मनोज घर्ती मगर
स्वा.गीतकार विनोद गौचनको आइतबार पोखरामा सम्झना गरिएको छ । विनोद गौचन स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा गौचन कवितामा गामबेशीका कथा लेख्न खप्पिस कवि भएको चर्चा गरियो । अरुण थापाले गाएको ‘जति माया लाए पनि’, विवेक श्रेष्ठले गाएको ‘तगारोमा रुमाल राखि’, दिलु गुरुङको स्वरमा ‘कस्तो ठाउँमा फुल्यौ तिमी’, शितल थापाले गाएको ‘चरा भएर बाच्न सिक’ जस्ता लोकप्रीय गीतका रचनाकार गौचनको निधन २०७० पुसमा भएको थियो ।
गौचनको ‘पोखरामा फूल फुल्दैन’ र ‘ढुगेसाघुको मेलामा’ कृति प्रकाशित छन् । शनिबार उनको सम्झनामा प्रतिष्ठानको घोषणा गरियो । अध्यक्ष विश्वमोहन गौचनका अनुसार प्रतिष्ठानले कला, साहित्य र संगीत प्रबर्धनमा योगदान गर्नेछ । त्यस अबसरमा उनले डेढ लाख रुपैयाको अक्षय कोष बनाएको जानकारी दिए । ‘प्रतिष्ठानले बर्सेनी गीतकारलाई पुरस्कृत गर्नेछ’, गौचनले भने, ‘त्यसका साथै लुम्ले कविता गाउ अभियानलाई अघि बढाउनेछ ।’ विनोदको परिकल्पनामा ०६५ चैत १५ मा कास्कीको लुम्लेलाई कविता गाउ घोषणा गरिएको थियो । प्रथम स्मृति दिवसमा गायक दिलु गुरुङ, पत्रकारहरु वद्रीविनोद प्रतिक, केशवशरण लामिछाने, अमृत भादगाउले, लुम्ले गाउका भक्तिराम देवकोटा, उद्यमी राजेन्द्र लालचन लगायतले गौचनका सृजनाले मानवीय मनका भाका टिपेको बताए ।