थारु समुदायको भेषभुषा “लेहङ्गा”ले आकर्षसित गरायो

मनोज घर्तीमगर

शरिरमा रङगिविरङगी चोलीया  र लेहेंगा (गोनिया) । घाँटी हुँदै पछाडि ढाडमा ल्याएर फुन्हाले बाँधिएको अघ्ररहान ।

  शिरमा मंगिमा, पाखुरामा वाँक र टगिया, नाडीमा कक्नी ।  घाँटीमा विभिन्न गरगहना । यहि पहिरनमा भेटिइन्, बर्दिया बाँसगढकी १७ वर्षिया कमला चौधरी । अघिपछि सर्ट, पाइन्टमा सजिने उनी यहि माघिमा यस्तो पहिरनमा हिड्दा असजिलो भए पनि रमाइरहेकी थिइन् । उनी मात्रै होइन, बाँके र बर्दियाका धेरै थारु युवति आफ्नो साँस्कृतिक पर्व मनाउन मस्त थिए । आफ्नो सँस्कार र सँस्कृति बिर्सदै गइरहेका बेला आयोजना हुने यस्तै पर्वले थारु समुदायका युवायुवतिलाई झस्काउँछ । पहिलेको तुलनामा आजभोली आफ्नो सँस्कृतिमा रमाउने युवाको जमात बढेको छ भन्ने प्रमाण यस्तै पर्व हुन् ।

बाँके गडरहीकी  सुस्मिता थारुलाई लेहङ्गा दथायत कि त दशैं आउनुपर्छ, कि माघी । थारु महिलाको लोकप्रिय पहिरन लेहङ्गा लगाउन मरिहत्ते गर्ने सुस्मितालाई अघिपछि लेहङ्गा लगाउँदा अन्य समुदायका संगीले खिसी गर्छन् । त्यही भएर पनि लेहङ्गा लगाउन उनलाई कुनै न कुनै अवसर आउनैपर्छ । चोलीया  र लेहेंगा । शिरमा मंगिमा, घाँटीमा सुटिया, टौंक, खुट्टामा चुर्ला लगाएर सजिँदा १९ वर्षे सुस्मिता साँच्चिकै  राम्री देखिन्छिन् । परम्परागत थारु पोशाक लगाउँहदा उनका आफन्त र संगीहरुले ‘चिटिक्क परेकी छ्यौ’ भन्दै फुक्र्याउँछन् । ‘मलाई सबैभन्दा मन पर्ने पहिरन लेहङ्गा नै हो’ उनी भन्छिन्,‘तर, यो पहिरन लगाउन चाडबाड नै कुर्नुपर्छ ।’

  पछिल्लो समय थारु समुदायको भेषभुषा लोप हुन थालेपछि थारुका विभिन्न संघसंस्थाले यसको संरक्षणमा अभियान नै चलाउन थालेका छन् । नयाँ पुस्ताले परम्परागत थारु पहिरनलाई छाडेर जिन्स पाइन्ट र टिसर्टमा आकषर्ण बढारहेका बेला यसले नयाँ पुस्ताका युवतिलाई आफ्नौ जातिय पोसाकमा फर्काउन थालेको छ । प्रायः कुर्ता सुरुवालमै देखिने राजापुर बर्दियाकी बिनिता चौधरीको पनि पछिल्लो सयम लेहङ्गाप्रतिको आकर्षण ह्वात्तै बढेको छ । वर्षमा दुई चार पटक थारु पहिरनमा सजिने बिनिता पछिल्लो समय थारु युवायुवतिले आफ्नो पहिरन छाड्दै गएकाले परम्परागत पहिरनमै सजिन थालेको बताउँछिन् । अन्य पहिरनमा भन्दा थारु पहिरनमै आफू सुन्दर देखिने उनको दावी छ । ‘थारु पहिरन लगाउँदा नै आफूलाई सबैभन्दा राम्री र चिटिक्क छु जस्तो लाग्छ’ १८ वर्षिय बितिना भन्छिन्,‘म यहि पहिरनमा गर्व गर्छु, म विभिन्न कार्यक्रममा यहि परिरन लगाएर जान्छु ।’  

केही समय अघि एकाध फोटो स्टुडियोमा पाइने जातिगत पहिरन अहिले विभिन्न अवसर छोपेर लगाउने चलन बढ्दो छ । मगर, गुरुङ, राई, लिम्बु, नेवार, शेर्पा, क्षत्री, तामाङ, थकाली, मैथिलीले जस्तै थारु समुदायका युवायुवतिको पनि परम्परागत पहिरन लगाउनमा उनीहरुको आकर्षण बढ्दो छ । यसले हराउँदै गएको थारु महिला परिहनको लेहङ्गा जोगाउनेमा योगदान दिने धेरैको विश्वास छ । ‘मेला पर्वमा मात्रै लगाए पनि लेहङ्गाको बिउ जोगिन्छ’ बिनिता भन्छिन्,‘समयसँगै भएको फेसन परिवर्तनले थारु समुदायलाई पनि प्रभाव पारेको छ ।

नयाँ पुस्ताले विशेष गरि परम्प्रागत पहिरन रुचाएका कारण यसको लेहेङ्गाको क्रेज पनि बढ्दो छ । जनजाति समुदयका विभिन्न जातिले सुन्दरी प्रतियोगिता गर्दै आएका छन् । त्यसमा पनि पहिरनको भरपुर प्रयोग भएको छ । विवाहपार्टी होस् वा फेशन सो । सकड सदन तताउन होस् वा कुनै कार्यक्रम आफ्नो जातीय पहिरनमा प्रस्तुत हुनेहरुको जमात बढेको छ । परम्परागत पहिरन लगाउँदा शारिरीक वनावट तथा अनुहारसँग मेल खाएर पनि युवतिहरु सुन्दर देखिने गरेको बताउँछिन् राजापुर बर्दियाकै १५ वर्षिया माया थारु । ‘अहिले जुनसुकै कार्यक्रममा थारु ड्रेस लगाएरै उपस्थित हुन्छु,’ थारुका विभिन्न नृत्यमा पोख्त माया भन्छिन्, ‘यसले थारु संस्कार झल्काउनुका साथै हाम्रो पहिरनको प्रवद्र्धन समेत हुन्छ ।’

अहिले परम्परागत पहिरनमा सजिन युवतिहरुले चाडपर्व नै कुर्नुपर्छ । आधुनिकताको गाँजेको यो समाजमा चाडपर्वले केही हदसम्म संस्कृति जोगाउन सहयोग पुर्याएका छन् । दसैं–तिहार, माघिलगायतका पर्वमा पश्चिम तराईको थारु समुदायका किशोरी आफ्नै परम्परागत पहिरनमा रमाउँछन् । उनीहरु लेहङगा र चोलीमै सजिएर चाड मनाउछन् । यसले समुदायको संस्कृति झल्काउनुका साथै थारुको लेहङ्गा परम्परा पनि जोगाएको छ । ‘पछिल्लो पुस्ताका थारु युवतिले अहिले लेहङ्गालाई फेसनकै रुपमा लिएका छन्, लेहङ्गाप्रति दिनप्रतिदिन उनीहरुको आकर्षण बढ्दो छ’  थारु समुदायका स्थानीय अगुवा गडरहीका रामचरण चौधरी भन्छन्, ‘नयाँ पुस्ताका युवतिहरु चाडपर्वका बेला मात्रै भए पनि परम्परागत पोसाकलाई माया गर्न थालेका छन् । यसले हाम्रो संस्कृति पनि जोगिएको छ ।’