मनोज घर्ती मगर
नेवार समुदायमा विभिन्न नाचहरु प्रचलित छन् ।
अनेकन अवसरमा देखाइने त्यस्ता नाच लोप हुँदै गइरहेका बेला नेवा मिसा पुच कास्की जागरुक भएको छ । पुचकै अगुवाइमा पोखरामा लोपोन्मुख मौलिक चर्या नाचको प्रशिक्षण दिइएको छ । काठमाण्डौबाट आएका चन्द्रमान मुनिकार र सुदन मुनिकारले कुमुदिनी होम्स गैह्रापाटनमा एक महिना सम्म ४० जनालाई चर्या नाँचका विविध पाटा सिकाए । चर्या नाचका प्रमुख प्रशिक्षक चन्द्रमान मुनिकारले नेपालको एक मात्र शास्त्रिय नाँच चर्या धार्मिक दृष्टिले निकै महत्व रहेकाले यसको जगेर्ना गर्न प्रशिक्षण फलदायी रहेको बताए ।
शनिबार प्रशिक्षण समापनका अवसरमा प्रमुख अतिथी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले लोपोन्मुख संस्कार र संस्कृतिको जगेर्ना गर्न यस्ता खालका प्रशिक्षणले सहयोगी हुने बताए । उनले प्रतिष्ठानले पनि आगामी दिनमा यस्ता खालका कार्यक्रमलाई देश ब्यापी बनाउने योजना सुनाए । नेवारी सभ्यता र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले बताइन् ।
