थापा शिवलाल : भत्ताको दलाल

Read Time:8 Minute, 37 Second

शान्तीदेवी राई

मार्च १३, २०१५ 

बदमासी गर्नुको पनि एउटा सिमा हुन्छ । त्यो सिमा नाँघेर लोकमञ्चमा सभाषद शिवलाल थापा निर्वस्त्र नाङ्गिएका छन् । उनले इमान्दारीता, नैतिकता, जिम्मेवारीको आभूषणलाई मिल्काइदिएका छन् । तीरस्कार र घृणाको टालोले मात्र उनले लाज छोप्न खोजेका छन् । हजारौ निर्दोष तथा मुक्तिकामी कार्यकर्ता तथा जनताहरुलाई धोका दिएका छन् शिवलाल थापाले, नाथे त्यो सभाषदको भत्ता जोगाउन । 

यिनलाई जती निन्दा गरेपनि त्यो पर्याप्त हुनेवाला छैन । शब्दकोषमा त्यस्तो निन्दाको कुनै शब्दहरु नै छैनन् । यो मोडमा आएर उनले पार्टीलाई यसरी धोका दिनु यो उनको नीचता हो । यो उनको लाचारीको पराकाष्ठ हो । यसलाई समयले न्यायको कठघरामा कुनै दिन अवश्य उभ्याउने छ ।
वास्तवमा यिनले पार्टी फुटाएका हुदैहोइन, आफु बाहिरिएका हुन् । पार्टीमा एकसेएक जुझारु कार्यकर्ता र नेताहरु छदैछन् । पार्टी फुटाउन ४० प्रतिशत केन्द्रीय समितिका सदस्यहरु अवश्यक पर्दछ । तर तीनले ४ जना पनि नेतालाई डोर्याउन सकेका छैनन् । जति छन् एक कप चियामा बिक्ने भिखारी सिवाय उसको साथमा अरु कोही छैनन् ।

पार्टी चलाउन विचार र सिद्धान्त चाहिन्छ । शिवलाल थापा आफै वैचारिक मानिस नै होइन । न उनीसंग त्यस्तो कार्यक्रम दिनसक्ने खुबी छ । न उनी त्रिकालदर्शी नै हुन । वास्तवमा ‘शिवलालले जनमुक्ति पार्टी बनाएका होइनन् बरु जनमुक्ति पार्टीले शिबलाल लाइ बनाएको हो’ । (तर अब यस्तो शिबलाल थापा जस्तो चाहिं पार्टीले उत्पादन गर्न नपरोस् ।) त्यसो भएको हुदा उनको बहिरगमनले पार्टीमा कुनै त्यस्तो भूइचालो आउनेवाला छैन । खपाङ्गी जस्ताको बहिरगमनले त केही हुन सकेन भने यस्ताको के कुरा ।

फुलको गुच्छामा गुहेकिरा घुस्रिएर बसे त्यो भक्तजनहरूको हातबाट झुक्किएर मन्दिरमा चढिनपुग्छ । हो, शिवलाल त्यही गुहेकिरा थियो भने जनमुक्ति पार्टी फुल । जनमुक्ति पार्टीरुपी फुलको रासमा त्यो गुहेकिरा कहीकतै अल्झेर बसेको थियो र जनमुक्ति पार्टीको प्रतिनिधि भएर संविधानसभामा छिर्नपुगे । तर अहिले आफैले खाने थालमा उनले विष्टाउन पुगेका छन् । उनी किसानलाई डस्न हरियो घासमा लुकेर बसेको हर्यौ साप जस्तै हुन् । उनले हजारौ कार्यकर्ताहरुको भावनामा डस्ने दुस्प्रयास गरेका छन् । गधालाई धुएर गाई बन्न सक्दैन । यिनलाई कार्यकर्ताहरुले नेता बनाउन चाहेका थिए । तर गधै भएर रहने भो । छुचुन्द्रोलाई चमेलीको तेल दलेर त्यो गन्हाउन छाड्ने होइनरहेछ । कार्यकताले उनलाई मान सम्मान दिन खोज्दा पनि उनी दुर्गन्धित हुनैपुगे । तिनले लोकलाई हसाए । विरोधीलाई क्षणिक राहत दिए । त्यसको परिणाम उनले एक दिन भोग्नु नै पर्नेछ ।

आखिर किन शिवलालले गद्दारी गरे ?
छोटा मानिसको छोटै बुद्धि । सभाषद छानिने बेलामा एक वर्षको लागि भनेर आफैले सहमति गरे । उनकै सर्त अनुसार उनी छानिए । सभाषद भएर पनि उनले संविधानसभामा खेल्नुपर्ने भूमिका राम्ररी निभाइरहेका थिएनन् । एक कर्मचारीको रुपमा विहान दश बजे सिंहदरबार जाने र बेलुका फिर्ने प्रकृयामा नै उनले आफुलाई सिमित राखे । पार्टीको विचार लिएर संविधानसभामा वकालत गर्नु तिनको विवेकले भ्याउदैन थियो । यसले उनी आफै आत्मग्लानी भैरहेको थियो । यसरी आफ्नो कुनै योगदान नभइरहदा पार्टीले फिर्ता बोलाउन सक्छ र सभाषद पद खुस्किन सक्छ भन्ने भयले उनले संसदीय दललाई कब्जामा लिन खोजेका हुन । तर यता जनमुक्ति पार्टी एक ढिक्का छ । समुन्द्रबाट कसैले एक दुई लोटा पानी झिक्दैमा समुन्द्र सुक्ने होइन ।
अर्को कुरा, यिनले हावामा महल बनाएका छन् । पार्टी सरकारको विपक्षमा छ । पहिचानसहितको संघीयताको लागि पार्टी संघर्षशील छ । यस्तो अवस्थामा सरकारलाई समर्थन गरे आफुलाई सुशील कोइरालाले मन्त्री बनाइदिन सक्ने उनको आशा छ । तर उनको यो आश झरेर खाउला भन्नुमात्र हो । यदि भोली संविधानसभामा भोटिङ भैहाले रकमको सौदावाजी गर्नसकिन्छ भन्ने उनको अर्को घटिया सोच हो । नत्र, अरु केही नभए बाँकी तीन वर्ष सभाषद पद आफैले पड्काउने उनको अन्तिम दाउ हो । नीहित कुरा यही हो । तर त्यो पछि के गर्ने ? उनको बुद्धिले भ्याएको छैन ।
पार्टीलाई विभिन्न आरोप लगाएर उनको त्यो स्वार्थलाई विषयान्तर गर्न खोजे पनि उनको नियत प्रष्ट छ । जनमुक्ति पार्टी सैद्धान्तिक रुपले अटल छ । न यहाँ परिवारवाद छ न त कसैको हैकमवाद नै । पार्टी सामुहिक नेतृत्व चलेकै छ । नत्र हवल्दार पनि नसुहाउने शिवलाल यो पार्टीको वरिष्ट उपाध्यक्ष कसरी हुनसक्थ्यो ?

योगदान कै कुरा गर्ने हो भने यो पार्टीमा लाग्ने हामी सबैको यिनको भन्दा कम योगदान छैन । यिनले त पुलिस र मस्टर हुदै पेन्सन खादैछन् । अरु कार्यकर्ताहरु दिनरात भोकै र तिर्खै यो पार्टीमा लागेका छन् । उनीहरुले आफ्नो भविष्य जनमुक्ति पार्टीलाई नै बनाएका छन् । उठदा, बस्दा, सुत्दा र हिड्दा जहिले पनि उनीहरुको भावना र रगतमा जनमुक्ति प्रतिको झुकाव संचारित भएको छ ।
शिवलालको वहिरगमनले हामी कोही पनि विचलित हुनुपर्ने अवस्था छैन । तिनको पछि कोही लाग्नेवाला छैनौ । जो लाग्छन् , बुझे हुन्छ, ती मान्छेहरु लठुवा हुन् । खरिद गर्न राखिएको राँगा–खसीको हैसियतका हुन् । यस्ता मानिसलाई समाजिक वहिस्कार गर्नुपर्दछ । इतिहासमा कलंकको दागको रुपमा उल्लेख गर्नुपर्दछ ।

म विश्वस्त तुल्याउन चाहन्छु, जनमुक्ति पार्टी आफ्नो लक्ष्यमा नपुगेसम्म विश्राम लिने छैन । शिवलाल जस्ताको प्रवृतिले यो पार्टीलाई केही गर्नेवाला छैन । कुनै कार्यकर्ता तथा शुभचिन्तकहरु विचलित हुनुपर्ने अवस्था छैन । यो शरीरमा एक थोपा रगत र एक मुठ्ठी स्वास रहून्जेल यो पार्टीको झण्डा फर्फराइरहने छौ । एक दिन यो पार्टीले राष्ट्रपति र प्रधानमन्त्री जन्माउने नै छन् तर शिवलाल जस्ता गद्दार अवश्य जन्माउने छैनन् ।

(लेखक राष्ट्रिय जनमुक्ती पार्टिकी संघिय परिषद {केन्द्रिय} सदस्य हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %