रेडियो थाहा आठौं वर्षमा,वृहत साहित्य गोष्ठी

Read Time:27 Minute, 37 Second

अशोक शुजन श्रेष्ठ

हेटौडा, फाल्गुन ८ – विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहा संचार ९९.६ मेगाहर्जले आफ्नो सातौं बार्षिकोत्सवका अवसरमा बिहीबार वृहत साहित्य गोष्ठी सम्पन्न गरेको छ ।

  कार्यक्रममा काठमाडौंसहित पूर्वाञ्चलका विभिन्न जिल्ला, बारा, चितवन, पर्सा, रौतहटलगायतका जिल्लाका साहित्यकारहरुको जमघट रहेको थियो । साहित्यकारहरु मनु मञ्जिल, श्रीओम श्रेष्ठ रोदन, राजेन्द्र सलभ, आरसी रिजाल, लक्ष्मण गाम्नागे, खेम नेपाली, गण्डकी पुत्र, देवान किँराती, रामगोपाल आशुतोष टंक आचार्यले कार्यक्रममा रचना वाचन गरेका थिए ।

त्यसैगरी निमेष निखिल, देवराज खरेल, यश लामा, माया मितु, सिर्जन अबिरल, पुष्प अञ्जली, अंकिता सुमार्गी, पुरु रिसाल, राजेश खनाल, छविरमण सिलवाल, सीमा आभाष, ज्योती जंगल, तेजबिक्रम कार्कीलगायतले पनि रचना वाचन गरेका थिए । 

पाँच विधामा थाहा वर्ष सम्मान:

रेडियोले वार्षिकोत्सव समापन समारोहमै विभिन्न पाँच विधामा थाहा वर्ष सम्मान २०७१ प्रदान गरेको छ ।

सम्मानित हुनेहरुमा शिक्षातर्फ देवप्रसाद श्रेष्ठ, कला र संस्कृतितर्फ केदारप्रसाद न्यौपाने, समाजसेवी कृष्णबहादुर थापा, कृषि तथा सहकारीतर्फ एकराज उप्रेती र स्वास्थ्यतर्फ डाक्टर अंगुरबाबा श्रेष्ठ कार्की रहेका छन । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तथा साहित्यकार बुंद राना, विशिष्ठ अतिथीहरु प्राध्यापक डाक्टर टंक न्यौपाने, साहित्यकार तुल्सी थापा र रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीले सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा रेडियोले आयोजना गरेको हेल्दी बेबी कन्टेष्टमा उत्कृष्ट दुई बालबालिकालाई पुरस्कृत गरिएको थियो । हेटौंडा १० की तेजस्वी बिडारी र चिराग डंगोललाई हेटौंडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले पुरस्कृत गरेका थिए ।

जोशीलाई ९० हजार सहयोग:

रेडियोले बार्षिकोत्सवका अवसरमा संगीतकार भोला जोशीको सहयोगार्थ संकलित रकम बिहीबार हस्तान्तरण गरेको छ ।

संकलित ९० हजार रुपियाँ रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीले जोशीलाई हस्तान्तरण गरएिको  हो । रेडियोका कर्मचारीहरुबाट ११ हजार ५ सय रुपियाँ संकलन गरी अभियानको शुभारम्भ गरिएको थियो । बुधबारसम्म संकलित ८० हजार रुपियाँको चेक जोशीलाई हस्तान्तरण गरिएपनि बिहीबार नै थप १० हजार रुपियाँ संकलन भएको रेडियोका स्टेशन म्यानेजर पवनराज पौडेलले जानकारी दिए ।

जोशीको सहयोगार्थ हेटौंडा–८ कमानेका विद्यार्थीहरुले खाजा खर्च जोगाएर चार हजार रुपियाँ सहयोग गरेका थिए । सहयोग रकम बुझ्दै संगीतकार जोशीले सहयोगले आफूलाई थप हौसला मिलेको भन्दै निरन्तर संगीतको सेवामा लागिरहने बताए ।

अस्वस्थ संगीतकार जोशीलाई आफ्नो उपचारका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बेलारुसका लागि महाबाणिज्यदुत समेत रहेका रेडियोका संरक्षक अजेयराज सुमार्गीले रेडियो थाहा संचारले आगामी चैत १ गतेदेखि काठमाडौंबाट प्रशारण आरम्भ गर्ने घोषणा गरेका थिए ।

थाहा आन्दोलनलाई जीवन्त राख्न रेडियो थाहाको प्रशारण क्षेत्र विस्तार गरिएको उनको भनाई थियो । कार्यक्रमा सभासद् रामनारायण बिडारी, मध्यमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, प्राज्ञ विवश पोख्रेल, समालोचक दधिराज सुवेदील, रेडियोका स्टेशन म्यानेजर पवनराज पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

पाँच विधामा थाहा वर्ष सम्मानितका परिचय:

१– केदार प्रसाद न्यौपाने

केदारप्रसाद न्यौपाने – उमेरले ७० बर्ष, यो उमेरमा पनि उहाँ युवा जोश बोकेर ईतिहाँस र संस्कृतीको खोज–अनुसन्धानमा दत्तचित्त हुनुहुन्छ। उहाँलाई नेपालको भौगोलिक ईतिहाँसको लिभिङ ईन्साईक्लोपेडिया भन्दा पनि फरक पर्दैन।

(बाँया बाट क्रमश:केदार प्रसाद न्यौपाने,कृष्णबहादुर थापा,एकराज उप्रेती रअंगुरबाबा श्रेष्ठ कार्की)

 बिक्रम सम्बत् २००२ सालमा मकवानपुरको नामटारमा जन्मनुभएका न्यौपाने शुरुमा सामान्य कौतुहलताबस् ईतिहाँसको अध्ययनमा आकर्षित हुनुभएको थियो। कालान्तरमा ईतिंहासको बिषयमा उहाँलाई यति टक बस्यो कि उहाँ स्वयम खोजकर्तामा रुपान्तरीत हुनुभयो।

औपचारिक शिक्षाविनै स्वअध्यननमार्फत अघि बढिरहनुभएका न्यौपाने अहिले ईतिहाँसमा पिएचडि गरिरहेकालाई गाईड् गर्नुहुन्छ। सरकारी पुरात्वविद्हरुलाई मकवानपुरको कुनै ठाँउमा खोजअनुसन्धान गर्नुपरे उहाँकै शरण पर्नुको बिकल्प छैन।

हुनपनि भौगोलिक ईतिंहाँसबारे उहाँको लगाव यति बेजोडको छ कि उहाँ ५०० बर्ष पुराना लालमोहरहरु, बाईसे चौबिसे राज्यको पालमा प्रयोग भएका गोली र तिनका खोकाहरु अझै सुरक्षित छन्।  ईतिहाँसको विषयमा उहाँको अध्ययन्लाई बुझेपनि जोकोहि पनि प्रभावित नभईरहन सक्दैन। हुन पनि उहाँले यहि खोज अनुसन्धानमा आफ्नै खर्चमा चोख्खो २५ बर्ष बिताउनुभएको छ। पच्चिस बर्ष के सानो समय हो?

मकवानपुरसहित १७ वटा जिल्लाको विस्तृत भौगोलीक ईतिहाँसबारे लेखिसक्नुभएका न्यौपाने अझै विभिन्न जिल्लाको खोज अनुसन्धानमा क्रियाशिल हुनुहुन्छ। उहाँको मकवानपुरको ईतिहाँस समेटिएको मकवानपुर परिचय नामको पुस्तक प्रकाशित छ। बाईसे चौबिसे राज्यको पालामा बनाईएका गढीहरुको ईतिहाँसबारे उहाँको विशेष दख्खल छ। गढिहरुकै अध्ययनका लागि भारतको बिहार सरकारद्धारा पटनासमेत झिकाईनुभएका न्यौपाने अहिले मकवानपुर गढी गुरुयोजना निर्माणको काममा व्यस्त हुनुहुन्छ। रोगव्याधिविना ७० बर्षको सक्रिय जिवन बिताईरहनुभएका न्यौपाने जीवनप्रति निकै सन्तुष्ट हुनुहुन्छ। ८–१० किलोमिटर यात्रा गर्नुपरे सवारी साधनको साटो पैदलै हिंड्न रुचाउने न्यौपाने भन्नुहुन्छ– विलाशिताले मान्छेलाई बिगार्छ।

ईतिहाँस तथा संस्कृतिविद् श्री केदारप्रसाद न्यौपानेलाई कला–संस्कृतितर्फको थाहा बर्षसम्मान २०७१ प्रदान गर्न पाँउदा हामीलाई निकै हर्ष लागेको छ।   

– देवप्रसाद श्रेष्ठ

देवप्रसाद श्रेष्ठ, अवकासप्राप्त शिक्षक, उमेर ७० बर्ष। ३३ बर्ष शिक्षण पेशामा विताउनुभएका श्रेष्ठलाई अवकासप्राप्त गरेको २ दशकपछि पनि हेटौंडाले कर्मनिष्ठ शिक्षकको रुपमा सम्मान गर्छ। 

(देब प्रशाद श्रेष्रठ कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तथा साहित्यकार बुंद राना बाट प्रमाण पत्र ग्रहण गर्दै)

  एसएलसि उत्तिर्ण नगर्दै आँफै अध्ययनरत् भिमफेदिस्थित तत्कालिन महेन्द्रमाविमा पढाउन थाल्नुभएका श्रेष्ठ त्यसपछि शिक्षण पेशाबाट कहिल्यै टाढिनुभएन। भुटनदेवि र आधुनिक स्कूलका प्रधानअध्यापक रहिसक्नुभएका श्रेष्ठ अहिले पनि भूटनदेवि उच्चमाविमा शैक्षिक सैक्षिक शुधार अभियान चलाँउदै हुनुहुन्छ भने हेटौंडा स्कुल अफ म्यानेजमेन्टको सञ्चालक समिति सदस्य हुनुहुन्छ। देवप्रसाद श्रेष्ठले शिक्षण पेशालाई जागिर कहिल्यै ठान्नुभएन। उहाँको लागि शिक्षक हुनुको अर्थ थियो– अन्य नागरिकको तुलनामा अझ जिम्मेवार हुनु, अझ्झ उत्तरदायी हुनु– किनकी एउटा शिक्षकको कर्मसंग सैयौं विद्यार्थिको भविष्य जोडिएको हुन्छ, सैयौं विद्याथिसंग समाजकै भविष्य जोडिएको हुन्छ।  

शिक्षामा राजनिती मिसाउनुहुँदैन भन्ने धारणा राख्नुहुने देव सरले कहिल्यै स्वभिमान दाउमा राखेर ईमान र विवेक गुमाउनुभएन। उल्टो २०४२ सालमा राजाको जन्मोत्सवको क्रममा पञ्चायती शासकहरुको बिरोध गर्दा कारबाहिमा पर्नुपर्यो। तर विद्यार्थी र अभिभावकहरुले १६ दिन लामो आन्दोलन गरि आफ्ना प्रिय देव सरलाई पुर्नबहाली गराए।  उहाँ भन्नुहुन्छ– यहि त सम्पत्ती हो। यहि त उपलव्धी हो। जहाँ तपाँईको पछाडी सैंयौं मान्छे खडा होउन्। हुन पनि मान्छे कमाउनुजस्तो गाह्रो काम संसारमा  केहि पनि छैन।  

धनी र गरिवविचको शैक्षिक खाडल गहिरीएकोमा उहाँलाई निकै चिन्ता लाग्छ। हाम्रो शिक्षपद्धती अझै व्यवहारीक र शीपमुलक बन्न नसकेकोमा उहाँलाई खिन्न लाग्छ। झन् शिक्षकहरु राजनितिक दलहरुको झण्डामुनि बाँडिएकोमा उहाँलाई नरमाईलो लाग्छ। भन्नुहुन्छ– शिक्षकले आँफैले बाटो बिराए बिद्यार्थीले कसरी मार्ग पहिल्याउला? उहाँको यो प्रश्न आजका आमशिक्षक, आजको समाज र आजको सरकारलाई हो।  

निकै प्रगतिशिल बिचार राख्ने देव सरको अध्यात्ममा गहिरो झुकाव छ। तर उहाँ रुढीबादी परम्परालाई पच्छ्याउनुहुन्न। ७० बर्षे देव सरकी १०० बर्षिय आमा जिवितै हुनुहुन्छ। आमालाई उहाँ भन्नुहुन्छ– आमा बाँचुन्जेल तपाँईको सेवा गर्छु। मरेपछि कर्मकाण्ड गर्दिन। आमा आफ्नो विवेकी छोरोलाई ब्रम्हले देखेको गर्न स्विकृति दिनुहुन्छ। आदरणिय देव सरलाई अझै चिरकालसम्म आमाको आर्शिबाद लिने अवशर पाईराख्नुहोस् भन्ने शुभेच्छा ब्यक्त गर्दै शिक्षातर्फको थाहा बर्षसम्मान २०७१ प्रदान गर्न पाँउदा हामीलाई निकै हर्ष लागेको छ।

३– एकराज उप्रेती

एकराज उप्रेती – कृषि सहकारीका अभियन्ता,१६ बर्षदेखि मनहरी साना किसान कृषि सहकारी संस्थाको नेतृत्व सम्हाल्दै आउनुभएका उप्रेती मकवानपुर जिल्ला कृषी सहकारी संघका अध्यक्ष र राष्ट्रिय जिल्ला कृषी सहकारी संघका उपाध्यक्ष हुनुहुन्छ।

(एकराज उप्रेती सम्मानित हुदै)

  उप्रेतीकै पहलमा १७ बर्षअघि मनहरीमा स्थापित भएको सहकारीमा अहिले १६ सयभन्दा धेरै किसानहरु आबद्ध छन्। सहकारीले दुध डेरी, पसल सञ्चालन तथा बचत र ऋणप्रवाहको काम गर्दै आएको छ। मकैको च्याँख्ला, मास, सिमि, महजस्ता स्थानिय उत्पादनले उपयुक्त बजार पाउन थालेपछि स्थानिय पनि खुसि छन्। सानो बाकसमा लेटरप्याड र छाप राखेर काम शुरु गरेको मनहरी साना किसान सहकारी संस्थाको अहिले आफ्नै ३ वटा गजबका भवनहरु छन्। सहकारीले नागरिकहरुको जनजिवनमा के फरक पारेको छ त भन्ने प्रश्नमा उप्रेती भन्नुहुन्छ– हिजो बिहान खाए बेलुका छैन, बेलुका खाए विहान छैन भन्ने स्थितिका गाँउलेहरु अहिले तरकारी, पशुपालन र दुग्ध उत्पादनमा लागेर बालबच्चालाई राम्ररी बढाउन सक्ने हैसियतमा पुगेका छन्। सहकारी क्षेत्रमा प्रसस्त बिकृतिहरु नभएका होईनन्। तर तिनलाई चिर्दै अघि बढ्न सके आम नेपालीको आर्थिक स्तरमा चामत्कारिक परिवर्तन ल्याउन सकिने उहाँको तर्क छ।

मकवानपुरका डाँडाखर्क, नामटार, कालीकाटार, गोगने, सरीखेत लगायत गाँजा खेतीका लागि कहलिएका ठाँउहरुमा अहिले उप्रेती र उहाँको समूह गाँजा खेति बिस्थापनका लागि क्रियाशिल बनिरहेको छ। त्यहाँका स्थानियलाई सहकारीमार्फत तालीम र सुलभ व्याजदरको ऋण उपलव्ध गराएर मात्र होईन स्थानीय उत्पादनका लागि बजार समेत खोजीदिएर गाँजाखेतीलाई तरकारी खेतीबाट प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ। हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ मकवानपुरका ३०० भन्दा धेरै मान्छेहरु अहिले गाँजा ओसारपसारको केशमा देशविदेशका विभिन्न जेलमा छन्?

के यो राम्रो कुरा हो? पक्कै होईन। उप्रेती भन्नुहुन्छ– त्यसैले हामी गाँउका किसानहरुलाई सहकारीमार्फत तरकारी खेती र अन्य आयमुलक काममा प्रोत्साहित गरिरहेका छौं। पञ्चायतकालमा बिद्रोहि नेता रुपचन्द्र विष्टसगै १० बर्ष जनमुखी राजनितिमा होमिनुभएका उप्रेतीले रुपचन्द्रबाट धेरै कुरा सिक्नुभयो। खासगरि समाजहितका लागि काम गर्न उहाँलाई रुपचन्द्र बिष्टकै सङ्गतले प्रेरीत गरेको हो। जनताभन्दा ठूलो शक्ति अरु केहि छैन भन्ने मान्यतामा विश्वास राख्ने कर्मशिल श्री एकराज उप्रेतीलाई कृषि–सहकारीतर्फको थाहा बर्षसम्मान २०७१ प्रदान गर्न पाँउदा हामीलाई निकै हर्ष लागेको छ।

४– कृष्णबहादुर थापा

कृष्णबहादुर थापा– उमेर ६३, पेशा– किराना पसल व्यवसाय – तर समाज सेवामा उहाँको गहिरो रुचि छ। समाजसेवाका लागि उहाँले रोज्नुभएको क्षेत्र कतिपयलाई अनौठो पनि लाग्नसक्छ। उहाँ घाटमा मृतकको अन्तिम संस्कारका लागि परिचित अपरिचित सबैलाई सघाउने काम गर्नुहुन्छ। हेटौंडाको राप्तीतटमा शवदहनको क्रममा दाउरा खोज्नु परोस्– वा चिता बनाउन परोस्– मृतक जुनसुकै जात वा धर्मको होस्– धनी होस् वा वेवारीस– कृष्णबहादुर थापा सदैव उपस्थित हुनुहुन्छ।

(कृष्णबहादुर थापा सम्मानपत्र ग्रहण गर्दै)

  मध्यरात होस्– वा अन्य कुनै प्रतिकुल समय– धेरैले कसैको अन्तिम संस्कार गर्नुपरे थापालाई सम्झन्छन्। थापा झन्झट नमानी आफ्नो ब्यापारधन्दा छाडेर घाटमा पुग्नुहुन्छ। दाउराको जोहोदेखि शुरु हुने उहाँको सक्रियता मृतकको देह पञ्चतत्वमा बिलिन नभएसम्म कायमै रहन्छ। काँधमा ठूल्ठूला मुढा बोकेर चिता बनाउनेदेखि अन्तिम संस्कारको प्रकृया सिकाउनेसम्मको काममा उहाँको भूमिका रहन्छ। र, बिर्सनै नहूने कुरा– यसरी सेवा पुर्याएबापत उहाँले कसैसंग कुनै शुल्क लिने गर्नुहुन्न।  

कृष्णबहादुर थापा जिवनमा पहिलोपटक आफ्नै पिताको मलामी जानुभएको थियो–२०२८ सालमा। आत्मीय पिताको शव चितामा देख्दा बिह्वल बन्नुभएका थापाले पिताको देह खरानी भईन्जेलसम्म जिवन र जगतबारे धेरै सोच्नुभयो अरे। अन्त्यमा उहाँको मनले निष्कर्ष निकालेछ– मान्छेको जिवन त क्षणमै खरानी भईजाने अस्थायी चिज पो रहेछ। शरीर त आखिर माटो पो भईजाने रहेछ। त्यहि दिनबाट सकेसम्म धेरैलाई अन्तिम संस्कारको क्रममा सघाउने प्रण गर्नुभएका थापाले अहिलेसम्म १५०० भन्दा धेरै मृतकको अन्तिम संस्कारका लागि शोकमा रहेका परिवारजनलाई मद्दत गर्नुभएको छ।  

प्रसिद्ध धार्मिक ग्रन्थ महाभारतमा एउटा प्रसङ्ग छ– यक्ष प्रश्नको नामले प्रसिद्ध उक्त प्रसंगको एक ठाँउमा यूधिष्ठिरलाई यक्ष सोद्धछन्– कि संसारको सबभन्दा ठूलो आश्चर्य के हो? जवाफमा यूधिष्ठिर भन्छन्– संसारमा हरेक दिन हाम्रो वरीपरि मान्छेहरु मरिराखेका हुन्छन्। तैपनि हामीहरु आँफु पनि एक दिन मरेर जानुपर्छ भन्ने सोच्दैनौं। यो भन्दा ठूलो आश्चर्य के हुनसक्छ?

थापालाई पनि यो भन्दा ठूलो आश्चर्य केहि छजस्तो लाग्दैन। मान्छेहरु विवेकका आधारमा चले यहि स्वर्ग– स्वार्थको आधारमा चले यहि नर्क भन्ने मान्यतामा विश्वास राख्नुहुने श्री कृष्णबहादुर थापालाई समाजसेवातर्फकोर्फको थाहा बर्षसम्मान २०७१ प्रदान गर्न पाँउदा हामीलाई निकै हर्ष लागेको छ।

५– अंगुरबाबा श्रेष्ठ कार्की

ग्यानेकोलोजिष्ट, फेमेलि प्लानिङ तथा ईन्फर्टिलिटि विशेषज्ञ-२०३४ सालमा हेटौंडाको भूटनदेबि स्कूलबाट एसएलसि गरि डाक्टर बन्न हिंड्नुभएकी श्रेष्ठ अहिले सफलताको जुन उचाईमा हुनुहुन्छ, त्यो असाध्यै लोभलाग्दो छ। ५३ बर्षिय श्रेष्ठ अहिले राजधानीस्थित ईनफर्टिलिटि केयर सेन्टरमा विशेषज्ञको रुपमा कार्यरत् हुनुहुन्छ। निसन्तान दम्पत्तीहरुको उपचार वा उनिहरुलाई उचित परामर्श दिनु– उहाँको काम।

(अंगुरबाबा श्रेष्ठ कार्की प्रमुख अतिथि बाट सम्मानपत्र ग्रहण)

  टिचिङ हस्पीटलबाट नर्सको रुपमा करियर शुरु गर्नुभएकी श्रेष्ठ सानो मेहनतले यो स्थानमा पुग्नुभएको भने होईन। तर आँटे के गर्न सकिंदैन– डक्टर बन्ने तिब्र ईच्छा मनमा पाल्नुभएकी श्रेष्ठ संघर्ष गर्दैगर्दै रसियाबाट एमडि डिग्री लिन सफल हुनुभएको हो।   निसन्तान हुनुलाई हाम्रो समाजमा अझै महिलाको दोषको रुपमा हेर्ने चलन छ। ५–७ बर्ष सन्तान नहुनेवित्तिकै उपचार खोज्नुको सट्टा पुरुषहरु दोस्रो विवाह गर्न अग्रसर हुन्छन्। समस्या पुरुषमा पो छ कि– त्यो हेर्न पट्टी धेरैको ध्यान जाँदैन। यहि पुरुषबादी सोचका कारण यहाँ कैयौंको घरबार उजाडिएको छ, कति महिलाहरुले उपेक्षित जिवन विताईरहेका छन् – त्यो गनिसाध्य र भनिसाध्य छैन।

डक्टर श्रेष्ठ– यस्तै निसन्तान दम्पत्तीहरुलाई बिज्ञानको सहारा लिएर वास्तविकता बुझ्न र सहि बाटो पहिल्याउन मद्दत गर्नुहुन्छ। नेपाली समाजका महिलाहरुले मनको कुरा मनमै र शरीरको रोग शरीरमै दबाउने गरेकाले दुख पाएको उहाँको भनाई छ। नेपालका धेरै महिलाहरु अहिले पनि सरसफाईका कमीका कारण हुने संक्रमण, आङ खस्ने लगायतका समस्याबाट प्रताडित छन्। डाक्टर श्रेष्ठ सपनामा समेत तिनै महिलाहरुले आफ्नो पिडा सुनाईरहेको दृष्य देख्नुहुन्छ। उहाँले तिनै महिलाहरुलाई लक्षित गर्दै सैंयौं निशुल्क स्वास्थ सिविर सञ्चालन गरिसक्नुभएको छ। धेरै फ्रि हेल्थ क्याम्प चलाउने भएकाले होला– साथीहरु उहाँलाई डाक्टर क्याम्पकुमारी भनेर जिस्क्याउने गर्दछन्। डाक्टर श्रेष्ठ साथीभाईको ख्यालठट्टालाई उहाँले जति सहज रुपमा लिनुहुन्छ आम नेपाली दिदिबहिनिहरुको स्वास्थ्यबारे।त्यति नै गम्भिर हुनुहुन्छ। आँफुपढे बढेको मकवानपुरमा उहाँ कम्तिमा बर्षको एकपटक क्याम्प चलाउन आईपुग्नुहुन्छ।

नेपालमा अहिले ८३ सय जना रजिस्टर्ड डाक्टर छन्, तर ग्यानेकोलोजीष्ट डाक्टर श्रेष्ठको नाम अग्रपंक्तीमा आँउछ। यो पक्कै पनि गर्वयोग्य कुरा हो। रस्साबाट डिग्रि हासिल गर्नुभएकि र यूएसएआईडीका लागि ५ बर्ष विशेषज्ञको सेवा दिईसक्नुभएकी श्रेष्ठले चाहेको भए धेरै नेपाली डाक्टरहरुले जस्तै विदेशमा आरामको जिवन विताउन सक्नुहुन्थ्यो। तर उहाँ नेपाली दिदिबहिनिको स्वास्थ्य सेवामा संलग्न हुने बाटो रोज्नुभयो। तपाँईको सफलताले उचाई चुमोस् भन्ने सुचेच्छा व्यक्त गर्दै तपाँई डाक्टर अंगुरबाबा श्रेष्ठ कार्कीलाई स्वास्थ्यतर्फको थाहा बर्षसम्मान २०७१ प्रदान गर्न पाँउदा हामीलाई निकै हर्ष लागेको छ।

भोला जोशी

बयोबृद्ध संगितकार भोला जोशीका औंलाहरु हार्मोनियमका रिडमा नाचिरहेका छन्। ७२ बर्षको यो उमेरमा पनि उनी संगीतको सेवा भनेपछि भुतुक्कै हुन्छन्। चेलाचेलीहरुबाट घेरिएर रहन चाहन्छन्। दर्जनौं गीतमा संगित भरेका जोशी ललितपुरमा जन्मिएका हुन्। नव कला कुञ्जको निम्तोमा २०२४ सालमा हेटौंडा आईपुगेका जोशी त्यसपछि कहिल्यै ललितपुर फर्किएनन्। उनलाई मकवानपुरमै केहि गरौं भन्ने लाग्यो रे !

भोला जोशी– जसको संगितमा फत्तेमानदेखि राजेशपायल राईसम्मले स्वर आजमाएका छन्। भोला जोशी जसका चेलाहरुले अहिले खुब नाम कमाएका छन्। चण्डी काफ्ले, चेतन सापकोटा, शिखर सन्तोष..यि सबै उनका चेलाहरु हुन्। जोशी आफ्ना अनुजहरुको प्रगतिमा सन्तोष मान्छन्। तर आँफै भने यो उमेरमा पनि संघर्षरत् छन्– रोगसंग–परिस्थितिसंग  समयसंग।

उनका औंलाहरु अब पहिलेजस्ता छैनन्, केहिबेर हार्मोनियममा नचाँउदैमा औंलाहरु काँप्न थाल्छन्। थर्थराउन थाल्छन्। हिंड्न लागे खुट्टा लर्वराँउछन्– यि मकवानपुरका गौरब अहिले अस्वस्थ छन्। र छन् केहि थाकेका–अस्वस्थ संगीतकार जोशीलाई आजकल छिनछिनमै बाफ लिनुपर्छ। उठेदेखि नसुतेसम्मै औषधि साथैमा हुन्छ।

यि सरस्वतीका साधकलाई अहिले उपचारको खाँचो छ। सहयोगको खाँचो छ र खाँचो छ हौसलाको। मुस्कीलले औषधिको जोहो गर्न सकिरहेका जोशीलाई तपाँई हाम्रो सहयोगले बेग्लै उत्साह थप्ने निश्चित छ। उनी स्वस्थ भएर अझै संगीतको सेवा गर्न चाहन्छन्– संगितकै सेवा गर्दै जिवन बिसाउन चाहन्छन्।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %