पोखरामा छैनन् पर्यटक गाईड

Read Time:12 Minute, 1 Second

मनोज घर्तीमगर

नेपालमा १० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना सार्वजनिक गर्दै पर्यटन वर्ष सन् २०११ घोषणा गर्दा पोखरेली निकै उत्साही थिए ।

 

उत्साहाले बहकिएका पोखरेली पर्यटन व्यवसायीले पोखरा पाँच लाख पर्यटक भित्र्याउने घोषणा गर्न पछि परेनन् । जतिसक्यो धेरै पर्यटक ल्याउने दाबी गरिरहेकै बेला उनीहरुले पर्यटकका लागि चाहिने सामान्य कुरामा पनि ध्यान दिएनन् । विभिन्न देशबाट पोखरा चिन्ने मिठो सपना साँचेर हजारौं पर्यटक यहाँ आउँछन् । तर, तीमध्ये धेरैजसो पोखरा चिन्नु त कता हो कता भुलभुलैयामा परेर फर्कन्छन् । त्यसको मुख्य कारण हो, पोखराजस्तो पर्यटकीय क्षेत्रमा पर्यटक पथप्रर्दशक (टुर गाइड) नहुनु ।

पोखरा आएका पर्यटकलाई मजाले घुमाउन सक्ने गतिला पर्यटक पथप्रर्दशक छैनन् पोखरामा । ‘पोखरामा पर्यटक पथप्रर्दशक छैनन्, जसले गर्दा पर्यटकको बसाई घटेको छ’ पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटा भन्छन्‘यसको लागि यो क्षेत्रसँग सम्बन्धित संघसंस्थाले पनि चासो दिनुपर्छ ।’ सन् १८९९ मा नेपाल आएका जापानी नागरिक इकाइ कावागुचीले पोखराको सुन्दरताको बयान गरेपछि यो सहर विश्वभर चिनिन थालेको हो । कावागुचीले आफ्नो पुस्तकमा ‘पोखरा वास्तावमै पहिलो मन छुने ठाउँ रहेछ’ भन्ने लेखेका थिए । भारतबाट नेपाल हुँदै तिब्बत जान आएका कावागुची पोखरा घुम्ने पहिलो विदेशी मानिन्छन् । त्यही देखी नै पोखराको पर्यटन सुरु भएको छ । तर, यहाँ दक्ष टुर गाईड नहुनु पोखराका लागि बेईज्जत मात्र हैन, पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्छ भन्दै कुर्लिनेहरुका लागि गतिलो झापट हो । अहिलेसम्म पोखरामा एक महिलासहित करिब ६ जनाले मात्रै टुर गाइडको तालिम लिएका छन् । तीमध्ये दुई जना मात्रै टुर गाइडको रुपमा काम गरिरहेका छन् । गुरु त्रिपाठी र नेपाल पर्यटन बोर्डका पुर्व सदस्य बासु त्रिपाठी मात्रै पोखराका टुर गाइड हुन् ।

गतिला टुर गाइड नभएपछि पोखरामा आएका पर्यटकलाई सिटी गाइड, ट्रेकिङ गाइडले नै टुर गाइडको काम गर्छन् । सिटी र टुर गाइडले त केही हदसम्म पर्यटकलाई सन्तुष्टि दिलाउन सक्छन् । तर, त्यो भन्दा पनि ठूलो बिडम्बना पोखरामा आउने पर्यटकका लागि ट्याक्सी ड्राईभर, होटेलका रिसेप्सनिष्ट, पर्यटक गाडि चालक लगायतका व्यक्ति टुर गाइड बन्ने गरेका छन् । ‘पोखरामा टुर गाइड नै छैनन्, अनि के गर्ने ? ठाउँ चिन्न सक्ने र अंग्रेजी बोल्न सक्नेले टुर गाइडको काम गरेका छन्’ पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष बिप्लप पौडेल भन्छन्‘त्यति मात्रै हैन गतिलो गाइडको अभावमा होटेलका कामदार, ट्याक्सी ड्राईभरले पनि गाइडको काम गरेका छन् ।’

टुर गाइडको अभावमा असम्बन्धित व्यक्तिले पर्यटकलाई गाइड गर्दा थुप्रै कुराहरु गलत पनि भएका छन् । जसले गर्दा पोखरा चिन्न आएका पर्यटकले जुन हिसाबले पोखरा चिन्नु पर्ने हो । त्यसको ठिक विपरित तरिकाले बुझेर जान्छन् । पोखरा घुम्नका लागि यति धेरै रमणिय र आकर्षक ठाउँ छन् । गहनरुपमा घुम्ने हो भने एक हप्तादेखी महिनौ मात्रै हैन वर्षौ लाग्छ । नौं वटा त ताल छन् । नेपालमा मात्र हैन विश्वमा नै प्रसिद्ध रहेको फेवातालले सबैको मन लोभ्याएको छ । ‘पोखरामा आयने पर्यटकलाई अहिलेसम्म सिटी गाईडले घुमाउने गरेका छन्, यहाँ टुर गाईड नै छैनन्’ पर्यटन बोर्डका पूर्व केन्द्रिय सदस्य एवं टुर गाइड तालिमप्राप्त वासु त्रिपाठी भन्छन्‘यसले पर्यटकलाई पोखराबारे सही र बिस्तृत जानकारी पाउन सकेका छैनन्, एक सामान्य गाइडले फेवातालमा लगेर पर्यटकलाई दश मिनेट भुलाउन सक्दैन जसले उनीहरुको बसाई छोटिएको छ ।’

मौसम खुलेको बेला अहिलै हिउँ खेल्न जाउँ जस्तो लाग्ने गरि देखिन्छ, हिमाल । तर, गतिला गाइड नहुँदा हिमालको नाम समेत चिन्न नसकी पर्यटकहरु पोखराबाट फर्किन्छन् । भित्री संसारमै रमाउन चहानेहरुका महेन्द्र, चमेरे, गुप्तेश्वर लगायतका आधा दर्जन गुफा छन् । तर, यी गुफाहरुको बारेमा धेर कम गाइडलाई थाहा छ । पर्यटक घुमाउने गाइडले दिस इज अ फिस्टेल माउन्टेन, दिस इज अ फेवाताल भन्ने बाहेक बिस्तृत रुपमा व्याख्या गर्न सक्दैनन् । ‘पोखरा पर्यटकीय दृष्टिले धेरै अगाडी भए पनि यहाँ दक्ष टुर गाइड नहुनु बिडम्बना हो, यहाँ धेरै कुराहरु छन् तर तिनका बारेमा यथार्थवस्तुस्थिती बताउन सक्ने गाइड छैनन्’ पोखराका एकमात्र स्वतन्त्र टुर गाइड गुरु त्रिपाठी भन्छन् ‘यहाँको बारेमा यथार्थ जानकारी दिन सके पो प्रचार पनि धेरै हुन्छ, यहाँको बारेमा भन्नै जान्दैनन् अनि विदेशीले आफ्नो देशमा गएर के भन्छ ? त्यसैले पोखरामा तालिमप्राप्त टुर गाइडको ठूलो अभाव छ ।’

सराङकोटको डाँडादेखि प्याराग्लाईडिङ्गमा हावामा कावा खाँदै फेवातालको छेउ खहरेमा ओर्लदाको बेग्लै मज्जा । पोखरामा हुने विभिन्न मेला महोत्सव, विभिन्न साँस्कृतिक पर्व, लोप हुँदै गएको गुरुङ÷मगरहरुको रोधी मात्रै हैन, घाटु, कौरा, मारुनी, सालैजो लगायतका नाचहरु हेर्न पाउँदा कसको मन फुरुङ्ग नहोला । यी यस्तै साँस्कृतिक सम्पदाहरु आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोगी बनेका छन् । गुरुङहरुको बाहुल्यता रहेका बस्तीहरु धम्पुस, घान्द्रुक, लान्द्रुक, ताङतिङ, याङजाकोट, सिक्लेसका गाउँहरु घुम्ने हो भने वर्ष बिताउने ठाउँ छन् । धार्मिक सम्पदाले पनि पोखरा भरिपूर्ण छ । तालबाराही, बिन्दवासिनी, भद्रकाली लगायतका मन्दिरहरुको इतिहास भन्न सक्ने गाइड पाउन सकिदैन । ‘हामीले पोखरामा टुर गाइड उत्पादन गर्न लागि परेका छौं, पर्यटन बोर्डमा तालिमका लागि प्रपोजल पनि हालेका छौं, अब तालिम हुने लगभग पक्कापक्की छ’ टुर गाइडका लागि सबभन्दा सम्बन्धित संस्था नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) पोखराका पूर्व अध्यक्ष ओमप्रकाश पाण्डे भन्छन्‘टुर गाइडको अभावमा पर्यटकले यथार्थ जानकारी पाउँदैनन्, पर्यटकबाट यस्ता गुनासा बेला बेला आईरहेका छन् ।’ पाण्डेले यस विषयमा पर्यटन बोर्ड पनि गम्भीर हुनुपर्ने भन्दै उसले सहयोग गर्नुपर्ने बताए ।

त्यसो त नेपाल भ्रमण वर्ष सन् १९९८ चल्यो । त्यसले पोखरामा पर्यटक भित्र्याउन राम्रै सहयोग गरेको थियो । यस्तै सन् २००७ मा पोखराको पर्यटन प्रवद्र्धनका लागि“ पोखरा भ्रमण बर्ष” अभियान चल्यो । त्यसले पनि पोखराको पर्यटन व्यवसायलाई राम्रै फाईदा पुर्यायो । अहिले पोखरामा सरदर ३० प्रतिशत पर्यटक आईरहेका छन् । पोखरामा सन् २००५ मा ७३ हजार पर्यटक भित्रिए । सन् २००६ मा त्यो संख्या पुग्यो ९२ हजार । २००७ मा त्यो १ लाख ६१ हजार । २००८ मा १ लाख ८६ हजार ६ सय ४३, सन् २००९ मा २ लाख ३ हजार ५ सय २७ र सन् २०१० मा दुइ लाख ३० हजार पर्यटकले पोखरा भ्रमण गरेका थिए । सरसरर्ति हेर्दा पोखरामा पर्यटक पनि वर्षेनि बढेका बढ्यै छन् । यसमा अझ दक्ष टुर गाइड हुने हो भने पर्यटकको आगमन बढ्ने मात्र हैन आएका पर्यटकको बसाई पनि लम्बिन्छ ।

पर्यटन व्यवसायीहरुका अनुसार पोखरा स्वर्गको टुक्रा हो । अहिलेसम्म कसैले स्वर्ग नदेखेपनि पोखरालाई स्वर्गको कल्पना गर्नेहरु धेरै छन् । यहाँ हरेक स्तरका पर्यटक आउँछन् । एउटा पाउरोटीमा छाक टार्नेदेखि लिएर पाँचतारे होटलमा बस्नेसम्म हैसियत भएका । यसले के देखाउँछ भने नेपाल थाहा पाएका पर्यटकको लागि पोखरा सपनाको सहर जस्तै हो । किन पनि नहोस आँखा खोलेर आँखा नचिम्लियुन्जेल हिमालै हिमाल । २१ दिने अन्नपूर्ण राउण्ड पदयात्रा मार्गमा जान अल्छि मान्ने पर्यटकहरुलाई पनि यहाँ एक दिने हाईकिङ् प्याकेजहरुको व्यवस्था छ ।

छोरेपाटनबाट अनदुडाँडामा रहेको विश्वशान्ति स्तुप हुँदै लेकसाईड निस्कने । बेगनासबाट कोटवारी, सुन्दरीडाँडा कालिकाचोकबाट ठुलाकोट, खोलाको छेउवाट रुपाकोट लगायतका स्थानहरु एक दिने हाईकिङ् स्पटहरु हुन् । त्यति मात्र हैन सराङकोट, नाउँडाडा,कालीका स्थान निर्मलपोखरी, कृस्ती, काहुँ डाँडा पनि हाईकिङका लागि महत्वपूर्ण स्थानहरु हुन् । यी स्थानमा घुम्नलाई टुर गाइड हैन ट्रेकिङ गाइडले काम गरेका छन् । ‘पोखरामा टुर गाइड छँदै छैनन्,त्यसैले ट्रेकिङ गाईडले पर्यटक घुमाउनु परेको हो’ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पोखरामा निवर्तमान अध्यक्ष नारायण सापकोटा भन्छन्‘पोखरामा करिब एक सय २० जना ट्रेकिङ गाईड कार्यरत छन् ।’ सापकोटाका अनुसार तालिम लिएका गाइडहरु भने करिब ६ सयको हाराहारीमा रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %