नेपाल मगर संघ ३३औँ मगर दिवससम्म आइपुग्दा

Read Time:20 Minute, 6 Second

सन्दर्भ :मगर दिवस 

बिजय हितान

४ मार्च २०१५
मगर दिवस कुनै ब्यक्ति बिशेषको जन्म दिन हो कि भनेर मानिसहरु झुक्किन सक्छन् तर त्यसो नभएर यो दिवस नेपाल मगर संघ स्थापना भएको दिनलाई (फाल्गुन १५) भनिन्छ । यसलाई मगर एकता दिवस भनेर पनि बुझ्न सकिन्छ । २०३९ फाल्गुन १४, १५, १६ मा दमौलीमा बसेको रास्ट्रिय अधिबेसनले यस संगठनलाई नेपाल लाङ्घाली परिवारको नामले स्थापित गर्यो र त्यो दिनलाई लाङ्घाली दिवस भनियो । २०४८ सालमा संस्थाको नाम नेपाल मगर संघ भनेर परिवर्तन गरेपछी यस दिवसलाई पनि मगर दिवस भनिन थालियो । जनजाति मध्यको सबैभन्दा ठुलो जनसंख्याको प्रतिनिधित्व गरेको यस संघको इतिहास आज ३३ बर्ष पुगेको छ । यहासम्म आइपुग्दा यसले संघर्षपूर्ण दिनहरु पारगर्दै चुनौती सामना गरेको छ भने, अर्कोतर्फ केही उपलब्धी पनि कमाएको छ । ती सफलताका पछाडी कस्ता रणनिती अपनाइएका थिए ? यसको भबिस्य कतातीर डोरिएको छ ? यस ३३ औँ मगर दिवसको घडी पारेर उपरोक्त बिषयहरूमा समिक्ष्या गर्नुपर्ने आवस्यक्ता देखिन्छ ।

मगर संघको स्थापनाकाल  संघर्षपूर्ण 

२०३९ भन्दा झन्डै एक दशक अघिदेखी रास्ट्रिय स्तरको संगठन खोल्ने थुप्रै अभ्यासहरू भईसकेका थिए । आजको अवस्थामा ल्याईपुर्याउन त्यतिबेलाका अग्रजहरूले ठुलै संघर्ष गर्नुपरेको थियो । ती कठिनाइका प्रमुख कारणहरू यस समुदायको अत्यधिक जनसंख्या अशिक्षित , चेतनाको कमी, भौगोलिक र साँस्कृतिक बिबिधता इत्यादी थिए । अर्को थियो साम्प्रदायिकताको आक्षेप । आफ्नो जातको सामाजिक उत्थानकोलागि खोलिएको संगठनलाई सरकार र राजनैतिक पार्टीहरूले साम्प्रदायिकताको छाप लगाएर प्रतिबन्ध र निरुत्साहित पार्ने गर्थे अहिलेको पहिचान र संघीयता बिरुद्द जातिय र बिखन्डन्कारीको आरोप लागे जस्तै । वार्षिक भेला र चेतनामुलक कार्यक्रमको आयोजना गर्दा स्थानीय प्रहरी र जिल्ला सीडियो कार्यालयले रोक लगाउँथ्यो । यस्तो अवस्थाबाट गुज्रिरहेको संगठनलाई निरन्तरता दिंदै बलियो राख्न कुशल रणनिती अपनाउन अती जरुरी थियो । 

सरकारको नकरात्मक हेराइलाई निरुत्साहित पार्न मगर अग्रजहरूले संघको उद्देस्य र क्रियाकलापहरू बडो सतर्ककासाथ अगाडी ल्याउनु पर्थ्यो । सरकार पक्षसँग सहकार्य नगरि यो संभव थिएन । त्यसैले संघको एजेन्डा कुनै राजनैतिक हक र अधिकार नभै सामाजिक उत्थान हुने गर्थ्यो । अहिलेको जस्तो पहिचान, समाबेशी र राजनैतिक हक, अधिकारका कुरा गरिएको भए आजको मगर संघ नै रहने थिएन होला । आफ्नो इतिहासको उत्खनन्; भाषा, संस्क्रित र भेष-भुषाको सम्रक्षण यसका मुख्य उद्देस्यहरू थिए ।
संघको नेत्त्रित्व चयन पनि बडो होसियार पुर्र्वक गर्नु पर्थ्यो । संगठनलाई नयाँ विचार दिने भन्दा पनि कसले सरकारसँग सहकार्य गरेर संगठनलाई बचाएर राख्न सक्छ भन्ने ब्यक्ति नेत्रित्वो ल्याउनु पर्ने हुन्थ्यो । यसलाई मध्यनजर राख्दै नेपाल प्रहरीका निव्रित अधिक्रित हेमबहादुर् पुनलाई संघको प्रथम अधक्ष्यमा ल्याइयो । दोस्रो अधिबेशनपछी राजा निकटतम रास्ट्रिय पञ्चायत सदस्य कबिराज पुनलाई अधक्ष्यमा चयन गरियो ।
सुरेश आले र जयबहदुर हितान संघभित्र दिर्घकालिन निति निर्माण गर्ने, संगठनिक सुधार ल्याउने र कुशल रणनिती तर्जुमागरि कार्यानवयन गराउने थिन्क ट्याँकहरू मध्येका थिए । यी दुई ब्यक्तिहरू क्रमश काँट्टी कम्निस्ट र कङ्रेस राजनैतिक विचार धाराका थिए । यद्धपी समाजको लागि भनेर् यी ब्यक्तित्वहरू पर्दा पछाडिबाट क्रमश महासचिव र सचिव (२०३८ देखि २०४८ सम्म) पद सम्हालेर काम गरे । ३ कार्यकाल केन्द्रिय समितिमा बसेर कम्प्युटरको सी पी यु जस्तै बनेर नेपाल मगर संघलाई हाँके भन्दा कुनै अत्युक्ती नहोला । यी दुईका अलवा अन्य राजनैतिक पृष्ठभूमी भएका कार्यकर्ताहरू संघको कार्यक्रममा आउँदा आ-आफ्नो राजनैतिक सिद्दान्तहरू संघार बाहिरै छोडेर भित्रिन्थे । त्यसैले होला यो संघ त्यतिबेला अपेक्षा गरेभन्दा बढिनै क्रियाशिल, सक्षम र एकताको प्रतिक मानिएको । आजको दरिलो मगर संघ बिस्वभरी देखिन पाइएको छ ।

मगर संघको उपलब्धी
तीन दशक धेरै लामो अवधी हो । यस समयावधिभित्र मगर समुदायमा केही उल्लेखनिय कार्यहरू भएको देखिन्छ । सबैभन्दा ठुलो उपलब्धि त एक सन्जाल खडा गराएर पूर्व-पश्चिम र देश-बिदेशमा छरिएर रहेका मगरहरुमा एकता स्थापित भएको छ । दोस्रो, मगरको हराइसकेको पहिचानलाई पुनर्स्थापित गरिएको छ । उतिबेला मगरहरू आफू मगर भन्न र आफ्नो थरको पिछाडी मगर लेख्न हिचकिचाउँथे । तत्कालिन नेपाली समाजमा मगर जात तल गिरिसकेको सम्झन्थे । उच्च सरकारी ओहदामा पुग्ने मगरले थापा, बुडाथोकी, खड्का लेखाएर छेत्री हुन खोज्दथे । तर आज सबै मगर गर्वका साथ मगर हूँ भन्छन । मगर संघको तीन दसक लामो इतिहासमा रास्ट्रिय स्तरका मगर नेताहरू पनि जन्मे । जसले मगर समुदायलाई मात्रै होईन की समग्रमा नेपाली आदिबासी जनजातिका मुद्दालाई नै बोकेर हिँडे । गोरेबहादुर खपाङी , शुरेश आले, जयबहादुर हितान, एम एस् थापा, बमकुमारी बुढा इत्यादी नेताहरु नेपाल मगर संघका प्रतक्ष्य उपज हुन । उहाहरु मगर समुदायका अगुवा र राजनीतिक नेता मात्रै होईनन की नेपाली आदिबासी जनजातिमा परिवरिवर्तनका पथपर्दशक नै थिए भन्दा हुन्छ । आजको आदिबासी जनजाति आन्दोलन यीनैका सिद्दान्त र दर्शनको परिणाम हो भन्दा अत्युक्ती नहोला । रामबहादुर थापा, बर्शमान पुन साथै अन्य नेताहरू यसका अप्रतक्ष्य उपज हुनसक्छन् ।
यस तिस बर्षे कालमा लखन थापा, मास्टर मित्रसेन र जितबहादुर सिन्जालीलाई इतिहासबाट खोजेर ब्युँताइएको छ । भाषा, संस्क्रिती, धर्म जोगाउन र उत्खनन गर्न डा.हर्ष बुडा, खड्कजित बराल, बी के राना साथै अन्य दर्जनौँ युवा बिद्वानहरू जन्मायो । यसले मगरहरूको धार्मिक पहिचान के होला भन्नेमा पनि व्यापक अध्ययन गरी परापुर्वकालदेखी अहिले सम्म मगरहरुको साम्पियता बुद्द धर्म सँग रहेको तथ्य अगाडी ल्याइदिएर धार्मिक रुपमा मगरहरुको पहिचान बुद्द धर्मावलम्बी थियो र हो भन्नेमा आन्दोलन चलायो फल्स्वोरुप यो समुदायमा अहिले धार्मिक हिसाबले बुद्द धर्म प्रती आकर्षणको लहर बद्ददो छ ।

नेतवोर्किङ श्रिब्रिद्दी सँगसगै एकतामा दरार
यसका निकायहरू नेपालका पचहत्तरै जील्लामा टोल, गाउँ देखी वोडामा छरिएकाछन् । एक दर्जन जति भात्री संस्था जन्मेका छन् । बिस्वका अठार मुलुकहरुमा पनि यसका संगठनहरू खोलिएका छन । यस्तो बिस्तारले बिबिधता त ल्याएको छ नै साथै जटिलताको बादलपनी मन्डारिएको अवस्था छ ।नेपाल मगर संघले मुल दायित्व भूलेर राजनैतिक हक र अधिकार प्रति बढी लगाव राख्दा कतै बैधानिक गन्तब्यलाई बिर्सेंको भन्ने आलोचना पनि खपेको अवस्था छ । सामाजिक मुल्य र मान्यताका कुरालाई प्राथमिकता दिनु भन्दा राजनैतिक सिद्दान्तका भाषणले मगरहरुमा बिभाजन आएको महसुस गरिएको छ । पहिला जुन बलियो एकता थियो त्यसमा ह्रास आएको अनुभव गरिएको छ । मगरहरूले राजनीति गर्नु पर्छ, गर्ने हो भने, छुट्टै एक राजनैतिक पार्टी खोलेर राजनीतिमा सहभागी हुनु पर्ने बिज्ञहरु बताउँछन । राजनीति आन्दोलन गर्ने मगर संघका एक कार्यकर्ता अहिलेको समयको माग नै यस्तो रहेको तर्क गर्दछन । यसै बैचारिक मतभिन्नताले मगरहरुको एकता खलबलिएको देखिन्छ । यद्धपी राजनैतिक मुद्दामा एकजुट भई आन्दोलनरत छन् र यसले पहिचान सहितको संघीयता स्थापित हुने कुरामा बिस्वस्त छन् ।

 

बौद्दिक लगानीमा संघको इन्ट्रेस्ट  कम  सस्तो मनोरन्जनमा  बढी 

अहिले पनि बैठक बस्ने, भोज खाने, नाच-गान गरेर र जुलुस प्रदसन गरेर प्रायजसो यस संगठनका कार्यक्रमहरू सन्चालन भएको पाइन्छ । कुनैपनि बिषयमा बौद्दिक विचार गोस्ठि, वा कुनै स्रिजनात्मक या कलात्मक कार्य गरिएको बिरलै पाइन्छ । जतिपनी एकाध श्रीजना , कला, संगित र बौद्दिक छेत्रका काम भएका छन् की ती निजी ब्यक्तिगत तर्फबाट भएका छन् या त सिमित मात्रमा भात्री संस्थाहरुबाट हुन गएको पाइन्छ , नेपाल मगर संघको सङ्लग्नता अती न्युन देखिन्छ । अनि नेपाल मगर संघ र भात्री सँस्थाबिच सहकार्य गरेको कमै पाइन्छ । 

यसो गरे कसो होला 

यतिनै उपलब्धिमा चित्त बुझाएर बस्ने बेला अब छैन । न नै अहिलेका नाजुक पक्षलाई टोलाएर बस्न नै मिल्छ । आजको प्रतिस्प्रधात्मक युगमा मगर समाजलाई सबैभन्दा अगाडि उभ्याउन चाहने हो भने आर्थिक क्रान्ति ल्याउन अती जरुरी देखिन्छ । त्यसोभए आर्थिक आन्दोलनको आवश्यकता किन ? माथि उल्लेख गरिएका उपलब्धिहरु प्राप्त गरेतापनी मगर संगठन अरु सामाजिक संगठनको दाँजोमा सुसुप्त अवस्थामै छ भन्दा गल्ती नहोला । जे छ जस्तो छ त्यसैमा सन्तुस्टी दर्साउने मगर जातीको पहिचानै भएको छ । अब यसरी बस्ने समय छैन । मनन गर्नै पर्ने कुरो के छ भने यस एक्काइसौं शताब्दिको उत्तरआधुनिक युगमा यस समुदायले आर्थिक बिकासमा छलाङ मारेन भने नेपालको सामाजिक परीपेक्षमा सबैभन्दा पिछडिएको जाती भएर रहने छ । 

बि स २०३६/२०३७ तिरै तात्कालिन लांघाली परिवार संघले बिस सुत्रिय कार्यक्रम गाउँगाउँमा कार्यनवयन गरेको थियो । जसमा सामाजिक कुरुतिलाई हटाउनको साथै चाडपर्बमा खर्चालु बानीलाई कम गरी मितब्यायीता अपनाउन सिकाइएको थियो । त्यसैले होला आजका मगर परिवारहरु त्यती फुर्मासी भएको पाइन्न । सानोतिनी बन्दब्यापार, रोजगारमा लागेको र धेरैथोरै आर्थिक बचत गरेका पाईन्छ । तर त्यो धनसम्पत्ति उत्पादनमुलक काममा भने लगाइएको पाइँदैन । त्यत्तिकै फ्रिज भएर बसेको हुन्छ । अब त्यसलाई परिचालन गरेर कतै लगानी लगाउन सिकी दुईको चार, चारको आठ, गरेर ब्रिदी गर्नतिर लाग्नुपर्छ । यस्ता ब्यवसायमा मुट्ठिभरका मगरमात्र नभै अत्यधिक सङ्ख्यामा लागेमामात्र समग्रमा मगर समुदायको नै बिकास हुनेछ ।

जनजातिमा मगरहरु सर्बाधिक जनसङ्ख्या भएको जाती भनेर घमन्ड गर्दछन । तर आर्थिक बिकासको छेत्रमा गुरुङ, राइ लिम्बु भन्दा धेरै पछाडि छन । बाहुन र छेत्रीसँग त तुलनै नगरे हुन्छ । अब यस समुदायले घमन्डनै गर्नु छ भने अबको एक दसकमा आर्थिक उन्नती गरेर देखाउनु छ । अब पनि यो उद्देस्य लिएर मगरहरु अगाडि बढेनन भने पछी परेको परै हुनेछन ।
आर्थिक आन्दोलन कसरी गर्ने त ? अब मगर समुदायले आफ्नो प्राथमिकतामा परिवर्तन ल्याउन अपरिहार्य देखिन्छ । त्यो भनेको मगर समुदायमा आर्थिक बिकासको आन्दोलन हो । नेपाल मगर संघको बिधाननै संसोधन गरी आर्थिक आन्दोलनलाई शिर्श स्थान दिइनु पर्दछ । यसको आशय यो होइनकी माथि उल्लेख गरिएका आधारभुत मुल्य र मान्यतालाई निम्रिखै भुलिदिने ! तिनलाई पनि प्राथमिकताको सुचिमा अली मुन्तिर राखेर अगाडि बढदै जानुपर्छ । तर आर्थिक आन्दोलन प्राथमिकताको सुचिमा माथि राखी हरेक तप्का तप्काबाट ढिला नगरि आर्थिक निती निर्माण गर्दै कार्यनवयन गर्नुपर्ने आवश्यकता देखिन्छ । यो कार्य माउ संगठन नेपाल मगर संघले अगाडि बढाउनु पर्दछ ।

अरुको राम्रो कामको अनुसरन गरौ
यस समुदायलाई आर्थिक तवरले सम्रिद गराउने हो भने नेवार समाजको मोडेललाई अनुकरण गर्न सकिन्छ । सामाजिक बिकासको सबै छेत्रमा नेवारहरुको दक्षता र पहुँच हुन्छ । उनिहरु शिक्षित छन । कला संगित र साहित्यमा पनि त्यतिकै अगाडि छन । डक्टर, इन्जिनियर र बैज्ञानीक देखी राजनितिमा पनि उनिहरु त्यत्तिकै दक्खल राख्दछन । तिनिहरु एक सम्रिद समुदायको नमुना हुन ।
बाहुन छेत्री समाजको आर्थिक उन्नतिलाई पनि अनुकरण गर्न सकिन्छ । २० तिस बर्ष अगाडि मात्रै, जजमानी र कृषि पेशा अङ्गाल्ने यस समुदाय सडकमा चिया पसल थाप्ने, ठेलामा तरकारी बेच्ने देखी लिएर, आज नेपालको सम्पूर्ण उद्ध्योग धन्दा देखी बित्तिय संस्था र बैँक यिनिहरुको हातमा छ । नेपालको अर्थतन्त्र नै उनिहरुले सम्हालेका छन । उनिहरुका राजनैतीक पार्टी देखी धार्मिक संगठनहरु गुँठी प्रथामा सन्चालित हुन्छन । यस्ता संस्थामा यी समुदायका मानिसहरुबाट खुल्ला हृदयले चल-अचल सम्पत्ति प्रसस्त मात्रामा चन्दा दिइन्छ । तिनका कोष बलिया छन र ब्याबस्थापन पनि उत्कृष्ट हुन्छ । त्यसैले तिनिहरुका संस्था दिर्घकालसम्म टिकिरहेका हुन्छन ।

अन्तमा 
मगरहरुमा आफ्नै कठिनाईहरु छन । आर्थिक उन्नती गर्न नसकेका केही कारणहरु हुनसक्छन । हो मगरहरुमा बिबिधता छ । नेपालको ७५ वटै जिल्लामा बिभिन्न थरहरुमा बाँडिदै, ३/४ वोटा मात्रीभाषा बोलेर अधिराज्यभरी छरिएर बसेकाछन । त्यसैमा बेलायती र भारतीय गोर्खा सैनिक पेशा, बैदेसिक रोजगारिको क्रममा हङकङ, बेलायत लगायत जपान, मलेसिया, कोरिया, खाडी मुलुक, बेल्जियम, अमेरिका, क्यानेडा, स्पेन साथै भारतको बिभिन्न प्रान्तमा छरिएर बस्दा यो समुदाय आकाशगंगा जस्तै बिशाल छ । यस्तो अन्तररास्ट्रियकरणले केही जटिलता निम्त्याएको त अवस्यै छ नै । तर यस्तै बिबिधताका त्यान्द्रामा एकताको डोरी बुन्न सकिन्छ । यसैलाई काठमान्दौमा हालै सम्पन्न बिस्व मगर सम्मेलनले एउटा फोरमको निर्माण गरेर साकार पार्छ भन्ने सबैलाई बिस्वास लागेकोछ ।

निचोडमा, मगर दिवस देश बिदेसमा छरिएर रहेका मगरहरुमा एकताको भावना जाग्रित गराउन सफल भएको छ । नेपाल मगर संघको स्थापना कालदेखिनै बुद्दी पुर्याएको भए आर्थिक उन्नतिको बिषयलाई साथ साथै दोराएर ल्याउन सकिन्थ्यो ।फल्स्वोरुप अहिले यो संगठन लगायत मगर समुदाय आर्थिक तवरले दरिलो हुनेथियो होला । अब, त्यसैले ढिलो नगरि आर्थिक उन्नतिलाई टड्कारो रुपमा अगाडी बढाउन पर्यो । अर्को मुख्य कुरो रचनात्मक, स्रिजनात्मक र बौद्दिक क्रियाकलापमा संगठन बढी लाग्नु पर्यो । त्यस्ता क्रियाकलापको आयोजना गरिनु पर्यो । भात्त्रि संस्थाहरू र ब्यक्तिहरूलाई प्रोत्साहन साथै भौतिक, आर्थिक, नैतीक सहयोग प्रदान् गर्नु पर्यो । यस्ता बिषयलाई मगर दिवस र हालैको विस्वो मगर सम्मेलनले सम्बोधन गर्छ भन्ने कुरामा सबै बिश्वस्त छन् ।

-हितान बेलायतमा कार्यरत बुद्दिजिवी हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %