मास्टर मित्रसेनलाई सम्झदा

– चन्द्र बहादुर श्रीस

पृष्ठभुमि:

मास्टर मित्रसेनको जन्म आज भन्दा ठीक ११९ बर्ष अगाडि सन् १८९५ डिसेम्वर २९ तारिखको दिन भारतको हिमाञ्चल प्रदेशको धर्मशाला भाग्सु गाउँमा भएको हो । उनको पुख्र्यौली थलो भने तत्कालीन बाग्लुङ जिल्लाको राखुपुला गाविस (हाल म्याग्दी जिल्लामा) हो । पिता मनवीरसेन थापा मगर र माता राधा थापा मगरको कोखबाट जन्मेका मित्रसेन थापा बाबु बाजे जस्तै सैनिक पेशामा आवद्ध भए । सैनिक पेशामा रहंदा देखि नै उनको किशोर मानसपटलमा सिर्जनात्मक प्रतिभा छचल्किन थालेको हो । साहित्यको विभिन्न विद्यामा अब्बल दर्जाको दखल, सुमधुर स्वरका धनी, उत्कृष्ट अभिनय क्षमता, लोक जगतमा प्रचलित भाकाहरुलाई टपक्क टिपेर कर्णप्रिय गीत सिर्जना गर्न सक्ने क्षमता, धौलागिरी क्षेत्रमा मात्र प्रचलित ‘झाम्रे’ (झ्याउरे) लाई देश विदेशका विभिन्न स्थानहरुमा प्रचार प्रसार र स्थापित गर्न खेलेको भुमिका, साहित्य सिर्जनामा पोखिने मात्तृभुमी तथा समाज प्रतिको अगाढ आश्था र स्नेह, नेपाली लगायत अरु विभिन्न भाषामा दखल, विभिन्न भाषाबाट अनुवाद गर्न सक्ने क्षमता, दार्शनिक तथा आध्यात्मिक चिन्तनले ओतप्रोत चेतनास्तर, समाज सुधार गर्ने उत्कट भावना र जा”गर, जीवनभरि आर्थिक विपन्नताले घेरे पनि नेपाली साहित्य र सङ्गीत प्रतिको अटुट निष्ठा र समर्पण आदिको रसायनबाट मित्रसेन थापा मास्टर मित्रसेन बनेका हुन् ।

सिर्जनाको क्षितीजमा मास्टर मित्रसेन:

माथि उल्लेख गरे जस्तै मास्टर मित्रसेनको सिर्जनात्मक क्षमता बहुआयामिक थियो । उनी लेखनमा, गायनमा, अभिनयमा, सङ्गीत सिर्जनामा, समाज सेवामा पनि उत्तिकै सिद्धहस्त थिए, बेजोड थिए, अनि लगनसिल पनि । त्यसकारण उनको प्रतिभाको एउटा क्षितीजको यात्रा तय गर्नासाथ अरु धेरै सिर्जनसिल क्षितीजका लहरहरु खुल्छन् । यहा” भने उनको साहित्यिक तथा साङ्गीतिक सिर्जनाको बारेमा चर्चा गर्न खोजिएको छ ।
 
साहित्यिक सिर्जना :
 
लेखनमा उनको कलमले साहित्यको विभिन्न विद्यासङ्ग राम्रो सित मित लाउन पुगेको छ । कविता, गीत, भजन, गजल, कब्वाली, झ्याउरे, कथा, निबन्ध, डायरी, लेख, अनुवाद, नाटक हरेक विद्यामा उत्तिकै पोख्त उनका कलम हर क्षेत्रमा उत्तिकै सहजताका साथ सललल बगेका छन् । तर दुखको कुरा ती सबै अमुल्य रचनाहरु उचित संरक्षणको अभावमा लोप हुने अवश्थामा पुगेको छ । अहिले सम्म उनको ११ वटा खण्डकाव्य, १४ वटा नेपाली, हिन्दूस्तानी र उर्दू भाषाका नाटक, ५ वटा कथा, ६ वटा निबन्ध, सन् १९३७ मा शिलांगबाट प्रकाशित भएको ‘गोर्खा सेवक’ पत्रिकामा लामो लेख, शारदा पत्रिकामा २ वटा कविता हालसम्म फेला परेका छन् (खगेन शर्मा, सन् २००९, पृ. १९) । त्यतिमात्र होइन, उनले गीता, महाभारत, बुद्धबाणी जस्ता आध्यात्मिक कृतिहरुलाई पनि नेपालीमा अनुवाद गरी नेपाली समुदायमा आध्यात्मिक चेतना तथा सद्भाव सिर्जना गर्न सफल भएका छन् ।

साङ्गितिक सिर्जना :
 
साङ्गीतिक क्षेत्रको त उनी रचनाकार, सङ्गीतकार तथा गायकको रुपमा सम्पुर्ण प्याकेज नै थिए । शास्त्रीय सङ्गीतमा पनि उनको निकै गहिरो अध्ययन थियो । मास्टर मित्रसेन थापालाई धेरै जसोले एक जना गायकको रुपमा चिन्ने गर्दछन् । उनी सुमधुर स्वरका धनी व्यक्तित्व पनि हुन् । खासगरी धौलागिरी क्षेत्रको लोक संस्कृति ‘झाम्रे’ (झ्याउरे) लाई स्वदेश तथा विदेशको विभिन्न क्षेत्रमा पु¥याउने श्रेय उनै मास्टर मित्रसेनलाई जान्छ । उनको लेखनी तथा गायकीमा पनि त्यस भेकको स्थानीय लवाज पाउन सकिन्छ । उनको स्वरमा स्वरबद्ध गीतमध्ये मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले, अब त जाउँ कान्छी घर, लाहुरेको रेलीमाइ, स्वामी नजाउ छोडी, धानको बाला झुल्यो, नौ तले बाउन्न ढोका, रेलीमै भर्खरै जाँदो बैंस, केन गर्छौ तानातानी, तानसेनको शितलपाटी, गोरखाली भयौं खाली, कस्तो हो तिम्रो लर्किने बानी जस्ता विभिन्न गीत कालजयी छन् । उनका गीत स्वर र सङ्गीतको कारणले मात्र नभै शब्दहरुमा भरिएको राष्ट्रियता र नेपाली समाज सुधारको भावनाले ओतप्रोत भएकोले पनि लोकप्रिय छन् । मास्टर मित्रसेन स्मृति प्रतिष्ठानले हाल सम्म उनका २२ वटा रेकर्ड भएका गीत फेला पारेको छ भने अरु धेरै रेकर्ड नभएका गीत छन् । म्युजिक नेपाल, सिक्किम साहित्य परिषद् तथा लोकबाजा संग्रहालयले उनका सदाबहार गीतहरूको सी.डी., क्यासेट तथा अडियो क्यासेट तयार गरेर उनलाई जीवन्त राख्ने प्रयास गर्दै मित्रप्रति गुन लगाएका छन् । हाल सम्म मास्टर मित्रसेनका जम्मा ९७ वटा गीत, भजन, कव्वाली, गजल हाल सम्म फेला पारेका छन् । भारतको हिमाञ्चल प्रदेश स्थित भाग्सु तोतारानीमा रहेको ‘मित्रको झुप्रो’ मा असरल्ल रहेका उनका पाण्डुलिपीबाट अरु धेरै गीत, कविता, गजल भेटाउन सकिन्छ  । 

समाज सेवा:

मास्टर मित्रसेन साहित्यिक तथा साङ्गीतिक व्यक्तित्व मात्र नभै एक समर्पित समाज सेवी पनि थिए । समाज सेवामा सक्रिय रहंदा रहंदै नै उनले देह त्याग गरे । सन् १९१६ अक्टोवर २९ का दिन भाग्सु धर्मशालामा ‘गोर्खा एशोसियसन’ नामक सामाजिक संस्था स्थापित भएदेखि मास्टर मित्रसेनले आजीवन सक्रिय सदस्य रहेर सामाजिक सेवाको काम गरेका थिए । त्यस पछि सन् १९२८ देखि १९३१ सम्म पञ्जाब आर्य धर्म प्रतिनिधि सभाको सक्रिय सदस्य, सन् १९२६ मा हिमालयन थिएट्रिकल कम्पनीका संस्थापक अध्यक्ष, सन् १९३६ देखि भारतको पहिलो साप्ताहिक पत्र गोर्खा सेवक ग्राहक संख्या वृद्धि गर्ने समितिको सदस्य तथा सन् १९३८ मा देहारादूनमा गठन भएको गोर्खाली सुधार सभाको संस्थापक सदस्य भएर मित्रसेन थापा समाज सेवा र संस्थागत संलग्नतामा पनि जुटेका थिए (खगेन शर्माः सन २००९, पृ. ४९) । त्यसै गरी यिनकै प्रयासले ठाउँ ठाउँ मा ‘गोर्खा समाज सुधार’ र ‘गोर्खा ढोगभेट सभा’ खोलेर नेपाली समाजमा प्रचलित कुरीतिलाई धपाउने र उन्नतितिर बढाउने कार्यमा लागे ।
 
उनले आफ्नो जीवनको उत्तराद्र्धमा आएर बुद्ध बाणी, गीता, महाभारत, बेद आदिमा भएका असल सन्देशहरु जम्मा गरी नेपाली भाषामा अनुवाद गरी नेपाल र भारतमा रहेका गोरखाली समुदायमा प्रवाह गर्दै आएका थिए । सन् १९४४ जुलाइ १९ मा भाग्सुमा ‘गोर्खा सत्संग प्रचारिणी समिति’ गठन गरी मित्रसेनले आफ्नो शेष जीवन नेपाली जातिको उत्थान गर्ने कार्यका लागि अर्पण गर्ने प्रण गरेका थिए । सोहि प्रण अनुसार नेपालको गुल्मी, पाल्पा, बुटवल, भैरहवा हुंदै गोरखपुरमा रहेका गोरखालीहरुमा सत्संग प्रचार प्रसार गर्दा गर्दै उनी थलिए र १९४६ अप्रिल ९ मा उनको निधन भयो ।

सम्मान:
मास्टर मित्रसेन एक यस्ता स्रष्टा हुन जसको सम्मानमा नेपाल र भारत दुबै देशका सरकारले हुलाक टिकट प्रकाशन गरेको छ । नेपाल सरकार फिलाटेलिक व्युरोले वि.सं. २०५६ मा उनको सम्मानमा हुलाक टिकट प्रकाशन गर्ने बेलामा उनको बहुमुखी प्रतिभाको बारेमा निम्न अनुसारका शब्दहरु उल्लेख गरेको छ ः “… मास्टर मित्रसेन वहु प्रतिभाशाली कलाकार, साहित्यकार, नाटककार तथा गीतकार थिए । भारतमा जन्मिएर पनि नेपाललाई कर्म क्षेत्र बनाउने मित्रसेनले नेपाली लोकगीत, नाटक, निबन्ध तथा कथा साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली गाउँघर समाजको मार्मिक भावनाहरु आफ्ना रचनामा समेट्ने मास्टर मित्रसेनको निधन वि.सं. २००२ मा भएको थियो ।”
त्यसै गरी भारत सरकार हुलाक विभागले पनि सन् २००१ मा उनको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै लेखेको छ :
“…मास्टर मित्रसेन बहुमुखी प्रतिभाका धनी हुन जसले कवि, नाटककार, लोक गायक तथा कथाकारको रुपमा ठूलो नाम र सम्मान प्राप्त गरेका छन् । हिमाञ्चल प्रदेशमा जन्मेका उनी कलिलै उमेरमा सुरक्षा फौजमा भर्ति भए । सन् १९१८ मा सैनिक सेवाबाट निबृत्त भएपछि उनले विभिन्न नाटक तथा शास्त्रीय सङ्गीत अध्ययन अनुसन्धान जस्ता सिर्जनात्मक कार्यमा लागे । गोरखाली समुदायहरुलाई उच्च नैतिक तथा सांस्कृतिक शिक्षा सिकाउंदै उनी नेपाल र भारतको बिभिन्न स्थानहरुमा यात्रा पनि गरका थिए ।”

नेपाल तथा भारतको सरकारी स्तरबाट व्यक्त भएका उपरोक्त उद्गारहरुले मास्टर मित्रसेन थापाको बहुमुखी प्रतिभा प्रतिबिम्वित गर्दछ । हुन त मास्टर मित्रसेनले औपचारिक रुपमा जम्मा ८ कक्षा सम्म मात्र अध्ययन गरेका थिए । तर उनको बहुमुखी प्रतिभाको राप र ताप यति थियो कि उनको सिर्जनाको बारेमा नेपालको त्रिभुवन विश्वविद्यालयबाट डा. खगेन शर्मा र भारतको कुरुक्षेत्र विश्वविद्यालयबाट डा. राजेन्द्र गुरुङले शोध गरी विद्याबारिधी उपाधि हासिल गरेका छन् ।
त्यति मात्र होइन भारतको हिमाञ्चल सरकारले मित्रसेनको आफ्नै थलो तोतारानी गाउँमा उनको सम्मानमा उनकै नाममा मित्रसेन मार्ग, मास्टर मित्रसेन थापा संग्राहालय, मास्टर मित्रसेन सरकारी हाइ स्कुल आदि भौतिक संरचनाहरु निर्माण गरेको छ । साथै नेपाल, भारत, युरोप र अमेरिका तिर पनि जनस्तरमा स्वःस्फूर्त रुपमा मास्टर मित्रसेनको नाममा कैयौँ संस्था र प्रतिष्ठानहरू खोलिएका छन् र विभिन्न सिर्जनात्मक कार्यक्रमहरु सम्पन्न हुंदै आएका छन् ।

निष्कर्ष:
मित्रसेन थापा उनको बहुमुखी प्रतिभा, साहित्य र संगीत प्रति निरन्तरको आलम्बन र लगनशिलता, समाज सुधारक तथा उदार हृदय आदिको सामुहिक मन्थनबाट मास्टर मित्रसेन भएर निस्किए । यति धेरै प्रतिभाहरुको संगम एकै व्यक्तिमा विरलै देख्न पाइन्छ । उनको लोप हुन लागेका सिर्जनालाई संरक्षण गर्नु आजको पुस्ताको प्रमुख दायित्व हो । नेपाल र भारत सरकारले उनको सम्मानमा हुलाक टिकट प्रकाशन गर्नु, नेपाल र भारतका शोधकर्ताहरुले उनको  बारेमा अनुसन्धान गरी विद्यावारिधीको उपाधि हासिल गर्नु, उनको नाममा विभिन्न भौतिक संरचनाहरुको विकास हुनु, उनको नाममा विभिन्न मुलुकमा विभिन्न संघ संस्थाहरु खुलेर सक्रिय हुनु जस्ता उदाहरणहरुले उनको प्रतिभाको उचाइलाई प्रतिविम्वित गर्दछ । साहित्यिक तथा सांगीतीक सिर्जनाका यस्ता अमुल्य निधि मास्टर मित्रसेनलाई राष्टिय विभुतिको रुपमा घोषणा गरी उनको सिर्जनाहरुलाई संरक्षण, संबद्र्धन र प्रचार प्रसार गर्न पट्टि लाग्ने हो भने उनको दिवङ्गत आत्माले शान्ति प्राप्त गर्ने थियो र यहि नै उनी प्रतिको सच्चा श्रद्धाञ्जली पनि हुने थियो ।
 
(लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका कोषाध्यक्ष हुन्)

chandrashrees@hotmail.com