मगर समुदायमाथिको निर्मम दलन

धेरै नेपालीले काचको पर्दामा उतारिएका  हिन्दी,नेपाली सिनेमामा देखाइने अन्याय, अत्याचार,शोषन दमनको कथा दृष्‍श्य हेर्दै आएका छौ जहाँ गरिव सोझासिधा जनतामाथि शोषक सामन्तीहरुले दिन दहादै हत्या ,हिन्सा, लुतपात , बलात्कार जस्ता जघन्य अपराध निर्धक्क गरी रहेका हुन्छन तर कतिले त्यस्ता दृष्‍श्य काल्पनिक कथाका कारण छनिक मनोरन्जनको रुपमा लिन्छन भने कतिले वास्तविक जीवनमा भोगी रहेका पनि हुन्छन ,समाजमा घट्ने यस्तै कुनै काचको पर्दामा उतारिएको काल्पनिक कथा झै लाग्ने अत्यन्त दर्दनाक विभेदबारे २१ जनवोरी २०१५ मा प्रकाशित एक उत्पीडक जातिको बकपत्र ईसमता अनलाइन पत्रीकाबाट जस्ताकोतस्तै

शिवहरि ज्ञवाली,३ मार्च २०१५
पाल्पामा जिल्लामा मगरगाउँको बीचमा श्री बालविनोद निमावी छ । त्यो पनि २०१४ सालदेखि । मगरहरूको घना वस्ती छ वरिपरि । तर ६० वर्षभन्दा लामो इतिहासमा मगर समुदायबाट विश्वविद्यालय शिक्षा हासिल गर्ने एकजना पनि छैन । जबकि करिब ३० घर ब्राह्मण समुदायबाट ६० भन्दा बढीले विश्वविद्यालय शिक्षा प्राप्त गरिसकेका छन् । म अहिले सम्झन्छु मगर तथा दलित विद्यार्थीहरूलाई शिक्षकहरूबाट कहिल्यै प्रोत्साहन गरिँदैनथ्यो । कक्षामा पहिलोदेखि दशौंसम्म ब्राह्मण बालबालिकाहरू नै हुन्थे । त्यसपछि क्रमशः मगर र दलित सबैभन्दा अन्त्यतिर । यो त विद्यालयमा हुने विभेदको म जिउँदो साक्षी हो । समाजमा भएका र देखेका त्यस्ता धेरै विभेदका घटना छन् । धारा, पँधेरा, मन्दिरमा दलितमाथि हुने विभेदको रुप आफ्नै आँखाले देखें ।

हाम्रा पुर्खाहरू सोझा कुमाल र मगरहरुको शोषण गरेर आएका थिए । उनीहरूले कुमालहरूलाई दास मात्र बनाएनन्, मगरहरूको सम्पत्ति जबरजस्ती खोसे । यो क्रम मैले जान्ने हुँदासम्म पनि कायमै थियो । मलाई पीडा र घृणाबोध हुन्छ । आफ्ना पुर्खाहरूको अमानवीय कामको पश्चातापले मनको पिलो टन्किन्छ । र, यो अधिकार र सामाजिक न्यायको लडाइँमा बाँचुञ्जेल लडिरहने प्रेरणा दिन्छ । यो नै पुर्खाको पापको प्रायश्चित अर्थात् श्राद्ध हो भन्ने मेरो बुझाइ छ ।

मभन्दा ९ पुस्ताअघि काशीराम ज्ञवालीले तत्कालीन पाल्पाली राजा मुकुन्द सेनबाट विर्ता पाएपछि पाल्पाको माडीफाँटबाट हालको गुल्मी जिल्ला दौघा गाविसअन्तर्गत बगुवा भनिने बेंसीमा आएका थिए । उनीहरूले माडीफाँट नजिकैको घोरबन्दा र गाप्टुङबाट केही कुमालहरूलाई लिएर आए । अहिले पनि छचुवामा रहेका करिब १०० घर कुमालहरू गाप्टुङ्गे र घोरबन्दे वंशका छन् । रिडीखोलावारि पाल्पातर्फको छचुवा भन्ने ठाउँमा कुमालहरूलाई बसालियो र हाम्रा पुर्खाहरू पारिपट्टि घाम लाग्ने र उब्जाउ फाँट भएको बगुवामा बस्न थाले । त्यत्तिमात्र होइन कुमालका परिवारलाई दासको रुपमा उनीहरूले काम गराए । कुमालले बाँझो फोरेर राम्रो उब्जनी गर्न थालेपछि छचुवाका समथर परेका बारी र टारी खेतसमेत उनीहरूले हडपे । शोषणको यो क्रम कुमालहरूबाट हुँदै मगरहरूसम्म आयो ।


हाल हाम्रो बसाइँ रहेको पाल्पाको भुवनपोखरी गाविसअन्तर्गत खान्टुङ गाउँमा सूर्यवंशी र रानामगरहरूको बस्ती थियो । छिमेकी गाउँमा आले, रास्कोटी र दर्लामी मगरहरू थिए । केही समथर, पानीको व्यवस्था र घाँसदाउरा प्रशस्त हुने र गर्मीमा शीतल पनि हुने भएकाले हाम्रा जिजुबाजे ऋषिराम ज्ञवालीले हालको हेकुले भन्ने ठाउँमा खर्क बनाए । तर, हजुरबुबाहरू छिमेकमा मगरहरूको रहरलाग्दा बारीका पाटाहरू र उब्जनी देखेर लोभिए । विस्तारै मगरहरूलाई सताउन थाले । त्यसको निसानामा बाबु बितेका एकजना टुहुरा रानामगर र सूर्यवंशी मगरको परिवार पर्‍यो ।

मेरा माइला हजुरबुबा बालकृष्ण उपाध्यायको नेतृत्वमा मगरहरूमाथि शोषण सुरु गरियो । दिनदहाडै मगरहरूको घोंगा हाल्न थालेको मकै फाँडियो, घाँसका रुखहरू काटियो, पकाएको कुँडोमा जिउँदा कुखुरा हालेर मारियो र गोठमा बाँधेका गाइबस्तुहरू फुकाएर छाडा छोडियो ।

ब्राह्मणहरूको अन्यायविरुद्ध मगरहरू संगठित भए । हालको झिर्बासमा रहेका आलेमगरहरूले रानामगर र सूर्यवंशीहरूलाई साथ दिए । मगर र हजुरबुबाहरूबीच द्वन्द्व सुरु भयो । मेरा माइला हजुरबुबाले रानामगरको बारीमा तोरी छर्न थाले, आफ्ना दास कुमालहरूलाई खेताला लगाएर । मगरहरू आएर बीऊ खप्टिए । तोरी छर्नेबारीमा मगर र बाहुनहरूको घमासान भयो । माइला हजुरबुबाले मगरहरूको सारा सम्पत्ति अब आफ्नो भएको र आफूले प्रयोग गर्न पाउने घोषणा गरे । हजुरआमा र फुपूहरूलगायत सबैलाई घाँस काट्न मगरको खरबारीमा पठाए । मगर र बाहुनहरूबीच घाँसका भारी खोसाखोस भयो । मगरहरूले माइला हजुरबुबालाई मरणासन्न हुनेगरी कुटपिट गरेर खोल्टेपानी भन्ने खोल्सामा फालिदिए । मगरहरूको सम्पत्ति हडप्न आएका मेरा अरू हजुरबुबा, हजुआमाहरू र सहयोगी कुमालहरू फेरी बेंसी झरे ।

छचुवामा विशेष गरी कुमाल युवतीमाथि मेरा पुर्खाहरूको शोषणको कथा अझै कहालीलाग्दो छ । जवान कुमालहरू मेलामा काम गर्न जानुपर्ने बाध्यता । उनीहरूका जवान दिदीबहिनीहरू बाहुनको घरको काममा जानुपर्ने विवशता । बाहुनहरूबाट बलात्कृत हुनु, लोभमा फस्नु र अवैध सन्तान जन्माउनु उनीहरूको बाध्यता थियो । अहिले पनि कुमाल गाउँभरि दर्जनभन्दा बढी नयाँ पुस्ताका ‘अनुहार मिल्ने’ सन्तान देखिनु यसको प्रमाण हो ।


मगरहरूले संगठित भएर माइलाबुबालगायत हजुरबुबाहरूविरुद्ध मुद्दा दर्ता गरे । मुद्दाको तारिख सुरु भयो । माइला हजुरबुबा तीनधारा संस्कृत पाठशाला, काठमाडौंमा पढ्नुहुन्थ्यो । तर काठमाडौंबाट माइला हजुरबुबाले मगरहरूले मुद्दा हारेको झुठो खबर पठाउनुभयो, तत्कालीन प्रधानपञ्च यमलाल भट्टराई (कालीदास)लाई । मगरहरू डरले आच्छु—आच्छु भए । बाहुनहरूसँग मिल्न तयार भए र अदालतमा दर्ता गरेको मुद्दा मिलेमतोमा फिर्ता लिन राजी भए । बदलामा जम्मा २१ सय रुपियाँमा मगरहरूका सबै श्रीसम्पत्ति हजुरबुबाहरूले हडपेर आफू—आफूमा भाग लाए । सोझा मगरहरू बाहुनको नजिक बस्न नसकिने भइयो भनेर केही परको उब्जाउ नहुने रुखो र खानेपानीको दुःख भएको डाँडोमा सर्न बाध्य भए ।

ब्यहोरिएको मगर चेलीको  व्यथा

मगरमाथिको शोषण त्यत्तिमा मात्र सीमित भएन । मगर महिलाहरूमाथि शोषणको कथा यहाँ लेखिसाध्य छैन । साउनेली नामले परिचित एकजना मगर बजै हुनुहुन्छ । उहाँले एकपटक भन्नुभएको थियो, तिम्रा माइला हजुरबाले मलाई ब्यहोरेको (जबरजस्ती गर्नु) हो । औँठी चोरिदिएको हो । त्यसो त मगरहरूको शोषण गर्नमा स्थानीय भट्टराईहरू पनि अघि नै थिए । सोही शोषणको विषयमा रामचन्द्र भट्टराईले चर्चित “बोइ” गीतिकाव्य समेत लेख्नुभएको छ ।

प्रधानपञ्च यमलाल भट्टराईले घरमा काम गर्न दासकै रूपमा राखेकी मगर्नी युवतीलाई गर्भवती बनाए । अविवाहित युवतीबाट छोरा जन्मियो । युवतीबाट बच्चा जन्मेपछि होहल्ला भयो । त्यसलाई गुपचुप राख्न स्थानीय गरिब ढकाल बाहुन (ढकाल काइँला)लाई आफ्नो सन्तान हो भनेर स्वीकार्न बाध्य बनाइयो, उनको जात खसाइयो र केही रकम दिएर घटना मिलाइयो । त्यसरी अवैध रूपमा जन्मिएका छोरा हालसम्म पनि जीवित छन् र सोमादी गाविसको कोकलघारामा बसिरहेका छन् । मगरहरूको गहना चोर्ने मात्रै होइन, गरिब मगरहरूलाई चारपाथी मकै दिएर जोतघर पनि राखियो । सुवाखोला र अमिलेका दर्लामीहरू पछिसम्मै जोतघर बसे । उनीहरूसँगै कतिपटक मकै रोप्न त म आफैसमेत हिँडेको छु । यो घटनालाई नजिकबाट देखेका भोगेका जीवित पात्रहरू अझै छन् ।

कुमालहरूमाथिको शोषणको कथा

कुमालहरूमाथिको शोषणको कथा अझ डरलाग्दो छ । मेरा हजुरबुबाहरूले मात्र होइन, बगुवाका हरेक ब्राह्मण परिवारले कुमालहरूलाई दासको रूपमा काम गराए । हरेक घरमा नोकर राख्नुलाई सम्पन्नतासँग जोडेर हेरिने त्यो समयमा कुमालहरूलाई दास राख्न तँछाडमछाड गरियो । हाम्रो घरमा समेत सेते कुमालको परिवारलाई दास राखियो । माइला हजुरबुबाले भयँरथाने र खत्री कुमाललाई दास राखे । खत्री कुमालको चार वर्ष पहिले मृत्यु भयो । मैले उहाँसँग कुरा गरेको थिएँ, कसरी शोषण गरे हाम्रा पुर्खाहरूले भनेर । बुढो भएका खत्री कुमाललाई राम्रोसँग जोत्न नसकेको भनेर माइला हजुरबुबाले बारीमै लौराले ढाडमा हान्दा उनी सहन नसकेर भुइँमा ढलेको दृश्य आँखैमा छ । उनकी बुहारी केही वर्ष पहिले अत्यधिक रक्तश्राव भएर वितिन् । त्यो अवस्थामा उनलाई सहयोग गर्ने कोही थिएन ।

माइला हजुरबुबाको घरमा दिनभर काम गरेपछि एकपेट खान पनि दिइएन । मेरी आमाले उनीहरूलाई खाना खुवाएर पठाउनुभयो । हाम्रोमा प्रशस्त मकै हुने भएकाले खानको दुःख थिएन । कुमालहरूलाई सहयोग गरेको भनेर माइला हजुरबुबा आमासँग समेत झगडा गर्नुभएको थियो । हिँउँद न बर्खा, जुका लाग्ने लेकमा कुमालहरूले आराम गर्न पाउँदैनथे । काम गरेनन् भनेर खर्च नदिने त सामान्य नै भयो । दिइए पनि धानको कड्करी र कीरा लाएको मकै ।

छचुवामा विशेष गरी कुमाल युवतीमाथि मेरा पुर्खाहरूको शोषणको कथा अझै कहालीलाग्दो छ । जवान कुमालहरू मेलामा काम गर्न जानुपर्ने बाध्यता । उनीहरूका जवान दिदीबहिनीहरू बाहुनको घरको काममा जानुपर्ने विवशता । बाहुनहरूबाट बलात्कृत हुनु, लोभमा फस्नु र अवैध सन्तान जन्माउनु उनीहरूको बाध्यता थियो । अहिले पनि कुमाल गाउँभरि दर्जनभन्दा बढी नयाँ पुस्ताका ‘अनुहार मिल्ने’ सन्तान देखिनु यसको प्रमाण हो । तिनीहरूमध्ये कतिले मुद्दा गर्छु भनेर भन्ने गर्छन् । यद्यपि, केहीलाई कुमाल युवाहरूको सक्रियतामा प्रतिकार गरेको, माफी मगाएको र जरिबाना गरेका घटना प्रशस्तै छन् ।

विभेदविरुद्ध लड्ने प्रेरणा

ब्राह्मण समुदाय वा परिवारभित्रका विभेदका घटना कमै बाहिर आउँछन् । उनीहरूबीचको विभेदविरुद्ध कसैले प्रश्न उठायो भने कि त जबर्जस्त मिलापत्र गरिन्छ, कि त औंला उठाउनेको षड्यन्त्रपूर्वक औंला काटिन्छ । अधिकांश ब्राह्मण समुदायबाट आएका र देखिएका प्रगतिशील भनिने अनुहारहरू कालान्तरमा स्खलित हुनुको एउटा कारण पनि यही हो । अर्को अर्थमा रूपमा प्रगतिशील रूप देखिए पनि मूलतः पश्चगामी प्रवृत्ति रहनु उनीहरूको साझा विशेषता हो ।

तुलनात्मक रूपमा मेरा हजुरबुबा आफ्ना भाइहरूमध्ये आर्थिक र शैक्षिक रूपमा कमजोर हुनुहुन्थ्यो । परणामतः उहाँ अरू भाइहरूबाट पेलिनुहुन्थ्यो । कतिसम्म भने आफ्नो सम्पत्तिमाथि दाजुहरूको राइँदाइँ हुँदा र आफ्ना सन्तानमाथि कुटपिट हुँदा समेत उहाँ प्रतिकार गर्न सक्नुहुन्नथ्यो । खेतीपाती र पुरेत्याँइबाट परिवार पाल्नुहुन्थ्यो । बुबाहरू सानैदेखि हरिद्धार पढ्न गएकाले गाउँमा बस्ने अवसर पाउनुभएन ।

पछि पढाइ सकेर आइसकेपछि मेरो बुबाले आफ्ना पुर्खाहरूले दलन गरेका कुमाल समुदायलाई लक्षित गरी छचुवामा बालकल्याण प्राथमिक विद्यालय खोल्नुभयो । कुमाल बालबालिकाहरूलाई घरघर गएर पढाउन पठाउन अनुरोध गर्नुभयो । बुबाले ढुंगेडाँडो र काँडाघारी फाँडेर स्कुलको जग हाल्नुभयो । घरबाट काठपात लगेर फर्निचर बनाउनुभयो । यस कार्यमा स्थानीय कुमालहरूले ठूलो सहयोग गरे । तर, विद्यालयले स्वीकृति पाइसकेपछि षड्यन्त्रपूर्वक विद्यालयबाट निकालियो । यसको विरोधमा कुमालहरूले केही दिन विद्यालयसमेत बन्द गरे ।

स्कुलबाट मार्ने धम्कीका साथ बुबालाई निकालिए पनि उहाँ डग्नुभएन । कुमाल गाउँका विद्यालय जान नपाउने प्रौढहरूलाई लक्षित गरी गाउँमै प्रौढ शिक्षा पढाउन सुरु गर्नुभयो । गाउँमा विशेषगरी मगर र दलित समुदायसँग मेरी आमाको राम्रो सम्बन्ध थियो । गाउँमा सासूको बुहार्तन राम्रोसँग खान नपाउने भाउजुहरूलाई आमाले सुटुक्क बोलाएर खुवाएर पठाउनुहुन्थ्यो । अड्कोपड्को चलाइदिनुहुन्थ्यो ।

मलाई सम्झना छ, घर जलेर खरानी भएपछि एकजना हरि कुमाल भन्ने एकजना दाइ एक पाथी मकै माग्न आउनुभयो । आमाले चार पाथी मकै दिएर पठाउनुभयो त्यो पनि सित्तैमा । तर, बुबाले थाहा पाएपछि कराउनुभयो, किन धेरै दिएको भनेर । आमाको गुनको बदलामा लाहुरबाट श्रीमान आएपछि मगर भाउजुहरू लक्स साबुन, चियापत्ती बोकेर आमालाई भेट्न आउनुहुन्थ्यो ।

यसै क्रममा म दलित समुदायका साथीहरूसँग घुलमिल भएँ । गाउँमा मात्र होइन, गाविसभरि नै धेरैले कुरा काट्न थाले । कत्तिले ‘यो माओवादी भयो’ भनेर पनि भने । मेरो परिवार कांग्रेसी थियो पितापुर्खादेखि । हामीले गाउँमा सानोतिनो क्रान्ति नै सुरु गरिसकेका थियौं, जगलाल नेपाली र मेरो नेतृत्वमा । कसैले खुलेर हाम्रो विरोध गर्नसक्ने अवस्था थिएन । पछि जब म काठमाडौं आएर जागरण मिडिया सेन्टरसँग जोडिएँ मेरा आँखाहरू अझ खुल्दै गए ।

सके सहयोग गर, नसके असहयोग नगर

जातीय भेदभाव हाम्रो समाजको कलंक हो । नेपाली समाजको चरित्र बुझ्न दलित समुदायलाई नबुझी सुखै छैन । मैले यही समुदाय र हाम्रो समाज बुझ्ने प्रयास गरिरहेको छु । अब हामी गैरदलित समुदायले बुझ्नु जरुरी छ कि जातीय भेदभाव तथा छुवाछूत दलित समुदायको मात्र समस्या होइन । अब गरिब ब्राह्मण र गरिब दलितबीचको भिन्नता बुझ्न पनि मेरा तमाम गैरदलित साथीहरू दलित आन्दोलनमा जोडिनु आवश्यक छ ।

त्यसो त नेपालको दलित आन्दोलनमा मेरो कुनै योगदान छैन कि लेख्न योग्य होस् । तर करिब ६० जिल्ला घुमेर त्यहाँका दलित समुदायसँग भेट्ने अवसर पाएको छु । मैले केही हदसम्म दलित समुदायको आँखाबाट नेपाली समाजलाई केही हेर्ने अवसर पाएको छु । मेरा आँखा खुलेका छन् जो जबर्जस्ती बन्द गराइएको थियो । मेरो सोचाइ र समाजप्रतिको दृष्टिकोण बदलिएको छ जो बलजफ्ती संकुचित पारिएको थियो ।

म मेरो पुस्तालाई आग्रह गर्न चाहन्छु ः आउनुहोस् दलित र जनजाति समुदायका अधिकार र सामाजिक न्यायको पक्षमा कम्तीमा सहयोग गर्नुस्, सक्नुहुन्न भने असहयोग नगर्नुस् । तपाईंहरूले सतही रूपमा देखेको जस्तो हाम्रो समाजको संरचना र चरित्र छैन । हामी यो समाजका कलंकलाई नामेट गर्नसक्छौं । परिवर्तन हाम्रै समयमा हामीबाटै सम्भव छ ।
साभार : ईसमता ड्ट कम
तस्विरहरु :- ईन्टरनेट