जोगाउनै मुस्किल आदिवासी पहिरन

Read Time:4 Minute, 31 Second

मनोज घर्तीमगर

गुरुङ-मगर लगायतका आदिवासी जनजाति समुदायमा प्रचलित राडिपाखी लगायतका कपडा बुन्ने परम्परागत पेसा हराइसकेको छ । 

(राडिपाखी, भाङ्ग्रा, बख्खु लगायतका पोशाक बुन्नका लागि धागो कात्दै लमजुङ भुजुङकी आईत कुमारी गुरुङ) 

तस्वीर : मनोज घर्तीमगर

  गाउँघरमै पुवा, भाङ, भेडाको उनबाट बुनिएका भाङग्रा, राडिपाखी, कम्बल, घुम, बख्खु, कछाड लगायतका पहिरन पछिल्लो छिमलका युवाले लगाउँदैनन् । लगाउने मन भए पनि यस्ता कपडा  बनाउनेहरु मुस्किलले भेटिन्छन् ।

परम्परागत पहिरनका कपडा बन्न छाडेपछि आदिवासी जनजातिका परम्परागत पहिरन जोगाउनै मुस्किल परेको छ । विभिन्न पर्वमा लगाउने आदिवासी जनजाति पहिरन रिमिक्स गीत जस्तै बनेका छन् ।  

‘आजभोलीका केटाकेटी भाङ्ग्रा राडिपाखी बुन्न जान्दैनन्’ लमजुङ भुजुङकी आईत कुमारी गुरुङले भनिन्‘सिक्ने भए त हामीले सिकाउँथ्यौं, सिक्नै मन गर्दैनन् ।’ युवायुवतिले परम्परागत पेशालाई अगाल्न नसकेकोमा हराउने हो की भन्ने चिन्ता थपिएको छ । आफ्ना छोराछोरीलाई सकेसम्म आफूले जानेको सिप सिकाउन खोजे पनी उनीहरुले वास्ता नगरेको आईत कुमारीको अनुभव छ ।

कम्बल, बख्खु, भाङ्ग्रा, राडिपाखी लगायतका घरबुना कपडा बुन्न निकै मेहनत गर्नुपर्छ । त्यति मात्र नभई यो काम निकै झण्झटिलो समेत हुने गरेको छ । मेहनत अनुसारको फल नपाईने हुँदा अहिले गुरुङ-मगर समुदायका व्यक्तिले बेच्ने भन्दा पनि आफूलाई प्रयोग गर्न मात्रै यस्ता पोशाकहरु बनाउने गरेका छन् । ‘आफ्नो मेहनत अनुसारको पैसा नै आउँदैन, एउटा बख्खु बुन्न २० दिनसम्म लाग्छ तर ४ हजारमा बिक्री हुन मुस्किल पर्छ’ आशकुमारी गुरुङले भनिन्‘त्यसैले बिक्रीका लागि भन्दा आफूलाई प्रयोग गर्नका लागि बुन्ने गर्छौ ।’

सस्तोमा बेच्न नसकिने र महंगोमा बिक्री नहुने भएकाले पनि अहिले परम्परागत रुपमा बनाइने उनीका कडातिर युवायुवतिको मन नगएको उनले बताईन् । अहिलेका केही युवायुवति भने आफ्नो परम्परागत पेसा जोगनाउनकै लागि पनि यो सिक्नुपर्ने बताउँछन् । आफ्नो सँस्कार र सँस्कृतिसँग जोडिएकोले बख्खु, राडिपाखी बुन्न सिक्दै गरेको भुजुङकी कोशिका गुरुङले बताईन् ।

फुर्सद भएपछि आमासँग परम्परागत रुपमा बुनिने पोसाकहरु बुन्न सिकेको उनले बताईन् । ‘सिक्न त निकै गाह्रो रहेछ, तर पनि प्रयास गरिरहेको छु’ उनले भनिन्‘आफ्नो सँस्कृति जोगाउनकै लागि भए पनि यस्ता कुराहरु बुन्न जान्नुपर्छ ।’

केही युवायुवतिले आफ्नो परम्परागत पेशालाई जोगाउनुपर्ने धारणा राखे पनि केहीको विचार भने अलि फरक छ । अहिलेको समयमा बजारमा जस्तो खोज्यो त्यस्तै कपडा सस्तोमा पाइने हुँदा यस्ता कुरामा मान्छेको आकर्षण घटेको विद्या गुरुङ बताँछन् ।

‘समय अनुसार बदलिन सिक्नुपर्छ, जमाना कहाँबाट कहाँ पुगिसक्यो’ उनले भने‘कहाँ अहिले पनि भाङ्ग्रा बुन्दै बसेर हुन्छ र ?’ उनले परम्परागत पेशा आफैमा राम्रो भए पनि यसलाई समयक्रमसँगै बदल्नुपर्ने बताए ।

परम्परागत पेशा संटकमा परेपछि पोखरामा रहेका विभिन्न विकासे संघसंस्थाले बेलाबेलामा कास्कीका विभिन्न गाउँमा राडिपाखी बुन्ने तालिम दिने गरेका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %