विष्णुकुमार सिंजालीमगर / हिरामती राना सिङ्जाली
१. विषय प्रवेश
दक्षिण एसियाको हिमाली राज्य नेपालको वर्तमानमा राजनैतिक मानचित्रमा स्याङ्जा जिल्ला पश्चिमाञ्चल क्षेत्रको गण्डकी अञ्चलमा पर्दछ । नेपालको एकीकरणको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको पुर्खाको जन्म स्थल (आलामथान/आलामदेवी) मानिएको स्याङ्जा लिच्छविकालमा मंग्वर विषय अन्तरगत (गुरुङ २०६७ :२२), बाइसे चौबिसे राज्यकालमा भीरकोट राज्य अन्तरगत तथा सोही समयमा केही भुभाग पैयुँ, गह्रौसुर, कास्की र पाल्पा आदि भुरेटाकुरे राज्यहरू अन्तरगत पर्न गएको थियो ।
स्याङ्जाबासीहरूलाई आँधीखोले (आङ्देली) भनेर पनि चिनिन्छ । गण्डकी र आङ्दी (आँधीखोला)को किनारमा अवस्थित स्याङ्जा जिल्लामा यिनै नदीहरू, ज्याग्दीखोला, पिडीखोला जस्ता थुप्रै खोला र त्यसले बनाएका उपत्यका, फाँटवेँशीहरू तथा अग्ला अग्ला पहाडहरूद्वारा संयोजित भौगोलिक अवस्था रहेको पहाडी जिल्ला हो । यहाँको उचाई अधिकतम पञ्चासेको लेक (२,५१२ मी.) देखि न्युनतम ३६६ मी. (केलादी) सम्म छ । यहाँको भु–भागहरू मध्ये १५ प्रतिशत उष्ण, ७० प्रतिशत समशितोष्ण र १५ प्रतिशत शितोष्ण हावापानी रहेको छ (स्याङ्जा जिल्ला पाश्र्वचित्र २०६४) ।
(लेखकले यो कृति प्रकाशित गरिसक्नु भएकोछ – राज्यसत्ता)
गण्डकी र राप्ती क्षेत्र मगरहरूको आदिम भूमि भएकाले नै गण्डक क्षेत्रका स्थान नामहरू मगर भाषाबाट व्युत्पत्ति भएका छन् । ‘मगर भाषाको गन्डी शब्दबाट संस्कृत भाषाको गण्डकी शब्द बनेको छ । मगर भाषामा हरियो सागलाई गान अथवा गन भनिन्छ । त्यसकारण साग जस्तो हरियो वर्णको पानी भएको नदीलाई मगर भाषामा गनडी भनियो र यसैबाट गन्डी–गण्डि र गण्डिका हुँदै गण्डकी शब्दको संरचना भएको हो (गुरुङ २०६७ :१४२ ।’ यसैगरी स्याङ्जाको नाम पनि मगर भाषाबाट बनेको देखिन्छ । मगर भाषामा “जा” भन्नाले सन्तान अर्थ लाग्दछ । यसलाई आधार मान्ने हो भने सिङ्जा (काठका कालीगड)हरूको सन्तान बसेको स्थान भन्ने हुन जान्छ । यसैले सिंजाली मगरहरूको ठूलो वस्ती भएकोले उनीहरूकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको (स्याङ्जा जिल्ला पाश्र्वचित्र, २०६४ : ४) देखिन्छ । अर्कोतर्फ सेनमगरका सन्तान (सेन+जा) बसोबास गर्ने भएकोले यो नाम रहन सक्दछ र पछि त्यहीबाट मगरका सिंजापति, सिंजाली जस्ता थरहरू बनेको पनि हुन सक्दछ । तर जे भए पनि स्याङ्जामा अधिकांश ठाउँहरूका नामहरूको अर्थ मगरभाषामा पाउन सकिन्छ, मगरसँग सम्बन्धित देखिन्छ ।
जनगणना २०६८ अनुसार स्याङ्जाको जम्मा जनसंख्या २८९,१४८ मध्ये ८९,२९१ बाहुन, ६२,०७४ मगर, ३३,३२७ क्षेत्री, २५,९२६ गुरुङ, २३,१९५ कामी, ११,६५८ सार्की, १०,७३१ ढोली/दमाई, ९,६३५ नेवार, ९,६३५ ठकुरी, ७,०२२ घर्ती/भुजेल र अन्य रहेका छन् (के.त.वि. २०६८) । तथ्याङ्कका आधारमा स्याङ्जामा मगर दोस्रो ठूलो जनसंख्या भएको जाति हो ।
स्याङ्जा कृषिका क्षेत्रमा पशुपालन, अन्नहरू (धान, मकै, कोदो, गहुँ, गेडागुडी आदि) उत्पादन हुने यस जिल्लामा दुध तथा सुन्तला जातका फलफूल, कफी, अदुवा प्रशस्त उत्पादन भई निर्यात हुन्छ । सिद्धार्थ राजमार्गको ७९ कि.मी. पक्की सडकका साथै सबै गा.वि.स.हरूमा कच्ची भए पनि सडक पुगेको, पुल–पुलेसाहरू तथा भौतिक सुविधाको सुगमता बढ्दै गएको यस जिल्लामा दुई वटा नगरपालिका र ६० वटा गा.वि.स.हरू छन्, जुन आधुनिकता र शहरीकरणतर्फ बढ्दैछ । यस्तो आधुनिकता र शहरीकरणतर्फ उन्मुख जिल्लामा बसोबास गर्ने मगरहरूको जीवनयापनको आधार भने अधिकांशको विदेशी सेनाको जागिर र त्यसबाट आएको पेन्सन, वैदेशिक रोजगार, भारतीय शहरहरूमा रोजगार तथा गुजारा प्रकृतिको कृषी व्यवसाय छ भने छिटफुट रुपमा व्यापार व्यवसाय, नेपाल भित्रै रोजगारी आदि पनि रहेको छ । यस्तो सामाजिक–आर्थिक तथा भौगोलिक पर्यावरण भएको जिल्लामा मगरहरू स्थाननामहरूको लागि खासै चासो नदेखाएको भए पनि मगर जाति, मगर भाषा, मगरका थरहरू र मगरका कारणबाट राखिएका नामहरू आज पनि थुप्रै उदाहरणहरू पाइन्छ तर लामो समयदेखि मगरहरूको इतिहासलाई गुमनाम पार्नको लागि त्यस्ता स्थाननामहरूलाई परिवर्तन गर्ने प्रयासहरू पनि हुँदै आइरहेका छन् । यसरी मगरहरूको आदिभूमि रहेको स्याङ्जामा मगरका पहिचानमा आधारित स्थानामहरू र मौलिक संस्कृतिहरू जीवित छन् ।
[ १.यो लेख नेपाल मगर सँघ, स्याङ्जा–काठमाडौ सम्पर्क समितिद्धारा आयोजित “स्याङ्जा जिल्लामा मगर जातिसँग सम्बन्धीत स्थाननामहरु र रुपान्तरण, छलफल तथा टिप्पणी” गोष्ठीमा प्रस्तुत गरिएको र सो गोष्ठीमा उपस्थीत स्याङ्जाका मगर विद्धानहरुले दिनुभएको सुझावको आधारमा सुधार गएिको छ ।
२.लेखक त्रि.वि., किर्तिपुर काठमाडौमा पिएच.डी. गर्दैहुनुन्छ ।
३.हाल पनि स्याङ्जाको आलमदेवीमा त्यहाँका मगरहरू, नेपालका पुर्व राजखलकहरू, ठकुरीहरू एकै ठाउँमा कुल पुजा गर्दछन् । त्यहाँ मगर पुजारी छन् ]।
यस लेख तयार पार्ने क्रममा:
(१) वर्तमान स्याङ्जा जिल्लामा के मगर जातिसंग सम्बन्धित स्थाननामहरू छन् ?
(२) त्यस्ता स्थाननामहरूको ऐतिहासिकताबारे के–कस्ता मिथक वा जनश्रुतिहरू पाईन्छन् ?
(३) मगरसँग सम्बन्धित स्थाननामहरू के–कति परिवर्तन भएका छन् ?
जिज्ञासाहरू राखिएको छ । यस लेखलाई विषय प्रवेश, अध्ययन विधि/अध्ययन सीमा, पहिचानको लागि स्थाननाम, मगर स्थाननामहरूको अभिलेखीकरण, मगर जातिसँग सम्बन्धित स्थाननामहरू, रुपान्तरण भएका स्थाननामहरू र निष्कर्ष उपशीर्षकहरूमा उल्लेख गरिएको छ ।
२. अध्ययन विधि/अध्ययन सीमा:
यस लेख तयार पार्नको लागि जिल्लाको भ्रमण अवलोकन, स्थानीयहरूसँगको वार्तालाप, जिल्लाको नक्सा (मानचित्र), स्याङ्जा जिल्लाको पाश्र्वचित्र, प्रकाशित पुस्तक तथा पत्र पत्रिकाहरूबाट स्थाननामहरूको तथ्यहरू संकलन गरिएको छ । उपलब्ध तथ्यहरूहरूलाई मगर भाषा, मगर जातिको थरहरू, मगरसँग सम्बन्धित ऐतिहासिक पक्ष आदि दृष्टिकोणलाई मध्यनजर गरी व्याख्या विश्लेषण गर्ने प्रयास गरिएको छ । यस लेखको उद्देश्य मगरसँग सम्बन्धित स्थाननामहरू मात्र उल्लेख गर्ने भएकोले मगरका अन्य विषय छुटेका हुन सक्दछन् । यसै गरि समय तथा साधनस्रोतको अभाव, जानकारीको अभाव जस्ता आदि कारणले मगरसँग सम्बन्धित स्थाननामहरूको व्याख्या विश्लेषण छुटेको पनि हुन सक्दछ ।
३. पहिचानको लागि स्थाननाम:
नेपालमा मगर जातिलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले आदिवासी जनजाति भित्र सुविधाविहिन समूहमा सूचीकरण गरेको छ । त्यसै गरी आई एल ओ १६९ को प्रावधान अनुसार पनि मगर जाति आदिवासी अन्तरगत पर्दछ र मगर स्वयंले पनि आफूलाई यस भूमिमा आदिवासी दाबी गरिआएको छ । त्यस दाबीलाई नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ लगायत सबैले स्वीकार गरेको छ, यसमा विवाद छैन । आदिवासी भन्ने बित्तिकै जमिन, जंगल र जल अर्थात थातथलोमा ऐतिहासिक सम्बन्ध रहेको हुन्छ । आदिवासीहरूको थातथलो अर्थात स्थानसँग सम्बन्ध रहेको कारणले नै त्यस स्थानको न्वारन (नामकरण) गरिएका नामहरू उनीहरूको भाषा, संस्कृतिमा राख्दछन् । तर पछि बसाईसराई गरेर आउनेहरूले ऐतिहासिक रुपमा कहलिएका स्थाननामहरू परिवर्तन गर्दै आफू अनुकूल बनाउँदै जान्छन् त्यसैले सहि समय र सन्दर्भमा अभिलेखिकरण नभएका स्थाननामहरू इतिहासबाट मेटिदै जाने गरेको यथार्थ छर्लङ्ग छ । संसारमा कहिलेकाहिं त्यस्ता ऐतिहासिक नाम र वर्तमान नामको कडी (लिङ्क) हराउँदा आदिवासीहरू शरणार्थीको दर्जा पाउँदछन् । त्यसैले ऐतिहासिक स्थाननामहरू र त्यसको इतिहासले आदिवासीको पहिचान झल्काउँदछ । यस्ता स्थाननामहरूको प्राज्ञिक अभिलेखीकरण, प्रकाशन र सञ्चार हुन जरुरी हुन्छ ।
पहिचानको कुरा गर्दा एफ बार्थ (१९६९) ले जातीय पहिचान ऐतिहासिक सांस्कृतिक अवस्था हो भनेका छन् र उनले निर्माणवादी परिस्थीतिजन्य दृष्टिकोणबाट पहिचानको तर्क गर्दछन् । टि.एच. एरिक्शन (१९९४)का अनुसार परापूर्वकालदेखि परम्परागत रुपमा चलि आएका आधारमा व्यक्ति वा समुहको पहिचान स्थापित भएको बताउँदछन् । यसै गरी डेविड गेल्नर (१९९७) को तर्कमा जातीय पहिचान राजनैतिक वा आर्थिक लाभ प्राप्त गर्ने उपाय भएको तर्क गर्दछन् । नेपालको सन्दर्भमा उच्च जाति मानिएका तथा राज्यसत्ताको पहुँच भएका जात र जातिहरूमा यो लागू भएको पाइन्छ । उनीहरू उपभोगवादी दृष्टिकोणबाट नै वर्ण व्यवस्था र जाति प्रथालाई बचाएका छन् । फ्रान्सिस फुकुयामा (१९९२) ले विश्व राजनीतिले व्यक्तिलाई मात्र नागरीकको व्यवहार गरी सामुहिकतालाई वेवास्ता गर्ने तर पनि यसले पहिचानमा ठूलो सन्तुष्टी राख्दछ भन्ने तर्क गर्दछन् । त्यसै गरी सामुयल पि. हटिङ्टन (१९९७)ले विश्व राजनीति सभ्यताको राजनीति र स्थानीय राजनीति जातीय भएको सिद्धान्त प्रस्तुत गर्दछन् । यसले गर्दा मगर जातिको पहिचान कुन अवस्थामा छ भन्ने कुरा पनि महत्वपूर्ण छ । बार्थ र एरिक्शनले भने जस्तो ऐतिहासिक पहिचान त मगरहरूसँग छ ।
मगरका आदिमभूमिमा मगरका स्थाननामहरू छन् । तर गेल्नरले भने जस्तो पहिचानको माध्यमबाट राजनैतिक र आर्थिक उपभोग गर्न नसकेको अवस्था छ । यसले गर्दा पनि मगरहरूले आफ्नो पहिचान मगर स्थाननामहरू विस्तारै लोप हुँदै गइरहेको छ । हटिङ्टनले भने जस्तो स्थानीय राजनीति जातीय हुने भएकोले पनि नेपालमा टाठाबाठा जातका शासक वर्गले आफ्नो वंशको मात्र कल्याण गर्ने दिशामा भएकोले पनि मगरहरूको पहिचान र राज्यसत्ताको मुलधारको यात्रा कठिन भएको छ । नेपालको अवस्थामा जव सबै जाति सबै भाषा, सबै संस्कृति र सबै क्षेत्र तथा वर्गलाई समेटेर राज्यव्यवस्थाको पुनसंरचना हुँदैन तवसम्म पछाडि पारिएका र परेकाहरूले टाउको उठाउन पाउने छैनन् भने मगरका सन्दर्भमा मगरहरूले आफ्नो मातृभाषा र संस्कृति मास्दै जानेछन्, इतिहास गुमाउदै गएर पहिचान विहिन हुने सम्भावना बढी छ ।
४. मगर स्थाननामहरूको अभिलेखिकीकरण:
मगर जातिको आदिमभूमि रहेको गण्डकी र राप्ती प्रश्रवण क्षेत्र हो । गण्डकी र राप्ती प्रश्रवण क्षेत्रको संस्कृति र सभ्यता मगर जातिले विकास गरेको हो र त्यो अन्य जातजातिहरू र क्षेत्रमा फैँलिदै गयो । संस्कृति र सभ्यताको विकासले स्थाननामहरूको न्वारन (नामकरण) गर्न आवश्यकता पर्दछ । त्यसैले मानव सभ्यतामा स्थान, नदीनाला, पहाड, जंगल आदि प्रकृतीको नाम दिइएको हुन्छ जसले गर्दा मानव जीवनलाई सजिलो बनाउँदछ । मगर स्थाननामको कुरा गर्दा लिच्छवी राजाहरूले जारी गरेकोे सन् ११००/०१ को “मंग्वर विषय” स्थान क्षेत्र बुझाउने एक ऐतिहासिक नाम हो । बौद्ध साहित्य, हिन्दु साहित्यमा पनि मगर स्थाननामहरू उल्लेख भएको पाइन्छ । तर पछिल्ला हिन्दु साहित्यमा भने ऐतिहासिक मगर स्थाननामहरूलाई तोडमोड गरिएको पाइन्छ । त्यस्तै गरि केही विद्धानहरूले बौद्धकालीन सभ्यतामा चीनबाट वर्तमान नेपालको बाटो हुँदै भारत गएका तिर्थयात्रीहरूले पनि तत्कालिन स्थाननामहरू उल्लेख गरेको बताएका छन् । नेपाल आएका ब्रिटिश मिशनरीहरू सन् १७९३ मा कर्कपट्रिक र सन् १८०४ मा हेमिल्टनले अध्ययन पश्चात प्रकाशन गरेका आफ्ना पुस्तकहरूमा मगरस्थानहरू कताकति उल्लेख गरिएको पाइन्छ । त्यसै गरि हडसन, डनियल राइट, माइकेल अप्टीज, अगष्ट मोल्नार, हिचकक लथायत थुप्रै विदेशी विद्धानहरूले मगर स्थाननामहरू विभिन्न सन्दर्भमा उल्लेख गरिएको पाइन्छ तर व्याख्या विश्लेषण भने पाइदैन ।
नेपालको इतिहास, समाज, संस्कृति लेख्ने सन्दर्भमा मगर स्थाननामहरू प्रा.बालकृष्ण पोखरेल लगायत थुप्रै विद्धानहरूले उल्लेख गरिएको पाइन्छ । त्यस्ता स्थाननामहरूलाई आफू अनुकूल राखेर व्याख्या विश्लेषण पनि भएको पाइन्छ । मगर स्थाननाम नै उपशीर्षक राखेर दीन पन्थी (वि.सं.२०५९) ले उल्लेख गरिएको पाइन्छ । मगरहरूबाट नै स्थाननामहरूको बारेमा सामान्य उल्लेख गर्ने प्रचलन मगर पहिचानको जागरणसँगै पञ्चायत कालमा सुरुवात भए पनि बहुदलीय प्रजातन्त्र तथा गणतन्त्रकालमा केही कार्यहरू भएको पाइन्छ । वि.सं. २०३८ सालमा अनुसन्धान कार्य गरी वि.सं २०५० मा प्रकाशित प्रा.डा. केशरजङ्ग बरालको पुस्तक, एम.एस.थापा (वि.सं. २०४९), बमकुमारी बुढामगर, हिरासिङ थापामगर, डा.हर्षबहादुर बुढामगर, बलाराम घर्तीमगर, रणप्रसाद घर्तीमगर आदिले प्रकाशन गरेका पुस्तकहरूमा थोरबहुत मगर स्थाननामहरू उल्लेख गरेका छन् । मगर स्थाननामहरूको शीर्षकै राखेर भने वि.सं. २०४०/४२ सालतिर मगर भाषाका साहित्यकार लोकबहादुर थापामगरले लेखेको बताइन्छ । लेखकका अनुसार उहाँले “दी” अर्थात पानीका नामबाट राखिएका नेपालका स्थाननामहरू संकलन गरी प्रकाशन गरेको बताएका छन् । त्यस्तै गरि वि.सं. २०४८ देखि २०५२ साल सम्म प्रकाशित भएका “लाफा” पत्रिकामा पनि लोकबहादुर थापा, सञ्जोग लाफामगर, बमकुमारी बुढामगर लगायत थुप्रैले मगर स्थाननामहरू सम्बन्धी लेखहरू प्रकाशन गरेको तत्कालिन सम्पादक युवराज मास्कीले बताउनुहुन्छ । यद्यपी त्यसबेला प्रकाशित पत्रपत्रिकाहरू मगर जातिमा पुस्तकालयको सहि व्यवस्थापन नभएकोले मैल भेट्न सकिन ।
त्यसै गरि लाफा त्रैमासिक प्रकाशनको “राहा, वर्ष १, अंक १ वैसाख–असोज” मा पृष्ठ ५ देखि १० र पृ २१ मा उदयपुर जिल्लामा मगर स्थाननामहरू उल्लेख गरी व्याख्या गरिएको पाइन्छ । अर्कोतर्फ मगर भाषा गुमाउन पुगेका अर्घाखाँची, गुल्मी, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाहरूमा थुप्रै स्थाननामहरू मगर भाषा र संस्कृतिमा अर्थ लाग्दछ त्यही कुरालाई नारायण तारुङमगर (वि.सं. २०७०) ले उल्लेख गर्नुभएको छ । उहाँले धवलागिरी अञ्चलको स्थाननामहरू “उदिम (जुङ्कुट) मा उल्लेख गर्नुभएको छ । पुस्तककै रुपमा प्रकाशन गरेको भने यमबहादुर आलेमगरको “होटा माहाले इटा आले”, बमकुमारी बुढामगरको “मगर भाषाबाट ठाउँको नाम,” (वि.सं २०६४) नामक पुस्तक देखिन्छ । यद्यपी आलेमगरको पुस्तक २०६०/६२ तिर मेरो हातमा परेपनि त्यसमा प्रकाशन मिति र प्रकाशक उल्लेख गरिएको पाइदैन । त्यसै गरि चिदी (२०७०) र सिंजाली (२०७०) मा पनि स्थाननाम सम्बन्धी लेखहरू प्रकाशीत पाइन्छ । तर पनि मगर जातिको ऐतिहासिकता र पहिचान बुझाउने मगर जातिसँग स्थाननामहरू प्राज्ञिक ढाँचाको लेखन, प्रकाशन र सञ्चारका कार्यहरू प्रयाप्त भैसकेको छैन ।
५. स्याङ्जामा मगर जातिसँग सम्बन्धित स्थाननामहरू:
५.१ स्याङ्जा जिल्लाको नामाकरण:
स्याङ्जा जिल्लाको नाम मगर भाषा र जातिसँग सम्बन्धित छ । मगर भाषामा “जा” भन्नाले सन्तान अर्थ लाग्दछ । यसलाई आधार मान्ने हो भने मगर भाषामा “सिङ्” को अर्थ काठ र “ज्याहाके”को अर्थ कुँद्नु अर्थात काठे कलाको काम गर्नु भन्ने हुन्छ । त्यसको आधारमा काठका कालिगडहरूको सन्तान सिङ्जाली वा सिङ्जापट्टीहरूको मगर थर बनेको हुन सक्दछ । सिंजाली मगरहरूको ठूलो वस्ती भएकोले उनीहरूकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको (स्याङ्जा जिल्ला पाश्र्वचित्र, २०६४ : ४) हुन सक्दछ । त्यसै गरि सेनमगरका सन्तान (सेन+जा) बसोबास गर्ने भएकोले सेनजाको नाम अपभ्रँश भएर स्याङ्जा रहेको हुन सक्दछ । एक अर्को भनाई अनुसार स्याङ्जा को नाम स्या + ग्वा +ज्या को अपभँसको रुपमा
[४.प्राज्ञ डा. जगमान गुरुङ ज्युसँग 08, July 2014 मा उहाँको ललितपुर स्थीत घरमा र 31 Jan 2015 मा मगर अध्ययन केन्द्रको १३ औं बार्षिक उत्सवको अवसरमा गरिएको कुराकानीमा आधारीत ।
५.मगर भाषाका वरिष्ठ साहित्यकार लोकबहादुर थापामगर सँग २०७१ साल पौष २० गते पोखरामा गरिएको कुराकानीम आधारीत ।
६.मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की रानामगर सँग २०७१ पौष १२ मा गरिएको कुराकानीमा आधारीत ]।
बनेको भनिन्छ । निकै पहिले सो स्थानमा कालिज (दिग्वा) धेरै पाइने गथ्र्यो र सो ठाउँमा मगरहरुले शिकार खेल्ने क्रममा कालिजको मासु खाएको ठाउँको आधारमा नाम रहेको पाइन्छ भने कसैले शिकारी युगमा स्या + ज्याच (शिकारको मासु खाएको )ठाउँ भन्दा भन्दै यो ठाउँको नाम स्याङ्जा रहन गएको भन्ने पनि भनिएको र लेखिएको पाइन्छ ।
५.२ निर्वाचन क्षेत्र नं. ३ मा मगर जातिसँग सम्बन्धित स्थाननामहरू:
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने गा.वि.स.हरूमा कारीकोट चण्डीभञ्ज्याङ, विर्घा, श्रीकृष्ण गण्डकी, जगत्रदेबी, मालुङ्गा, निबुवाखर्क, पिडीखोला, सिर्सिकोट, पेलाकोट, तुलसीभञ्ज्याङ, तीनदोबाटे, पक्वादी, केवँरेभञ्ज्याङ, कुवाकोट, चापाकोट, रत्नपुर, मल्याङकोट, सेखाम र साँखर गा.वि.स.हरू पर्दछन् ।
कारीकोट चन्डी भञ्ज्याङ गा.वि.स. नेपालको प्रसिद्ध धार्मिक क्षेत्र रिडी संग जोडिएको छ । हुनत रिडीलाई पछिल्लो समयमा मगर पहिचानलाई नामेट गर्नको लागि काल्पनिक कथा बनाएर “रुरु क्षेत्र” भनि सरकारी दस्तावेजमा उल्लेख गरी प्रचार प्रसार गरिएको छ । चन्डी मगरहरूको एक मुख्य पूजा हो । यसलाई “मेघको देवता अर्थात वर्षातको देवता ” पूजाको रुपमा गरिने पूजा तथा चाड चैत, वैशाखको पूर्णिमाका दिन वा बौद्ध पूर्णिमाका दिन गर्ने चलन हुन्छ । “भाङज्याङ” मगर शब्द हो, यो शब्द ‘भाम + नुङ्च + ज्याङ’ को सन्धी वा समास हो जसको भावात्मक अर्थ पहाडको शरीर छुट्टिएको भन्ने हुन्छ । भञ्ज्याङ नाम त्यही भएर दुई पहाड बिचको देउराली हुन्छ र मगरहरू भञ्ज्याङ नभनेर भाञ्ज्याङ वा भाङ्ज्याङ भन्छन् । यस कारण पनि चन्डीभञ्ज्याङ मगर नाम हुन सक्दछ । यस गा.वि.स.मा खोर्दी, रिप्दी, लिहुक (धनु बाँस जस्तै एक प्रकारको बाँसको नामको आधारमा), छेबोघा, भर्ल्हा, पाहारदी, घुरडाँडा, प्युघा, किपट, बरतुङ, खल्डुहा, सपाङ्दी, बाँकादी, रनगुहाखोला, लगुहा, छिस्दी, धारादी, ढेडुवाबन, कराङ्दी, भिरकुटुङ जस्ता स्थान नामहरू मगर जाति सम्बन्धित भएको बताइन्छ । यसका साथै टुमलेक, फेदी, बिरडाँडा, ग्याझाथोक, फाङ्दी, सटाकदी पनि मगर स्थाननामहरू हुन् ।
आलमदेवी गा.वि.स. ऐतिहासिक स्थानको आधारमा राखिएको नाम हो । सो क्षेत्रका मगरहरू यसलाई “आलाम थान” भनेर उच्चारण गर्दछन् । आलम थानमा पूर्व राजाहरूको पुर्खाहरूको उत्पत्ति भएको स्थान मानिन्छ र आलमदेवी थान (मन्दिर)मा पूर्व राजाका भाइखलक, ठकुरीहरू तथा मगरहरूले एकै स्थानमा कुलपूजा गर्दछन् । यो स्थानको नाम मगर जातिसँग सम्बन्धित भएको स्थानीयहरू बताउँदछन् भने संस्कृटाइजेशन गरी धेरै वटा कथाहरू पनि पढ्न नपाइने भने होइन । यस थानमा विगतमा कुनै मुर्ती थिएन तर पछि हिन्दु देवीको मुर्ती राखिएको हो । यस गा.वि.स.मा नम्सुह्याक, गोलदी, गाहाथर, ल्हाडुमदी, चिदी, सपाङ्दी, लसर्घा, मोचाबारी, साँढी, पुकडाँडा, सटाककोन, झ्याम्बीरडाँडा, छापडाँडा, ल्हाम्ब्याक, सटुघा, सङ्खुरुह्वा, वरेकडाँडा, ग्वैराक्च डाँडा, लगनडाँडा (लगनसिङ नामक एक रुखको आधारमा), आरखोटदी, पन्यारदी, डाङसिङ्घा आदि स्थान नामहरू मगर जातिसँग सम्बन्धित भएको बताइन्छ । यस गा.वि.स.मा ग्वैराक्चडाँडाको स्थाननाम बारेमा एउटा स्थानीय किंवदन्ती रहेको बताइन्छ । सो अनुसार ग्वैराक्चडाँडामा जहिले पनि एकाबिहानै त्यहाँका ढुङ्गाहरू कुखुराको भाले बासेको आवाज निकालेर गाउँलेहरूलाई उज्यालो भएको संकेत दिने गर्दथ्यो रे तथा ढुङ्गाहरू पनि कुखुरा जसरी हिड्ने गर्दथ्यो रे । यस्तो कुखुराको भाले बास्ने चलन निकै लामो समय भैसकेछ । सो गाउँमा एकजना मानिस अलि ढिलोसम्म सुत्नुपर्ने मानिस रहेछ र उसलाई बिहानैको भाले बासेको आवाजले उसको निद्रा खलबलिने गरेको रहेछ । त्यसैले गर्दा उसलाई रिस उठेछ र एक दिन उज्यालो नहुँदै ग्वैराक्चडाँडामा पुगेछ । सदा जस्तै गरेर ढुङ्गा कुखुरा बनेर “कुखुरी काँ” भनी बास्न थालेछ । उसले त्यो कुखुरा रुपी ढुङ्गोलाई घाँटीबाट छिनाएछ र टाउको एकातिर र शरीर अर्कोतिर बनाएछ । त्यसपछि त्यो ढुङ्गा झिसमिसे बिहानीमा बास्न छोडेछ । हालमा त्यसरी काटिएको ढुङ्गाहरू अझ पनि त्यहाँ भएको स्थानीयहरू बताउँदछन् ।
बिर्घा गा.वि.स.को नाम मगर पहिचानमा आधारित छ । मगर भाषामा लाङ्घाको अर्थ “गाउँ” हुन्छ । यसैले यो शब्द “बिर लेच लाङ्घा” बाट विर्घा हुन सक्दछ । बिर्घा स्थाननामको आधारमा संस्कृटाइजेशनको आधारमा अन्य कथाहरू पनि हालिएका छन् । यस गा.वि.स.मा गोकुरुङ्गा, पिपरबारी (मगरहरू पिपललाई पिपर भन्दछन्), खहरे, भुस्टुङ, आंगदीखोला, घ्याङसिङखरक, निरामसिल, बरधारा, सोमैथोक, पारलाक, खोरडाँडा, दार्सिङडाँडा, बनकसीडाँडा, गहलाम, बराहाचौर, खरसिङगैरा, लिहुँकखरक, कैनडाँडा, कट्टी, किम्हादी, सपाङ्दी, बरडाँडा, किरिकभाञ्ज्याङ, राकासदी (राकास एक काल्पनीक डरलाग्दो जनावरको कथाको
[७.मिति २०७१ फाल्गुन ५ गते नेपाल मगर सँघ, स्याङ्जा–काठमाडौ सम्पर्क समितिद्धारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दा मगर चलचित्रकर्मी सँघका अध्यक्ष युवराज मास्की र नेपाल मगर सँघ केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापामगर ले दिनु भएको सुझाबको आधारमा ।
८.हेनुहोस् मगर अध्ययन केन्द्रको शोधमाला, वर्ष ६, वि.सं. २०६९, मगर लोकसंस्कृतिमा चन्डीपुजा पृ ३५–४१
९.हरिदेव थापामगर संग वि.सं. २०७१ को माघे सक्रान्तीमा गरिएको कुराकाकानीमा आधारित ।
१०.मिति २०७१ फाल्गुन ५ गते नेपाल मगर सँघ, स्याङ्जा–काठमाडौ सम्पर्क समितिद्धारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दा टिप्पणीकर्ता मगर भाषाका विद्धान मनबहादुर थापा (गाहामगर) ले दिनुभएको सुझाबको आधारमा ।
११.भिम रानामगर संग वि.सं. २०७१, पौष २५ गते गरिएको कुराकानीमा आधारित ।
१२.हरिदेव थापामगर संग वि.सं. २०७१ को माघे सक्रान्तीमा गरिएको कुराकाकानीमा आधारित ]।
आधारमा), बतीचौर, फुर्लुङकोट, मडुल्या, डदीघाट, गवतदी, वेघाभाञ्ज्याङ, वेघालाङ्घा, छाप, टन्ङलेह्वा, मगरपुक, जैपुरडाँडा, बारीचौर, चिडी, घैडाँडा, सुर्खादी, गहलाम, मिर्चन्डी, छामटुङ, दिघाम, थुम्का, खेकरडी, मिलुदी, लामम्हाकडी आदि मगर जातिसँग सम्बन्धित स्थाननामहरू भएको बताइन्छ ।
श्रीकृष्णगण्डकी गा.वि.स. को नाम ब्राह्मण पहिचान बोकेको नाम हो । यस गा.वि.स.मा बलाम (बलामीमगर थरको आधारमा), दिगामतुङ, जैपते, करेकुवा, बलामडाँडा, इमसिल, गोमान्दी, दब्छे गुरुङ्दी (र यस गाउँ आसपासमा धारादी, कुन्दी, सटागहिरा, मेमेदी, हुल्दी, धोवादी, घेजादी, मर्जीदी पनि), छाप, घ्याङसिङ डाँडा, सिवन, गौदी भाञ्ज्याङ, बरडाँडा, सरन, बारीचौर आच्र्याङबास, आङ्दीमुहान, मिर्मि/मिर्म्ह्या आदि मगर भाषामा अर्थ लाग्ने ठाउँका नामहरू हुन् । यसै गरी कुडादी, क्याङ्सिङ्दी, टिपल्हुङ्गा पनि मगर भाषामा अर्थ लाग्ने स्थाननामहरू हुन् । यस गा.वि.स.को. गुरुङ्दी मगर भाषामा रहेको स्थान नाम हो । प्राज्ञ डा. जगमान गुरुङ (२०६७ पृ १४२) का अनुसार मगर र गुरुङ छुट्टिएको स्थान हो र गुरुङ जाति बुझाउने शब्द पनि मगर भाषामा हुनुपर्ने जिकिर गर्दछन् । हुन त तत्कालीन समाजको उद्विकासका क्रममा हालको पश्चिमाञ्चल क्षेत्रमा तिब्बती तथा भारतीय समाजमा जात विभाजनको प्रभाव पर्दा उच्च जात वा वंश र तल्लो वंश भनी तत्कालिन नेपाली पनि समाजमा स्तरीकरण भएको हुन सक्दछ । त्यही क्रममा उचालिएका समुदायलाई मगरहरू गराङ्चिस्च भनिएको अवस्थामा शब्दहरू अपभ्रँश हुँदै गुरुङ भएको हुनसक्दछ । गुरुङहरू पनि विगतमा आफुलाई ठूलो जात भनी विश्वास गर्ने, सुँगुरको मासु नखाने तथा मगर वा अन्य जातिका छोरीचेली लगेमा गुरुङ जाति भित्र नै चेलीका कृत्रिम बाबुआमा बनाई समाजमा राख्ने संस्कृतिले पनि यस तथ्यको सम्भावना रहन्छ । घना मगरका बस्ती भएका पहाडी श्रृखलामा गुरुङ्दी, गराङ्दी गह्रौंसुर जस्ता स्थाननामहरु हुनु पनि मगर र गुरुङको सम्बन्ध र जाति उत्पत्तीको कथा बोकेको हुन सक्दछ ।
निुबुवाखर्क गा.वि.स.को स्थाननाम पनि पनि ब्रम्हाण पहिचान बोकेको नाम हो । यस गा.वि.स.मा डुमरीचौर, मोहनडाँडा, बाँठा (मगरको एक थरको आधारमा), जलुके (खोलामा पाइने पिडालु जस्तो एक विरुवालाई मगरहरू जलुका भन्दछन्), रुपाखानी (रुपा=चाँदी), हुक्तुङ, गिजानडाँडा, मुटी, झेरुखान, आङ्झ्याङ, सिसाखानी, कराङ्दी–घोरपाल, सपाङ्दी, बाह्रगीरी (मगरको एक थर बाह्रघरेमगर), ढेम्चबारी, डाङसिङ, फोकसिङ् वन, गायखरक/गाहाखरक, खोलाखरक, झुलटुङ, क्यादी (हालः लुगाधुनी), छहारा, खान्दुला (खन्दुलुक मगर थरको आधारमा), छरक, भोरतोक (भोरतुङको अपभ्रँश), रुसीडाँडा, कुरुङ्चे, डुडी (दुधेचौर), ग्वादी आदि स्थाननामहरू मगर जातिसँग सम्बन्धित भएको बताइन्छ । पिडीखोला गा.वि.स. को नाम पिङ्म राहाच डी अर्थात उर्लेर आउने खोला भन्ने अर्थबाट अपभ्रँश भएर बनेको देखिन्छ । यस गा.वि.स.मा बेतेहनी, सिस्नेरी, घलाम, खोटेगैर्हा, रामीडाँडा, नाम्दी, पातीखरक, काहुले, डुँडेबजार, थाप्ले, भार्का÷भार्खा, झेरुबास, सल्लेन (यस गाउँ वरिपरि झ¥याकडाँडा, साँबेरी, ग्वौडाँडा, लिन्दी, डामझेरु, डाङलाखोला आदि), चितुङ, ड्याङथुङ, निगाली, भालुथुम आदि मगर जातिसँग सम्बन्धित स्थान नामहरू हुन् । यसै गरी स्यालबास गाउँमा थानखरक, कुहिनेडाँडा पनि मगर भाषामा राखिएका स्थाननामहरू हुन् ।
पेलाकोट गा.वि.स.को नाम यसको मगर भाषामा शाब्दिक अर्थ गहिरो विश्लेषण नगरी भन्न यसै भन्न सकिँदैन । यद्यपी कोट शब्द फारसी शब्द अर्थात अरबतिरबाट आएको शब्द हो । “कोट” शब्द नेपाली भु–भागमा आउनुभन्दा पहिले “जोङ/जुङ”को रुपमा प्रचलित थियो । यद्यपी कोट भनेको हातहतियार भण्डारण गर्ने र सो हातहतियारको पुजा गर्ने चलन अर्थात शक्तीपिठको रुपमा मगर समाजमा प्रचलित छ भने पछिल्ला समयमा त्यस्ता कोतहरुमा काली र दुर्गाका मूर्तीहरु स्थापना गरी पुजाआजा पुजा गर्ने गरिएको पाइन्छ । यस गा.वि.स.मा राम्चे, पनाका (पड्काङ), गल्ढो, आर्याकखोला, माटाहाखोला (मान्केखोला), कल्लेरी, थुम्ह, दाह्रेगौंडा (डाङ्च गौंडा), तोलातुङ, छेंडा, चन्डीथान, सौरभाञ्ज्याङ, कपुरदी, सिक्र्या, खानीडाँडा, चोक (मगर भाषामा जोड्नुलाई चाक्के भन्दछन्), बिडाँडा, सिरौंसा (सिरानओ अंसको अपभ्रँश), बर्दलाम (बार्दालाम÷ बार्दा लाम उङ्नबाट), बेलटारी, पेल्ली, मोइकुन रह, धराङ्दी, लिरिङखोला आदि नामहरू मगर पहिचानसँग सम्बन्धित छन् । शिर्शिकोट गा.वि.स.को नाम मगर भाषाको अनुकरणात्मक शब्द ‘सिरसिर’ अर्थात सिरसिर नम्सु सुहच को कारणबाट पनि हुन्छ । त्यसैगरी मगर भाषामा ‘सिरान’ शब्दले सबैभन्दा माथिको भन्ने जनाउँदछ । त्यस ठाउँको भौगोलिक बनावट हेर्दा यो नाम सहि हुन सक्दछ । यस गा.वि.स.मा भुदीकोट, गाहेडाँडा, गाहेखरक (एक बोटको नामको आधारमा), छाप, कोख्या, सपाङ्दी, लामपाटी, डाँडाखर्क आदि मगर जातिसँग सम्बन्धित देखिन्छ ।
जगत्रदेवी गा.वि.स. हिन्दु धर्मको एक देवीको पहिचान जनाउने स्थाननाम हो । यस गा.वि.स.मा इल्हुङ्गा, रैबार, दब्छे, ट्याङ्लहुङ, भाञ्ज्याङ, गराङ्दी (यसगाउँभित्र भाङ्ज्याङ, पल्लीखरक, धारादी, खुमबारी, रिप, खरकदी, खुसिलो, घोङ्सिङ्बार, साउनेदी, लाघाङ, बजर्या, बोगाङ, पाखरेक, ढोलदी, चन्डीबारी, आर्साङ्दी, चिरतुङ, चनौट्याबारी, ग्वाङ्हडाँडा, झेरुखान आदि), बार्ल्हामडाँडा, गिरिङ्दी, गल्याङ, लल्याङ आदि मगर जातिसँग सम्बन्धित स्थाननामहरू हुन् ।
यसै गरी मालुङ्गा गा.वि.स.मा अर्मौदी, हिस्कीटोल, पल्लीथर, खाँडागैरा, लाकुरर्दी, सुर्खादी, राम्दी, धाङ्लिङखोला, माल्हुङ्गा, बोझादी, भाल्थुमेटोल, टुनीबोट,
[१३.हरिदेव थापामगर संग वि.सं. २०७१ को माघे सक्रान्तीमा गरिएको कुराकाकानीमा आधारित । १४.श्रीकृष्णगण्डकी गा.वि.स. वडा नं. ६ निवासी बर्ष ३८ का हीराबहादुर गाहामगर संग २०७१ साल पुस २२ गते गरिएको कुराकानीमा आधारित ।
१५.पिडिखोला गा.वि.स. अन्तरगत सल्लेन गाउँका श्याम रानामगर सँग मिति २०७१ साल कार्तिक १५ गते शनिबार गरिएको कुराकानीमा आधारित ।
१६.पेलाकोट, राम्चे निवासी मुक्ती रानासँग मिति २०७१ साल पौष २० गते गरिएको कुराकानीमा आधारीत ]।
डङनासा, धाङ्लीङबेसी आदि मगर पहिचान जोडिएका स्थाननामहरू हुन् । जगत्रदेवी गा.वि.स. सँग जोडिएको तुल्सीभञ्ज्याङ गा.वि.स.को नाम ब्राह्मण पहिचानमा आधारित छ । नेपालका आदिवासी जनजातिहरूमा तितेपातीको पूजाआजामा जति महत्व छ त्यति नै हिन्दु उच्च जातिमा तुलसीको महत्व छ । यस गा.वि.स.मा बर्जा (बज्रे), बेलछाप, घोरडाँडा (घोरपाल डाँडाको अपभ्रँश), लामाचौर (लामा=दर्शनशात्री वा उपचारक बस्ने चौर वा बाटोको चौर), दिमिक (आँखाले देखेको पानी), छाप, धारादी, गलकोट (बँदेल अर्थात जंगली सुङ्गुर पूजा गर्ने कोट), भाटी, बन्नीडाँडा, जिमुवा, हुँगीघाट आदि मगरसँग सम्बन्धित नामहरू हुन् । पक्वादी गा.वि.स.को नाम मगर जातिसँग सम्बन्धित नाम हो । यस गा.वि.स.मा गाबु खरक, गेझा, बिरडाँडा, चितडाँडा, लिहुँडाँडा (लिहुँक = एक प्रजातीको बाँस), डुबिनडाँडा, टालटुङ, लाखुडाँडा, आर्ज्याङदी (गोहोरो पाइने पानी), पक्वादी, रोग्दीठाँटी, रोग्दी, डघ्या, पैदीखोला, साङल्हीङ्गा, ल्हाडाँडा (लोक डाँडा), खोरतुङ, सिमलस्वाँरा (मगर भाषामा स्वाँरा= बारीको ठूलो पाटो हुन्छ), गाउँस्वारा आदि मगरको भाषा संस्कृतिमा अर्थ लाग्ने स्थान नामहरू हुन् । त्यसैगरी तिनदोबाटे गा.वि.स. ब्राह्मण नेपाली भाषामा अर्थ आउने नाम हो । सो गा.वि.स.मा चिध्यार, सर्वाङ्दी, बोझाकोट, सारुलाङ्घा, सौरडाँडा (एक रुखको आधारमा), दाङसिङ/दाङसिङ्गा, मदिखोला, राम्चे, गौलौदी, करादी, छाप, बाङ्राती (मगर शब्द बाङ्रो बाट), आदि मगर, मगर भाषा र संस्कृतिमा अर्थ लाग्ने स्थाननामहरू हुन् । यसै गरी केवँरे भञ्ज्याङ, गा.वि.स. को नाम केवँरासार पाइने भञ्ज्याङबाट रहेको हुन सक्दछ । यस गा.वि.स.मा हरेन्डाँडा, रिप, गडामडी (हाल : हिलेपानी), घोर्लीछाप (आरु फलको रुखको आधारमा), केवँगरेभञ्ज्याङ, गरौंसुर, बन्डास्वाँरा, लाँकु कुमस्वाँरा आदि मगर भाषामा अर्थ खुल्ने स्थाननामहरू हुन् ।
कुवाकोट गा.वि.स.मा बारीकुना, कुवाकोट, आँदीघाट, भुमरीघाट, छाप, छापडाँडा, फलाङ्दी, हिस्कीलाङ्घा, लामडाँडा, मगरे लामडाँडा, सुर्खाडाँडा, सराङ्दी, सेनडाँडा, रोग्दीठाँटी, आँदीगाउँ, बिरडाँडा आदि मगर सम्बन्धित नाम हुन् । मल्याङकोट गा.वि.स. मगर भाषाको मर्ल्ह्याङ =केही पनि नभएको रित्तो कोटको अर्थमा रहेको हुनसक्दछ र यससँग सम्बन्धित कुनै किंवदन्ती हुन सक्दछ । यस गा.वि.स.मा लामडाँडा, गाउँदी, डाँडाबारी, दार्सिङ, जरुवाखोला/जदुवाखोला, आल्दी, भण्टाबारी, मल्याङकोट, घुर्लीचौर, सर्तिडाँडा, पुम्दी, भोर्ले, हँकडाँडा, इनासकोट, बिन्दी, दिसिङकोट, कराङ्दी, घेसटारी आदि मगरसँग सम्बन्धित स्थाननामहरू हुन् । चापाकोट गा.वि.स, रत्नपुर र सेखाम गा.वि.स.का नामहरू ब्राह्मण पहिचानमा अर्थ लाग्ने स्थाननामहरू हुन् । चापाकोट गा.वि.स.मा निदिम, बैडी, ठुम्का आदि मगर भाषा, संस्कृतिमा अर्थ लाग्दछ । रत्नपुर गा.वि.स.मा धुर्कोट, राङ्खोला, माडी आदि र साँखर गा.वि.स.मा साँखर (नदीमा माछा मार्न थापिने प्रयोग गरिने स्थानीय प्रविधी को शब्द) खदी, ताहु, मानीचौर, केलादी, बरनडाँडा, कुनादी, हिउदी, भर्ले, खासा आदि मगर जातिसँग सम्बन्धित स्थान नामहरू हुन् । यसै गरी सेखाम गा.वि.स.मा घुर्पाल (घोरपाल=मिहाल), लंखुर, खाम्चे, हिलमराङ, वलौदी, वटाङ, बंरादी, भुरुङसिङ, गिल्लाङ, भरङथुम, भञ्ज्याङ, कौदी, किटिहा, बिरडाँडा, खानीलाङ्घा, पलामीइम, नाम्दीखोला, साहान्दी आदि मगर भाषा र संस्कृतिमा अर्थ लाग्ने स्थाननामहरू हुन् ।
५.३ निर्वाचन क्षेत्र नं. २ मा मगर जातिसँग सम्बन्धित स्थाननामहरू:
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ अन्तरगत वालिङ नगरपालिका सहित कालिकोट, थुमखोखरा, जगत भञ्ज्याङ, एलादी, मनकामना, चिन्नेबास, चित्रे भञ्ज्याङ, क्याक्मी, बिरुवा अर्चले, बानेथोक देउराली, पेल्काचौर, छाङ्छाङ्दी, दार्सिङ/दहथुम, स्वरेक, खिलुङ देउराली, ढापुक सिमल भञ्ज्याङ, अर्जुन चौपारी, रापाकोट गा.वि.स.हरू पर्दछन् ।
वालिङ नगरपालिकाको नाम मगर भाषामा अर्थ लाग्छ । मगर भाषामा वालिम्टैको अर्थ वरिपरिबाट घेरिएको भन्ने हुन्छ, यसको भौगोलिक अवस्था हेर्दा पनि त्यस उपत्यकालाई वरिपरिबाट डाँडाहरूले घेरेको छ, पहरा दिएको छ । यस नगरपालिकामा भुमर्या, छिस्तुङ (छिस्च तुङ बाट), वालिङ, बरतुङ (बरको रुखनेर अर्थमा), फोक्सीङ (सालघारी भन्ने अर्थमा), भेंmडीथोक, मदिकोला, ग्यादीखोला, मास्कीडाँडा (मगरको थरको आधारमा), आग्रीडाँडा (खानी विज्ञ बस्ने डाँडाको अर्थमा), ब्याङतुङ (ब्याङ्कनेर भन्ने अर्थमा), मिर्दि, खर्यान, घोर्लीचौर, झल्याङ्दी, कसेदी, राक्से (र्हा स्या बाट), घोरपाल (मिहालको रुखको आधारमा), फकलादी, रानाखोला, थवादी, भाञ्ज्याङ, सेरा, कल्लेरी, गब्दी, सुर्कीदी, मोचाबारी, रैपाला, बङ्राङ, दाङसे (दाङ्च सेच बाट ?) आदि नामहरू मगरको भाषा र संस्कृतिमा अर्थ खुल्दछ । कालिकोट, जगत भञ्ज्याङ गा.वि.स.का नामहरू ब्राह्मण पहिचानमा आधारित छ ।
कालिकोट गा.वि.स.मा हुल्काङ, हुग्दी, कोल्थुम (कोल्हुनेर बाट), साउन्दी, आङभाङ, करादी आदि स्थाननामहरू मगर भाषामा अर्थ खुल्दछ । जगत भञ्ज्याङ गा.वि.स.मा पारेथोक (मगरहरुलाई परे पनि भनिन्छ), (बराल, २०५० : २५), मिनाङकोट (मिनामबाट), झल्र्याङ्दी, गोगुल्टुक आदि स्थाननामहरू मगर भाषामा अर्थ खुल्दछ । थुपपोखरा गा.वि.स.मा नेटा, अर्लुङ, भोर्ले, बोदीभञ्ज्याङ, रियाले, डुम्रीस्वाँरा, तमादी, कोखे, फौदी खोला स्थाननामहरू मगर भाषामा अर्थ लाग्दछ । मनकामना गा.वि.स.मा कुमेरतुङ, यादी (याहा दि बाट), सपौदे, गोफादी, राइडाँडा, ललाङ, तरले, लुप्चगैरा, डिही, खाल्डाँडा, लामडाँडा, मचाबारी, आदि स्थान नामहरू मगर जातिसँग सम्बन्धित छ ।
एलादी गा.वि.स.मा बलिकोट, कपाउदी, एलादी, सोरडाँडा (सौर रुखको नामबाट), बिरौटा, ढोरल्हुङ, डुडेअऔपाटी, नाम्केडाँडा, बाहाचौर स्थाननामहरू मगर भाषामा अर्थ खुल्दछ । चिन्नेबास गा.वि.स.मा धारादी, लामाचौर,
[१७.स्याङ्जा पक्वादी गा.वि.स. आरज्याङ्दी जन्मस्थल भई हाल माहाराजगञ्च बस्ने ब्रिटिश गोर्खा पल्टका पुर्व क्याप्टेन तथा नेपाल प्रहरीका पूर्व एस.पी हस्तबहादुर थापा (पल्लीमगर) सँगको २०७१ माघेसक्रान्तीमा गरिएको कुराकानीमा आधारीत ।
१८.मगर भाषाका वरिष्ठ साहित्यकार तथा भाषाकार लोकबहादुर थापामगरसँग २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारीत ]।
बिर्माखोला, मान्के, क्वादी, धुसेनी, टोड्के, भालुथुम्का, आदि नामहरू र चिलाउनेबास गा.वि.स.मा सिरिङडाँडा, बस्याबारी, फेदी, मुसदीबारी, फप्रेटा, झादीखोला आदि स्थाननामहरू मगर भाषामा अर्थ लगाउन सकिन्छ । चित्रे भञ्ज्याङ गा.वि.स.मा कुलुङखोला, एक्मा (लिखित एस्मा), लिन्दीस्वाँरा (जुका लाग्ने बारीको पाटा), करङस्वाँरा (कर्हाङस्वाँरा), लामीस्वाराँ, झिरुबास, सिरौंले, बाँग्यास्वाँरा, राम्चे, जुघारी (परिवर्तिन जुकाघारी), रोदीखोला, साङ्खोर्या, राट्यापाहार, भोङ्र्या, सपाङ्द्या (सपाङ्दी) आदि मगरसँग सम्बन्धित नामहरू हुन् । त्यसै गरी कर्हाङस्वारा गाउँमा रिकस्वरा, राँघुस्वारा, खुमबारी, ढुल्यालाम, भञ्ज्याङस्वाँरा, ज्यामिरस्वाँरा, काफलडाँडा, खरलुकबोट (खर्लुकबोट्या), पाङ्दुरदी, कलसेङ्दी, ढाबदी, मुढादी, काफलदी आदि स्थानीय नामहरू मगरले राखेको पाईन्छ ।
क्याक्मी गा.वि.स. मा घेमाछाप, भ्रुमलिङथोक, सरनडाँडा, भञ्ज्याङ, आलेथर, चाङसिङ, दारेगौंडा, दग्दी आदि स्थाननामहरू मगर भाषामा अर्थ लाग्दछ । क्याक्मी क्योक्च अर्थात चिसो शब्दबाट बनेको हुनुपर्दछ । यसका साथै ढेंगाछाप, गैदीखोला, बैदीछाप, मन्जयाङ, खन्तीछाप, कुटुम्सा, हटिया, ओमजर, दग्दी, बैरनी (बोइ राहानी अर्थात बुबा आउनुहोस बाट), कोटथोक, कल्स्यान, आँसीबारी, सेरोंखोला, बुङ्दीखोला, जामुने, डुँडेखोला, भन्टारी आदि मगर जातिसँग सम्बन्धित स्थाननामहरू हुन् स्थानीयका अनुसार दग्दी भन्ने ठाउँमा एउटा दिदी भाइ थियो रे अनि भाइले दिदीलाई मगर भाषामा दै दि गाके याहानी भन्दा त्यो अपभ्रँश भएर दग्दी भएको र ओमजर ठाउँमा ओमा (वामा = बारुला) धेरै हुने रहेछ त्यो पोल्न एक किसिमको घाँस सामा ले जोके म्हे जुर्ह्के (पोल्ने) गर्दा रहेछन् त्यही ओमा (वामा) पोल्ने क्रियाकलापबाट ओमजार रहेको भन्ने पनि गर्दछन् । विरुवा अर्चले गा.वि.स.मा मचाबारी, घ्याङसिङडाँडा (चिलाउनेको रुख भएको डाँडा), ज्याग्दीखोला, सिरिडाँडा, ललाङ आदि मगर भाषामा रहेका स्थाननामहरू हुन् । बानेथोक देउराली गा.वि.स.को नाम आधा मगर भाषामा र आधा ब्राह्मण पहिचानमा छ । यस गा.वि.स.मा बानेथोक (मगर भाषामा सबै सकिएको टोल), साम्झा (स्थानीय भाषामा साम्जा), ओर्याङ्दी, लेँडा (मगरलाई गाली गरेर रहन गएको स्थाननाम) समादी (साम्दी), रोदीखोला, मगरस्वाँरा, रिप, गुमादी, थामडाँडा, रिजु, बझादी आदि नामहरू मगर जाति सँग सम्बन्धित छन् ।
पेल्काचौर, छाङछाङ्दी, दार्सिङ, स्वरेक, खिलुङ, ढापुक र रापाकोट गा.वि.स.का नामहरू मगर भाषामा अर्थ खुल्दछ । अर्जुनचौपारी गा.वि.स.को नाम चाहीँ ब्राह्मण पहिचानमा आधारित छ । छाङ्छाङ्दी गा.वि.स.मा छाङछाङ्दी, छाप्राक (छाप्रा लाक बाट), सिरददी तथा दार्सिङ गा.वि.स.मा लामाचौर, दार्सिङ, केघा, सारुगाउँ मगर भाषामा अर्थ खुल्दछ । यसै गरी स्वरेक गा.वि.स.मा स्वरेक, कोलपोखरी, फेदी, गोदीखोला, आग्रीडाँडा, भोर्ले, छगदी आदि स्थाननामहरू तथा खिलुङ देउराली गा.वि.स.मा तिसेदी, धोवादी, कोटले, फोक्सीङ, खिलुङ, अरबेनी, गोदीखोला आदि नामहरू पनि मगर भाषामा अर्थ खुल्दछ । ढापुक गा.वि.स.मा ढापुक, ओकादी, रिप, गोदीखोला तथा रापाकोट गा.वि.स.मा आग्रीखरक, गैरीस्वाँरा, रापाकोट, मल्याङ्दी, खानीडाँडा, सल्यान, छाप, फोक्सीङ, भालुखरक आदि मगर भाषामा अर्थ लाग्ने स्थानामहरू हुन् ।
५.३ निर्वाचन क्षेत्र नं. १ मा मगर जातिसँग सम्बन्धित स्थाननामहरू:
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तरगत पुतली बजार नगरपालिका सहित आरुचौर, पञ्चमुल, दरौं, राङभाङ, ओरष्टे, किचनास, मग्याम चिसापानी, कोल्मा बराहाचौर, बहाकोट, ठूलाडिही, टक्सार खलङ्गा, पौवागौंडे, फेदीखोला, आरुखर्क, भाटखोला, सेतीदोभान, फापरथुम, चिलाउनेबास, बिचारी चौतारा, वाङसिङ देउराली र बाँगेफड्का गा.वि.स.हरू पर्दछन् । पुतलीबजार नगरपालिका हालको पुतलीखेत बजारमा नुवाकोटबाट स्याङ्जा बजार जिल्ला सदरमुकाम झार्ने समयताका एक स्थानीय व्यक्तिको खेत पुतली आकारको थियो रे त्यही खेतको आधारमा त्यस ठाउँलाई पुतलीखेत भनियो र पछि पुतलीबजार नगरपालीका भएको स्थानीयहरू बताउँदछन् । त्यसभन्दा अघि त्यसफाँटलाई के नाम भनिन्थ्यो त्यो अध्ययन भएको छैन । यस नगरपालिकामा स्याङ्जा बजार, लगनतुङ, आरौदी, द्याङ्दी, मुडुले, लामडाँडा, खोरिया, हुँदीकोट, मजुवा, बाडखोला, बैदी, बोदीखोला, यलादी, बर्जा, राङ्खोला, गुदीखोला आदि मगर नामहरू हुन् । आरुचौर, पञ्चमुल गा.वि.स.का नामहरू ब्राह्माण पहिचानमा आधारित छ । पञ्चमुल गा.वि.स.मा हेमुङ, अघौंदी, मान्केस्वाँरा, डहरम्हाक, राम्चे, सिरुबारी, आदि मगर भाषामा अर्थ खुल्दछ । दरौं गा.वि.स. को नाम मगर भाषामा दहर भन्नाले बस्तीमा गल्ली भन्ने हुन्छ त्यसैले त्यसैले दरौं सिरुबारी नाम रहन गएको हुन सक्दछ । यहाँ गोठेडाँडा, काहुले, बोडीखोला, दरौं, घोस्र्याङ मगर भाषामा अर्थ लाग्ने स्थाननामहरू हुन् ।
राङभाङ गा.वि.स. मगर भाषाबाट रहने गएको हो । राङराङ्टी लेच भ्वाङ अर्थात ठूलो न ठूलो प्वाल भन्ने अर्थबाट बनेको बताइन्छ । यस गा.वि.स.मा रुपाखरक (चाँदी खरक), सोलडाँडा (सोलोट्च परिस्च डाँडा), खाङराङ, आर्चुङबास (आर्चाओ बास), धोवादी, सिउँदी, राङखोला मगर भाषा र संस्कृतिमा अर्थ खुल्ने स्थाननामहरू हुन् । यसै गरी ओरस्टे गा.वि.स.मा फौदी, भाञ्ज्याङ,
[१९.चित्रेभञ्ज्याङ गा.वि.स.मा जन्म भएका मगर भाषाका साहित्यकार रुद्र सन्देश सँग पोखरामा २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारीत ।
२०.क्याक्मी गा.वि.स. वडा नं. ३ बस्ने बर्ष २६ का निर्मला आलेमगर र वर्ष ५२ का दानकुमारी थापामगर संग २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारित ।
२१.मगर भाषाका वरिष्ठ साहित्यकार तथा भाषाकार लोकबहादुर थापामगरसँग २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारीत ।
२२.बानेथोक देउराली स्थायी घर भई हाल पोखरा बस्ने बर्ष ३२ का विष्णुमाया थापामगरसँग पोखरामा २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारीत ]
दासा, रानाथर, सरङ्से, दुम्सीगैर्हा, थानगैर्हा, चिडाँडा, बाङबुङ, खाङराङ, घोप्टे, खाली, फौदीखोला मगर स्थान नामहरू हुन् । किचनास गा.वि.स.मा दुम्सीदी (दस्सीदी), भोर्ले (भोर्ल्हा), च्याङ्नाश, कोल्डाँडा, गिजनबारी, काहुले, तर्रेदी, छ्याक्मा, रिपगैर्हा, ढाप स्वाँरा, चेप्ट्या, रानाथर, सारुथर मगर सम्बन्धित स्थान नामहरू हुन् । मग्याम चिसापानी गा.वि.स.मा झ्यापुल्डाँडा, ग्याग्दी, प्यारसिङ, पुछौदी, फेदी, बलाम्दी, टारा, दुम्सीदी, गुर्जा, राहाले, चुइकुना, बलामदी आदि मगरसँग सम्बन्धित स्थाननामहरू हुन् । कोल्मा बराहचौर गा.वि.स.मा काल्खु, नाम्चे (नाम्या चेआ), कोल्मा, कोल्याङद, फोक्स्याटु, झोर्ल्याङटु आदि मगर सम्बन्धित स्थान नामहरू हुन् । काल्खु स्थान नाम रहने सन्दर्भमा त्यहाँ कालु राना भन्ने एक जना राजदरबारका रानीको सेवक थिए, त्यही भएर उनलाई जागिर बापत त्यस ठाउँको खुवा (अर्थात पाखो) रानीले दिएका रहेछन् । त्यही कालु रानाको खुवा भन्दा भन्दै काल्खु भएको भन्ने स्थानीयको कथन छ ।
बहाकोट गा.वि.स.को नाम मगर शब्द बाहाच +कोट बाट बनेको हुनु पर्दछ । यस गा.वि.स.मा डाँडास्वाँरा, द्याङ्दी, बाहाकोट भाञ्ज्याङ, धोवादी, सिर्दी, आरभेन (चिउरी), काउले आदि मगर भाषामा अर्थ लाग्ने स्थाननामहरू हुन् । ठूलाडिही, पौवागौडे, फेदीखोला गा.वि.स.का नामहरू मगर भाषामा अर्थ लाग्दछन् । ठुलाडिही गा.वि.स.मा पोस्याङ (पोस = घाम लाग्ने ठाउँ, आङ=मा), तारुका (टार्मा काके बाट), हुदी भाञ्ज्याङ, भारकोट, खानीस्वाँरा, साङ्दीखोला, रहाले, ठुलाडिही, आरकुना (आर्काल्च कुना, फलाम कुना बाट), साङ्दी, तोरादी आदि मगर भाषामा अर्थ लाग्ने स्थाननामहरू हुन् । पौवागौंडे गा.वि.स.मा टारी, गिन्चौर (गिजन चौर वा गिन बाट), गौंडा, चन्डीथान, व्राङ्स्या, सुरौदी, बुढाखोला (बुढामगर थरको आधारमा) आदि मगर स्थाननामहरू हुन् । फेदीखोला गा.वि.स.मा गैरीस्वाँरा, बडाचौर, काहुले, विरुवा, फेदीखोला, धारादी, सराङ्दी, चन्डीडाँडा, साँदी, लामीस्वाँरा (बाटामा पर्ने बारीको पाटोको अर्थमा), कल्ल्हेरी आदि मगर भाषा र संस्कृतिमा अर्थ खुल्ने स्थानामहरू हुन् । यसैगरी आरुखर्क, आरुचौर, भाटखोला, फापरथुम, चिलाउनेबास ब्राह्मण पहिचानमा छ भने विचारी चौतारा गा.वि.स.को नाम राणाकाल र सो भन्दा अघि न्यायधिश बस्ने वा न्यायदिने चौताराको सन्दर्भमा रहेको हुन सक्दछ । भाटखोला गा.वि.स.मा तिलिङ्गाथर, काहुले, थाउनेडाँडा (ठाङ्नाबाट), सेदीसिम्ले, ठूल्डीही स्थाननामहरू पनि मगर भाषामा अर्थ खुल्दछ । बाँङेफड्के गा.वि.स.का नाम मगर शब्द वाङ्के शब्दबाट रहेको हुन सक्दछ । बाङसिङ देउराली गा.वि.स.मा भस्र्याङ, लौप्सीबोट, अर्गदी, धाहा, भाञ्ज्याङ, घाङसाङ्दी, आङ्दीमुल (हाल : श्रवणकुमार समादी क्षेत्र), बाङसिङदेउराली आदि मगर भाषामा अर्थ खुल्ने स्थाननामहरू हुन् । सेतीदोभान गा.वि.स.को नाम मगर शब्द सेहच दी बाट रहेको हुन सक्दछ । यहाँ छाप, ढोलीगाहारा (ढोलीखेत), निस्ती (न्हीसदीको अपभ्रँश), जुग्लेडाँडा, बेतेहानी, काहुले आदि मगर भाषामा अर्थ खुल्दछ ।
५.५ नदीनाला र पहाडका नामहरू:
स्याङ्जा जिल्लाको सिमानामा कालीगण्डकी र सेती गण्डकी नदीहरू बगेका छन् । यस जिल्लाका सहायक नदीहरू आङ्दी (आँधीखोला), ज्याग्दीखोला हुन् जो कालीगण्डकी नदीमा मिसिन्छ र यिनीहरूको नामको अर्थ मगर भाषामा लाग्दछ । कालीगण्को मा रहेका सहायक नदीहरू आङ्दी (आँधीखोला), ज्याग्दीखोला मगर भाषामा अर्थ लाग्दछ । त्यसै गरि कालीगण्डकीमा मिसिने साना खोलाहरूहरू पिडिकोखोला, डहरखोला, खहरेखोला, छेस्क्याखोला, छर्तीखोला (छाहाच डी को अपभ्रँश), आरेकखोला, साउँदीखोला, रोग्दीखोला, पौदीखोला, भुङ्दीखोला, बैदीखोला, लुङ्दीखोला, भुम्दीखोला, मेङखोला फेदीखोला, दम्दीखोला, स्याघरेखोला, बराहाखोला, बेडीखोला, बुढीखोला, समादीखोला, लुग्दीखोला फौदीखोला (ओरष्टे), म्याङखोला आदि छन् जसको अर्थ मगर भाषा र संस्कृतिमा लाग्दछ ।
यसैगरी सहायक नदी आङ्दीमा मिसिने खोलाहरूमा ठूला खोलाहरू सेतीखोला, बाडखोला, आरौदीखोला, राङखोला, दरौंखोला, लुब्दीखोला, अर्मादीखोला, मिर्दीखोला, फौदीखोला, मटाहाखोला (मान्केखोला) र साना खोलाहरूमा सरादीखोला, नाम्दीखोला, लेतेखोला, ध्यारुङखोला, फेदिखोला, जरेखोला, रगुवाखोला, निस्तीखोला, पातीखोला, सम्दीखोला, साङखोला, गुडीखोला, हुदीखोला, लितिखोला, केवँरेखोला, कौदीखोला, भिकुवाखोला गोदीखोला, घ्वाङखोला, मदीखोला, हलदीखोला, रामदीखोला, तारुखोला करादीखोला, आङ्ज्याङ (निबुवा) खोला आदि छन्, जसका नामहरू मगर भाषा र संस्कृतिमा व्याख्या र विश्लेषण गर्न सकिन्छ । यसै गरी सेनी नदीमा सुरौदीखोला, राहालेखोला, साँखेखोला मिसिन्छ जसको नामलाई मगर भाषा र संस्कृतिमा व्याख्या गर्न सकिन्छ । त्यस्तै गरि टम्कीकोट, सिर्सिकोट, गह्रौसुरकोट, खिलुङ आदि पहाडहरूको नाम पनि मगरसँग सम्बन्धित छ ।
६. रुपान्तरण भएका स्थाननामहरू :
[२३.मगर भाषाका वरिष्ठ साहित्यकार तथा भाषाकार लोकबहादुर थापामगरसँग २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारीत ।
२४.मग्याम चिसापानी –४ का बर्ष २८ का गोविन्द सिंजालीमगर सँग २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारीत ।
२५.चित्रेभञ्ज्याङ गा.वि.स.मा जन्म भएका मगर भाषाका साहित्यकार रुद्र सन्देश सँग पोखरामा २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारीत ]।
मानव वस्ती, गाउँ/नगर, नदीनाला, पहाड तथा जमिन जंगल र जलको नामकरण स्थानीय रुपमा बसोबास गरेका मानिसहरूको भाषा तथा संस्कृति अनुरुप रहन गएको हुन्छ । स्याङ्जा जिल्लामा मगरहरू रैथानेको रुपमा लामो कालखण्डदेखि बसिआएको विवाद छैन । त्यसैले स्याङ्जाका अधिकाँश स्थाननामहरू, नदीनाला, पहाड, जमिन तथा वनजंगल आदिका नामहरू मगर भाषामा र मगर संस्कृति तथा जातिसँग सम्बिन्धित छ । तर पछिल्ला समयमा अन्य जाति, भाषा तथा संस्कृतिको समिश्रणले गर्दा मगर स्थाननामहरू परिवर्तन भएका छन् । अन्य जाति तथा भाषीले मगर भाषा तथा संस्कृतिको जानकारी अभावमा उच्चारण गर्न अप्ठेरो भएका कारण, उनीहरूको अनुकूलमा अर्थ नलाग्ने कारण कतिपय मगर स्थाननामहरू थोरैथोरै अपभ्रँश गरेर परिवर्तन गरिएको पाइन्छ भने पछि गएर त्यसलाई मगर पहिचान हटाएर आफ्नो अनुकूल व्याख्या विवेचना गर्ने गरेको पनि पाइन्छ ।
विगतमा लामो समय नेपाल राज्य एक भाषा, एक संस्कृति तथा एक जातिको नारा बोकेर अघि बढेको कारणबाट कतिपय नामहरू राज्यले परिवर्तन गरिदिएको पनि यथार्थ छ । अर्कोतर्पm मगरहरूको कमजोर सचेतना तथा उनीहरूको बेवास्ताका कारण आफ्नो ऐतिहासिकता नबुझी परिवर्तनको लागि स्वीकृती दिएकाले मगर स्थाननामहरू परिवर्तन भैसकेका र भैरहेका छन् । राज्यको वेवास्ता तथा मगर जातिको पलायनताका कारण, मगर जातिले अधिकारको लागि सशक्त आवाज उठाउन नसकेको कारण तथा पश्चिमीकीकरण जस्ता कारणले गर्दा मगर भाषा तथा संस्कृतिको विश्वविद्यालयमा अध्यापन र अध्ययन अनुसन्धान नहुने कारणबाट पनि मगर भाषा तथा संस्कृतिमा ऐतिहासिकता, पहिचान झल्काउन सक्ने स्थाननामहरू परिवर्तन भएको पाइन्छ । यहाँ स्याङ्जा जिल्लामा परिवर्तन भएका स्थाननामहरू मिहिन तरीकाले अध्ययन गर्न समय तथा साधनस्रोतको अभावले गर्न सकिएको छैन । सरसर्ती अध्ययन गर्दा पाइएका परिवर्तित स्थाननामहरू निम्नअनुसार छन् ।
निबुवाखर्कमा पर्ने मुटी (मुल दी को अपभ्रंस ) लाई मोतीचौर, “डुँडी” लाई दुधेचौर बनाईएको छ । मालुङ्गा गा.वि.स.मा पर्ने राम्दीलाई रामनदी बनाईएको छ । छाङछादी लाई छायाँक्षेत्र बनाइएको छ । स्याङ्जाको सदरमुकामको नगरपालिका स्याङ्जा हुनुपर्नेमा पुतलीबजार बनाइएको छ । यसै गरी जगत्रदेवी गा.वि.स. अन्तरगत गराङ्दी मगर गाउँमा ढोलदीलाई पाखापानी, बोगाङ लाई बमभाञ्ज्याङ र बारल्हाम डाँडा लाई बलपुक बरनडाँडामा नाम परिवर्तन गरिएको छ । यद्यपी स्थानीयहरू पुरानो नाम नै उच्चारण गर्ने गर्दछन । यसै गरी पक्वादी गा.वि.स.मा ल्हाडाँडा लोक डाँडामा परिवर्तन भएको छ भने केवरेभञ्ज्याङ गा.वि.स.मा गडामदीलाई हिलेपानी बनाइएको छ २८ ।
श्रीकृष्णगण्डकी गा.वि.स.मा जैपते लाई जयपते र मिर्म्ह्या लाई मिर्मी नाममा परिवर्तन गरिएको छ र त्यसको कथावस्तु फेरिएको छ । यसै गरि आलमदेवी गा.वि.स.मा सटुघा स्थाननाम सटुका मा र ग्वैराक्चडाँडा लाई कुखुराबास्ने डाँडामा स्थान नाम परिवर्तन भएको छ । पिडिखोला गा.वि.स. रहेको डुँडेबजारलाई आजकाल पिडीखोला बजार भन्न थालिएको छ भने ड्याङ्थुङ लाई पँधेरा भनिन थालेको छ । त्यस्तै गरि भालुथुङ भालुथुममा परिवर्तन भएको छ । एक किवंदन्ती अनुसार आजको भालुथुम गाउँमा धेरै बर्ष पहिले एक फुङ्जाली थरका तन्त्रमन्त्र जान्ने लामा थिए । उनले तन्त्रमन्त्र गरेर आफ्नो स्वरुप बाघमा बदल्न सक्दथे रे । ती लामा बाघ बनेर गाउँघर वरीपरीबाट खसीबाख्रा घरमा ल्याउने गर्दा रहेछन् । उनी त्यसरी बाघ बन्ने बेलामा अक्षता मन्तरेर जाँदा रहेछन् र फर्कँदा उनका परिवारहरूले त्यो अक्षता छ्यापे पछि मान्छेको रुप धारण गर्थे रे । एकदिन त्यसरी नै बाघ बनेर गएछन् र शिकार गरी बाघ गर्जे जसरी गर्जिदै आएछन् । उनका घरपरिवारले अक्षता छ्याप्नमा गल्ती गरेछन् र उनी बाघको रुपमा नै रहेछन् रे ।
त्यसपछि उनले ‘म तराईमा म भन्दा जान्ने लामा छ त्यहाँ गएर मान्छे भएर आउँछु, तर म भन्दा जान्ने लामा भेट्न सकिन भने म भालुको रुप धारण गरेको हुनेछु र त्यही रुप भएर म डाँडामा आएर मर्नेछु । म मर्दा मैले लामाधामी विद्याको लागि पढेका पुस्तक र मैले प्रयोग गरेका समान त्यो भालुसँगै गाडिदिनु र म स्वर्ग जानेछु’ भनेर हिँडेछन् । थुप्रै वर्ष घर नफर्केपछि घरपरिवार तथा छरछिमेकले पनि बिर्सिएछन् । धेरै साल पछाडि त्यही डाँडामा एउटा भालु मरेको रहेछ र गाउँलेहरूले चाल पाएपछि पहिलाका लामाले भनेको कुरा याद गरेछन् र उनले भनेको अनुसार गर्ने भन्ने कुरामा बहस हुँदा गाउँलेहरूले उसले बाघ बनेर दुःख दिएकोले उनले पढेको किताब र प्रयोग गरेको सरसामग्री त्यही भालुसँग जलाइदिएछन् । पछि त्यो ठाउँको कुरा गर्नुपर्दा मगर भाषामा भालुथुङ (भालु मरेको निर) भन्ने हुँदा भालुथुम बनेको किँवदन्ती बुढापाकाले गर्ने गर्थे रे । पछि थुम नामकरण गर्ने प्रचलनले पनि भालुथुङबाट भालुथुम बनेको पनि हुन सक्दछ । यसै गरी पेलाकोट गा.वि.स.मा पर्ने “पनाका” स्थाननाम “पड्काङ”मा, “मटाहाखोला”को नाम “मान्केखोला” नाममा परिवर्तन भएको छ ३१ ।
[२६.श्री गुप्त बहादुर थापामगरसंग वि.सं. २०६९ साल असो ७ गतेमा भएको अनौपचारीक कुराकानीमा आधारीत ।
२७.स्याङ्जा पक्वादी गा.वि.स. आरज्याङ्दी जन्मस्थल भई हाल माहाराजगञ्च बस्ने पूर्व एस.एस.पी हस्तबहादुर थापासँगको २०७१ माघे सक्रान्तिमा गरिएको कुराकानीमा आधारीत ।
२८.हरिदेव थापामगरसंग वि.सं. २०७१ को माघे सक्रान्तिमा गरिएको कुराकाकानीमा आधारित ।
२९.हरिदेव थापामगरसंग वि.सं. २०७१ को माघे सक्रान्तिमा गरिएको कुराकाकानीमा आधारित ।
३०.निबुवाखर्क गा.वि.स. खोलाखर्क निवासी भक्तसिङ सिङ्जालीले २०७१ पौष २१२ गते बताएको कथा अनुसार ।
३१.पेलाकोट, राम्चे निवासी मुक्ती रानासँग मिति २०७१ साल पौष २० गते गरिएको कुराकानीमा आधारीत ]।
मगर स्थाननामहरू परिवर्तन हुने क्रममा फरक कथाहरू जोड्दै गएको पनि पाइन्छ । क्याक्मी गा.वि.स.मा पर्ने बैदीछाप गाउँलाई आजकल बैद्य बसेको भएर बैदी नाम रहन गएको भनी कथा हालिएको छ । यसै गरी छाङ्छाङ्दीलाई पनि छायाँक्षेत्र बनाई संस्कृटाइजेशन गरी शिव र पार्वतीको नयाँ कथा प्रचारप्रसार गरिएको छ । पहिले पहिले दारसिङ् भनिने ठाउँ आजकल दहथुम नाममा परिवर्तन भएको छ । स्याङ्जाको सहायक नदी आङ्दी लाई आँधीखोला बनाईएको छ । स्याङ्जाको नाम श्रीजङ्गा ऋषीमुनीबाट पालित भएर स्याङ्जा नाम रहन गएको भनी प्रचार गरिएको छ । यसै गरि आँङ्दीखोला (आँधीखोला) को मुहान आङ्दीमुल आजभोली अन्धाअन्धी खोलाको नाममा प्रचार प्रचार भएको छ । यसरी स्याङ्जा जिल्लामा मगर स्थाननामहरू अतिक्रमण गरिने, परिवर्तन गरिने प्रचलन बढ्दो छ । अझ मिहिन तरीकाले गहिराईमा डुब्ने हो भने हजारौं मगर स्थाननामहरू परिवर्तन भएका हुन सक्दछन् । यसतर्पm सबैले चासो दिएर खोज्नु पर्ने देखिन्छ ।
७. निष्कर्ष
स्याङ्जा जिल्ला मगरहरूको आदिम भूमि हो । मगरहरूको आदिम भूमी भएकोले यहाँका नदीनाला, पहाड तथा स्थाननामहरू मगर भाषा र संस्कृति तथा मगर जातिसँग सम्बन्धित छन् । त्यस्ता स्थाननामहरूले मगर जातिको ऐतिहासिकता बोकेको हुन्छ त्यसैले पनि इतिहास खोतल्दछ । हुनत अहिले धेरै जसो स्थाननामहरू खसआर्य नेपालीकरण, संस्कृटाइजेशन भैसकेको छ । ऐतिहासिक कालखण्डमा आजका ति स्थाननामहरू के भनिन्थे भन्ने खोज्न सके पनि मगरहरूको इतिहास धेरै बुझ्न सकिन्थ्यो होला । तर आज पनि मगरका आदिम स्थाननामहरू धमाधम परिवर्तन हुँदै गइरहेका छन् । मगरहरूले व्यक्तिगत र संस्थागत दुवै तरीकाले इतिहासको लेखन गर्न जरुरी छ । समय र परिस्थीतिको कालचक्रमा स्थाननामहरू फेरिनु ठूलो कुरो नभए पनि त्यस्ता स्थाननामहरूको ऐतिहासिक नाम के थियो भनी अभिलेखिकरण गर्नु महत्वपूर्ण कुरा हो । नेपालभरी त्यसरी नै खोज्ने हो भने नेपालको सहि इतिहास, राष्ट्रिय एकता पनि आउने थियो कि ? यहाँ स्याङ्जा जिल्लाको मगर जाति, मगर भाषा र संस्कृतिका आधारमा रहेका स्थाननामहरू र परिवर्तन भएका कुराहरूलाई खोतल्ने प्रयास भए पनि अझ अध्ययन अनुसन्धान गर्न जरुरी छ ।
स्याङ्जा जिल्लाका मगरहरूले आफ्नो जिल्लामा रहेका ऐतिहासिक स्थाननामहरूको बारेमा छिटफुट लेख लेखे पनि पूर्ण लेखन गर्न सकेको पाइँदैन । त्यसैले मगर स्थाननामहरू अपभ्रँश हुँदै जाने रअर्थ समेत फरक पर्ने गरी स्थाननाम नै परिवर्तन हुने क्रम तिव्र छ । राज्य संयन्त्रको लगानी र इमान्दारीता नभएको अवस्थामा यही क्रममा स्थाननामहरू परिवर्तन हुँदै जाँदा मगरहरूले आफ्नो इतिहास र पहिचान गुमाउने निश्चित छ । यसले गर्दा नामहरू परिवर्तन नहोस् भनी राज्य, तथा यसका निकायहरूलाई खबरदारी गर्नुपर्ने कर्तव्य मगर समुदायमाथि पनि थपिएको छ । परापुर्वकालदेखि रहँदै आएको नामहरूलाई यथास्थीतिमा राख्न सकेमा नेपालको इतिहास पनि व्याख्या गर्न सजिलो हुन्छ । यसैले चलनचल्तीमा रहेका स्थाननामहरू परिवर्तन हुनबाट जोगाऔं ।
सन्दर्भ सामग्रीहरू:
जिल्ला विकास समितिको कार्यालय स्याङ्जा. २०६४. स्याङ्जा जिल्ला पाश्र्वचित्र, स्याङ्जा
गुरुङ, जगमान. २०६७. गण्डकीप्रसवण क्षेत्रको सांस्कृतिक सम्पदा, पश्चिमाञ्चल विकास मञ्च, पोखरा
थापा (सोमेसेनमगर), हिरासिङ २०६६, मगर–खस–अँग्रेजी शब्दकोष, नेपाल मगर संघद्धारा प्रकाशित
बरालमगर, केशरजंग, २०५०. पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
पन्थी, दीन, २०५९. पाल्पा–गुल्मेली उपभाषिका, काठमाडौ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
थापामगर, एम.एस., २०५९. प्राचीन मगर र अक्खा लिपि, ललितपुर : बृजी प्रकाशन
आलेमगर, यम बहादुर, (मिति). होटा माहाले इटा आले, दमौली : लेखक स्वयं (प्रकाशक)
सिङ्जालीमगर, विष्णुकुमार २०७०. आदिवासी मगरका विविध पक्षहरू, काठमाडौ : मगर अध्ययन केन्द्र ।
थापामगर, हिरासिङ, २०६६. मगर (ढुट)–खस–अँग्रेजी शब्दकोश, काठमाडौ : नेपाल मगर संघ, केन्द्रीय समिति ।
बुढामगर, कर्णबहादुर, सन् २०११. अ ट्राईलिङ्ग्वुअल डिक्सनरी अफ मगर ल्याङ्ग्वेज फोर्थ एडिसन, काठमाडौ : जितमान पुनमगर
बुढामगर, बमकुमारी, २०६४. मगर भाषाबाट ठाउँको नाम, काठमाडौ : अथार मगरात मगर भाषा–संस्कृति विकास प्रतिष्ठान । घर्तीमगर, बलाराम, २०५५. मूल, (योगी नरहरीनाथको इतिहास प्रकाशनमा सन्धिपत्रसंग्रह भाग १ मा समावेश गरिएको), काठमाडौ : लेखक स्वयं (प्रकाशक)
तारुङमगर, नारायण २०७०. धवलागिरी लग्गा ड मगर ढुट, उदिम जुङ्कुट, बर्ष १, अंक १ वि.सं २०७०, बुटवल : नेपाल मगर लेखक संघ, अञ्चल समिति लुम्बिनी चिदीमगर, छविलाल, २०७०. पाल्पा जिल्लामा मगर पहिचानको स्थाननामको स्थीति, शोधमाला, बर्ष ७, अंक १, काठमाडौ : मगर अध्ययन केन्द्र पृ ४५–५०
Barth, Fredrik, 1969. Ethnic Groups and Boundaries, Boston : Little, Brown and Company
Fukuyama, Francis 1992. The End of History and The Last Man, NewYork: The freePress
Gellner, David N., 1997. Nationalism and Ethnicity In Hindu Kindgdom: The politics of culture in contemporary Nepal London: Routledge.
[३२.क्याक्मी गा.वि.स. वडा नं. ३ बस्ने बर्ष २६ का निर्मला आलेमगर र वर्ष ५२का दानकुमारी थापामगर संग २०७१ पौष २० गते गरिएको कुराकानीमा आधारित ]।
Eriksen, Thomas Hylland, 1994. Ethnicity and Nationalism: Anthropological perspective, NewYork: Plutopress (Third edition 2010)
http://maps.google.com.np/ www.cbs.gov.np
This article’s source is Sodhmala Vol 8 No 9 Journal Of Magar Studies Center. Kathmandau, Nepal.
