निश्चल काउचा
हामी त बाँदर र जंगली पो रहेछौ ।
मान्छेको पुर्खा पनि बाँदर नै थिए
र
पहिले ओडार र गुफामा बस्थे
पुर्खा र रगत एउटै भए
तिमी मान्छे म बाँदर कसरी भए
तिमी सभ्य म जंगली कसरी भए
सोध्नु छ प्रश्न
खोज्नु छ उत्तर
पाखा पखेरीमा
कुना कन्दरामा दश नङग्रा खियाउदै
माटो खोर्सी खाने हामी जंगली पो रहेछौ
बाँदर पो रहेछौ
हेक्का राख
ठुला महलमा बस्ने
पजेरी र प्राडो
सुकिला – मुकिला सभ्य मान्छेहरू
दूर- दराजका
टाकुरा र बस्तिहरुमा
चेतनाको आगो दन्की सक्यो
ठिकै छ
म
जंगली नै सहि
बाँदर नै सहि
हाम्रै रगत , पसिना चुसेर थर्याएको आलिशान महलमा
आगोको एउटा फिलिङ्गो आउन सक्छ
हेक्का राख
डडेलो सल्किन एक फिलिङ्गो आगो नै काफी छ