बलदीप प्रभाश्वर चामलिङ
हिंसात्मक आन्दोलनको मृत्युमा प्रतिशोध हुन्छ किनकि त्यो मृत्यु नियोजित हुन्छ तर लोकतान्त्रिक आन्दोलनको मृत्युमा क्षमादान हुन्छ किनकि त्यो मृत्यु संयोग हुन्छ । ‘माक्र्सवाद निर्दिष्ट जनवाद’ प्राप्त गर्नको लागि कम्युनिष्टहरुले हिंसाको सहरा लिदैआइरहेका छन्, कथित ‘जनयुद्ध’ को नाममा । यो बदलिएको परिवेशमा त्यो विधिले काम गर्लान त ? के कम्युनिष्टले हिंसात्मक आन्दोलनलाई लोकतान्त्रिक आन्दोलनमा बदल्न उनीहरुको सैद्धान्तिक सारलाई परिमार्जित गर्नसक्लान् ? नत्र उनीहरुको अथक प्रयास हावामा महल बनाउनुजस्तै हुनेछ । किनकि हिंसात्मक आन्दोलनमा भिजिलान्टे (लालसेना) मात्र उठ्छन् तर लोकतान्त्रिक आन्दोलनमा सिंगो जनता उठछन् । लालसेना उठ्नु र जनता उठ्नु फरक कुरा हो । हो, माउ पार्टीले क्रन्ति पुरागर्न सकेन भनेर छुट्टै माओवादी पार्टी बनाएका कमरेड विप्लवजीहरुले ।
‘जनता’ उठाउने हो कि ‘बन्दुक’ ?
अब कम्युनिष्ट आन्दोलनबारे समिक्षा हुन आवश्यक छ । नेपालको कम्युनिष्ट आन्दोलनमा नेता सधै झुक्किरहने र जनता सधै बेवकुफ बनिरहने परिस्थिति बाहेक अरु केही हुनसकेन । अब माक्र्सवाद बारे पनि सोच्ने बेला आएको छ, किनकि यदि माक्र्सवाद विज्ञान नै हो भने यो राजनीतिको प्रयोगशालामा किन सिद्ध हुनसक्दैन ? कम्युनिष्टबारे आलोचनात्मक बन्न खोज्नेलाई ‘पलायनवादी’, ‘साम्राज्यवादी’, ‘विस्तारवादी’, ‘प्रतिक्रृयावादी’ र ‘सामन्ती’ जस्ता थोत्रा रेडिमेड जार्गनहरुले प्रहार गरेर यो युगमा केही हुनेवाला छैन । यसले त कम्युनिष्टलाई जडसुत्रवादी सिवाय केही बनाउदैन । शून्नाको आकार हुन्छ तर त्यसको आफ्नै मूल्य हुदैन भने झै मुलुुकमा प्रतिशतको हिसाबले सबैभन्दा धेरै कम्युनिष्ट नै छन् । सख्या र पार्टीको हिसाबले उनीहरु नै बढि छन् तर प्रभावकारिताको हिसाबले नगन्य छन् । फुटको शिकार भएका छन् । जुन दोष थोपरेर मूल पार्टीबाट छुट्टिएर गएका छन्, फेरि त्यो छुट्टिएर जाने पनि उही चंगुलमा परेका छन् । यही नै हो त माक्र्सवादको सृजनात्मक प्रयोग ?
एउटा कुरा हेक्का राख्नुपर्दछ :
‘ सर्प जतिसुकै बांङ्गोटिंङ्गो भएर गुजुल्टिए पनि दुलोभित्र पस्दा सोझो हुनैपर्दछ ।’ विद्रोह गर्ने र राज्यसंचालन गर्ने विधा फरकफरक हुन्छ ।
एकताका भारतीय कम्युनिस्ट पार्टी (माले) महासचिवसमेत बनिसकेका कानु सन्यालले जीवनको उत्तराद्र्धमा कम्युनिष्ट आन्दोलनप्रति विरक्तिएर सन् २०१० मा आत्महत्या गरे । यो घटना कम्युनिस्ट आन्दोलनमा लाग्नेका लागि एउटा व्यंग्य हो । संसार परिवर्तन गर्न भनेर हिडेको मान्छे आखिर किन आफैंले आफैंलाई हत्या गर्नुपर्यो होला त ? यो घट्नाले कम्युनिष्ट आन्दोलनमा केही अर्थ राखेको छ । यसलाई हल्कारुपमा लिएर विसर्जनवादी र पालायवादीको हल्का आरोपले सन्यालको मृत्युलाई पुष्टी गर्नसक्दैन । केही गम्भीर तथ्यको स्वीकारोक्ति हो, त्यो सन्यालको मृत्यु ।
केही विडम्बनाका कुराहरु:
यही ठमेल काठमाण्डौका श्रमिकहरु दिनभर एउटै प्रकृति(बोक्ने, ठेल्ने र तान्ने) का काम गर्दछन् । एउटाले जे काम गर्छन अर्कोले पनि त्यही काम गर्छन । त्यो भएपछि एउटाले जति पारिश्रमिक पाउछन् अर्कोले पनि त्यही नै पारिश्रमिक पाउछन् । पीडा व्यथा सबैको उति नै हुन्छ । तर खाने बेलामा भान्सा फरकफरक हुन्छ । एउटा मजदुरले छोएको अर्को मजदुरले खान्न । एउटा मजदुरको विहे अर्को मजदुरसंग नभएर स्वजातीयसंग हुन्छ । यो के हो ? यसको जवाफ कम्युनिष्टहरुसंग छ ? क्रन्तिपछिको जनवाद आएपछि यो समस्या स्वतः हल हुन्छ भनेर भन्नु यो भन्दा ठूलो अर्को लठुवापन हुन्न ।
चीनको मजदुर र भारतको मजदुर किन मिल्न सक्दैनन् ? अमेरिका र जापानको मजदुर किन मिल्दैनन् ? कम्युनिस्ट मुलुक भियतनाम र चीनकै मजदुर एक ठाउँमा नरहनुको कारण के ? अरू कुरा छाँडौ, एउटै देशका श्रमिक किन एक हुन सक्दैनन् ? कम्युनिष्ट भनेको त अन्तर्राष्ट्रिय जात होईन र ? अब यी कुरामा कम्युनिष्ट आन्दोलन हाँक्छु भन्नेहरु घोत्लिनै पर्दछ ।
शास्त्रीय कम्युनिष्ट सिद्धान्तको निचोड वर्गविहीन समाज हो । त्यो अवस्थामा व्यक्तिले आफ्नो दक्षताअनुसार काम गर्ने तर आवश्यकताअनुसार राज्यबाट वस्तु ग्रहण गर्छ भनेर माक्र्सले बताएका छन् । मानौ, कुनै व्यक्तिले दक्षता अनुसार काम गर्दछ तर आवश्यकता अनुसार उनले ५० रुपैयाँ मूल्यबराबरको वस्तु ग्रहण गर्छ । अर्कोले १०० रुपैयाँ मूल्य बराबरको आवश्यक वस्तु ग्रहण गर्दछ । तर त्यो ५० र १०० बीचमा अन्तर हो कि होइन ? अन्ततः यसले बर्ग नै सृजना गर्दछ । मानिसको क्षमता, चासो र आकांक्षा पनि एकनाशको हुन्न । यो नभएपछि उसको सीप र कला पनि फरक नै रहने भो । क्षमता र आकांक्षाले भौतिक जीवनशैली निर्धारण गर्ने हो । यसो भएको हुनाले वस्तु उत्पादन र वितरणमा पनि अन्तर आउँछ नै । यो वास्तविकताको अगाडि कसरी वर्गविहीन समाज कल्पना गर्न सकिन्छ ? तर बर्ग समन्वय अवश्य हुनसक्छ ।
कम्युनिष्टले अतिरिक्त मूल्यलाई श्रम शोषणका रूपमा व्याख्या गर्दछन् । कुनै पनि वस्तु उत्पादनमा श्रमिकलाई दिएर लाग्ने सम्पूर्ण लागत र धनीले त्यो वस्तु बजारमा लगेर बेच्दा आउने मूल्यको अन्तरलाई शोषणको दाम भन्छन् । यसलाई माक्र्सले शोषणको प्रतिफल भनेको छ । तर, यो व्यवहारमा त्यस्तो हुनसक्दैन । नाफाको मार्जिन नभए उत्पादन नै गरिन्न ।
अतिरिक्त मूल्यलाई राज्यले प्रगतिशील करका रूपमा लिएर समाज विकासमा लगाउन सकिन्छ । धनी मुलुकले गरिब मुलुकलाई प्रदान गर्ने सहयोग त्यही अतिरिक्त मूल्य हो । अहिले नेपालको जस्तो देशका कम्युनिस्टहरुको एनजीओ-आईएनजीओ फस्टाउनु पनि त्यही अतिरिक्त मूल्य नै हो । नेताहरू देश–विदेश घुमेर सहयोगको याचना गर्दा पाउने अनुदान पनि त्यही अतिरिक्त मूल्य नै हो । पुँजीपतिले पाउने त्यो अतिरिक्त मूल्यलाई राज्यले जनताको हितमा उपयोग हुने व्यवस्था बनाउन सक्छ । अतिरिक्त मूल्य शोषणको दाममात्र नभएर गरिबकै माम पनि बनाउन सकिन्छ ।
माक्र्सवादले पुँजीवादको पूर्ण विकास भएपछि राज्य समाजवादहुदै साम्यवादमा पुग्छ भन्छ । पुँजीवादको पूर्ण विकासपछि समाज स्वत साम्यवाद उन्मूख हुन्छ भन्ने कुरा नै गलत हो । कम्युनिस्टकै भाषामा अमेरिका, बेलायत, जापानजस्ता मुलुक पुँजीवादको पूर्ण विकसित अवस्था हो । के अब ती मुलुकहरु माक्र्सवादी साम्यवादमा रूपान्तरण होला त ? त्यहाँका जनता कम्युनिस्ट होलान् ?
“तिमी बुर्जुवा हौ, सर्वहाराको दुस्मन हौ, तिम्रो सहयोग मलाई चाहिएन” भनेर एंगेल्सलाई कहिले पनि माक्र्सले भनेन । एक उद्योगपतिको छोरा ऐङ्गेल्सकै हार्दिक सहयोगमा माक्र्सले चिन्तन र मनन गरिरहे । सबै कुरा पदार्थले मात्र निर्धारण गर्दैन, मनोवैज्ञानिक पक्षले पनि त्यत्तिकै भूमिका खेलेको हुन्छ । यदि बुर्जुवावर्ग सधैं सर्वहाराको शत्रु हुन्थ्यो भने कार्लमाक्र्स र एंगेल्सको त्यस्तो सुमधुर सम्बन्ध स्थापित हुने नै थिएन । माक्र्सवादकोलाई पूर्णता दिन अहम् भूमिका खेल्ने एंगेल्स नै हो । यही कुरा काफी छ कि आपसी समन्वय, समझदारी र मेलमिलापले मात्र मुलुकलाई अगाडि बढाउन सकिन्छ । एउटा उखान नै छ, ‘हात्तीको बल मिल्दैन र मान्छेको मन मिल्दैन ।’ मान्छेको मन मिल्ने भए आज सबै बहुदलीय लोकतान्त्रिक व्यवस्थामा किन आउनुपथ्र्यो र । एउटै पार्टी काफी हुने थियो ।
अतः जसरी लेनिन र माओले कथित कम्युनष्ट क्रान्ति त्यो बेला सफल पारे, त्यही शैलीमा इतिहास नदोहोरिएला । नक्कल गर्न अक्कल चाहिन्छ । एक नीति कथामा, पानीमा चुर्लुम्म डुबेर बडो हल्का साथ घोडा दैडेको देखेर त्यसको नक्कल गर्न खोज्दा गधाले सास्ती खेप्नुपरेको थियो किनभने गधाको भारी कपडाको थियो तर घोडाको चाँहि नूनको भारी । हुन त जनतालाई उठाउन सके जेपनि सम्भव हुन्छ । तर जनता वर्गीय मुद्धाले मात्र जाग्दैनन् किनकि वर्गीयमुक्ति (आर्थिकमुक्ति) को समाधानार्थ काम्युनिष्टहरु भन्दापनि गैरकम्युनिष्टहरु नै बढि चिन्तनशील छन् ।
(लेखक:राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धिजीबी, स्थाइ समिति सदश्य तथा प्रशिक्षक बिभाग प्रमुख हुन्)