– भावेश भुमरी
मैले त्यतिबेला फेसबुमा हुम सुनारीमगरले साउदी अरबमा गर्दै गर्नुभएका सामाजिक कामहरूका बारेमा पढ्थेँ । एउटा मगरले नेपालभन्दा बाहिर बसेर गरेका कामहरूले मलाई बडो रोमाञ्चित बनाउँथे । हामी फेसबुकमा साथी त थियौँ तर कुरा भने हुने थिएनन् । हाम्रा विधा र कार्य फरक परेकैले होला फेसबुक कुरामा भेट हुन सकेका थिएनौँ ।
कुनै बेला मलाई आफ्नो वास्तविक नाममा मगर थर राखेर पत्रपत्रिकामा रचना पठाउँदा पटक्कै नछापिनुको पीडा थियो, अहिले आफूलाई आफ्नै जातिअगाडि मगर हुँ भनेर चिनाउनुपर्दाको पीडा छ । सायद म मगर हुँ भनेर चिनाउनुपर्ने पीडा जोडिएको हुनुपर्छ हुम सुनारीमगरसँग पनि । उहाँका सामाजिक सेवाका धेरै काम फेसबुकमा मगरहरूका नामहरूबाटै पोस्ट हुन्थे । म पढ्थेँ, मरूभूमिमा बसेर पनि कतिका काम गर्न सकेको होला ? भन्ने कुरा मेरो मनभरि घुम्थे र तिनका रहस्य थाहा पाऊँ भन्ने उत्सुकता जाग्थ्यो । तर सोध्न अप्ठ्यारो लाग्थ्यो ।
गोरेबहादुर खापाङ्गीमगरको मोटसाइकल दुर्घटना र त्यसपछिका घटना एवम् उपघटनालाई मैले आफ्नो समय दिएर बुझ्न सकिनँ । केही समयपछि एक दिन आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने मन बोकेर उहाँको उपचार भइरहेको नर्भिक अस्पतालमा पुगेको थिएँ । खापाङ्गीमगरको स्वास्थ्य अवस्थाले मलाई गम्भीर बनायो र फेसबुकमा उहाँको स्वास्थ्य अवस्थाका बारेमा थोरै स्टाटस लेखी उहाँकै फोटो राखेर अपलोड गरेँ । त्यसपछि उहाँका शुभचिन्तकहरू मसँग पनि जोडिनुभयो । त्यतिबेला ‘खपाङ्गी बचाऊ अभियान अन्तर्राष्ट्रिय सहयोग समिति’ बन्ने क्रममा रहेछ । म पनि ग्रुप म्यासेज आदनप्रदान गर्नेमा परेँ तर म कम बोल्थेँ, यसको कारण म नेपालमा थिएँ र ग्रुपमा अलि अपरिचित पनि । यही क्रममै हुम सुनारीमगर, हुम थापामगर र दिलीप रानामगरसँग मेरा केही कुरा भए । उहाँहरूको कुराबाट म खापाङ्गीमगरको थप उपचार हुनेमा विश्वस्थ भएँ ।
हुम सुनारीमगर संयोजक रहनुभएको ‘खपाङ्गी बचाऊ अभियान अन्तर्राष्ट्रिय सहयोग समिति’को अगुवाइमा खापाङ्गीमगरको सिङ्गापुरमा जटिल र महङ्गो उपचार सफल भयो । त्यसपछि सुनारीमगरले खपाङ्गीमगरकै बारेमा एउटा किताब लेख्ने घोषणा गर्नुभयो । म आफू उहाँको त्यस घोषणबाट झनै नजिक हुन थालेँ । बीचमा कतै समय मिल्दा हाम्रा कुरा हुँदै आए, सुनारीमगरले आफ्नो व्यस्तताबाटै समय निकालेर जुन काम गर्दै गर्नुभयो, मैले धेरै कुरा सिक्ने अवसर पाउँदै आएँ ।
केही समयपछि सुनारीमगरले खापाङ्गीमगरका बारेमा लेख्दै गर्नुभएको किताबको भाषा सम्पादनको जिम्मा मलाई दिने कुरा गर्नुभयो । उहाँसँग केही काम गर्ने मेरो सोचमा खुसी थपियो, मैले सहर्ष स्वीकारेँ । उहाँले ‘नेपाली राजनीति र समाजमा खपाङ्गीको देन’ किताबको पाण्डुलिपि पठाउनुभयो । मैले सम्पादनको काम थालेँ र कामसँगै गोरेबहादुर खपाङ्गीमगरलाई नजिकबाट पढ्दै आएँ अनि हुम सुनारीमगरलाई पनि छाम्दै आएँ ।
गोरेबहादुर खपाङ्गीमगर नेपाली राजनीतिका एक सबल व्यक्तित्व हुनुहुन्छ । उहाँ नेपाली माटो र पनको एक अकाट्य दूर विचारलाई आफ्नै देश र समाजभित्र खोज्ने एक अभियन्ता हुनुहुन्छ । आफ्नो प्रष्ट बोली र सिद्धान्तकै कारण नेपाली राजनीतिमा उहाँ कहीँ वाहवाह त कहीँ अत्यन्त आलोचित पनि हुनुहुन्छ । यी मैले बुझ्दै आएका कुरा हुन् । यस्तो हुँदा हुँदै पनि मैले धेरै नबुझेका कुरा रहेछन् उहाँका । जुन यस किताबबाट मैले बुझ्ने अवसर पाएको छु । साँच्चै भन्नुपर्दा मूलधारबाट बाहिर रहँदै आएका नेपालका आदिवासी जनजातिका लागि खपाङ्गीमगरले लिनुभएको लक्ष्य र गर्नुभएको त्यागलाई यस पुस्तकले राम्रोसँग समेट्ने काम गरेको छ ।
लेखक सुनारीमगरले तयार पार्नुभएका विभिन्न शीर्षकका लेखले सत्य र वस्तुनिष्ट तरिकाले खपाङ्गीमगरका राजनीतिक घटनाक्रमहरूलाई प्रष्ट्याएका छन् । साथै यस पुस्तकबाट सुनारीमगर एक प्रष्ट विचार बोकेका राजनीतिक चिन्तक र विश्लेषक हुनुहुन्छ भन्ने कुरा पुष्टि हुन्छ । विदेशको रोजगारीमा रहेर पनि नेपाल र नेपालीका लागि अहोरात्र चिन्तन गर्नसक्ने अनि वस्तुनिष्ट तरिकाले लेख्नसक्ने जस्तो गाह्रो कामलाई सुनारीमगरले बडो सफलतापूर्वक पूरा गर्नुभएको छ । यही कारण उहाँलाई गहन अध्ययनका माध्यमबाट स्पष्ट विचार राख्न र सशक्त तरिकाले लेख्न सक्ने दुवै खुवी भएका व्यक्तित्वका रूपमा लिन सकिन्छ ।
सुनारीमगरले यस किताबमा आफूलाई मात्र राख्नुभएको छैन, खपाङ्गीमगरका बारेमा आएका कतिपय अन्तर्वार्ता र उपचारप्रक्रियाका अनेक समस्या र जटिलताका बारेमा लेख लेख्न अनुरोधसमेत गरी महत्वका साथ राख्नुभएको छ । यसबाट प्रष्ट हुन्छ, उहाँ उदार हुनुहुन्छ र सहकार्यमा रमाउनुहुन्छ । यहाँ एक लेखकप्रति यति कुरा भनिरहँदा मलाई गर्वको अनुभूतिसमेत भएको छ ।
यस पुस्तकले नेपाली समकालीन राजनीतिलाई बुझ्न चाहने मनहरूलाई धेरै नै छुने कुरा पक्का छ । यसले खापाङ्गीमगरको खुवी र क्षमतालाई पनि उजागर पर्ने काम गरेको छ । यस किताबको सफलता पनि निश्चित छ । अब बाँकी मेरो व्यक्तिगत चाहना भनेको खपाङ्गीमगरको जीवनीका बारेमा एउटा सशक्त किताब बनोस् भन्ने हो ।
र, अन्त्यमा म खपाङ्गीमगरकै राजनीतिक सिद्धान्त उद्धृत गर्छु, “बाहुनको नाक मगरको भन्दा चुच्चो हुन्छ । त्यो ब्राहणत्व हो । बाहुनको नाक मगरको जस्तो भयो भने शङ्का गर्छ कि गर्दैन समाजले ? म त्यसको विरोधी होइन । ब्राहणवादको विरोधी हु“ ।” खपाङ्गीमगरको यति कुरा बुझेपछि उहाँको राजनीतिक दर्शनलाई संक्षिप्तमा बुझ्न सकिन्छ र व्याख्या गर्न पनि । हामी के कुरामा प्रष्ट हुनुपर्यो भने यहाँ सत्तामा अरू कुनै जातको हालीमुहाली भएको भए उसैको पेरिफेरीको वाद विकास हुन्थ्यो र त्यसउतरका जातले पक्कै विरोध गर्थे । यो कुरा सर्वमान्य नहुँदासम्म खपङ्गीमगरको राजनीति उकालो चढिरहन्छ, चढिरहन्छ ।