संविधानसभामा जनजाति सभासदहरु जागे

Read Time:5 Minute, 39 Second

ओलीको समर्थन , उपाध्यक्ष द्वय बामदेव गौतम र विद्या भण्डारी छक्क परे ।

डण्ड गुरुङ

काठमाडौं, ४ माघ – संविधानसभामा प्रतिनिधित्व गर्ने आदिवासी जनजाति सभासदहरुले आफ्ना समुदायले उठाउँदै आएका एजेण्डालाई नछाड्ने भएका छन् ।

janajati1  आदिवासी जनजातिका मुद्दामा सम्झौता नगर्ने विषयमा सभासदहरु एकजुट देखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघको पहलमा आज काठमाडौंमा भएको भेलामा जनजाति सभासदहरुले मुद्दामा सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।

जुनसुकै पार्टीका भएपनि आफ्ना समुदायको हितका लागि उठाउँदै आएको मुद्दा नछाड्ने प्रतिवद्धता सभासदहरुको छ । महासंघले सभासदहरुसँग गरेको बृहत छलफलमा सभासदहरुले आदिवासी जनजाति समुदायको पहिचान, हितका लागि संविधानसभामा खेल्नुपर्ने भूमिकाप्रति एक्येवद्धता जनाएका छन् ।

‘आदिवासी जनजातिले उठाउँदै आएका मुद्दाहरुप्रति सभासदहरु प्रतिवद्ध रहेको पाएका छौं’, सभासदसमेत रहेका जनजाति महासंघका महासचिव पेम्बा भोटेले भने, ‘आफ्नो समुदायको माया सबैलाई हुन्छ । त्यसैले आदिवासी जनजाति सभासदहरुको एकै स्वर भएको छ मुद्दाका विषयमा ।’

ओलीको समर्थन :

आदिवासी जनजाति सभासदहरु आपसी छलफलपछि सभामुखलगायत प्रमुख दलका सबै शीर्ष नेताहरुलाई भेट्दैछन् । आज भेट्ने भनिएपनि सभाध्यक्ष सुवास नेम्वाङको समय अभावका कारण भेट हुन सकेन ।

आदिवासी जनजाति सभासदहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओलीसँगको भेटमा संविधानमा आदिवासी जनजातिका अधिकार आगामी संविधानमा सुनिश्चित गर्न सभासदहरुले आग्रह गरेका थिए ।

सभासदहरुका साथमा रहेका कतिपय जनजातिका नेताहरु देख्दा ओलीलगायत नेताहरु छक्क परेका थिए । ओलीका साथमा उपाध्यक्ष बामदेव गौतम, विद्या भण्डारी लगायतका नेता पनि सहभागी थिए ।

आदिवासी जनजाति, मधेसी लगायतका समुदायका कुरा आउनासाथ कड्किने ओली आज भने नरम देखिए । ओलीले आदिवासी जनजातिले उठाउँदै आएका अधिकारलाई संविधानमा समेट्ने विषयमा आफू गम्भीर रहेको बताएका थिए । ओलीको बोली सुनेपछि सभासदहरु पुनः छलफलमा जुट्ने गरी आज छुटेका छन् ।

जनजातिको ‘मिनी हाउस’ :

संविधानमा आदिवासी जनजातिका मुद्दा समेट्न आदिवासी जनजाति सभासदहरु एकाएक कस्सिएपछि प्रक्रियामै लगेर भएपनि पहिचानबिनाकै संविधान जारी गर्छौं भन्नेहरु हच्किएका छन् । आज बिहान संविधानसभा बैठक साढे ८ बजे सुरु भएपनि आदिवासी जनजातिका २१ जना एमाले, छ जना कांग्रेस र एमाओवादी र अन्य पहिचान पक्षधर दलका ३० जना सभासद भने संविधानसभा नजिकैको इन्द्रेणी कम्प्लेक्समा पुगेका थिए । हाउस सुरु हुनुबित्तिकै जनजाति महासंघका महासचिव भोटेले नेतृत्व गर्दै सभासदहरुलाई इन्द्रेणी कम्प्लेक्स पुर्याएका थिए । ‘ठूलो हाउस संविधान भवन भैगो, आदिवासी जनजातिहरुको मिनी हाउसचाहिँ इन्द्रेणी फुडल्याण्डतिर थियो’ जनजातिका एक सभासदले भने ।

संविधानमा आदिवासी जनजातिका आवाजलाई बुलन्द बनाउन आदिवासी जनजाति सभासदहरु हाउस बाहिर गएर छलफल गरेको र मुद्दाप्रति प्रतिवद्ध देखिएको चाल पाएका प्रमुख दलका शीर्ष नेताहरु उनीहरुको गतिविधि निगरानी राख्न थालेको बताइन्छ । आफ्ना मुद्दाप्रति प्रतिवद्ध देखिएका आदिवासी जनजाति सभासदहरु पुनः संविधानसभा पुग्दा भने अन्य सभासदहरुबीच निकै खासखुस चलेको देखिन्थ्यो ।

छलफल निरन्तर :

जनजाति महासंघले सभासदहरुसँगको छलफललाई निरन्तरता दिने भएको छ । जनजाति सभासदहरुबीच भोलि (सोमबार) पनि छलफल जारी रहने छ । ‘हाम्रै समुदायका सभासदहरुसँगको परामर्श जारी रहनेछ’ महासंघका उपाध्यक्ष डण्डु ढोक्प्याले भने, ‘हाम्रा सभासदहरु जुनसुकै पार्टीका भएपनि धरातल बिर्सन सक्नुहुन्न भन्ने आजको छलफलले पनि देखायो ।’

जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालसमेत सभासद भइसकेको सन्दर्भलाई आदिवासी जनजातिवृत्तमा निकै टिकाटिप्पणी हुने गरेका थिए । कुमाल  संविधानसभामा प्रवेश गरेपछि सभासदहरुबीच थालेको यो परामर्शले आदिवासी जनजातिहरुको आशंकालाई आशावादी  बनाउने देखिएको छ ।

साभार:ए.बि.सि टेलिभिजन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %