सनु थापा मगर
आफ्नो देश र जनताको लागि प्राण आहुती गर्ने व्यक्तिलाई शहीद भन्निछ ।
शहीदलाई प्राज्ञहरुको संस्था नेपाल प्रज्ञाप्रतिस्थानद्वारा प्रकासित बृहत नेपाली शब्दकोश देखी लिएर राज्यले समेत उपेक्षा गर्दै आइरहेको छ । शब्दकोशले नै शहीद शब्दको अर्थ जम्मा तिन शब्द “ सहीद ” मात्र लेखेर शहीद प्रति नै उपेक्षा हुने तरीकाले शहीदलाई परिभाषित गर्न हेलचेक्य्राई गरेको छ । यस्तै उपेक्षाको घेरामा परेका नेपालका शहीद मध्येका प्रथम शहीद लखन थापा मगर पनि एक हुन् ।
नेपालको इतिहाँसमा अन्धकार कालखण्डका शासकको रुपमा चित्रित एकछत्र जहाँनिया राणा शासनको विरुद्धमा अदम्य साहस र अठोटका साथ जनविद्रोह गर्ने लखन थापा मगरलाई धेरै समय पछि नेपाल सरकारले २३ फेब्रुअरी सन् २००० मा बल्ल–बल्ल नाम मात्रको शहीद घोषणा गरे पनि नेपालको प्रथम शहीदको दर्जा दिन कन्जुस्याँई र आनाकानी गरीरहेको छ ।
राणाहरुको दमन र अत्याचार बाट पिल्सिरहेका आम नेपाली जनताहरुको मुक्तिका लागि लड्दालड्दै वि.सं. १९३३ फागुन २ गतेको दिन गोर्खा जिल्लाको बुङ्गकोट आफ्नो दरबारको अगाडि खिर्राको रुखमा लखन थापामगर, जयसिंह चुमी रानामगर लगायत उनका अरु ७ जना सहयोगिहरुलाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाले झुन्ड्याएर निर्मम तरीकाले फाँसी दिएको स–प्रमाण विभिन्न तथ्यहरु हुँदा हुदै पनि नेपाल सरकारले प्रथम सहिद लखन थापा मगरलाई निकै लामो समय सम्म शहीदको रुपमा स्वीकार गर्न नसकेकै हो तर विभिन्न क्षेत्रबाट गरेको पहल र दबाबमा शहीदको दर्जा दियो तर नाम मात्रको ।
नेपालको अन्य शहिदहरु सरह कुनै सम्मान र स्थान दिईएको छैन । उनी आम नेपाली जनताको स्वतन्त्रताका लागि लडेका हुन् र यो राजनीतिक घटना संग जोडीएको विषय हुनाले पनि उनलाई नाम मात्रको भएपनि शहीदको दर्जा दिई रहँदा र उनलाई प्रथम शहीदको दर्जाको माग र उचित सम्मानको स्वरहरु आइरहँदा कित नेपाल सरकारले उनलाई प्रथम शहिद होइनन् भन्न सक्नु पर्छ होइन भने उनी भन्दा अगाडी यो नेपाल देशको लागि राजनीतिक रुपमा कसले प्राँण आहुती गरेको छ स–प्रमाण स्पष्ट पार्नु पर्छ ।
अन्यथा जस्ले एक तन्त्रिय राणा शासनबाट जनतालाई मुक्ति दिलाउन यति ठुलो योगदान गरे उसलाई प्रथम शहिदको दर्जा दिन किन आपत्ति ? देशले प्रत्येक वर्ष शहीद दिवस मनाइरहँदा लखन थापा मगरलाई उचित रुपमा सम्मानका साथ सम्झेको पाईदैन । उनको बारेमा राज्यस्तरबाट कहीँ कतै केही पनि गरेको पाइदैन । यस्तो विभेद राज्यले गर्नु हुँनुदैन ।
यहाँ सम्मको विभेद की १९१० को मुलुकी ऐनकै विभेदको कारणले गर्दा लखन थापा मगरहरुसंगै विद्रोहमा समातिएका अन्य समुदायका ज्ञानदीलदास ब्राम्हण लगायतलाई फाँसी दिईएन । त्यही मुलुकी ऐनको आंशीक प्रभाव र मगरको सन्तान भएकै कारणले अहीलेको राज्य सत्ताले पनि प्रथम शहीद घोषणा गर्न आनकानी , अरु शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु गर्दा लखन थापाको सम्झनामा राज्यस्तरबाट कुनै पनि कार्यक्रमहरु नहुनु शहीद प्रतिको अपमान हो ।
त्यसैले गर्दा राज्यले यसरी विभेद गर्नु दुःखद कुरा हो । लखन थापा जस्ता सच्चा सहीदहरु प्रति राज्यले उनको स्मृतिमा उचित सम्मानका साथ सम्झनु पर्ने देखिन्छ । लखन थापा मगरलाई शहीद मात्र घोषणा गरेर विर्सन मिल्दैन । शहीदहरुको मार्गदर्शन र विचारहरुलाई उचित संरक्षण र अनुसरण गर्न जरुरी छ । यसतर्फ सम्पुर्ण संम्बन्धित निकाय र राज्यले ध्यान देओस ।
(लेखक : बुटवलबाट प्रकाशित अर्धसाप्ताहिक सँघिय एक्सप्रेसका सम्पदक हुन)