यक्षको कार्यसैलिमा कहिल्यै परिवर्तन भएन। आफ्नो वरीपरी घुम्ने केही मुट्ठिभर आसेपासेलाई लिएर कोठे राजनीति गर्न कहिल्यै छोड्नु भएन। हाम्रो सुझाबको कहिल्यै कदर भएन। पार्टीको हिसाब किताब कहिल्यै पारदर्षी भएन। पार्टीका नेता कार्यकर्ता दिनप्रतिदिन बिस्थापित हुँदै जादा पनि नेत्रित्वको ध्यान गएन। पार्टीको बैठकमा राष्ट्रिय राजनीतिको बिषयमा कहिल्यै बहस भएन। गत सालदेखी त के देखियो भने दुई सभासद पद कसले किन्ने भनेर अध्यक्षले बिज्ञापन गर्दै हिंडेको पाइयो। पार्टीका नेता कार्यकर्ता बिचमा झगडा गराइ पार्टीलाई कम्जोर पार्ने खेल शुरु भयो।नेत्रित्वप्रती सबैको विश्वाश गुमी सकेको अवस्था छ्। अहिले तत्काल नयाँ दलमा नआएता पनि ढिलो चाडो राजमुपका ७५% केन्द्रिय नेताहरु नयाँ दलमा आउछन। अहिले म सँग केही नेता बाहेक सबै केन्द्रिय नेताहरुको संपर्क भईरहेको छ ।    

राज्यसत्ता :- तपाईंहरुलाई सभासद बनाउदा केही अवधीको लागि मात्र दिएको तर तपाईंहरु त्यो पालना नगरि आफु मात्र पद खाएर बस्ने हेतुले नयाँ पार्टी गठन गरेको आरोप छ् नि ? 

शिवलाल:- बिपक्षहरुले नानाथरिका आरोप लगाउनु त स्वभाविक नै हो। त्यसलाई हामीले सहज रुपमा लिएका छौ। यथार्थ केहो भने २०७० मङ्सिरमा भएको संबिधानसभा(दोस्रो) को निर्वाचनको परीणाम अनुसार राजमुपाले दुई सिट प्राप्त गरेपछी पार्टी केन्द्रिय समितिको बैठक २०७० पुष १९ गते बस्यो। कसलाई पठाउने भन्ने बिषयमा छलफल भयो। धेरै केन्द्रिय नेताहरु सभासद हुन इच्छुक भएपछी दुई पदको लागि झगडा नगरौ। सहमती गरेर एक एक बर्ष खाने भन्ने भयो।भोलिपल्ट २० पुषमा बसेको केन्द्रिय समितिको बैठकमा पहिलो बर्ष को जाने भन्ने बिषयमा छलफल हुँदा सबै जना पहिलो बर्षमा जाने भएपछी अघिल्लो दिनको सहमती टुट्यो । पार्टीभित्र निर्वाचन हुने भयो।पुस २१गते निर्वाचन भयो। नतिजा अनुसार म निर्बाचित भए। होमाया गुरुङ र म दुवै जना जनजाती समुहको भएकोले निर्वाचन आयोगले मानेन। फेरी हामी दुई बिच को जाने भन्ने बिषयमा छलफल भयो। अन्तमा हामी दुई बिच सहमती हुन सकेन। आखिर निर्वाचन भयो। परीणाम अनुसार मैले जिते। यसरी सहमती तोडेर दुई दुई पटक निर्वाचन गराइ सकेपछी एक एक बर्षको सहमती थियो भन्न मिल्छ? अध्यक्ष आफु भए पुरै खाने अरु भए एक एक बर्षको कुरा गर्ने? हाम्रो असहमती पदको लागि होइन। अध्यक्षको कार्यसैली र सैद्धान्तिक बिचलन प्रती हाम्रो असहमती हो।

राज्यसत्ता :-  यसमा भित्री र बाहिरी शक्ती केन्द्रहरुको चलखेल् छ् भनिदै छ् नि?

शिवलाल :-यी सबै वाहियात कुराहरु हुन। असह्य भएको बेलामा कार्यर्ताहरुको ध्यान् केन्द्रित गरेर मलमपट्टी लगाउने प्रयास मात्र हो। यो भनाइमा कुनै तुक छैन। हिजो राजमुपालाई राजाबादी भन्ने गर्थे। के त्यो सत्य थियो त? साच्चै भन्ने हो भने राजमुपाभित्रका केही नेताहरु अझै पनि पुर्व राजा ज्ञानेन्द्रबाट सन्चालित छन।

राज्यसत्ता :- अहिले निर्वाचन आयोग र संबिधानसभामा अध्यक्ष कहाँ तपाईंहरुको सभासद पद खारेजको निबेदन गएको खबर छ् नि ?

शिवलाल :- हो,अहिले राजामुपाले संबिधानसभामा अध्यक्षलाई भेटेर सभासद फिर्ताको लागि निबेदन दिएको छ्। त्यसरी नै निर्वाचन आयोगमा पनि नयाँ दल खारेजको लागि निबेदन दर्ता गराएको खबर पाएका छौ।

राज्यसत्ता :- आगामी रणनिती के हुनेछ ?

शिवलाल :- सर्वप्रथम त राजमुपा भित्रका असन्तुष्ट केन्द्रिय नेताहरुलाई पार्टीमा प्रबेश गराउछौ। त्यसपछी बिगतदेखी पार्टी बाहिररहेका पुराना साथीहरुलाई पनि समेटेर ल्याउने कार्यक्रम बनाउछौ। १५ टुक्रामा टुक्रिएको राजामुपालाई पनि अट्न सक्ने बातावरण तयार गर्छौ। त्यसपछी राष्ट्रिय भेला डाक्छौ। त्यसले एउटा बलियो केन्द्रिय समिती निर्माण गर्नेछ। त्यसपछी सभासदहरुको भूमिका संबिधानसभाभित्र पहिचान र अधिकार सहितको संबिधान निर्माण गर्नेमा केन्द्रित रहन्छ भने अन्य केन्द्रिय नेताहरु जिल्लामा खटिने छन। पार्टीको संगठन बिस्तार र प्रशिक्षाण दिने छन। साथै जनताको जनजिविकाको सवालमा महत्वपूर्ण भूमिका खेल्ने छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %